scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

‘प्राइममिनिस्टर उल’

श्यामबाबु गौतम

औंसीको रात थियो । चुक पोखेजस्तो अन्धकार । दुईटा मुसाहरु पुलमुनि लुकिरहेका थिए । त्यसको ठिक माथी एउटा उल्लु बसिरहेको थियो ।

अचानक मुसाहरु डराउँदै बाहिर निस्किए । अँध्यारो भएकोले कसैले देख्ने वा पक्रिने हो कि भनेर ! त्यही बेला माथिबाट उल्लुको आवाज आयो, ‘हुँ’ ।
मुसाहरुले सुने, ‘हु’ । उनीहरुले सोचे, ‘अहो यो उल्लुले अङ्ग्रेजी बोल्न थालेछ । हुन त त्यहाँ त्यो समाजमा कसको अङ्ग्रेजी राम्रो छ/छैन भन्ने परिपाटी चलिरहेको थियो र अङ्ग्रेजी बोल्न जान्नेहरु विशिष्ट श्रेणीमा गनिन थालेका थिए । पत्रपत्रिका हेरेर समाचार सुनेर मुसाहरु पनि अलि-अलि अङ्ग्रेजी जान्ने भैसकेका थिए ।

मुसाहरुले सोचे WHO को हो ?

Dish_Home

मुसाहरुले उल्लुलाई सोधे- हामीलाई देखिरहेका छौ ?

उल्लुले फेरी भन्यो, ‘हु’ । तर मुसाहरुले सुने ‘YOU’- तिमी तिमीहरुलाई म मज्जाले चिन्छु । मुसाहरु झन डराए ।

अनि मुसाहरुले फेरी सोधे- तपाईंले अध्यारोमा पनि देख्नुहुन्छ ? सत्ययुगमा चाहिँ केहीले अँध्यारोमा पनि देख्थे भनेर हामीले सुनेका थियौं । तपाईं त कलीयुगमा पनि अँध्यारोमा देख्नुहुन्छ ?’
उल्लुले फेरी भन्यो, ‘हु’ मुसाहरुले सुने ‘TWO’ । मुसाहरु दुईजना थिए । उनीहरु डराए अनि साष्ट्राङ्ग दण्डवत गर्दै भन्न थाले । यो कलियुगमा हजुर जस्तो युगपुरुषको जन्मभएको रहेछ । अहिले हाम्रो देश पुरै अन्धकारले ढाकेको छ । अन्धकारमा देख्न सक्ने हजुर जस्तो नेताको खाँचो छ हाम्रो देशलाई । अब तपाईंले नेतृत्व दिनुपर्छ भन्दै मुसाहरु त्यहाँबाट निस्किए ।

मुसाहरुले त्यो राज्यको एकजना मन्त्रीलाई भेटेर भने, ‘अब हाम्रो राज्य चलाउन प्रधानमन्त्री बन्न लायक एकजना पात्र फेला परेको छ । उहाँको अङ्ग्रेजी पनि असाध्यै राम्रो छ । हाम्रो राज्य बाहिर जाने हो भने पढाई नभए पनि डाक्टरको उपाधि दिन्छन् । यति मात्र हैन, उहाँको बिशेष कुरा त उहाँले अँध्यारोमा पनि देख्न सक्नुहुन्छ । त्यो सुनिरहेकी मन्त्री पनि भर्खरै चुनिएको गधा थियो । त्यो राज्यमा अरु कोही नभएर त्यो गधामन्त्री भएको थिएन । त्यहाँ त गधा भन्दा बाहेक अरु कोही मन्त्री बन्न राजी नभएकोले गधाहरुको मन्त्री मण्डल बनेको थियो ।


मन्त्रीमण्डलका गधाहरु पढेलेखेका थिएनन् । अङ्ग्रेजी राम्रो आउने, अँध्यारोमा पनि देख्न सक्ने भनेपछि मन्त्रीमण्डल प्रभावित भएर उल्लुलाई भेट्न गयो र मुसाहरु पनि सङ्गै गए । उल्लु भएको ठाउँमा पुगेपछि अब के प्रश्न सोध्ने अलमल भएपछि एकजना मन्त्रीले उल्लुलाई सोध्यो, ‘हामीसँग कतिजना मुसा आएका छन् ?’
उल्लुले भन्यो, ‘हु’ । सबै मन्त्रीले सुने, ‘TWO’ । सबै छक्क पर्दै उल्लुलाई भने हजुरको अङ्ग्रेजी पनि कती राम्रो, अँध्यारोमा पनि सबै देख्ने । हामीलाई हजुरजस्तै प्रधानमन्त्री बन्ने पात्र चाहिएको थियो । हामी हजुरलाई प्रार्थना गर्छौ, ‘अब हाम्रो राज्य हजुर चलाई बक्स्योस् । हजुर प्रधान्मन्त्री भइबक्स्योस् ।’

सबैको हारगुहारपछि उल्लु प्रधानमन्त्री बन्न तयार भयो । हुन त कुन चाहिँ उल्लु प्रधानमन्त्री बन्न पाए बन्दैनथ्यो होला र ?

प्रधानमन्त्री उल्लुको सपथग्रहण समारोह सुरु हुन लाग्यो । सुरु हुनुपूर्व सरकारका प्रवक्ता मन्त्रीले प्रधानमन्त्रीको बारेमा भन्नथाले, ‘हाम्रो प्रधानमन्त्री महान हुनुहुन्छ । उहाँलाई अङ्ग्रेजी असाध्यै राम्ररी आउँछ । त्यति मात्र हैन, उहाँले त अँध्यारोमा पनि देख्नुहुन्छ ।’

यति भन्दाभन्दै बीचैमा एकजना खरायो पत्रकारले सोधे, ‘अँध्यारोमा देख्ने हाम्रो प्रधानमन्त्रीले उज्यालोमा पनि देख्नुहुन्छ त ? पत्रकारको प्रश्न सुनेर सबै गधा मन्त्रीहरु गलल्ल हाँसे । अनि भन्न थाले, ‘कस्तो पागल पत्रकार रहेछ यस्तो नि प्रश्न हुन्छ ? कमनसेन्स छैन ?’ जसले अन्धकारमा देख्छ, उसस्ले उज्यालोमा नदेख्ने भन्ने नि हुन्छ ।’ प्रवक्ता मन्त्री हामीलाई हेप्नी भन्दै कड्किए । सपथ ग्रहण सम्पन्न गरियो ।

भोलिपल्ट त उज्यालो भयो, घाम लागिरहेको थियो । अब उल्लु प्रधानमन्त्रीले आँखा देख्ने भन्ने त कुरै भएन । आँखा नदेखेको कारणले उल्लु सुस्त-सुस्त हिंड्न थाल्यो साह्रै नै सुस्त । यो देखेर उसका मन्त्रीमण्डलका गधाहरु र उस्का समर्थकहरुले भन्न थाले, ‘हेर हाम्रो प्रधानमन्त्री कति कुटिल चाल चलिरहेका छन् । कति गम्भीर छन् । हामीले अत्यन्तै अत्यन्तै राम्रो प्रधानमन्त्री पाएका छौं ।’ तर उल्लु प्रधानमन्त्री आँखा नदेखे पनि देखेजस्तै गरेर चालढाल मिलाएर हिडिरहेका थिए ।

सधैं नाटक गरेर अगाडि बढ्न नसकिने र उज्यालोमा आँखा नदेखेको कारण उल्लु प्रधानमन्त्री त्यहाँबाट भागेर आफ्नो घर फर्कने सोच्न थाल्यो र त्यहाँबाट हिंड्यो । ऊ त्यहाँबाट हिंडे पनि उसको मन्त्रीमण्डल र उसका समर्थक ऊ जहाँ जहाँ जान्छ, उसको पछि पछि हिंड्न थाले । उज्यालोमा आँखा नदेखेको कारण उल्लु प्रधानमन्त्री कहिले फोहोरमा त कहिले हिलोमा लड्थ्यो ।

ऊ जहाँ लड्थ्यो, उसका समर्थक पनि त्यही पछारिन्थे । जब समर्थकहरु लडेर चोटपटक लाग्न थाल्यो र खुट्टा भाँचिन थाल्यो । तब उल्लु प्रधानमन्त्रीले भन्यो, ‘पिर नगर्नोस्, हामी कठिन यात्रामा हिंड्दा चोटपटक लाग्नु स्वभाविक हो । हामी कठिन यात्रामा हिंड्दा कोही मरे भने पनि हामी उनीहरुलाई सहिद घोषणा गर्नेछौं । राहत पनि दिनेछौं ।’

यति भन्दाभन्दै उसका पछि लागेका केहि मर्न थाले केहि भागे । त्यसपछि उल्लु प्रधानमन्त्रीको पछाडि उसको मन्त्रीमण्डल मात्र बाँकी रह्यो । उल्लु प्रधानमन्त्रीले मन्त्रीमण्डलका गधाहरुलाई पनि आश्वासन दिन थाल्यो, ‘पिर नगर । तिमीहरु मर्‍यौ भने म तिमीहरुको ठूलो-ठूलो शालिक बनाएर राख्छु । तिमीहरुलाई महावीर चक्र प्रदान गर्छु । तिमीहरुको श्रीमतीलाई सांसद, मन्त्री र राष्ट्रपतीसम्म बनाउँछु । मर्न नडराउनुस् । कोही न कोही नमरी देश कसरी बन्छ ?’

कुरा त ठिकै हो भन्दै गधा मन्त्रीहरु उसको पछिपछि लागे र जाँदाजाँदा उनीहरु राजमार्गमा पुगे । राजमार्ग पुगेपछि उल्लु प्रधानमन्त्रीले आफ्नो पछाडि बाँकी रहेको ६-७ जना गधा मन्त्रीहरुलाई भन्यो, ‘देख्यौ कठिन यात्रा पार गरेर हामी राजमार्गसम्म आयौं । सङ्घर्षको फल मिठो हुन्छ । यति भन्दाभन्दै राजमार्गको अर्को पट्टिबाट ठूलो ट्रक आइरहेको थियो । उल्लु प्रधानमन्त्रीले उज्यालोमा त्यो ट्रक देख्ने कुरै भएन । त्यसपछि गधा मन्त्रीहरुले भने, ‘प्रधानमन्त्रीज्यु उताबाट ट्रक आइरहेको छ । तपाईं निर्भय भएर हिंडिराख्नु भएको छ । उल्लु प्रधानमन्त्री जवाफ फर्काउँछ, ‘हु’ कि डराउँछ, जब प्रधानमन्त्री नै नडराएपछि मन्त्रीहरु त डराउने कुरै भएन । सबै अगाडि बढ्छन् । त्यसपछि ट्रकले किचेर सबै मर्छन् । सडकभरी लाशैलाश । ट्रकको पछाडि Horn Please लेखिएको थिएन । त्यहाँ लेखिएको थियो- ‘Time, Tide and Corona wait for none.

(यो कथा र यसका पात्रहरु काल्पनिक हुन्, कसैको वास्तविक जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय