scheduleमगलवार जेष्ठ १३ गते, २०७७

टाइटनिक, ओली जहाज र कोरोना

रुद्रप्रसाद भट्ट

आज अप्रिल महिनाको १५ तारिख । धेरैलाई याद भएकै कुरा हो की आजकै दिन बेलायतको साउटह्याम्पटनबाट अमेरिका जाँदै गरेको संसारकै ठूलो भनिएको टाइटनिक पानीजहाज एटलान्टिक महासागरको हिम पर्वतमा ठोक्किएर डुबेको थियो । १९१२ अप्रिल १० मा निस्केकने उक्त जहाज १५ अप्रिल बिहानै समुद्री पिंधमा पुगेर विलय भएको थियो ।

दुई हजार २ सय २४ मानिस बोकेर युरोपदेखि निस्केको उक्त पानीजहाज डुब्दा ५० जना बालबालिका सहित करीब १५ सय मानिस बेपत्ता भए । स्थानीय समय अनुसार रातको ११ः४० मा उक्त जहाज महासागरको हिमपर्वतमा ठोक्किएको थियो । त्यतिबेला समुद्रको पानीको तापक्रम माईनस २ डीग्री सेल्सियस थियो भनिन्छ । जसका कारण २ घण्टा भित्रै करीब १५ सय ब्यक्ति बरफ जम्ने समुद्री पानीमा बेपत्ता भए । जहाज डुबेको झण्डै ७३ बर्षपछी मात्रै जहाजका अबशेष समुद्रको १२ हजार ५ सय फिट तल भेटिए । यो दुःखद घट्ना संसारले अहिलेपनि याद गरिरहेको हुन्छ किनभने हतियार बिनाकोयुद्धमा यति धेरै मानिस मारिएको त्यो पहिलो जहाज दुर्घट्ना थियो ।

रुद्रप्रसाद भट्ट

टाइटनिक जहाज दुर्घटना भएपछि कारणबारे धेरै अड्कलबाजी गरिए । धेरै समय त यसको दुर्घटनाको कारण खोज्नमै बित्यो । टाईटनिकलाई कहिल्यै नडुब्ने जहाज पनि भनिएको थियो । त्यसैले पनि यसलाई कसैले षड्यन्त्र गरेर दुर्घटनामा पारेको हो वा आफैं दुर्घटनामा पर्‍यो की चालकदलको लापारबाही थियो ? यस्ता प्रश्नहरु उठिरहे तर, जहाज किन र कसरी दुर्घटनामा पर्‍यो त ? भन्ने केही तथ्यहरु यस्ता भेटिए-

Dish_Home

१. जहाज दुर्घटनामा पर्दैछ भन्ने जानकारी क्याप्टेन स्मिथलाई ६ पटकसम्म गराईएको थियो तर उनले स्पीड घटाएनन् ।

२. जहाज अत्यधिक तीव्र गतिमा चलाईएको थियो जसले सबैभन्दा छिटो अमेरिका पुग्ने र सर्वाधिक छिटोे कुद्ने पानीजहाज भनेर विश्व रेकर्ड बनाउने सपना देखाईएको थियो ।

३. कहिल्यै नडुब्ने जहाज भनेर गरिएको हेलचेक्राई । जबकि जहाजमा कम्तीमा २० लाईफ बोट मात्रै भएको भएपनि ११ सय भन्दा बढी मानिसलाई जीवितै उद्धार गर्न सम्भव थियो । अझै आश्चर्यको कुरा त जहाज डुब्ने निश्चित भैसक्दा पनि जहाजमा रहेका संगीतकारहरु गीत गाउँदै थिए ।

यसरी टाइटनिक पानीजहाज दुर्घटना विश्वकै एउटा दुःखद र आजको दिनमा पनि सबैले सम्झिनै पर्ने घटना बनेर बसेको छ । टाइटनिकको सन्दर्भलाई छाड्ने हो भने यहाँ एउटा प्रश्न जबर्जस्त उठेको छ । यतिबेला के हाम्रो देश पनि झण्डै झण्डै टाईटेनिककै अवस्थामा त पुगेको छैन ? सधैं पानीजहाजको कुरा गरेर नथाक्ने हाम्रा प्रधानमन्त्री ज्यूलाई पानीजहाज बोल्न भन्दा चलाउन गाह्रो हुने बिषय हो भन्ने लाग्दैन ? पार्टी चलाउन त एक्लै नभै दुई दुईजना क्याप्टेन सबैले राख्न थालेको यो समयमा प्रधानमन्त्रीज्युलाई यति जानकारी पक्कै भएको हुनुपर्छ की पानी जहाज ल्याउन मात्रै होईन चलाउन धेरै कठीन छ । त्यसैले पानीजहाज भन्दा पहिले पार्टी, सरकार र देशको साशन ब्यवस्था राम्रोसँग चलाउन सिक्नुपर्छ ।

के यतिबेला देशको राजनीतिक, सामाजिक, आर्थिक अनि अन्य विषयहरु राम्रै चलिरहेको छ त ? की टाइटनिक डुब्दैछ भनेर ६ पटक सचेत गराएजस्तै भएको छ । प्रधानमन्त्री कै पार्टीका अन्य नेता, सल्लाहकार, कर्मचारी वा विपक्षी नेताहरुले सम्झाउँदा सम्झाउँदै पनि प्रधानमन्त्री ज्यू कुनै विश्व रेकर्ड राख्ने तीव्र दौडमा त हुनुहुन्न ? कि टाइटनिक डुब्दै नडुब्ने जहाज हो भनेजस्तै प्रधानमन्त्री ज्यू पनि कसैका कुरा नसुनी लाईफ ज्याकेट बिनै देश दौडाइरहनुभएको त छैन ? अझ जहाज डुब्दैछ भन्ने जान्दाजान्दै कर्मचारी संगीतमा मस्त भएजस्तै देश डुब्दैछ भन्ने जानेर पनि प्रधानमन्त्री ज्यू बाँसुरी र सारङ्गी बजाउनमै मस्त त हुनुहुन्न ? समृद्धिको यात्रामा निस्कनुभएका हाम्रा प्रधानमन्त्रीले यो समयमा ज्याला मजदुरी गर्ने मजदुर, असहाय, बालबालिका, अशक्त र निमुखालाई मध्यरातमा कुनै दुर्घटनामा त पार्नुहुन्न नी ?

चीनबाट शुरु भएको कोरोना नामक भाइरसले विश्वका १ लाख २० हजार भन्दा बढीको ज्यान लिईसक्यो । देश बाहिर रहेका १२ जना नेपाली समेत हामीले गुमाईसक्यौं । तीन साताको लकडाउन सकाउँदै गर्दा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । यस्तो अवस्थामा एकातिर रोगको डर अर्कोतिर जीवन जीउन नसक्ने दुःखद अवस्था हाम्रा अगाडि नै देखिरहेका छौं । अर्थात् जहाज डुब्दैछ भन्ने संकेत मिलिसकेको छ । यस्तोबेला प्रधानमन्त्रीज्युले केहि बोल्नुपर्ने होइन र ? कोरोना संक्रमितको संख्या दिनहुँ थपिदै जानु, भारतीय सीमा नाकाबाट अझैपनि मानिसको आवतजावत पूर्ण रुपमा नरोकिनु, अस्पतालहरुमा बिरामीको पर्याप्त जाँच नगरिनु, दैनिक ज्याला मजदुरी गरेर जीवन धानिरहेका परिवारलाई सरकार वा उसका संयन्त्रले भरोसायोग्य बचन दिन नसक्नुले कतै हामी पनि टाइटनिक जहाजकै यात्रु त भैरहेका छैनौं ?

यतिबेला चुनावताका गरिएका बाचा पूरा गर्नुस भनेर कसैले भनिरहेका छैनन् । सरकार ढलाउँछौं भनेर कसैले भनिरहेको छैन, खरीदमा के के गर्‍यौं पनि भनिएको छैन । नागरिकले कम्तिमा ज्यान बचाईदेउ मात्रै भनिरहेका छन् प्रधानमन्त्री ज्यू । हिजो चुनावीसभामा भनेको जस्तो रेल, तेल, पाईपमा ग्याँस चाहियो भनेर कसैले भनेको छैनन् । कम्तिमा मास्क, सेनिटाईजर, हस्पिटलमा पर्याप्त मेडिकल सामग्री, अनी बाँच्नका लागि प्राण धान्नेसम्मको खानेकुरा यति त हो जनताले मागेको ।

प्रधानमन्त्री ज्यू तपाईंले आव्हान गरेपछि लकडाउन पूर्ण पालना भएकै छ । खानुपर्नेले नखाएर, जानुपर्ने ठाउँमा नगएर, भन्नैपर्ने कति कुरा नभनेर पनि लकडाउन पालना भएकै छ । तर, लकडाउन मात्रै पनि त समस्याको हल होईन होला । यदि विश्वलाई अत्याईरहेको कोरोनाले दुःखी गरिब भनेर हामीलाई केहि ठुलो क्षति पुर्‍याएन भने पनि त त्यसपछि पनि हामी बाँच्नु त पर्छ होला ।

कि टाइटनिक जहाजको जस्तो सबैजना हराउने वा देशै डुब्न दिने त पक्कै होईन होला । लौ न प्रधानमन्त्री ज्यू तपाईको सल्लाहकार मार्फत् बोल्यो भने बाटोमै डिलिट हुने डर नबोल्दा बाँसुरी र सारङ्गीको आवाज छिचोलेर तपाईको कानमा पुग्ला नपुग्ला भन्ने डर । यो टाईटनिक जहाजको यात्रुजस्तै डरैडरमा बाँचिरहेका हामीलाई छिटो भन्दा छिटो उद्धार गरी ज्यान बचाईदिनुहोला ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय