scheduleसोमवार जेष्ठ १२ गते, २०७७

काेराेना जितेका रञ्जित गौली भन्छन् -औषधि भनेकै सकारात्मक सोच रहेछ

काठमाडौं, २७ चैत । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको भएका छन् । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै चैत १५ (मार्च २८) देखि घरमै सेल्फ आइसोलेसनमा बसेर आफूलाई निको बनाएका छन् ।

पाँच वर्षअघि अमेरिका आउनुभएका गौली अमेरिकी सेनाको रिजर्भ फोर्समा कार्यरत छन् । कोभिड–१९ को त्रास बढिरहँदा आफूलाई समेत सङ्क्रमण भएपछि केही आत्तिएको तर घरमै सेल्फ आइसोलेसनमा बसेर चिकित्सकको सल्लाहबमोजिमको गतिविधि गरेपछि अहिले स्वस्थ अनुभव गरेको उनले बताए ।

“झण्डै १० दिन कोरोनाविरुद्वको लडाइँमा अन्ततः मैले जित्न सकेँ । यसका लागि आत्मबल बलियो हुनु जरुरी छ । ठूलो औषधि भनेकै सकारात्मक सोच रहेछ”, गौलीले भने, “मुख्य कुरा म तन्दुरुस्त छु, मलाई सर्दैन भनेर कसैले नसोच्नुहोला र सङ्क्रमण भइहाल्यो भने हेलचेक्र्याई नगर्नुहोला ।”

Dish_Home

कोरोना लाग्दैमा मरिन्छ भनेर डराइनहाल्न अनुरोध गर्दै गौलीले लागेको खण्डमा पनि घरमै बसेर आफ्नो प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक खाना खाने र चिकित्सकको सल्लाहअनुरुप गतिविधि गर्दा यो रोगमाथि जित हासिल गर्न सकिने आफ्नो अनुभवलाई बताए ।

शुरुमा ज्वरो आएको, ज्वरोपछि खोकी लागेको, ज्वरो घट्दै नघटेको र विस्तारै दिनहरु बित्दै जाँदा श्वास फेर्न कठिन भएको स्मरण गर्दै गौलीले भने, “तर, आफ्नो आत्मबल बढाउ“दै चिकित्सकको सल्लाहअनुरुपका गतिविधि गरे, आफूलाई भित्रबाट हार्न नदिन म लागिरहे । अहिले आराम अनुभव गरेको छु ।”

आफूलाई कोभिड–१९ को सङ्क्रमण देखिएपछि अरुलाई सर्न नदिनका लागि आफैँले सजगकता अपनाउन पर्ने गौली बताउछन् । “तातो पानी प्रयोग गर्ने, घरका सदस्यसँग समेत दूरी कायम गर्ने गर्नुपर्दछ । मैले त रुम नै बेग्लै गरेको थिए”, उनले भने , “तातोपानीको बाफ लिने गर्थे, श्रीमती र बुबा पनि छ–सात फिट पर बस्नुहुन्थ्यो । मैले सर्न नदिन विशेष ख्याल गरेँ । त्यसैले होला बुबा र श्रीमतीलाई अहिलेसम्म देखिएको छैन । आगामी दिनमा पनि नदेखियोस् ।”

उता इङ्गल्याण्डको साउथ इस्ट लण्डनमा कपुरका नामले परिचित पोखराका पद्म राणा पनि कोभिड–१९ को सङ्क्रमणका कारण उपचारपछि घरमै सेल्फ आइसोलेसनमा बसेर अहिले निको भएका छन् ।

उनी २० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । “मैले अस्पतालमा जाँच गर्न जाँदा मलाई निमोनिया र कोभिड सङ्क्रमण भएको थियो । तर पनि म अत्तलिन । अस्पतालमा रह“दा पनि मैले आत्मबल कहिल्यै घट्न दिइनँ, उनले कोभिड–१९ सङ्क्रमणपछिको अनुभव साट्दै भने, “कोरोना सङ्क्रमणबाट बच्न ‘ब्यालेन्स डाइट’मा ध्यान दिनुहोस्, तातोपानी, सुप र झोलिलो पदार्थ भएको पोषणयुक्त खाना खान खानुहोस् । साथै सकेमा तातोपानीको बाफ लिन, अझ सकिन्छ भने दिनमा कम्तीमा दुईपटक स्टिम बाथ लिनुहोस् यी सबै घरमै बसेर गर्न सकिन्छ । नियमित ब्यायाम गर्न र अति आवश्यक काममा बाहेक घर बाहिर ननिस्किन पनि उहाँ सबैमा आग्रह गर्नुहुन्छ ।”

अमेरिकाको न्यूयोर्क बस्दै आउनुभएकी ४४ वर्षीया नीमा शेर्पाको परिवारलाई नै कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । श्रीमान्–श्रीमती र दुई छोरासहित चार सदस्यीय नीमाको परिवार घरमै सेल्फ आइसोलेसनमा बसेको थियो । नेपाल सोलुखोम्बुका नीमा २२ वर्षअघि अमेरिका आउनुभएको हो । नीमा पेशाले नर्स हुनुहुन्छ । नर्सिङ पेशामा भएका कारणले पनि आफ्नो परिवारलाई रिकभर गर्न सजिलो भएको उनले बताइन ।

पछिल्लो समयमा आइरहेको तथ्याकंले पनि सङ्क्रमण पछिको रिकभरी रेट बढी देखाएको छ यो सुखद पक्ष भएकाले कोभिड–१९ को सङ्क्रमण भैहाले पनि आफ्नो आत्मबल बढाएर चिकित्सकीय परामर्शमा अगाडि बढ्दा फेरि पहिलाकैं अवस्थामा फर्कर्न सकिने निमाको बुझाई छ ।

न्यूयोर्ककै अर्का कोभिड–१९ को सङ्क्रमणमा पर्नुभएका भोजपुरका शम्भु मोक्तान पनि घरमै सेल्फ आइसोलेसनपछि अहिले आफूले स्वस्थ महसुस गरेको बताउनुहुन्छ । पाँच दिन अस्पताल भर्नापछि मोक्तान घरमै सेल्फ आइसोलेसनमा हुनुहुन्छ । मोक्तान गएको १९ वर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ । कोभिड–१९ को सङ्क्रमण भएको १५ दिनपछि अहिले आफू कोभिड–१९ को सङ्क्रमणले च्याप्नु अघिजस्तै बोल्न, हिँड्न र खान सक्षम भएको मोक्तानले बताए ।

अहिले आफूलाई विभिन्न देशबाट आफ्नो अनुभव साट्न आग्रह गर्दै सम्पर्क गर्ने गरिएको जनाउँदै उनले सुरुवाती लक्षणदेखि अस्पतालको उपचार पद्धति र सेल्फ आइसोलेसनमा बस्दा आफूले गरेका गतिविधि बताउने गरेको उल्लेख गरे ।

सकभर कोभिड–१९ को सङ्क्रमण हुन नदिनका लागि विशेष ख्याल गर्न आग्रह गर्दै उनले यदि कोरोना लागिहाल्यो भने पनि आफ्नो आत्मबल बढाएर चिकित्सकले भनेअनुरुपको कार्य गर्न सबैलाई सुझाव दिन्छन् ।

यस्तै स्पेनको बार्सिलोनामा कोरोना भाइरसको सङ्क्रमणपछि अस्पतालमा उपचार गराई विष्णु रिजाल अहिले घरमा सेल्फ आइसोलेसनमा बसेका छन् । सङ्क्रमणका कारण सिकिस्त बिरामी हुनुभएका बार्सिलोनामा बस्दै आउनुभएका अर्घाखाँचीका रिजाल आइसीयूमा भर्ना भएका थिए । घरमै आराम गरिरहेका उनी कोरोनाको सङ्क्रमण भएमा उच्च मनोबल राख्न र रोग नलुकाउन सबैलाई आग्रह गर्छन् ।

यस्तै अमेरिका न्यूजर्सीका बेगम पण्डित पनि आफूलाई कोभिड–१९ को सङ्क्रमणको लक्षण देखिएलगत्तै सेल्फ आइसोलेसनमा बसेका थिए ।

उता अमेरिका म्यासाच्युट्स बोष्टनका राम धिताललाई पनि कोभिड–१९ को सङ्क्रमण भएको थियो । २५ वर्षदेखि अमेरिका बस्दै आएका उनी घरमै सेल्फ आइसोलेसनमा बसेका थिए । अहिले आफूले पूर्ण स्वास्थ्यलाभ गरेको उनले बताए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय