scheduleशनिवार जेष्ठ १७ गते, २०७७

कोभिड-१९ र नेपालको अर्थतन्त्र

प्रकाश खड्का, चार्टड एकाउण्टेन्ट

१३ अप्रिल विहानसम्मको कोराना अपडेट अनुसार विश्वमा १८ लाख ५० हजार भन्दा धेरै मानिसहरु कोभिड-१९ बाट संक्रमित भइसकेका छन् । एक लाख १४ हजार भन्दा बढी मानिसहरुले जीवन गुमाइसकेका छन् । चार लाख २८ हजार मानिसहरु अस्पतालबाट निको भएर घर फर्केका छन् । सिङ्गो मानव जगत बन्दाबन्दीमा बसेको छ । अनि, प्रविधिको माध्ययमवाट संसार नियालीरहेको छ ।

मानव जाति घोर संकट झेलिरहेको छ । संकटका अन्येक झन्झट झेलिरहेको छ । त्यसमध्ये आर्थिक संकटले मानिसलाई निकै चिन्तित बनाएको छ । विश्व आर्थिक संकटमा लपेटिइरहेको समयमा नेपाल पनि अछुतो छैन । कोभिड-१९ बाट नेपालको अर्थतन्त्रमा पर्नसक्ने प्रभावको वारेमा छलफल गरौं ।

यस वर्ष नेपाल सरकारले ८.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । तर, कोभिड-१९ को कहरपछि अर्थ मन्त्रालयले लक्ष्यअनुसार आर्थिक वृद्धि हासिल हुन नसक्ने बताएको छ । तर, एकिन आँकडा सार्वजनिक गरेको छैन । एकहप्ता अगाडि मात्र एशियाली विकास बैंकले सन् २०२० मा नेपालको आर्थिक वृद्धि ५.३ प्रतिशतले मात्र बढ्ने जनाएको थियो । यसैसाता विश्व बैंक, साउथ एशिया इकोनोमिक्स फोकसले नेपालको आर्थिक वृद्धि १.५ प्रतिशत देखि २.८ प्रतिशतसम्म मात्र बढ्ने उल्लेख गरेको छ । जुन, हाम्रो अर्थतन्त्र चालिस वर्षयताको सबैभन्दा खराब मानिनेछ । यद्यपि, विश्वव्यापी कोरानाको कहर रहेको बेला संसारले नै आर्थिक मन्दीसँग जुध्नुपर्ने देखिन्छ । यसले अर्थतन्त्रका एकसे एक क्षेत्रमा हमला गरिरहेको छ ।

Dish_Home
प्रकाश खड्का

अर्थतन्त्रमा देखिएको बदलाव अनुसार अहिले हरेक देशले आफ्नो प्रक्षेपित आर्थिक बृद्धिदर पुनरावलोकन गर्न थालेका छन् । यदि हामी विकसित देश अमेरिकाकै कुरो गर्ने हो भने पनि उसको पहिलो असर अमेरिकन रोजगार बजार देखिन्छ । यो बर्षको फेब्रुअरीसम्मको तथ्याङ्क हेर्ने हो भने अमेरिकामा बेरोजगारको सङ्ख्या ३.५ प्रतिशतबाट बढेर ४.४ प्रतिशतमा उक्लिएको देखिन्छ । विफोरम डट ओआरजीका अनुसार ३७ मीलियन रोजगारीहरु जोखिममा रहेको  छ । गोल्डम्यान साक्स इकोनोमिक्सका अनुसार मार्च २१, २०२० सम्ममा अनुमानित २ मिलियनले रोजगारी गुमाएको दावी गरेका छन् । यो त केबल रोजगारी गुमाउनेहरुको सुरुवात मात्र मानिएको छ । अमेरिकामा सबैभन्दा धेरै रोजगारी गुमाउनेमा खाना र पेय पदार्थसम्बन्धी कामदार रहेका छन् भने सबैभन्दा कम रियल स्टेटका कामदार हुनेछन् जसको प्रभाव प्रवासी नेपालीमा पनि देखिनेछ । जसको असर हाम्रो अर्थतन्त्रमा समेत देखिनेछ ।

हाम्रो छिमेकी देश भारतमा पनि यसको आर्थिक प्रभाव देखिन थालेको छ । आर्थिक वर्ष २०२०/२१ को पहिलो चौमासिकको अनुमानित आर्थिक वृद्धिदर ४.७ प्रतिशतबाट घटायर १.५ देखि २.५ प्रतिशत सम्म रहने अनुमान गरिएको छ । जुन केयर रेटिङ मुम्बइले बाहिर ल्याएको हो । भारतका सम्पूर्ण कलकारखानाहरु पूर्ण रुपमा बन्द छन् । लाखौं मजदुरहरुले रोजगारी गुमाएका छन् भने कृषि उत्पादनहरुले बजार पाएका छैनन् । यो सिजनका अधिकांश कृषि उत्पादनहरु जस्तै माछापालन, तरकारी खेती, कुखुरा पालन, दुध उत्पादन आदिमा सबैभन्दा धेरै प्रभाव परेको छ । भारतमा अहिले २१ दिनको लकडाउन लगाइएको छ जुन अप्रिल १४ मा सकिनेछ । यदि अप्रिल १४ पछि पनि लकडाउन निरन्तर भए निर्धारित बृद्धिदर पुनः घट्ने निश्चित छ । यसर्थ, छिमेकी देश र विश्वमा देखिएको आर्थिक मन्दीको चपेटामा नेपालले पनि आफ्नो उपस्थिति देखाइरहेको छ । हाम्रो मुख्य आर्थिक स्रोत मध्येका पर्यटन र रेमिटेन्स चपेटामा पेरका छन् । भ्रमण वर्ष २०२० सुरु गरेको २ महिनामा लकडाउन गर्नुपर्ने अकल्पनीय स्थितिको सिर्जना भयो । विनाशकारी भूकम्प र नाकाबन्दीबाट आक्रान्त बनेको नेपाली अर्थतन्त्र एकचोटी फेरी नराम्रोसँग बिग्रिने निश्चित छ । विश्व समुदायको सहयोगबाट हाम्रो अर्थतन्त्रले विनाशकारी भूकम्पले दिएको घाउ भरिन लागेको बेला फेरी अर्को अझ ठूलो घाउ बल्झिँदै छ ।

तत्कालीन रुपमा यसले दैनिक जनजीवनमा प्रभाव पर्नेछ भने दीर्घकालीन रुपमा नेपालको कूल गार्हस्थ उत्पादनमा यसको ठूलो असर पर्ने देखिन्छ । बैदेशिक रोजगारीबाट आउने रेमिटेन्समा निर्भर हाम्रो अर्थतन्त्र सबैभन्दा बढी पीडित हुने देखिन्छ । नेपाल राष्ट्र बैंकले निकालेको वार्षिक प्रतिवेदन २०७५।०७६ मा उल्लेख गरिएबमोजिम २०७५।२०७६ मा मात्र ७८३ विलियन रकम नेपालमा भित्रिएको छ जुन हाम्रो कूल गार्हस्थ उत्पादनको महत्वपूर्ण हिस्सा हुन जान्छ । कोरोनाको प्रभावको कारणले वैदेशिक रोजगारीमा कमी आउने निश्चितै छ । यदि त्यसो भएमा अनुमानित ३० देखि ४० लाख विदेशिएका युवाहरु स्वदेश फिर्ता हुनेछन् । कोरोनाको प्रभावले विदेशप्रतिको जुन मोह छ त्यसमा प्रत्यक्ष रुपमा असर पर्ने देखिन्छ ।

सरकारले अव के गर्ने ?

कोरानापछिको विश्वको परिकल्पना गर्न थालिइसकिएको छ । यस सन्दर्भमा, नेपाल सरकारले के गर्ने ? यो नै चुनौति र सम्भावना हो । धरासायी भएको अर्थतन्त्रलाई उकास्न त्यति सहज छैन । त्यसमा सरकारको मौजुदा प्रगतिको समीक्षा गर्ने हो भने निकै भयावह अवस्था छ । भ्रष्टाचार देशको प्रमुख प्रवृत्ति बनेको अवस्था छ । वैदेशिक रोजगारीमा गएका युवाहरु रोजगारी गुमाएर स्वदेश फिर्तापछि सरकारले स्वदेशमा नै रोजगारी दिने योजना के ? आर्थिक वर्ष २०७५।०७६ को नेपाल राष्ट्र बैंकको प्रतिवेदनअनुसार नेपालले तरकारी १४६०.९ करोड, धान चामल ३२२१.५ करोड, फलफूल १०४४.८ करोड भारतबाट मात्र आयात गरेको देखिन्छ । यसको समाधान के ? यी र यस्तै अर्थतन्त्रमा देखिएका थुप्रै चुनौति छन् भने समाधान र अवसर पनि देखिन्छ । कोभिड-१९ लाई वेसमार्क गरेर युद्धस्तरमा अर्थतन्त्रको निर्माण गर्न लागिपरेमा के नहोला ? त्यसको लागि स्मार्ट कृषि कार्यक्रम मार्फत सरकारले यो युवाशक्तिलाई उत्पादनमा लगाउनुपर्ने देखिन्छ । जसले गर्दा नेपालको कूल गार्हस्थ उत्पादनमा यसको बलियो हिस्सा बन्न सक्नेछ र रेमिटेन्समा आउने गिरावटलाई पूर्ति गर्न सकिनेछ ।

समग्रमा, धनी, गरीब, विकसित वा विकासोन्मुख देश सबैलाई आर्थिक पिरलो छ । राज्यसत्तामा नाराकै भरमा टिकिराखेको संसारका शासकहरुमा पुनः एकचोटी चुनौतिको पहाड सिर्जना भएको छ । अब मानवताको परिभाषा र विकासको नयाँ मोडलको खोजीमा लाग्नु पर्नेछ । यसको बावजुद पनि हाम्रो अर्थतन्त्रलाई हामी दह्रो गरी उभ्याउनेछौँ ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय