scheduleआइतवार जेष्ठ ११ गते, २०७७

नेपालका विभिन्न कारागारबाट ३८५ कैदी रिहा, चार्ल्स शोभराज नछुट्ने

काठमाडौं २७ चैत । कोरोनाभाइरस सङ्क्रमणको महामारीको जोखिम कम गर्न भन्दै नेपालका विभिन्न कारागारबाट ३८५ कैदीहरू रिहा भएका छन् ।  रिहा हुनेमा जघन्य र गम्भीर प्रकृतिका अपराधबाहेक अन्य मुद्दामा दोषी ठहर भई कैद भोगिरहेका व्यक्ति रहेका  गृह मन्त्रालयअन्तर्गत रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ।

सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको एउटा विशेष आदेशका आधारमा सरकारले यस्ताे निर्णय गरेको हो। गत चैत्र ७ गते सर्वोच्च अदालतले एक वर्ष वा सोभन्दा कम कैद सजाय तोकिएका कैदीलाई जिल्ला अदालत वा न्यायिक निकायको सिफारिसमा रिहा गर्न सरकारलाई आदेश दिएको थियो।

Dish_Home

आफ्नो मुक्तिका लागि सम्बन्धित कारागारमार्फत् निवेदन दिएका ३९२ मध्ये १६८ जना र बालसुधार गृहबाट २१७ जना कैदी रिहा भएका हुन्।

रिहा भएकामध्ये ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकको सङ्ख्या ७० र अन्य केही पनि छुट्ने क्रममा रहेको विभागले जनाएको छ। छुट्न पाऊँ भनी केन्द्रीय कारागारमा निवेदन दिनेमध्ये अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराज पनि ‍रहेको बताइएको छ।

तर उनी जघन्य अपराधमा सजाय भोगिरहेको र अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको खोजी सूचीमा पनि रहेकोले छुट्न सम्भव नभएको विभागले जनाएको छ।

हत्या, बलात्कार, अपहरणसहित विभिन्न १९ वटा अपराधलाई निषेधित मुद्दाका रूपमा वर्गीकरण गरी त्यस्ता अभियोग लागेकाले छुट नपाउने कानुनी व्यवस्था छ।

विभागका महानिर्देशक प्रदीपराज कणेलले भने, “अदालतको आदेशले देशभरिका कारागार केही खुकुलो भएको र कोरोनाभाइरसको सङ्क्रमणको जोखिम केही कम भएपनि हाम्रा कारागारहरूले क्षमताभन्दा बढी कैदी राख्न बाध्य छन्।”

विभागका अनुसार देशका ७२ जिल्लामा रहेका ७४ कारागारमा झन्डै २५,००० कैदीबन्दी छन्। सरकारले विभिन्न वार्षिक समारोहको छेको पारेर गम्भीर प्रकृतिका अपराधबाहेक अन्यमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका र असल चालचलन भएका कैदीलाई छुट दिँदै आएको छ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय