scheduleबिहिवार जेष्ठ १५ गते, २०७७

देउवापछि मिश्रको फोन प्रचण्डलाई, संकटको बेला आन्तरिक कलह बाहिर नल्याउन आग्रह


काठमाडौं, २७ चैत । साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन संवाद गरेका छन् । बुधबार प्रमुख प्रतिपक्षी दल नेकपाका सभापति शेरबहादुर देउवासँग टेलिफोन संवाद गरेका थिए ।

‘कोरोना संकटको संभाव्य चौतर्फी, दूरगामी असर र त्यसलाई संवोधन गर्नमा सरकारको काम गराईको शैलीमा देखिएका गम्भिर समस्याका कारण सबैलाई जस्तै मलाई पनि चिन्ता लाग्नु स्वभाविक हो,’ मिश्रले विहीबार फेसबुकमा लेखेका छन्, ‘त्यसै सिलसिलामा हिजो नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासँग फोनमा कुराकानी गरेको थिएँ, जसबारे मैले लेखिसकेको छु ।आज सत्तारूढ दलका एकजना अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गरेँ। उहाँलाई मैले दुईवटा आग्रह गरेँ ।’

मिश्रले प्रचण्डलाई संकटको बेला पार्टीभित्रको कलह बाहिर नल्याउन भनेको जिकिर गरेका छन् । ‘पहिलो, बल्लबल्ल बसेको यहाँहरूको सचिवालय बैठकमा बर्तमान अवस्थामा समेत पार्टीभित्रको आन्तरिक कलहमा धेरै समय व्यतित भएको खबरहरू बाहिर आए,’ मिश्रले लेखेका छन्, ‘आम सर्वसाधारणलाई त्यसले निराश बनाउँछ। अहिलेको अवस्था भनेको एकवद्ध भएर कोरोनाको कहरसँग लड्ने समय हो ।’

Dish_Home

मिश्रले प्रचण्डलाई राष्ट्रिय एकताको वातावरण बनाउन पनि आग्रह गरेको जानकारी दिएका छन् । ‘दोस्रो, विश्व स्वास्थ्य संगठनका प्रमूखले पनि हरेक देशमा राजनीतिक दलहरूलाई पार्टीगत स्वार्थबाट माथि उठेर ‘राष्ट्रिय एकता’ का लागि आह्वान गरेका छन् । साझा पार्टीको तर्फबाट हामीले झण्डै दुई हप्ताअघि नै प्रधानमन्त्रीको नाममा लेखिएको सुझावपत्रमा यो संकटसँग जुध्न राष्ट्रिय एकता आवश्यक भएकोले ‘उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र’को प्रस्ताव गरेका थियौँ। त्यस्तो संयन्त्रको झन, झन बढी खाँचो देखिँदै गएको छ,’ उनले लेखेका छन् ।

जवाफमा प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्रको विचार आफूलाई मन परेको बताएको मिश्रले जानकारी दिएका छन् । ‘अहिले पशुपतिनाथले रक्षा गर्छन् भनेर बस्ने स्थिति छैन। उच्चस्तरीय राजनीतिक संयन्त्रको विचार मलाई राम्रो लाग्यो। वास्तवमा त्यो आवश्यक छ। म यो सुझावलाई निश्कर्षमा पुर्‍याउन प्रयास गर्छु,’ उनले प्रचण्डको भनाई उद्धृत गर्दै भनेका छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय