scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

के होला ‘लकडाउन’पछिको रणनीति ?

साझापोष्ट टिप्पणी/काठमाडौं, २६ चैत । वैशाख ३ गते लकडाउन ३ हप्ता बढीको हुनेछ । त्यसपछि के गर्ने ? सम्भवतः यसका ३ रणनीति हुने छन् । फेरि लकडाउनको अबधि थप्ने, स्वतः सामान्य अवस्थामा फर्किने र लकडाउनबाट सुरक्षित तवरले सामान्य स्थितिमा फर्किने सुरक्षित योजना बनाउने । यी ३ मध्ये कुन रणनीति अख्तियार गर्ने ? यो इच्छाभन्दा परिस्थितिमा निर्भर गर्नेछ । अझ सुझबुझपूर्ण योजना, रणनीति र त्यसलाई कार्यान्वयन गर्ने तत्परतामा निर्भर गर्नेछ ।

गतबर्षको अन्त्यतिर अर्थात् सन् २०१९ को डिसेम्बरमा कोरोना चीनको वुहानमा देखियो । जनवरी १० देखि यसका बिरामी प्रष्टरुपमा देखिए । तर जनवरीभरि खासै धेरै फैलिएको थिएन । मार्चदेखि यो तीव्र रुपमा फैलियो । अर्थात् कोरोना संक्रमणले अहिलेसम्म २ महिना पूरा गरी तेस्रो महिनामा प्रवेश गरेको छ । यी ३ महिनाको तथ्यांकको आधारमा भविष्य पूर्वानुमान गर्ने हो भने स्थिति भयावह देखिन्छ । अहिलेसम्म १४ लाख ५० हज्जारमा संक्रमित भएको पुष्टि भएको छ । त्यसमध्ये करिब ८३ हज्जारको मृत्यु भएको छ ।

विश्वभरिकै महामारी विज्ञहरुको विश्लेषण सुन्दा यस्ता महामारीहरु सामान्यतया १ बर्षसम्म चल्ने सम्भावना हुन्छ । कोरोनाको अहिलेसम्मको संक्रमण कुनै निश्चित अनुपातमा छैन । यो ज्यामितीय दरमा फैलिरहेको छ । शुरुवातका दिनभन्दा पछिल्ला दिनहरु झनै खराब छन् । झनै तीव्र गतिमा फैलिरहेको छ । कोरोना भाइरस फैलिएको दर र त्यसको ज्यामितीय गति कायम रहने हो भने बाँकी १० महिनामा न्यूनतम् २ अर्ब जनसंख्यामा यो पुग्नेछ । मानौं कि करिब ५ प्रतिशतको मृत्यु हुनेछ – मारिनेको संख्या १० करोड पुग्नेछ । यो कल्पना गर्न पनि कहाली लाग्ने तथ्यांक हो ।

Dish_Home

विशेषज्ञहरुका अनुसार यस्ता महामारीबाट निस्कने ३ वटा अवस्था हुन्छन् । एक, महामारी प्राकृतिक संयोगले आफै रोकिनु, दुई– खोप वा औधषी पत्ता लाग्नु र प्रयोगमा ल्याउनु र तीन– हर्ड इम्युनिटीको स्थिति निर्माण हुनु ।

कोरोनाको वैश्विक महामारी प्राकृतिक कारणले आफै रोकिने संकेत अहिलेसम्म देखिएको छैन । प्रारम्भमा यसको भाइरस ३० डिग्रीभन्दा बढी तापक्रममा बाँच्न नसक्ने हुँदा हिउँद महिनाहरु सकिएसँगै महामारी आफै रोकिने अपेक्षा गरिएको थियो । तर यो अनुमान अहिलेसम्म पुष्टि भएको छैन । जाडो मुलुकहरुमा मात्र हैन, गर्मी मुलुकहरुमा पनि कोरोनाको संक्रमण जारी छ ।

सञ्चारमाध्यममा आएका अनौपचारिक खबर अनुसार अहिलेसम्म ३० औषधी कम्पनी तथा अनुसन्धान संस्थाहरु यसको खोप तथा औधषी बनाउने प्रयासमा छन् । ती प्रयास आशा लाग्दा छन् तर प्रभावकारी रुपमा प्रयोग र परीक्षण भइसकेका छैनन् । त्यो सफल नै भयो भने पनि त्यसको उत्पादन र विश्वव्यापी वितरणको व्यवस्था मिलाउन १ बर्ष समय लाग्न सक्दछ ।

तेस्रो विधि जसलाई सामूहिक प्रतिरोध क्षमता विकास अर्थात् हर्ड इम्युनिटी भनिन्छ, यो विधि अनुसार कुनै पनि भाइरस मानव शरीरमा स्वतः निष्क्रिय हुन करिब ८० प्रतिशत जनसंख्यामा त्यो पुगेको हुनु पर्दछ । अहिले विश्वमा करिब ७ अर्ब ५० करोड जनसंख्या छ । यदि यो विधिमा विश्वास गर्ने हो भने ६ अर्ब संक्रमित र करिब ३८ लाखको मृत्यु भएपछि भाइरसको प्रभाव आफै निस्क्रिय हुनेछ । जुन समय विज्ञान र प्रविधि कमजोर थियो, मानव ज्ञान र चेतना कमजोर थियो, त्यो समयमा मानवजाति यही तरिकाबाट महामारीमुक्त भएको थियो । करिब १ सय बर्षअगाडिको स्पेनिश फ्लुमा करिब १ करोड वा त्यतिखेरको कूल विश्व जनसंख्याको २५% मानिस मरेपछि मात्र महामारी रोकिएको इतिहास छ ।

आजको युगमा हामी हर्ड इम्युनिटीको विधिमा विश्वास गर्न सक्दैनौं । यदि त्यो भएछ नै भने पनि स्वतः हुने कुरा हो, त्यहाँ मानव ज्ञान, विज्ञान र क्षमताको कुनै भूमिका हुँदैन । हामीलाई कोरोनासँग प्रतिरोध गर्ने एउटा यस्तो मोडेलको आवश्यकता छ जुन मोडेलमा मानव ज्ञान, चेतना र क्षमता पनि उपयोग हुन्छ र क्षतिलाई सकेसम्म कम गर्न सकिन्छ ।

त्यसको एउटा विधि लकडाउन हो भन्ने कुरामा कुनै शंका रहेन । कोरोना उत्पत्तिस्थल वुहानमा चीनले लकडाउनकै विधि अख्तियार गरेको थियो । करिब ३ महिनाको लकडाउनपछि चीन सामान्य अवस्थातिर फर्किएको समाचार प्राप्त भएका छन् । बुधबार विहानसम्मको तथ्यांकअनुसार यसबीचमा त्यहाँ ८१, ८०२ मा कोरोना संक्रमित भयो । ७७,२७९ निको भए । ३३३३ जना मारिए । ११९० अझै बिरामी अवस्थामा छन् । बाँकी बिरामी निको हुनेछन् भनेर आशा गर्दा चीनमा मृत्यु करिब ४ प्रतिशतमा सीमित भएको छ भने ९६ प्रतिशत बिरामी निको भएका छन् ।

तर सबै देशको अवस्था ठीक यस्तै छैन । इटली, स्पेन, अमेरिका, फ्रान्स र बेलायतमा मृत्यु हुने दर धेरै छ भने निको हुनेको अनुपात पनि निक्कै कम छ । अमेरिका, इटाली र बेलायतले लकडाउनको विधि अबलम्बन गर्न निक्कै ढिलो र अरुची देखाएका थिए । तर स्पेनमा निरन्तर लकडाउन गर्दागर्दै पनि ठूलो क्षति भएको छ । स्पेनको तथ्यांक हेर्दा त्यहाँ अहिलेसम्म करिब १४२ हज्जार संक्रमित छन् । १०,०४५ को मृत्यु भएको छ । अर्थात् त्यहाँ करिब ७ प्रतिशतको मृत्यु भएको छ । ४३ हज्जार मात्र निको भएका छन्, जुन ३० प्रतिशत मात्र हो ।

यसको अर्थ लकडाउन कोरोनासँग लड्ने एक मात्र उपाय हैन । चीनमा लकडाउन सफल भयो यसको अर्थ त्यहाँ अरु उपाय र विधिहरु पनि सँगसँगै उत्तिकै प्रभावकारी रुपमा कार्यान्वयन भए होलान् । इटाली र स्पेनमा लकडाउनले पनि खासै काम गरिरहेको छैन । लकडाउन नै नगरेको सिंगापुरको तथ्यांक लिने हो भने त्यहाँ १४८१ मात्र संक्रमित छन् भने ६ जनाको मात्र मृत्यु भएको छ । अर्थात् ०.४ प्रतिशतको मात्र मृत्यु भएको छ । यस्तो कसरी भइरहेको छ ? यी तथ्यांकहरुको बहुआयामिक विश्लेषण हुन जरुरी छ ।

नेपालको लकडाउन लम्ब्याउन सक्ने क्षमता कति हो ? प्रशासकहरुका भनाइअनुसार नेपालसँग ३ महिनाका लागि लकडाउन धान्न सक्ने क्षमता छ । ३ महिनासम्म ठूलो मानवीय संकट आउने छैन । खाद्यान्न लगायत विभिन्न अत्यावश्यकीय बस्तुको सञ्चिती छ । आपूर्ती व्यवस्था सहज रहनेछ । आर्थिक क्षति र व्यवसायिक उद्यमशीलताको प्रश्नलाई छोडेर ३ महिना जनजीवन चल्न सक्दछ ।

ठीक छ– चीनझैं हामी पनि ३ महिना लामो लकडाउनमा जान सक्ने रहेछौं । आवश्यक पर्‍यो भने यस्तो विधि पनि अपनाउनु नै पर्दछ । तर १ बर्ष त जान सक्दैनौं । मानौं कि महामारी १ बर्ष गयो भने हामीले ३ महिना लकडाउन विधिबाट सामना गर्‍यौं – त्यसपछि के गर्ने त ? लकडाउनकै अबधिमा पनि अरु थप तरिका के के हुन् ? यी बिषयमा पर्याप्त बहस र तयारी आवश्यक छ ।

यो सजिलै भन्न सकिन्छ कि हामीले क्वारेन्टाइन, टेस्टिङ, उपचार र अन्य स्वास्थ्य सेवाको क्षमता विस्तार गर्नु पर्ने हुन्छ । यो काम सँगसँगै गयो भने लकडाउन प्रभावकारी हुन्छ अन्यथा लकडाउन खोलेको दिन जस्ताको त्यस्तै ।

नेपाल प्राकृतिक हिसाबले पनि केही हदसम्म सुरक्षित छ । हिमालको वलियो प्राकृतिक सीमानाले चीनतिरको सीमा व्यवस्थापन गर्नुपर्ने भार छैन । अन्तर्राष्ट्रिय हवाई उडान रोक्नेबित्तिकै बाँकी देशसँगको सम्बन्ध टुट्छ । बाँकी रहन्छ भारत मात्र । हाम्रो सरोकार र समन्वयको मुख्य देश भारत नै हो । भारतको रणनीति के हुन्छ, त्यसबाट पनि हाम्रो रणनीतिमा असर पर्दछ ।

छिट्टै खोप वा औषधी पत्ता लाग्ने आशा र हर्ड इम्युनिटीजस्तो आत्मघाती रणनीतिलाई छोडेर हामीले तेस्रो रणनीति अलबम्बन गर्नु उपयुक्त हुन्छ । त्यो भनेको सुरक्षित तरिकाले लकडाउनबाट बाहिर निस्कने बाटो खोज्नु नै हो ।

लकडाउनको समग्र आर्थिक क्षतिको विश्लेषण अर्को भयावह पाटो हो । सरकारले कोरोना कोषमा ससानो रकम जम्मा गरेर यो चुनौति सामना हुन सक्दैन । यसका लागि राज्यको सञ्चित कोष नै खर्च गर्न सरकार राजी हुनु पर्दछ । असार मसान्तमा अर्को आर्थिक बर्ष आउँछ । बैशाख, जेष्ठ, आषाढ – यी ३ महिनामा नै उखरपात विकास निर्माण हुने हैन । यति ठूलो मानवीय संकट हल गर्न सकियो भने विकास, निर्माण ३ महिना वा एक आर्थिक बर्ष ढिलो हुने कुरालाई कसैले पनि आपत्ती मान्नु हुँदैन ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय