scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सरी ल प्रधानमन्त्री ज्यू, ताली बजाउन सकिनँ

रुद्रप्रसाद भट्ट

प्रिय प्रधानमन्त्री ज्यू, सबैभन्दा पहिले म तपाईको स्वास्थ्यलाभको कामना गर्दछु । र, तपाईलाई नयाँ वर्ष २०७७ सालको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

यो नयाँ वर्षमा तपाईंले आँटेका र ताकेका सबै मनका ईच्छाहरु पूरा होऊन् । प्रधानमन्त्री ज्यू, तपाईको स्वास्थ्य अवस्था कस्तो छ ? नियमित औषधि सेवन गरिरहनुभएको छ होला । बेला-बेला चिकित्सकीय सल्लाह पनि लिइरहनु भएकै होला । हामीले त तपाईंका सल्लाहकार वा भित्रियाहरुले भनेको सुनेर तपाईंको अवस्था थाहा पाउने हो ।

रुद्रप्रसाद भट्ट

केहि मान्छेहरु तपाईंको स्वास्थ्य र दिमागी कुरा गरेर समृद्धिको यात्रामा ब्रेक लगाउन कम्मर कसेर लागिरहेका छन् भन्ने पनि तपाईंले थाहा पाईराख्नुभएकै होला । अर्कोतिर तपाईले पालेर राख्नुभएका दर्जनौं र स्वघोषित सल्लाहकारबाट देशको अवस्था पक्कै बुझिराख्नुभएकै छ होला । तपाईंले नियुक्त गर्नुभएका मन्त्रीज्युहरु र सल्लाहकारको कामका बारेमा त झन तपाईं पक्कै जानकार हुनुहुन्छ होला ।

Dish_Home

यतिबेला चीनबाट शुरु भएको कोरोना (कोभिड-१९) नामक भाइरसले विश्वका १ लाख भन्दा बढीको ज्यान गैसकेको छ । धन्न आजका दिनसम्म नेपाली भूमि भित्रै चाहिँ हामीले कसैलाई गुमाउनु परेको छैन । तर, विदेशमा रहेका र आफन्त भेट्न गएका नेपालीको भने यहि भाईरसका कारण ज्यान गएको पनि छ । मान्छे जन्मिएकै एकदिन मर्नको लागि त हो नि होईन र प्रधानमन्त्री ज्यु ? चाहे कोरोना होस्या दुर्घटना वा अरु कुनै कारण । कम्तिमा तपाईंले चुनावीसभामा भने जस्तै भातै खान नपाएर त कोहि मर्नु पर्दैन नी होईन ?

अहिलेसम्म तपाईंका कार्यकर्ता, पार्टी, नेता, परिवार, ईष्टमित्र वा निजका र टाढाका कोहि व्यक्ति भातै खान नपार मर्नुपरेको छैन नी होईन त प्रधानमन्त्री ज्यू ? जनताको कुरा अर्कै हो, ती चुनावमा नामावली नभएर भोट नदिने, दिए पनि विपक्षीलाई दिने, अनि न कहिले कमीशन बुझाउने न चन्दा दिने त्यस्ताको वास्ता गरेर समृद्ध नेपाल, सुखी नेपाली भइँदैन नि होईन र ? त्यसैले यसमा खासै चासो लिएर केहि हुन्न प्रधानमन्त्री ज्यू । बरु पार्टीभित्र अलि गडबढ सुनिन्छ । त्यसबारेमा चाहिँ चनाखो भैराख्नुपर्ला प्रधानमन्त्री ज्यू । फेसबुक मै भएपनि दोहोरीमा हार्न चाहिँं हुन्न भन्नुहोला सल्लाहकारहरुलाई ।

प्रधानमन्त्रीज्यु तपाईले नयाँ वर्ष २०७७ सालको सुरुवातमै अर्थात् आजै बिहान ८ बजे सबै नेपालीलाई राष्ट्रिय गान गाउन र ताली बजाउन भन्दै हिजो साँझ नै एउटा राम्रो सन्देश दिनुभयो । तर, मैले उक्त सन्देशलाई पत्याई हालेर अरुलाई ताली बजाउ भन्न चाहि सकिनँ । किनभने तपाईंको त्यो सन्देश केहि घण्टापछि फेरी हुँदै होइन, कुन माकाफुईंले हल्ला चलायो भन्नुहोला भन्ने पीर थियो मलाई । अर्कोतिर तपाईंका आईटी सल्लाहकारहरु यस्ता चलाख छन् जसले चित्त नबुझेको कुरा सिधै डिलिट ठोकिदिन सक्ने पावर लिएर बसेका छन् । जसको कारण तपाईंको सन्देशलाई फेसबुक, ट्वीटर, इन्स्टामार्फत् प्रचार गर्ने हिम्मत पनि भएन । यसमा म माफी चाहन्छु ।

प्रधानमन्त्री ज्यू, तपाईंले भने बमोजिम मैले ताली बजाउन नखोजेको होइन । मेरो सरकारको नेतृत्व गरेर बस्नुभएका मेरा प्रधानमन्त्रीको कुरा म कसरी काट्न सक्छु र ? फेरी मलाई तपाईंको भन्दा बढी तपाईंका सल्लाहकारहरुको डर लाग्छ । सायद मलाई मात्रै होईन होला अरु धेरै छन् जो तपाईंको सल्लाहकार र भित्रियाहरुको त्रासमा छन् । प्रधानमन्त्री ज्यू सम्झनुस् त तपाईंले पोखराको अमररिंह चौरमा एमालेलाई भोट दिनुस् खान लाउनको पीर हुन्न सुतीसुती भात खान पाईन्छ भनेर गरेको भाषण होस् वा झापामा राजेन्द्र लिङ्देनलाई जिताउ भनेर गरेको भाषण होस् ताली त बजाएकै होईन र ? अनि तपाईले जन्मघर पुगेर देशलाई नै केक बनाएर काटेर खाँदा पनि साह्रै राम्रो गर्नुभयो भनेर ताली हामीले नै बजाएको होईन त ? तपाईंले माओवादीसँग पार्टी एकता गर्दा, प्रधानमन्त्री हुँदा, काभ्रे पुगेर गोकुलजीको प्रशंसा गर्दा ताली बजाएको बिर्सनुभएको त छैन नी ! हिजो प्रचण्डलाई माकाफुई भन्दा होस् वा देउवालाई काँग्रेसको अन्तिम प्रधानमन्त्री भनेर भविष्यवाणी गर्दा पनि ताली त बजाएका थियौं नी, होईन र ?

प्रधानमन्त्री ज्यू, यतिबेला खोटाङबाट कैलाली जान हिँडेका ती मजदुर दाजुहरु ८ दिनदेखि भोकभोकै जंगलमा हिंडिरहेका छन् । बिरामी आमा भेट्न काठमाडौंबाट झापा हिँडेको छोरा बल्ल सिराहा पुग्दैछ । अनि चितवनबाट दाङ हिडेका बेखर्ची आमा दिदीबहिनीहरु कपिलवस्तु पुगेर बिरामी भएका छन् । सैनामैना पुगेपछि सडकमा ढलेकाहरु अगाडि बढ्नै नसक्नेगरी थलिएका छन् । काठमाण्डौंमा पढ्न बसेको छोरा चिउरा पनि सकियो भनेर रोइरहेको छ । यस्तोबेला तपाईं यति चाहिँ भनिदिनुस की ताली कसरी बजाउने ?

दूध किन्ने पैसा नभएर चार महिनाको बच्चालाई पानी पिलाएर आफु भोकै लकडाउनको पूर्ण पालाना गर्दै डेरामा बसेकी बहिनीलाई कसरी उठेर ताली बजाउ भन्न सकिएला ? प्रधानमन्त्री ज्यू, बाटोमा अलपत्र परेका ती मजदुरलाई कोरोनाको कुनै डर छैन । घर पुगेर आमा, श्रीमती र बच्चाको अनुहार मात्रै हेर्न पाए हुन्थ्यो भन्ने छ । अनि ती वृद्ध बाआमालाई आफ्नो सन्तानलाई अन्तिम पटक आँखा अगाडि देख्न पाए भन्ने रहर मात्रै छ ।

लौ न प्रधानमन्त्री ज्यू, यती गरिदिनुस्, उनीहरुलाई उद्धार गरी घर पुर्‍याईदिन भन्नुस् । नभए जहाँ छन् त्यहाँ तपाईंका कार्यकर्तालाई भनेर प्राण बचाउने काम गर्नुस् । अनि ताली बजाउने मात्रै होईन, तपाईंलाई काँधमै राखेर हिडौंला नि हुन्न ?

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय