scheduleआइतवारमाघ ४ गते, २०७७

कोरोना महामारी नियन्त्रण गर्न गैससहरूले के गर्ने ?

डा. रामचन्द्र लामिछाने

बुहुत बढीया बाटे हेनेकारी । लोग पुलीस प्रशासनके परेशान करके राखदेले वा । केतना आदमीके आदत होलाकी शुभ उठके दश आदमीके घर घरमे जाके बात करेके । अगर उन्काके कहल जाएकी १० हजार मिली घर मे बैठ त लोग कही की २० हजार लेल लेकीन हमराके घुमे दे । एसने लोग गे चल्ते महामारीके तनाव वा ना त वीरगञ्ज और गाउँघरमे शान्त वा ।

बिहान वीरगञ्जका समाजसेवी मित्र प्रकाश थारुसँग कुरा गर्दा उहाँले सुनाउनु भएको उक्त भनाईले मध्यतराईको जनजीवनलाई चित्रित गर्दछ । प्रायः विपत्ति तथा महामारीले सबैभन्दा बढी प्रताडित गर्ने भनेको ग्रामीण भेग, मजदूर, गरिब, घरमा एक्लै बसेका वृद्धवृद्धाहरु, अपाङ्गता भएका व्यक्तिहरु र बालबालिकिाहरु हुन् र यस विपत्तिको चपेटा पनि सबैभन्दा बढी यही वर्ग परेको छ । कोरोना १९ जस्तो प्रकृतिको विपत्तिले सिर्जना गर्ने समस्याहरुको सामाधान गर्न व्यक्ति, समुदाय, सरकारी र गैरसरकारी क्षेत्र सबैको भूमिका महत्वपूर्ण हुन्छ ।

यो यस्तो विपत्ति हो जसले नयाँ व्यक्तिलाई भेटन, सत्सर्ग, नयाँ काम गर्न प्रतिबन्ध गर्दछ । यसले समाजको दायरालाई एकदम साँघुरो बनाइदिएको छ जसले गर्दा हाम्रो दैनिक क्रियाकलापहरु एकदम खुम्चिएका छन् । हाम्रा अवश्यकता पूरा गर्न हामीले एकदम खुला समाजमा फराकिलो क्षेत्रको प्रयोग गर्दै आइरहेको सन्दर्भमा एकाएक हाम्रो क्षेत्र साँघुरिएको छ । यही साँघुरो क्षेत्रमा रहेर हामीले सहज र उत्साहपूर्वक रुपमा जीवन यापन गर्न परेको छ ।

यस भाइरसको संक्रमणको गति हेर्दा यसले अझै केही दिन सक्रियरुपमा र त्यसपछि दुई तीन महिना प्रत्यक्ष असर गर्नेछ । जतिबेला हाम्रो जीवन सामान्य अवस्थामा फर्किएको हुनेछ त्यतिवेला सम्म धेरै ठुलो मात्रामा मानव क्षति भएको हुनेछ भने आर्थिक उपार्जनका माध्यामहरु लर्खराएका हुनेछन् । हाम्रो मनस्थिति पनि निकै शिथिल भएको हुनेछ । यसका बावजुद पनि हामीले हाम्रो जीवन चलाउनु पर्ने नै हुनेछ । यदि हामीले अहिलेदेखि नै हाम्रो दैनिकीलाई सामान्य बनाउँदै लग्यौ र हामीभित्र भएको उत्थानशील क्षमताको प्रयोग गर्दै नयाँ र परिवर्तित अवस्थासँग समायोजन हुँदै गयौं भने हाम्रो जीवन सहज र उत्साहवर्द्धक हुनेछ ।

यतिबेला हामीले सबै सम्भावनाहरुको सकारात्मक सदुपयोग गर्नुपर्दछ । अहिले सरकारको सफल पहलका कारण छिमेकी देशहरु आक्रान्त हुँदा पनि नेपाल सुरक्षित रहेको छ । कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेसँगै देशको सबै जनसंख्या संक्रमणको जोखिमा परेको छ । यस्तो अवस्थामा अबका दिन अझै चुनौतिपूर्ण हुने हुँदा संक्रमण नियन्त्रण गर्ने सरकारको प्रयास सफल पार्न सबै संगठित तथा असंगठित क्षेत्रहरुले सकारलाई सक्रियरुपमा सहयोग गर्न पर्दछ ।

अबका दिनमा ठूलो संख्यामा रहेका गैरसरकारी संस्थाहरु, नागरिक समाज, सञ्चार, समुदायमा आधारित संस्थाहरु, स्वयम्सेवी संस्थाहरु, धार्मिक संस्थाहरुको भूमिका महत्वपूर्ण हुनेछ ।

नेपाली जनसमुदायमा कोभिड-१९ को बारेमा अधूरो जानकारी छ भने अधिकाँश जनमानसले विभिन्न कारणले गर्दा अपनाउन पर्ने सुरक्षा विधि अपनाएका छैनन् । यस्तो अवस्थामा यसको बारेमा व्यापक जनचेतना आवश्यक छ । नेपाली भाषामा मात्रै प्रेषित गरिने सन्देशहरुले सबै क्षेत्रका जनताहरुलाई समेटन सक्दैन । नेपाली जनमानसमा विभिन्न विषयमा जनचेतना जगाउने कार्यमा पोख्त नेपालमा कार्यरत अन्तराष्ट्रिय तथा राष्ट्रिय एवम् स्थानीय स्तरका गैरसरकारी संस्थाहरु, नागरिक समाजलगायत समुदायमा आधारित संस्थाहरुले स्थानीय सामुदायिक रेडियोहरुसँग सहकार्य गरेर जनचेतना जगाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।

डा. रामचन्द्र लामिछाने

गैरसरकारी संस्थाहरु र सामुदायिक रेडियोहरुको सञ्जाल ७७ जिल्लाका ७५३ वटै स्थानीय तहसम्म भएकोले स्थानीय तहहरुसँग समन्वय गरेर स्थानीय भाषामा सञ्चालन गरिने जनचेतनामुलक कार्यक्रमहरुले यस रोगका बहुआयमिक पक्षहरुबारे सबै जनतालाई जानकारी गराएर जनजनीवन सामान्य बनाउन र दैनिक उत्पादनका क्रियाकलापहरु सञ्चालन गर्न सहज बनाउनेछ ।

चारैतिर बन्द र लकडाउनका कारण मल तथा बीउ कृषकको पहुँचमा छैनन् । यस्तो अवस्थामा कृषि उत्पादनलाई निरन्तर सञ्चालन गर्न गैससहरुले स्थानीय सरकारसँग सहकार्य गरेर आवश्यक पर्ने बीउ, मल र औषधि आपूर्तिको व्यवस्था गर्न सक्दछन् । तुलनात्मकरुपमा नेपालका गैससहरुको लचकदार कार्यविधि र विविध क्षेत्रमा रहेको दक्षताले कोभिड-१९ भाइरसको संक्रमण नियन्त्रणमा बहुआयामिक योगदान दिन सक्दछ । नेपाल सरकारले गैससहरुसँग भएको यस्तो अद्वितीय क्षमताको भरपुर सदुपयोग गर्नुपर्दछ ।

दैनिक ज्याला मजदूरी गरेर खाने शहरी मजदूर, ग्रामीण कृषि मजदूर तथा कोरोनाको कारण वैदेशिक रोजगार गुमाएर देशमा फर्किएका र गरिब, अपाङ्ग, अशक्तहरुको दैनिक जीवन गुजारामा समस्या परिसकेको छ । बालबालिका, गर्भवती महिला र वृद्धवृद्धाहरुमा पोषण अभाव हुन थालिसकेको छ । आवतजावतको अभाव, आयआर्जनमा परेको प्रभावका कारण यस वर्गका पुराना रोगीहरुमा औषधिको समेत अभाव हुन थालेको छ । यस्तो अवस्थामा नेपालमा कार्यरत अन्तराष्ट्रिय, राष्ट्रिय तथा स्थानीय गैरसरकारी संस्थाहरुले स्थानीय सरकारहरुसँग सहकार्य गरेर राहत तथा औषधि वितरणमा ध्यान दिएर मानवीय संकट उत्पन्न हुनबाट बचाउनु ध्यान केन्द्रित गर्नुपर्दछ ।

लामो समयको लकडाउनका कारण र दिनदिनै ठूलो संख्यामा मानिसहरु हताहत र संक्रमण भएको खबरका कारण तथा एक्लै दिन बिताउन पर्दा कतिपय वृद्धवृद्धा, बालबालिका, अपाङ्गता भएका व्यक्तिहरुमा निराशाजनक सोचाई आउने, दिक्क लाग्ने र चिन्ता बढेर नैराश्यता र उत्साहहिनता बढाउन सक्दछ । यस्तो अवस्थामा यो वर्गलाई उत्साहित बनाउन एक्लोपना र निराशापूर्ण जीवनलाई आशा र उत्साहमा बदल्न प्रत्यक्ष वा परोक्षरुपमा सम्पर्क बढाउने र मनोरन्जनात्मक तथा उत्प्रेरक कार्यक्रमहरु सञ्चालन गर्न गैरसरकारी संघ संस्थाहरुको भूमिका महत्वपूर्ण हुन्छ ।

भूकम्पपश्चात् देशमा ईन्जिनियरको अभाव भएजस्तै यतिबेला चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको अभाव महसुस भएको छ । विगतका सरकारहरु र राजनीतिक पार्टीहरुको गलत शिक्षा नीतिको कारण देशले बारम्बार दक्ष जनशक्ति र स्वास्थ्य सेवा प्रदायक संस्थाहरुको अभाव व्यहोरी रहेको छ । तथाकथित नीजि अस्पतालहरुको गलत मनसायका कारण सामान्य बिरामीहरुले उपचार नपाई अकालमा जीवन गुमाइरहेका छन् । निकै दर्दनाक र कारुणिक समाचारहरु लगातार आइरहँदा पनि नीजिकरणका हिमायतीहरु यो सरकारको उछितो काढ्न पछाडि भने परेका छैनन् ।

यतिबेला नेपालमा नीजि अस्पतालहरुको औचित्य समाप्त भएको प्रमाणित भएको छ । तर, के सरकार नीति अस्पतालहरुको दर्ता खारेज गर्न तयार छ ? जनताहरु नीजि अस्पताल बहिष्कार गर्न तयार छन् ? सरकार सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन तयार छ ? सरकार थप मेडिकल कलेज सञ्चालन गर्न तयार छ ? यस्ता अनेकौं प्रश्नहरु उठे पनि अहिले स्थानीय जनतालाई निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन गैससहरुले सरकारसँग सहकार्य गरेर प्रत्येक स्थानीय तहमा चिकित्सक, नर्स, प्यारामेडिकलसहितको स्वास्थ्य टोली बनाई यसै टोलीलाई सहयोग गर्न सुरक्षाकर्मीहरु, पत्रकार र स्थानीय जनप्रतिनिधि समेतको संयुक्त टोली बनाई घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्न जरुरी छ । यसरी सञ्चालित हुने टोलीका सदस्यहरुको व्यक्तिगत सुरक्षाका लागि आवश्यक उपकरणहरु र स्वास्थ्य उपचारको लागि आवश्यक औषधि तथा उपकरणहरु सहयोग गर्न गैससको महत्वपूर्ण भुमिका हुन्छ ।

यो असाधारण अवस्था भएको कारण सरकारको प्राथामिकता र आव्हानअनुसार नै व्यक्ति, गैरसरकारी संघ संस्थाहरु, नीजि क्षेत्र तथा नागरिक समाजको जिम्मेवार भूमिका अपेक्षित हुन्छ । यस्तो अवस्थामा नीजि क्षेत्रले व्यवसायिक मर्यादा कायम गर्दै समाजले सम्मान गर्ने र स्विकार्ने मुनाफामा लक्षित रही गुणस्तरीय सेवा प्रदान गर्नु पर्दछ । आशा गरौं- निकै छिटै हाम्रो जीवन सामान्य हुनेछ र यस विषम परिस्थितिमा सरकार, गैरसरकार र नीजि क्षेत्रको सकारात्मक भूमिका सबै जनताको मानसपटलमा सदियौंसम्म रहिरहने छ र आउने पुस्ताले समेत हामीले सामना गरेको यो चुनौतिको गर्वका साथ बखान गर्नेछन् ।

(लामिछाने ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजेटिभ साइन्सका प्रमुख कार्यकारी अधिकृत हुन्)

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay