scheduleसोमवार जेष्ठ १२ गते, २०७७

मोदीको आग्रहलाई भनिँदैछ सप्तपदी, आखिर के हो सप्तपदी ?

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार विशेष सम्बोधन गर्दै लकडाउनलाई मे ३ सम्म अर्थात बैशाख २१ सम्म लम्ब्याउने घोषणा गरे । साथै उनले आम जनतासँग सात आग्रह गरेका छन् । यी सात आग्रह उनले कोरोना भाइरससँग लड्नका लागि पालना गर्नुपर्ने नियमदेखि अन्य आर्थिक विषयमा केन्द्रित छन् । अहिले मोदीको यो आग्रहलाई सप्तपदी भनेर भारतमा चर्चा हुँदैछ । तर सप्तपदी त हिन्दू धर्मसंस्कारमा वैवाहिक जीवन सफल बनाउनका लागि गरिने वाचा हो ।

हिन्दू विवाहमा सात पटक अग्नीको प्रदक्षिणा गर्दै सात वाचा गरिन्छ । अग्नी साक्षी मानेर वैवाहिक जीवनका मर्यादा तय गरिन्छ । आखिर सप्तपदीमा के के विषय छन् त ?

Dish_Home

पहिलो वाचा

तीर्थव्रतोद्यापन यज्ञकर्म मया सहैव प्रियवयं कुर्याः
वामांगमायामि तथा त्वदीयं ब्रवीति वाक्यं प्रथमं कुमारी ।।

अर्थात कन्याले वरलाई पहिलो वाचा बँधाउँछिन् – तपाईं जब तीर्थ ब्रतमा जानुहुन्छ मलाई पनि साथै लिएर जानुहोला । धर्मकर्मको कार्यमा मलाई आफ्नो वामभागमा स्थान दिनुहोला । यदि तपाईं यो कुरा स्वीकार गर्नुहुन्छ भने म तपाईंको वामांगी अर्थात पत्नी बन्न तयार छु ।

दोस्रो वाचा

पुज्यो यथा स्वौ पितरौ ममापि तथेशभक्तो निजकर्म कुर्या:
वामांगमायामि तथा त्वदीयं ब्रवीति कन्या वचमं द्वितीयम ।।

अर्थात कन्या वरलाई दोस्रो वाचा बँधाउँछिन् – तपाईं आफ्नो मातापिताको जस्तो आदर गर्नुहुन्छ त्यसरी नै मेरो मातापिताको पनि आदर गर्नुहोला । अनि कुटुम्बको मर्यादा ध्यानमा राख्दै धर्मानुसार आचरण गर्न स्वीकार गर्नुहुन्छ भने म तपाईंको वामांगी हुन तयार छु ।

तेस्रो वाचा

जीवनम अवस्थात्रये पालनां कुर्यात ।
वामांगंयामितदा त्वदीयं ब्रवीति कन्या वचनं तृतीयं ।।

अर्थात् कन्याले वरलाई तेस्रो वाचामा बाँध्छिन् – जीवनको हरेक अवस्थामा, तीन उमेर अवस्था युवावस्था, प्रौढावस्था र वृद्धावस्थामा तपाईंले मेरो साथ छोड्नुहुनेछैन । तब म तपाईंको वामांगमा आउन स्वीकार गर्छु ।

चौथो वाचा

कुटुंबसंपालनसर्वकार्य कर्तु प्रतिज्ञां यदि कातं कुर्या:
वामांगमायामि तदा त्वदीयं ब्रवीति कन्या वचनं चतुर्थ: ।।

अर्थात् कन्याले वरलाई चौथो वाचामा बाँध्छिन् – अहिलेसम्म तपाईं गृहस्थीको चिन्ताबाट मुक्त हुनुहुन्थ्यो । अब विवाह बन्धनमा बाँधिँदै हुनुहुन्छ । अब परिवारको पालनपोषणको पूरा दायित्व तपाईंको काँधमा हुनेछ । यदि यो भार बहन गर्ने प्रण गर्नुहुन्छ भने म तपाईंको वामांगी बन्न तयार छु ।

पाँचौं वाचा

स्वसद्यकार्ये व्यहारकर्मण्ये व्यये मामापि मंत्रयेथा,
वामांगमायामि तथा त्वदीयं ब्रूते वच: पंचमत्र कन्या।।

अर्थात् कन्या हुनेवाला पतीलाई पाँचौं वचनमा बाँध्दै भन्छिन् – तपाईंले कमाउने धनमा परिवारको पनि अधिकार हुनेछ । त्यसैले घरको काममा, कसैसँग लेनदेनमा र अरु कुनै पनि काममा खर्च गर्नुअघि मेरो पनि सहमति लिन तपाईं राजी हुनुहुन्छ भने म तपाईंको वामांगी बन्न तयार छु ।

छैटौं वाचा

न मेपमानमं सविधे सखीना द्यूतं न वा दुर्व्यसनं भंजश्वेत ।
वामांगमायामि तथा त्वदीयं ब्रवीति कन्या वचनं च षष्ठम ।।

अर्थात कन्याले वरसँग छैटौं वाचा गर्न भन्छिन् – यदि म साथीहरुसँग वा दोस्री महिलासँग छु भने तपाईंले कुनै पनि कारणले मलाई अपमानित महसुस गराउनुहुने छैन । यदि तपाईं जुवातास, मदिरा जस्ता दूर्व्यसनबाट टाढा रहने वचन दिनुहुन्छ भने म तपाईंकी वामांगी अर्थात पत्नी बन्न तयार छु ।

सातौं वाचा

परस्त्रियं मातूसमां समीक्ष्य स्नेहं सदा चेन्मयि कांत कूर्या ।
वामांगमायामि तदा त्वदीयं ब्रूते वच: सप्तमंत्र कन्या ।।

अर्थात् कन्याले वरलाई सातौं वा अन्तिम वाचामा बाँध्दै भन्छिन् – तपाईंले परस्त्रीलाई मातासमान सम्मान गर्नुहुनेछ । हाम्रो आपसी विवादमा कहिल्यै पनि अरु कोही पनि भागीदार बनाइनेछैन । यदि यो वचन मलाई दिनुहुन्छ भने म तपाईंको वामांगी बन्न तयार छु ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय