scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

कोरोनाले प्रधानमन्त्री जोन्सनलाई ‘ब्रेक्जिट’ पालाको पैंचो तिर्‍यो

पौल मेसन

मार्च १९ सम्म बेलायतको स्वास्थ्य सेवा प्रणाली कोरोना भाइरसको दबाबमा परिसकेको थियो तर पनि सरकारले युरोपियन युनियनको भेन्टिलेटरसम्बन्धी संयुक्त खरिद प्रक्रियामा भाग लिन अस्वीकार गर्‍यो । प्रथमतः प्रधानमन्त्री जोहन्सनले यो भने कि ‘बेलायतले इयु छोडिसकेको छ, फेरि त्यसमा किन सामेल हुने’, जे गर्ने हो वेलायतले आफैं गर्छ । तर पछि उनले यससम्बन्धी भनाई फेरे । भने कि त्यो प्रशासनिक त्रुटि थियो ।

त्यसपछिका दुई हप्ता वेलायतले ‘हर्ड इम्युनिटी’ जस्तो विनाशकारी रणनीति अबलम्बन गर्‍यो । सामूहिक रुपमा मानिसको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गरी भाइरसको संक्रमण परिचक्र तोड्ने स्वास्थ्य नीतिलाई ‘हर्ड इम्युनिटी’ भनिन्छ । यो भनेको विश्व स्वास्थ्य संगठनले सिफारिश गरेको आम जाँच (मास टेस्टिङ) विधिलाई व्यवधान गर्नु थियो । निरोधक उपायहरु लागू गर्न अस्वीकार गर्नु थियो ।

कतिपयले यस्तो अनुमान गरिसकेका थिए कि प्रधानमन्त्री जोहन्सन पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पझैं अर्थतन्त्र जोगाउन जीवनको बलिदान दिन तयार मनस्थितिमा छन् । तर बेलायतको यथार्थ अमेरिकाको भन्दा पनि सरल र निर्दयी छ । त्यो के भने– फेब्रुअरी महिनाभरिको समय बेलायतले जोहन्सनको ‘ब्रेक्जिट परियोजना’को बचाउमै बर्बाद गर्‍यो ।

Dish_Home

तोडिएका वाचाहरु

मार्च ३ सम्म डाउनिङ स्ट्रिटले कोरोना भाइरसबारे कुनै आधिकारिक घोषणा गरेको थिएन । यो ब्रेक्जिटका लागि जोखिमपूर्ण स्थिति हो भन्ने जोहन्सनले एक महिनाअगाडि नै बुझिसकेका थिए । ग्रिनवीचकोे नोसेना महाविद्यालयमा उनी लच्छेदार भाषण गरिरहेका थिए कि वेलायतले सन् २०१९ अक्टोबरमा इयुसँग भएका राजनीतिक घोषणापत्रका शर्तहरु प्रभावकारी ढंगले भंग गर्नेछ ।

सामाजिक, वातावरणीय तथा रोजगारसम्बन्धी नियममा ‘समान सतहको मैदान’ नीति लागू गर्ने प्रतिबद्धताप्रति लण्डन इमान्दार छैन बरु संयुक्त न्याय प्रणाली पनि स्वीकार गरिने छैन भन्ने जोहन्सनको संकेत थियो । यदि यी शर्तहरु इयुले मन पराएन भने युनियनसँग सम्बन्ध विच्छेदको वार्ता जुनबाट मात्र शुरुवात हुने थियो ।

आफ्ना नजिकका व्यापार साझेझार समूहसँग कसरी ठीक नीतिनियमहरु तय गर्ने भन्ने साटो, त्यसको धेरै टाढा गएर बेलायत एकतर्फी रुपमा सबै व्यापारिक नियम र सम्झौताहरु आक्रामक ढंगले भंग गर्न र नयाँ विश्व व्यवस्था निर्माण गर्नतिर लागेको थियो ।

जनस्वास्थ्यमाथि परीक्षणको खेलवाड

जनताले यी सम्भावनाहरु गुमाइरहेका थिए तर यसका लागि सम्पूर्ण रुपमा कोरोना जिम्मेवार छ भन्ने ढंगले भाष्य निर्माण गरिएको थियो । जोहन्सन भन्दै थिए–‘जब कोरोनाजस्तो कुनै नयाँ रोगले बजारलाई छिन्नभिन्न पार्ने र अनावश्यक आर्थिक क्षति सृजना गर्ने इच्छा राख्दछ भने चिकित्सकीय विवेकको प्रश्नबाट त्यो बाहिरिन पुग्दछ । मानवताले एउटा यस्तो सरकारको अपेक्षा गर्दछ जसले धर्तीका सबै जनसंख्याका लागि किनबेचको अधिकार सुरक्षित गर्न सकोस ।’

जोहन्सनको विचारमा बेलायतको सरकार नै त्यस्तो सरकार थियो जसले ‘अनावश्यक आर्थिक क्षति’लाई टार्न सक्दथ्यो । फलतः जोहन्सन त्यस्तो स्वास्थ्य रणनीति लागू गर्दै थिए, जसले इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुद्वारा जनताको स्वास्थ्यमाथि परीक्षण गर्दथ्यो जसको परीक्षणमा मात्र करिब १ लाख मान्छे मारिन सक्दथ्यो ।

जबकी अरु युरोपेली देशहरुले भने वैधानिक लकडाउन गर्नतिर लागे । उनीहरुले सम्पूर्ण जनसंख्यालाई नै घरमै बन्दी हुने वातावरण तयार गरे । साथै हज्जारौंको संख्यामा स्वास्थ्य जाँच गरे । जोहन्सनको रणनीति भने करिब ८० प्रतिशत जनसंख्यामा रोगलाई फैलिन दिनु र त्यसबाट सामूहिक रोग निरोधक शक्ति प्राप्त हुने विश्वास गर्नु थियो । उनको मनभित्र डर थियो यदि कोभिड–१९ को समस्याले सन् २००८ को वित्तीय संकटको समयजस्तै भूमण्डलीकरणको पक्षमा माहौल बनाएमा उनको ब्रेक्जिट परियोजना अस्वीकार हुने आधार तयार हुनेछ ।

जोखिम कायमै

कतै ‘हर्ड इम्युनिटी’ रणनीति परित्याग गर्नु पर्‍यो भने जोहन्सनमाथि ब्रेक्जिट परियोजना छोड्नुपर्ने परिबन्द आइपर्न सक्छ । एकै नजरमा देखिने विश्व अर्थतन्त्रको वास्तविकताले जोखिम कायमै रहेको देखाउँछ । माग र आपूर्ति अर्थतन्त्रका दुबै पक्षमा अनेक ‘आकस्मिक अड्चन’ उत्पन्न भएका छन् । उदीयमान बजार क्षेत्र र विकसित देशहरुको बाणिज्य दुबै क्षेत्रबाट पुँजी पलायन हुँदैछ । लगानीकर्ताहरु छोटो अबधिका सरकारी ऋणपत्रहरुमा लगानी गर्न समेत डराइरहेका छन् । सरकारी धितोपत्र बजार उथलपुथलपूर्ण छ ।

फिचका अनुसार यस अबधिमा विश्वको औसत कूल गार्हस्थ उत्पादनको गिरावट १.९ प्रतिशत छ जबकी युरोजनमा त्यो ३.३ प्रतिशत र बेलायतमा ४.२ प्रतिशत छ । यी अनुमान द्वितीय चरणको प्रभाव पर्नुभन्दा अगाडि गरिएका हुन् । पछिल्लो स्थितिको तथ्यांक झनै खराब हुन सक्दछ ।

भ्रमको पर्दा च्यातियो

यस परिप्रेक्ष्यमा जुनबाट प्रारम्भ गरी सन् २०२० को डिसेम्बरसम्म ब्रेक्जिट वार्ता अन्त्य गर्ने प्रक्रिया आत्मघाती र जोखिमपूर्ण हुनेछ । इयुसँग चिकित्सकीय सामग्री खरिद प्रक्रियामा संलग्नता अस्वीकार गर्नु त्यही आत्मघाती कदमको एक कडी थियो । ‘हर्ड इम्युनिटी’ रणनीतिको भ्रमले त्यसो गर्न प्रेरित गर्‍यो ।

जोहन्सन यो कुरामा विश्वस्त थिए कि एकल बजारमा जबरजस्त प्रवेशले व्यापारिक ब्लक र संरक्षणवादको विरुद्ध एक प्रतिक्रियात्मक श्रृङ्खलाको निर्माण हुनेछ । तर दुई महिना नवित्दै यो भ्रम चकनाचुर भयो । सन् २००८ पछि शुरुवात भएको विभूमण्डलीकरणलाई कोरोना भाइरसले झनै छिटो बनाइदियो । भाइरसले अन्तर्राष्ट्रिय आवागमनलाई पूरै अवरुद्ध बनाइदियो ।

औद्योगिक शक्ति राष्ट्रहरुले मास्क, भेन्टिलेटर, टेस्ट किट्स र भ्याक्सिनहरुको उत्पादनमा आफूलाई केन्द्रित गरे । यी कार्यहरु स्थानीय आपूर्ति प्रणालीबाट मात्र प्रभावकारी हुन सम्भव थिएन । वैश्विक नेतृत्व र समन्वयविना कोरोनाको महामारीबाट बाहिर निस्कन त्यति सजिलो हुँदैन भन्ने महशुश गर्न सबै बाध्य भए । खाद्यान्न आपूर्ती व्यवस्थामा पनि त्यही देखियो । मार्चदेखि नै विकसित देशका सुपरमार्केटहरुमा एक प्रकारको होहल्लापूर्ण स्थिति देखापर्‍यो । खाद्य उत्पादन हुने देशहरुमा भाइरसको प्रकोप व्यापक बने त्यसको प्रभाव विकसित देशका सुपरमार्केटसम्म पुग्ने निश्चित देखियो ।

विभूमण्डलीकरणको तेस्रो पक्ष वित्तीय हुनेछ । अहिलेसम्मका आर्थिक प्रोत्साहन घोषणाले वास्तविक वित्तीय घाटा र ऋण आवश्यकताको अनुमान देखाउन सकेका छैनन् । बेलायतको हकमा त्यस्तो सार्वजनिक ऋण २०० विलियन स्ट्रलिङ पाउण्ड भन्दा कम हुने छैन । एक प्रक्षेपण अनुसार अमेरिकाको थप ऋण २.८ ट्रिलियनसम्म हुनेछ । युरोजोनका लागि यो कुरा यसका सदस्य राष्ट्रहरुको पारस्परिक ऋण समायोजन योजनामा भर पर्नेछ ।

गुणात्मक परिवर्तन

अर्थतन्त्रको यो ओरालो यात्राले यसको बाटोमै गुणात्मक परिवर्तन ल्याउनेछ । जि–७ राष्ट्रहरुको संयुक्त सार्वजनिक ऋण यो संकटअगाडिको कूल गार्हस्थ उत्पादनको ११८ प्रतिशतसम्म पुग्नेछ । कतिपय केन्द्रीय बैंकहरुले यस्तो ऋणका लागि सञ्चित धातुको सिधै मौद्रिकीकरण गर्न थालेका छन् । यसको सिधा प्रभाव पुँजी प्रवाह र विभिन्न देशको मुद्रामा पर्नेछ ।

चीनले आर्थिक रिकोभरीको प्रयोग आफ्ना रोड एण्ड बेल्ट परियोजनाका समर्थक देशमा गर्नेछ । रसियाले यस्तो प्रयोग पूर्वी युरोपेली देशमा अस्थिरता सिर्जना गर्न गर्नेछ । रसियाका सरकारी सञ्चार माध्यमहरुले बारम्बार यही भन्दैछन् कि युरोपियन युनियन अब भंग हुँदैछ । अमेरिका जो एक ठूलो वित्तीय उत्प्रेरक राज्य थियो, ऊ आफै मेडिकल सामग्री आपुर्ती योजनामा व्यस्त छ ।

मृत परियोेजना

आन्तरिक रुपमा जोहन्सनको परियोजना अगाडि नै मृत भइसकेको छ । उनले ब्रेक्जिट योजनालाई जति कडा बनाउन चाहे, त्यति नै श्रम बजार अनियन्त्रित हुने देखियो । सामाजिक संरक्षण र वातावरणीय मापदण्डहरु उत्तिकै कमजोर हुने देखिए । जबकी यी सबै कुराका लागि आप्रवासी र युरोपियनहरुलाई दोषी देखाइएको थियो । यी संकटपछि जोहन्सनका नीतिहरु के हुन्छन्, प्रष्ट छैन । उनी आफ्नै मुडे तर्कहरुमा टिकिरहन्छन् वा नीतिगत निर्णयका लागि केही सार्वजनिक अनुसन्धानमा पनि भर गर्ने छन् ।

जोहन्सनको ग्रिनवीच भाषण लागू हुने संसार नै लोप भइसकेको छ । बेलायत आफैले भूमण्डलीकरणको अर्को शुरुवात गर्न सक्दछ भन्ने कुरा पनि भ्रम मात्र हो । यथार्थवादी भएर भन्दा बेलायत अमेरिकी भूमण्डलीकरणको सहयोगी मात्र हुन सक्ने हो । तर ट्रम्पको इच्छा यसको ठीक विपरीत छ । महामारीपछिको विश्वमा कुनै अमेरिकी नेतृत्वले बहुआयामिक र खुल्ला विश्व व्यवस्थाको पक्षपोषण गर्ने अपेक्षा गाह्रै हुनेछ ।

कडा ब्रेक्जिटले बेलायतको राज्यकोषमा निरन्तर नकारात्मक दबाब बढाउनेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ । एक अनुमान अनुसार यदि बेलायत कडा ब्रेजिक्ट प्रक्रियामा गयो भने १५ बर्षपछि यसको कूल गार्हस्थ उत्पादन इयुमा रहँदा भन्दा ९.३ प्रतिशतले कम हुनेछ ।

लेवरको अबको काम

केयर स्टामर जसले अब लेवर पार्टीमाथि नियन्त्रण जमाउने ठानिँदैछ– उनलाई यो राम्रो महशुश हुन पर्दछ कि ब्रेक्जिट परियोजना एक प्रकारको राजनीतिक धराप मात्र हो । यदि उनले अब देश र जनताको हितमा काम गर्ने इच्छाशक्ति राख्दछन् भने त्यसको बाटो भनेको ब्रेक्जिटलाई नष्ट गर्ने भूमिका गर्नु नै हो । यदि यो काम गर्न एक बर्ष मात्र ढिलो गर्ने हो भने दक्षिणपन्थीहरुले फेरि कुनै विश्वासघाती भाष्य निर्माण गर्नेछन् ।

स्टामरले यो भनेका छन् कि फेरि तुरुन्तै इयुमा सामेल हुने कुरा तत्कालको एजेण्डाभित्र छैन । उनको मूल दायित्व भनेको पार्टीलाई पुन समुदायसँग जोड्नु हो जहाँ युरोसंदेहवाद र घृणा गहीरो छ । विश्व प्रक्रियाबाट असंलग्न हुने नीति बेलायतको भूराजनीतिक यथार्थविपरीत छ । युरोपियन युनियन नै बेलायतको मुख्य व्यापारिक साझेदार हो ।

विगत ५० बर्षको संलग्नताले युरोपमा कैयौं साझा कानून, परम्परा, मूल्य, मान्यता र संस्कृति बनेका छन् । युरोपको साझा सुरक्षा नीतिविना विश्व सुरक्षाको प्रष्ट प्रत्याभूति हुँदैन । लेवर भित्रका कन्जर्भेटिभ र आर्थिक कट्टरतावादी राष्ट्रवादीहरु स्टामरका मुख्य चुनौतिहरु हुन् ।

लेवरले तुरुन्त ब्रेक्जिटमा १ बर्ष ढिलाइको माग गर्नु पर्दछ । ब्रेक्जिटसँग सम्बन्धित सबै कागजात र सम्झौताहरुमा इयुलाई एक महत्वपूर्ण व्यापार साझेदारका रुपमा स्वीकार गर्ने प्रावधानहरु राख्न दबाब दिनु पर्दछ । आप्रवासनलाई सकेसम्म खुल्ला राख्ने प्रयत्न गर्नु पर्दछ ।

बेलायतको आजको भूमिका र सन् २००८ को भूमिकामा खासै भिन्नता देखिन्न । प्रधानमन्त्री गोर्डन ब्राउनले जि–२० को बैठक बोलाएका थिए, जो संकटपछिको समन्वय, उत्प्रेरणा र नियमनका लागि निक्कै हितकर भएको थियो । जोहन्सनले ग्रिनवीच प्रवचनमा बेलायतको गौरवको बखान त गरे तर काम भने ब्राउनले गरेका थिए ।

लेवर पार्टीले यो कुरा बढो दृढताकासाथ भन्न सक्नु पर्दछ– कोरोना भाइरसलाई पराजित गर्न विश्वव्यापी वित्तीय उत्प्रेरणा, मौद्रिक समन्वय र अन्तर्राष्ट्रियस्तरको औद्योगिक परिचालन अत्यावश्यक छ ।

(मेसन  ‘द पोष्ट–क्यापिटाजिज्म’ का लेखक हुन् । यो आलेख इन्टरनेशनल पोलिटिक्स एण्ड सोसाइटीको वेवसाइटबाट भावानुवाद गरिएको हो )

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय