scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

सहकारीले शुरु गर्‍यो सुपथ मूल्यको पसल

फिदिम, २५ चैत । लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पुर्‍याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ ।

उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडामा सोमबारबाट सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको हो । उक्त पसलबाट दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन र तेलसहित गाईलाई खुवाउने चोकर र ब्राण्ड सुपथ मूल्यमा उपलब्ध गराइनेछ । सहकारीले सवारी साधन भाडामा लिई झापाको बिर्तामोडबाट यी सामग्री खरिद गरी पसल सञ्चालनमा ल्याएको हो ।

Dish_Home

उक्त सहकारीले फाल्गुनन्द गाउँपालिकामा व्यावसायिक पशुपालनमा सहयोग पुर्‍याउँदै आएको छ । फाल्गुनन्द–१ मा व्यावसायिक पशुपालन गर्ने ३२ कृषक परिवारले सहजरूपमा चोकर र ब्राण्ड उपलब्ध गराउने मुख्य उद्देश्यले उक्त पसल स्थापना गरिएको हो । ‘वडामा रहेका हाम्रा ९२ जना शेयर सदस्यसहित अन्य कृषकलाई खाद्यान्नको समेत अभाव हुने भएकाले खाद्यान्न समेत बिक्री गर्न थालिएको हो’, सहकारीका अध्यक्ष बहादुरसिंह नेम्वाङले भने ।

सहकारीले बिर्तामोडबाटै सामग्री खरिद गरी पसल निरन्तर सञ्चालन गर्ने भएको छ । सहकारीले आफ्ना कर्मचारीलाई पसलमा खटाएको छ । कोरोना भाइरसको माहामारी तथा लकडाउन अन्त्य भएपछि पनि सुपथ मूल्यको उक्त पसल निरन्तर सञ्चालन हुने अध्यक्ष नेम्वाङको भनाइ छ । ‘आगामी दिन सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्ने नगदेबाली तथा फलफूलसमेत सहकारीले खरिद गरी बिक्री वितरण गर्ने लक्ष्यका साथ यो पसल सञ्चालनमा ल्याएका हौँ’, नेम्वाङले भने । उक्त पसलबाट अहिले फाल्गुनन्द गाउँपालिका वडा नं १ का स्थानीयवासीले मात्रै लाभ लिन सक्ने भए पनि आगामी दिनमा उक्त गाउँपालिकाका अन्य वडामा समेत विस्तार गरिने नेम्वाङले बताए ।

उक्त सहकारी तथा मिलन केन्द्र नेपालले गुड नेवर्स इन्टरनेशनल नामक संस्थाको सहयोगमा यहाँ दुग्ध मूल्य शृङ्खला विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । उक्त कार्यक्रमले यहाँका कृषकलाई व्यावसायिक गाई तथा बङ्गुरपालनका लागि घुम्ती कोष परिचालन, पशुपालनसम्बन्धी प्राविधिक ज्ञान, पशुपालनमा आधारित व्यावसायिक परियोजना सञ्चालन तथा गुणस्तरीय दुग्धजन्य सामग्री उत्पादनमा सघाउ पुर्‍याउँदै आएको छ । कृषकले घुम्ती कोषको किस्ता रकम तिर्न नसक्ने भएका कारण लकडाउनमा समेत कृषकबाट उत्पादित दूध खरिद गरी सहकारीले दुग्धजन्य सामग्री उत्पादन गर्दै आएको संस्थाका सचिव राजेन्द्र आङ्देम्बेले बताए । रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय