scheduleमगलवार जेष्ठ १३ गते, २०७७

नेपालमा विपद् व्यवस्थापनमा देखिएका समस्याहरु

माधवराज शर्मा पोख्रेल

विपद् कुनै समाजमा प्राकृतिक, मानवीय वा अन्य विभिन्न कारणबाट आकस्मिकरुपमा घट्न जाने त्यस्तो घटना हो, जहाँ मानवीय एवं भौतिक संरचना, आर्थिक, सामाजिक र वातावरणीय क्षेत्रमा नोक्सानी हुन्छ । विपद्मा ठूलो जनधन एवं भौतिक संरचनाहरुको क्षति हुन सक्दछ र त्यस अवस्थाामा मानव जाति एवं समाजले सबैको सहयोगको अपेक्षा गरेको हुन्छ, साथै त्यहाँ उद्घार आवश्यक पर्दछ । विपद् जुनसुकै बेला, द्रुतगतिमा र विभेदरहितपूर्ण रुपमा आउँछ । त्यसैले भनिन्छ- विपद् बाजा बजाएर आउँदैन । विपद्ले कुनै जाति, धर्म, लिङ्ग, भाषा, रङ्ग, देश, राजनीति, धनी-गरिब भन्दैन । यो कुनैपनि बेला, कुनै पनि स्थानमा भेदभावरहित हिसाबले आउँछ । विपद्मा जनधन एवं भौतिक संरचनामा नोक्सानी अथमा क्षति, मानिसको मृत्यू एवम् गम्भीर कठिनाई उत्पन्न हुन सक्दछ । यसलाई कुनै निश्चित समय र सीमाभित्र न्यूनीकरण एवं नियन्त्रण गर्न सकिने वा नसकिने दुवै हुन सक्दछ ।

नेपालमा विप्द् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ ले कुनै स्थानमा आपतकालीन अवस्था सिर्जना भई जन वा धनको क्षतिको साथै जीवनयापन र वातावरणमा प्रतिकुल असर पार्ने प्राकृतिक वा गैरप्राकृतिक विपद् सम्झनु पर्दछ भनी विपद्को परिभाषा गरिएको छ । साथै, “गैरप्राकृतिक विपद्” भन्नाले महामारी, अनिकाल, डढेलो, कीट वा शुक्ष्म जिवाणु आतङ्क, पशु तथा चराचुरुङ्गीमा हुने फ्लू, प्यान्डमिक फ्लू, सर्पदंश, जनावर आतङ्क, खानी, हवाई, सडक, जल वा औद्योगिक दुर्घटना, आगलागी, विषाक्त ग्याँस, रसायन वा विकिरण चुहावट, ग्याँस विष्फोटन, विषाक्त खाद्य सेवन, वातावरणीय प्रदुषण, वनविनाश वा भौतिक संरचनाको क्षति तथा प्रकोप उद्घार कार्यमा हुने दुर्घटना वा यस्तै अन्य गैरप्राकृतिक विपद्बाट उत्पन्न विपद् सम्झनु पर्दछ । “प्राकृतिक विपद्” भन्नाले हिमपात, असिना, हिमपहिरो, हिमताल विष्फोटन, अतिवृिष्ट, अनावृष्टि, बाढी, पहिरो तथा भू-स्खलन, डुबान, खडेरी, आँधी, हुरी बतास, शीत लहर, तातो हावाको लहर, चट्याङ्ग, भूकम्प, ज्वालामुखी विष्फोट, डढेलो वा यस्तै अन्य प्राकृतिक विपद्बाट उत्पन्न जुनसुकै विपद् सम्झनु पर्दछ भनी परिभाषित गर्दै विपदको दायरा फराकिलो बनाएको छ ।

विपद् केवल प्राकृतिक कारणले मात्र नआई मानव जातीका विभिन्न क्रियाकलापबाट समेत विपद्को स्थिति आउन सक्दछ । विपद्ले मानिसको जीवन तहसनहस एवं मत्यू, भौतिक संरचनाहरु ध्वस्त हुन सक्छन्, त्यो समयमा डरत्रासका साथै नोक्सानीको स्थिति समेत पनि हुन सक्दछ । विपद् हुनको लागि त्यस्तो अवस्था हुनु पर्दछ, जहाँ पहिलो सवैले खतराको महसुस गर्दछन् र दोस्रो खतरा मात्र होइन त्यसबाट हानी नोक्सानी पनि भएको हुनु पर्दछ । भूकम्प, ज्वालामुखी विष्फोट, बाढी, पहिरो, चट्याङ, आगलागी, सुनामी, महामारी आदिलाई विपद्को उदाहरणको रुपमा लिन सकिन्छ ।

माधवराज शर्मा पोखरेल

Dish_Home

मानव जातीबाट भएको पृथ्वीको अत्यधिक दोहन, वनविनाश, औद्योगिकिकरण, बाढी, पहिरो, नदीको सतहमा वृद्घि, पृथ्वीको प्राकृतिक रुपमा हुने हलचल वा घुमिरहने प्रक्रिया, वातावरणमा गरिने अत्यधिक प्रदुषण, अव्यवस्थित बसोबास, प्राकृतिक स्रोत साधनको जथाभावी तरिकाले प्रयोग, अवैज्ञानिक भू-उपयोग पद्घति, सामुद्रिक आँधी, आणविक भट्टीको निर्माण, विभिन्न रोगहरुको उत्पत्ति र त्यसको उपचारको अभाव, अत्यधिक गरिबीले गर्दा भोकमरी, सुख्खा मौसमको कारण खडेरी, बस्ती एवं जंगलमा आगलागी, जमिनले थेग्नै नसक्ने गरी बिना परीक्षण निर्माण गरिने ठूलाठूना भौतिक संरचना आदि कारणले विपद् उत्पन्न हुने गर्दछ । उपरोक्त कारणहरुमध्ये केही प्राकृतिक कारण हुन भने धरै मानवीय कारण छन् ।

विपद्को रोकथाम एवं नियन्त्रण, उद्घार एवं पुर्नस्थापनाको कार्यलाई विपद् व्यवस्थापन भनिन्छ । विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ ले विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य वा विपद् पुनर्लाभसँग सम्वन्धित सम्पूर्ण क्रियाकलापलाई विपद् व्यवस्थापन भनी परिभाषित गरेको छ । विपद्को जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य वा विपद् पुनर्लाभ सम्बन्धमा योजना बनाउने, संगठन गर्ने, समन्वय गर्ने एवं कार्यान्वयन गर्ने समग्र क्रियाकलापलाई विपद् व्यवस्थापन भनिन्छ । विपद्को पूर्व तयारीको अवस्था, विपत्ति आएपछि त्यसको तत्काल नियन्त्रण, उद्घार एवं राहतको व्यवस्था, विपद्को घटनापछि गरिने पुननिर्मााण एवं पुर्नस्थापना र भविष्यमा यस किसिमको अवस्था आउन नदिन वा आएमा त्यसको लागि पुनः तयारी रहने अवस्था सम्मको उपायहरुनै विपद् व्यवस्थापन हो ।

विपद् जोखिम् न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार विपद् जोखिम न्यूनीकरणमा विपद् पूर्व गरिने जोखिमको विश्लेषण तथा मूल्यांकन, विपद् रोकथाम वा विपद्बाट हुने क्षतिको न्यूनिकरण तथा विकासका कार्यमा विपद् जोखिमलाई कमगर्ने सम्वन्धी कार्य पर्दछन् । विपद् प्रतिकार्यमा विपद्को घटना घटनासाथ तत्कालै गरिने खोज, उद्घार एवं राहतसँग सम्वन्धित कार्य र विपद् प्रतिकार्यको पूर्व तयारी समेत पर्दछ । विपद् पुर्नलाभ अन्तर्गत विपद्को घटनापछि गरिने पुनःनिर्माण र पुनर्स्थापनासँग सम्वन्धित कार्य पर्दछन् । विपद व्यवस्थापन भित्र विपद् पूर्व, विपदको समयमा र विपदपछि गरिने सम्पूर्ण कार्यहरु पर्ने एवं विपद्को सम्भावना सधै हुने भएकोले विपद् जोखिम व्यवस्थापनलाई एउटा निरन्तर चलिरहने चक्र (Cycle) को रुपमा लिन सकिन्छ ।

नेपालमा विगतमा भएका विपद्लाई हेर्ने हो भने मुख्यरुपमा भूकम्प, बाढी, पहिरो, आगलागी, महामारी (Epidemic/Pandamic), हिमनदी विष्फोट (Glacier Lake Outbrust), आँधीबेहरी र असिना (Windstorm and Hailstorm), खडेरी (Drought) आदि पर्दछन् । नेपाल विश्वका अति विपद् जोखिममा परेका मुलुकहरु मध्ये एउटा हो । नेपाल भूकम्पको दृष्टीले सम्बेदनशील क्षेत्र मानिएकोले नेपालको सवै क्षेत्रमा भूकम्पको जोखिमछ । वि.सं.१९९०, २०४५ र २०७२ सालमा यहाँ शक्तिशाली महाभूकम्प गैसकेका छन् । २०७२ सालमा गएको भुकम्पको घाउ अझै पूर्णरुपमा निको भएको छैन भने पूर्ननिर्माणको काम समेत सकिएको छैन । नेपालको भौगोगिक बनावटका कारण पहाडी क्षेत्रमा पहिरो र हिमालमा हिम पहिरो जाने गर्दछ ।

हिमालबाट तराईसम्म जाने ठूला नदीहरुबाट वर्षेनी बाढीबाट जमिनको कटान एवं डुबानको खतरा रहेको छ । कोशी नदीमा आएको बाढीले जमिन कटान गरी त्यस क्षेत्रमा डुबान गरी ठूलो जनधनको क्षति भएको घटना ताजै छ । तराई तथा पहाडका बस्तीहरु एवं जंगलहरुमा पटकपटक आगलागी हुने गर्दछ । त्यस्तै नेपालका विभिन्न भूभागहरुमा सुख्खा खडेरीको समस्या रहने गर्दछ । पहाड तथा तराइमा हावा हुरी र हिमालमा हिमपातले वर्षेनी नोक्सानी गर्ने गर्दछ । नेपालका विभिन्न भूभागमा असिना चट्याङ्गले नोक्सानी गरिरहेको पाइन्छ, त्यस्तै नेपालका विभिन्न जिल्लाहरुमा कालाजार, इन्सेफलाइटिस, मेनिन्जाइटिस, औलो, झाडा पखाला, हैजा तथा अन्य अज्ञात रोगहरु जस्ता महामारीले सताएको बिगतको इतिहास छ । हिमतालहरु फूट्ने खतरा पटक पटक सुनिन्छ ।

हाल चीनको वुहान शहरबाट संक्रमित सुरु भएको कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण हाल विश्व बिपद्को कठिन अवस्थामा छ । कोरोना भाइरसले सम्पूर्ण मानवजातीलाई चूनौति दिएको छ । यसबाट विश्वका अतिविकसित राष्ट्रहरु झनै प्रभावित छन् र यस महामारी बाट मानव जातिलाई कसरी बचाउने र भाइरस विरुद्घको लडाईमा कसरी बिजय प्राप्त गर्ने भन्ने विषयमा विकसित राष्ट्रहरुले यसको रोकथाम तथा उपचारको लागि खोप एवं औषधिको अनुसन्धान गरिरहेका छन् तर हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता लागेको छैन । यसबाट यस महामारीलाई फैलन नदिन लकडाउन अपरिहार्य कदम भएको छ र नेपालले समेत लकडाउनलाई अवलम्बन गरेको छ ।

हालसम्म नेपालमा कारोना भाइरस संक्रिमितको संख्या नगन्य छ, तर लकडाउनले मात्र यसको सम्पूर्ण खतरा भने हटी सकेको छैन । बाहिरबाट आएका संक्रमितबाट स्थानीयमा सरेको संक्रमण देखिएबाट नेपाल महामारीको दोस्रो चरणमा प्रवेश गरेको छ । कथम् कदाचित यो महामारी फैलिन गयो भने यसको तत्काल उपचार तथा उद्घारको आवश्यकता पर्दछ । जसको लागि प्रयाप्त मात्रामा स्रोत साधन, स्वास्थ्य सामग्री र मेडिकल उपकरणको आवश्यकता पर्दछ । सो कार्यको लागि हामीसंग पूर्वाधार एवं प्रयाप्त मात्रामा स्रोत साधन, स्वास्थ्यकर्मी, स्वास्थ्य सामग्रीसहितको तयारी छैन ।

नेपालमा विपद् व्यवस्थापन सम्वन्धमा विपद् जोजिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४, स्थानीय सरकार सञ्चालन ऐन २०७४, वन ऐन, २०४९, भबन ऐन, २०५५, बातावरण संरक्षण ऐन, २०५३, जलस्रोत ऐन, २०४९, विभिन्न आवधिक विकास योजना, सरकारको नीति तथा कार्यक्रम, राष्ट्रिय जलश्रोत नीति, २००२, राष्ट्रिय जल नीति २००५, जल उत्पन्न प्रकोप व्यवस्थापन नीति, २००६, विपद् व्यवस्थापन रणनीति २००९, भवन निर्माण संहिता आदिमा नीतिगत व्यवस्था गरिएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम विपद् व्यवस्थापन सम्वन्धी कार्यलाई प्रभावकारी रुपमा संचालन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद, परिषदबाट स्वीकृत नीति तथा योजनाको कार्यान्वयन गर्ने गराउने र विपद् व्यवस्थापन सम्वन्धी रणनीति योजना तथा कार्यक्रम स्वीकृत गरी लागू गर्ने गराउने काम समेतका लागि गृहमन्त्रीको अध्यक्षतामा कार्यकारी समिति, विपद् व्यवस्थापन सम्वन्धी नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद् सम्वन्धी अध्ययन अनुसन्धान कार्यमा सल्लाह सुझाव उपलव्ध गराउन भूगर्भविज्ञ, विशेषज्ञ चिकित्सक, विपद् व्यवस्थापन विज्ञ, वातावरण विज्ञ वा पूर्वाधार विज्ञ रहेको विशेषज्ञ समिति, विपद् व्यवस्थापन सम्वन्धि क्रियायाकलापको प्रभावकारी रुपमा सञ्चालन तथा व्यवस्थापन गर्नको लागि मन्त्रालय अन्तर्गत एक राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश विपद् व्यवस्थापन सम्वन्धमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन परिषद र प्रदेशको आन्तरिक मामिला सम्वन्धी विषय हेर्ने मन्त्रीको अध्यक्षतामा प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला बिपद् व्यवस्थापन समिति,गाउंपालिकाको अध्यक्ष वा नगरपालिकाको प्रमुखको अध्यक्षतामा स्थानीय विपद् व्यवस्थापन समिति सम्वन्धी व्यवस्था गरिएको छ ।

त्यस्तै विपद् व्यबस्थापन सम्वन्धमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय,गृह मन्त्रालय, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, खानी तथा भूगर्भ विभाग, सिचाई विभाग, भू तथा जलाधार संरक्षण विभाग, जल तथा मौसम विज्ञान विभाग ले सम्वन्धित क्षेत्रमा काम गरिरहेका छन् । त्यस्तै नेपाल प्रहरी, नेपाली सेना, नेपाल रेडक्रस, जाइका र इसिमोडले विपद्को व्यवस्थापनमा काम गरिरहेका छन् ।

हाल कोरोना भाइरसबाट हुन सक्ने संक्रमण रोकथाम तथा नियन्त्रणको लागि रोकथाम तथा नियन्त्रण उच्चस्तरीय उच्च स्तरीय समन्वय समिति, मुख्य मन्त्रीको संयोजकत्वमा प्रदेश तहमा र वडा अध्यक्षको संयोजकत्वमा वडा स्तर सम्म यस सञ्जालको बिस्तार गरिएको छ भने कोरोना संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को स्थापना गरिएको छ । हालसम्म कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागि मुलुकभार ३०,५६६ जनालाई राख्न सक्ने क्वारेन्टाइन, ३,२५९ क्षमताको आइसोलेसन बेडको व्यवस्था गरिएको पाइन्छ । हाल सातै प्रदेशका दश परीक्षण केन्द्रबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण गर्ने कायम सुरु गरिएको छ भने संक्रमणको उच्च जोखिम रहेका जिल्लाहरुबाट द्रुत परीक्षण (र्‍यापिड डिटेक्सन टेष्ट–आरटिडि) विधि अपनाइएको देखिन्छ ।

नेपालमा विपद् व्यवस्थापनमा विभिन्न समस्याहरु रहने गरेका छन् । विपद् आएपछि मात्र त्यसको नियन्त्रण, उद्घार, पुर्नस्थापना एवं पूनरनिर्माणमा ध्यान दिइएको देखिन्छ । त्यसमा पनि सुशासनको कमी रहेको देखिन्छ । विपद्को नियन्त्रण, उद्घार, पुनः स्थापना एवं पूनरनिर्माणको लागि प्रयाप्त मात्रामा दक्ष जनशक्ति एवं साधन स्रोतको कमी रहेको छ । विगतमा भएका विभिन्न विपद्का घटनाबाट समेत हामीले पाठ सिक्न सकेका छैनौ । विपद्को घाऊ ताजा हुँदा सम्म सम्झने र घाउ पुरानो भएपछि तुरुन्त विर्सने प्रवृत्ति रहेको छ । विपद् आउनै नदिने, समयमा विपद्को रोकथाम गर्ने, विपद् न्यूनीकरण गर्ने लगायतका पूर्व तयारी (Preparedness) विषयमा ध्यान दिएको पाईदैन । नेपालमा माथि उल्लेखित विभिन्न संस्थागत व्यवस्था अन्तर्गत रहेको संगठन र त्यसका समितिहरु विपद् परिसकेपछि मात्र नियन्त्रण एवं उद्घारको समयमा क्रियाशिल रहने प्रवृत्ति छ । विभिन्न भौतिक संरचनाहरुको निर्माण विपद् जोखिमका क्षेत्रहरुको पहिचान नगरी हुने गरेका छन् । जनचेतनाको अभाव, पूर्व चेतावनी प्रणाली (Early Warning Sysyem ) जस्ता आधुनिक प्रविधिको अभाव, गरिवी, अशिक्षा, ढिलो निर्णय गर्ने प्रवृत्ति, विपद् व्यवस्थापन सम्वन्धी विभिन्न एजेन्सीहरु वीच सहयोग र समन्वयको कमी, विपद् व्यवस्थापन सम्वन्धी कोष, तालिमको अभाव, दक्ष जनशक्ति र अन्य स्रोत साधनको कमीले गर्दा विपद व्यवस्थापनलाई अझ जटिल बनाएको छ ।

विपद् व्यवस्थापन एउटा जटिल कार्यहो । विश्वव्यापीकरणको कारणले गर्दा संसारमा एउटा सीमा बिहिन अवधारणा (Borderless Concept) को विकास भई संसार एउटा गाउँ जस्तै बनेकोछ । एउटा देशमा भएको घटनाको प्रभाव संसार भरीनै पर्दछ । त्यसको ज्वलन्त उदाहरण हाल विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाइरसको संक्रमणलाई लिन सकिन्छ । यस संक्रमणको नियन्त्रण गर्न विश्वका अतिविकसित र महाशक्ति राष्ट्रहरुलाई गाह्रो परिरहकोछ । बिकसित राष्ट्रहरुमा समेत उपचारको लागि आवश्यक विभिन्न स्रोत, साधन र उपकरणको कमी देखिएबाट विकसित राष्ट्रको लगानी मानव स्वास्थ्यमा भन्दा राशायनिक हातहतियार र आणविक भट्टी निर्माणमा केन्द्रिकृत रहेको देखियो । विपद् एउटै राष्ट्रमा मात्र सीमित नरहने र एउटै राष्ट्रले मात्र नियन्त्रण गर्न कठीन हुने तथा विपद् विभेदरहति रुपमा आउने हुँदा विश्वको विभिन्न राष्ट्रको एकआपसमा सहयोग र सद्भाव आवस्यक पर्दछ । यस सन्दर्भमा हालै विश्व स्यास्थ्य संगठनका निर्देशक जनरल टेडरोस अधानोभ गेव्रियेससले कोरोनामाथि राजनीति नगर्न र राजीतिलाई क्वारेन्टाइनमा राख्न भनेको कुरा सान्दर्भिक देखिन्छ ।

हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण नेपालमा पनि हरेक क्षेत्रमा नकारात्मक प्रभाव परेकोछ । जसको असरबाट पूनः फेरी अर्को महामारी नआउला भन्न सकिन्न । हालको विपद्बाट आउन सक्ने भावी विपद्को प्रक्षेपण गरी सोको रोकथाम एवं जोखिम न्यूनिकरणको लागि पूर्वतयारी, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य वा विपद् पुनर्लाभ सम्वन्धी रणनीतिक योजना निर्माण गरी कार्य गर्न सक्ने सक्षम संगठनको निर्माणगरी अहिलेबाटै कार्य सुरु गर्न आवश्यक देखिन्छ ।

(पोखरेल अधिवक्ता हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय