scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

भाइरससँगै ‘दाईरस’हरुकाे चिन्ता

हरिप्रसाद गौतम

मनमा डर खेलिरहेछ । घरिघरि हतास हुन्छु । लकडाउन सुरु भएको डेढ हप्ताको यो अवधिमा प्रधानमन्त्री केपी ओलीले दोस्रोपटक सम्बोधन गरी भ्याए । ओलीको सम्बोधनमा न तथ्य छ, न तथ्यांक, न त कुनै योजना नै ।

सरकार अभिभावक हो । संकटका घडीमा अभिभावक हरहिसाबले बलियो र विश्वस्त देखिनुपर्छ । देखिएन । सुनिनुपर्छ । सुनिएन ।

मन भतभति पोल्छ । लोकतन्त्रमा नागरिकलाई एक्लो र असहाय अवस्थामा छोडिनु हुँदैन । जब विपत्ति र आपत्तिले चारैतिर घेर्छ, उसँग उसको साथमा सरकार हुन्छ । अरु सामान्य बेला त साथ र सहयोग गर्ने साथीभाइ, इष्टमित्र र परिवार हुन्छन् नै ।

Dish_Home

सायद हामी नेपाली यति एक्लो र असहाय मनोदशामा ०७२ सालमा महाभूकम्प जाँदा पनि थिएनौँ होला ।

डर र संशय सँगसँगै नयाँ आशा र विश्वास नजागेको चाहिँ होइन । त्यो आशा अँध्यारो रात चिरेर उदाउने लाल सूर्यजस्तो छ । त्यो विश्वास ‘फेरी भएर आउने बाँच्ने रहर’ जस्तो छ । सरकार त्यही लाल सूर्य हुनुपर्छ । बस् यत्ति चाहना हो ।

कोरोनाबाट बच्न परिवारसँग घरभित्रै थुनिएर बस्दा तपाईंको मनको स्थिति पनि यस्तै चक्रमा घुमेको हुनुपर्छ । दराजबाट कुनै पुस्तक झिकेर पढौँ भन्छु, मन स्थिर हुँदैन । केही फरक लेखुँ- प्रेम, जीवन र मृत्युबारे । हृदयको केन्द्रमा डेरा जमाएको कोरोनाले अन्य विषय सोच्न दिँदैन । शरीरमात्रै होइन, मनलाई समेत बन्दी बनाएको छ कोरोनाले ।

हामी त केही पढे लेखेका मान्छे ! थोरै सृजनशीलता भएका र पाठकीय आदत बसालेका मान्छे ! हात हातमा स्मार्ट फोन छ । छिनछिनमा कहाँ के भईरहेछ भन्ने अपडेट लिइरहन्छौँ ।

कल्पना गरौँ त, ती दूरदराजका गाउँ र पाखाको किसान, मजदुर र असहायहरु ! उनीहरु गाउँको मास्टर, दोकान चलाउने साहुमहाजन र स्थानीय नेताजीले भनेको र सुनेको आधारमा महामारीबारे विद्रुप धारणा बनाउँछन् । उनीहरुले बनाउने धारणामा डरको मात्रा कति ज्यादा मिसिएको होला ?

थाहा पाउनु दुःखको जननी हो । संसारका गरिब देशमा कोरोनाले भन्दा झाडापखाला र हैजाले धेरै गुणा मान्छे वर्षेनि मरिरहेका छन् । त्यसले सिएनएन, बिबिसी र न्यूयोर्क टाइम्सलाई छोएन । छुन्न । थाहा नभए पछि दुःख लाग्दैन । विश्व बेखबर हुन्छ । सब ठीकठाक लाग्छ । अन्तराष्ट्रिय जहाज उडेकै हुन्छन् । टाई कोट र सुटमा बोरिस, सि र ट्रम्पहरु दौडिरहेकै हुन्छन् । ट्रेन, बस र गाडी गुडेकै हुन्छन् ।

यो पटक कोरोना भाइरस फरक छनक र दनक दिँदै आयो । यसले धनी गरिब, सुखी दुःखी, सम्पन्न विपन्न कसैलाई पक्षपात गरेन । सबैलाई थाहा दिएर आयो । थाहा दिनु वा हुनु नै दुःख हो । सबैलाई दुःख भयो ।

दुःख मोबाइलको स्क्रीनमार्फत् आउँछ । कारण, छिनछिनमा थाहा दिईरहन्छ- सारा विश्वमा के हुँदैछ ? कहाँ कतिजना व्यक्तिलाई कोरोना लाग्यो ? कतिलाई सञ्चो भयो ? कति जनाले ज्यान गुमाए ? विश्वमा कुन राष्ट्रले कस्तो पहल गरिरहेका छन् ? चिनलगायतका मुलुकहरुले कसरी नियन्त्रण कायम गर्‍यो ?

हाम्रो सरकारले आफ्नो क्षमता अनुसरको तयारी गरेको खबर मोबाइलको स्क्रिनमा देखिन्नँ । हामीलाई कोरोनाको महामारीभन्दा ज्यादा हाम्रो सरकारी रबैयाले दुःखी बनाएको छ ।

खबर आउँछ– तीन महिनादेखि गुपचुप राखिएको स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई एकै दिनमा सकेर करोडौँको अनियमितताको प्रपन्च रचियो । यो पढेर हाम्रोे आशामा तुषारापात लाग्छ । संकटमा राज्यको ढुकुटी रित्तो बनाएका छन् नेताहरुले । लाग्छ यिनीहरु अष्टचिरिन्जीवी हुन् । यिनीहरुलाई कहिल्यै मर्नु पर्दैन । लाग्छ, मरे पनि सारा सम्पत्ति सँगै लैजान्छन् ।

भ्रष्टाचार नामक महामारी वर्षाैदेखि चलिरहेको छ । भाईरसहरुको लागि कोरोनाको प्रकोप पर्वजस्तै भएर आयो । कुन मान्छे कहिले कहाँ मर्छ थाहा नहुने यस्तो महामारीमा उच्च पदका महाशयबाट भएको यो कुकर्मको जति भर्त्सना गरे पनि कम हुन्छ । झट्ट हेर्दा बिरामी प्रधानमन्त्रीलाई ओझेलमा राखेर गरिएको जस्तो लाग्यो सुरुमा । तर होइन, प्रधानमन्त्री र सम्बन्धित मन्त्रीलाई थाहा नदिईकन यो कुकर्म भएकै छैन । कर्मचारीलाई ओठे दोष लगाएर मात्रै यो सरकार जोगिने छैन । कालो कर्तुतको दोष नबोकी नेकपा इतिहासको वैतरणी तर्ने छैन ।

कोरोना एउटा भाईरस नभई नेपालको राजनीतिक नेतृत्वको लागि “दाईरस” भई रहेछ । दाईरस यसर्थमा कि आफूभन्दा ठूलो दाईको संरक्षणमा राज्यको ढुकुटी खल्लास पार्ने लुटको खेल ! प्रधानमन्त्री केपी ओलीले मंगलबार गरेकोे सम्बोधनले यो सरकारप्रति नयाँ आशा र भरोशा दिलाउन सकेन । उल्टै प्रधानमन्त्री ओलीले औषधि खरिद प्रक्रियामा भएको अनियमितता र लुटको बचाऊ गरे । जनमानसमा उत्पन्न आशंका, सामाजिक संजालमा देखिएका विरोध र प्रतिपक्षीहरुका आग्रह र अनुरोधलाई शंकाको घेरामा राखे र भने– बेमौसमी बाजा बन्द गर्नुस् । लाग्थ्यो, घरमै बसेर आराम गरीरहेका प्रम आली अनियमितता गर्नेहरुलाई संरक्षण गर्न र विरोध गर्नेहरुलाई धम्की दिनको निम्ति नै सम्बोधनमा आए ।

महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता दिउँसोको घामझै छर्लङ्ग छ । कुनै सम्बोधन र फुट नोटले अब यो सच्चिने छैन । बरु प्रधानमन्त्रीको मंगलबारको सम्बोधनभित्रको पेटबोली बिचार्दा अनियमितता र भ्रष्टाचारमा सम्लग्नलाई जोगाउने प्रपञ्चमा सरकार हात धोएर लागेको प्रष्ट हुन्छ । जनताको शंका झन् सघन भएको छ । ओम्नीसँगको सम्झौता तोड्दा उब्जेको शंकालाई प्रधानमन्त्रीको सम्बोधनले सत्यमा बदलेको छ ।

यस्तो राष्ट्रिय संकटको बेला कसैलाई शंकाको सुविधा नदिई, विवादमा आएका व्यक्तिलाई पदबाट तत्काल विमुख गरी छानबिनको प्रक्रिया अगाडि बढाउनुको अर्को बाटो थिएन । सरकारले त्यो गरेन । आफ्नै पार्टीभित्रका, अझ भनौँ सचिवालयकै सदस्य नेताले उठाएका जिज्ञासा र जनबोलीलाई पेलेर अगाडि बढेको देखियो ।

मर्ने आज हो कि भोलि थाहा छैन । यो महामारीले आफैलाई या आफ्नो परिवारलाई कति खेर सिद्ध्याउने हो थाहा छैन । यस्तो त्राहीमाम समयमा सरकारका मन्त्री, कर्मचारीहरु कमाउने ध्याउन्नमा देखिनु र प्रधानमन्त्रीले तिनीहरुलाई मन बचन र कर्मले खुलेर समर्थन गर्नु खेदजनक छ । सम्झौता भंग गर्दैमा भूल सुधार हुँदैन । यसले त झन् सरकारबाट भएको गल्तीलाई सरासर प्रमाणित गर्छ । सिधा र प्रष्ट पदीय जिम्मेवारीबाट सम्बन्धित मन्त्री र कर्मचारीको ठाडो बहिर्गमनबाहेक अर्को कुनै विकल्प थिएन । छैन । अब यो सम्भावना देखिँदैन । गिद्धले सिनो हानालुछ गरिरहेझैँ राज्यको ढुकुटीलाई जसरी सिद्ध्याउने खेल चलिरहेछ त्यसले जनताको मन भतभति पोलेको छ ।

सरकारको महामारी रोक्ने र उपचार गर्ने तयारीमा गरेको ढिलासुस्तीले जनतालाई निरास र हतास बनाएको छ । सरकार अभिभावक हो । साधन स्रोतको पक्कै कमी छ । सीमित साधन स्रोतलाई उचित व्यवस्थापन गर्ने र पारदर्शी एवम् इमान्दार बनेर काम अगाडि बढाउने जिम्मेवारी यस्तो बेला अभिभावकको नै हुन्छ । सबै दलहरुमात्रै होइन, सबै जनताको विश्वासलाई साथमा लिएर अगडि नबढ्ने हो भने राष्ट्रिय संकटलाई चिर्न सकिँदैन । हालसम्मको रेकर्ड हेर्दा कोरोनाको फैलावट अन्य देशमा जस्तो नेपालमा छैन । पशुपतिनाथको कृपाले नै मान्नु पर्ला !

विश्वका ७ अर्ब जनता कोरोनासँग त्राहिमाम छन् तर नेपालीहरु कोरोनाभन्दा यी दाईरससंग त्राहीमाम छन् । उच्च पदस्त व्यक्तिका कर्तुतबाट भुइँमान्छेहरु अचम्मित छन् ।

कोरोनासँग डर लाग्छ नै । स्वार्थी मन घरिघरि शान्त र ढुक्क बन्छ । मनले भन्छ, ‘हरि, मरे पनि तँ त आफ्नै जन्मभूमिमा मर्छस्, मरेपछि कसैले नछोए पनि, खुल्ला आकासश तेरो लास फालिदेलान्, लास जहाँ फालिएला त्यो तेरो मातृभुमिमा नै फालिने छ । गिद्ध, स्याल, कुकुर र किरा जेजेले खालान् ती सबै नेपाली माटोकै प्राणी हुन् र तिनीहरुले कमसेकम भोक त मेट्ने छन् । खैर कहिँ लगेर पुरिदिए वा जलाई दिए पनि तेरो आत्मा नेपाल आमाको माटो र आकाशमा विलिन हुनेछ । तलाईं केको पिर चिन्ता !’

तर जब मोबाइलको स्क्रीनमा महाकाली पारीको खबर आउँछ, निदाउन सक्दिनँ । मनमा चैन छैन । भतभति मुटु जलिरहन्छ । सुनसान सडकमा निस्केर चिच्याउन मन लाग्छ ।

हरिप्रसाद गौतम

छिमेकी मुलुकबाट आफ्नै देशमा फर्कने बाध्यताले हप्तौँ हिँडेर सीमासम्म आएका हजारौँ मजदूर नागरिकलाई दशगजाको खुल्ला आकाशमा अमानवीय तरिकाले रोकिएको छ । त्यो हृदयविदारक दृश्य देख्दा कस्को मन नरोएको होला ?

ती विदेशमा रहेका एकतिहाई (करिब १ करोड भारतलगायत अन्य देशमा रहेका) हाम्रा दाजुभाइ दिदिबैनीलाई पनि आफ्नै मातृभूमि फर्कने रहर छ । स्वदेश फर्काउने ब्यवस्था गर ! नेपाली नागरिकको व्यवहार गर । दुःख र संकटको बेला दैलो बन्द गर्ने अधिकार तिमीलाई संविधानको कुन धाराले दियो ?

मोबाइलको स्क्रीनमा आएको अर्को खबर भन्छ- विदेशीका जहाज हरेका दिन हाम्रो एयरपोर्टमा झरेर आफ्ना नागरिक ओसारी रहेको छ । र, अस्ट्रेलियन नागरिकहरुलाई यिनीहरुको आफ्नै भूमि छोड्न हाम्रो जहाज पनि उता गयो । यसमा पनि दह्रै कमिसन खायो भन्ने खबर छ । तर त्यहि अस्ट्रेलियाले हाम्रा पचासौं हजार विद्यार्थीलाई आफ्नै देश जान सक्छौ भन्ने खालको सन्देश दिएको छ । भोलि अरु देशहरुले नभन्लान् भन्ने ग्यारेन्टी छैन । सरकार निर्दयी बनेको छ, जनताको वेदनालाई सुन्दैन । संकटको बेला मानवीय काम बिना कमिसन गर । ६०० देखि ७०९ किलोमिटर हिँडेर आफ्नो जन्मभूमिमा आउन खोज्नेलाई नरोकौँ, आवश्यक क्वारेन्टाइन आफ्नै भूमिमा बनाएर सुरक्षित र संरक्षित गरौँ ।

विकसित राष्ट्रहरुमा जस्तो एउटै भवनमा हजारौको बसोबास नेपालमा छैन घरहरु छुट्टाछुट्टै छन् । प्रत्येक घरलाई क्वारेन्टाएन बनाएर बाहिरबाट आउनेलाई छुट्टै राख्न त्यति कठिनाई छैन यदि सहि तरिकाले व्यवस्थापन गर्ने हो भने । तर सरकारको ध्यान यस्तो व्यवस्थापनतिर छैन । अहिले संक्रमित प्रमाणित भएका व्यक्तिको संख्या र स्थान हेर्दा सुदूर पश्चिम सबैभन्दा खतरनाक क्षेत्रमा परेको छ । नाका व्यवस्थित नगर्नुको परिणाम अहिले सुदूर पश्चिम भोगिरहेछ । पश्चिम दुःख्दा पूर्व जोगिँदैन । तराई संकटमा पर्दा पहाड जोगिँदैन ।

आपत् विपत् पर्दा, संकट आईलाग्दा, बिरामी पर्दा अझ भनौ मर्ने अन्तिम घडीमा पनि मान्छे आफ्नै देश, गाउँ अनि घर पुग्ने ईच्छा राख्दछ । महासंकटमा आफनो मातृभुमिमा टेक्न चाहनेलाई निषेध गर्नु अमानवीय र निन्दनीय छ । कति महाकालीमा हेलिए । कति ईन्तु न चिन्तु भएर खुल्ला आकाशमुन्तिर रोईरहे । यसको रेकर्ड सरकारसँग छैन ।

यति लेख्दा सम्म हाम्रो देशमा ९ जनामा कोरोनाको संक्रमण भएको प्रमाणित भईसकेको छ । अब यो प्रकोप पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको छ । अब यो अवस्थालाई यहि रोकेर तेस्रो चरणमा जान नदिने गरी सतर्कता अपनाउनु अहिले सरकार र नागरिकको प्रमुख दायित्व हो । सरकारले घोषण गरेको बन्दाबन्दीमा सारा नेपालीले धैर्यता र अनुशासनसहित साथ दिईरहेका छन र दिने पनि छन् ।

विपक्षमा रहेका केही काला स्वार्थ हुनेहरुले सहमतिको सरकार हुनुपर्छ, मध्यावधि चुनाव गर्नुपर्छ भनेर पनि बोल्न थालेका छन् तर तिनीहरुको आवाजलाई नेपाली जनताले खलपात्रको आवाजको रुपमा चित्रण गरिसकेका छन् । यसबाट सरकार आत्तिनु पर्ने देखिँदैन । तर आजको जस्तो यहि ढिलासुस्ती, लापरवाही, गैरजिम्मेवार र भ्रष्ट्राचारमा लिप्त रहिरहने हो भने काला स्वार्थ हुनेहरुले होईन आम नागरिकले सरकारमा रहेकाहरुलाई खलपात्रको रुपमा मुन्ट्याउन र गलहत्याउन बाध्य हुनेछन् जुन ईतिहासमा कहिल्यै भएको थिएन । त्यति बेला पश्चाताप गर्ने ठाउँ पनि रहने छैन ।

Twitter: @Gautamharis

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय