scheduleशनिवार जेष्ठ १७ गते, २०७७

सरकारको खोजी

कविता
गंगा श्रेष्ठ

ओ कम्युनिस्ट सरकार !
नुनको भारी खेप्ने हामी भरियाले
आजसम्म अलिनो जीवन बाँचिरहेका छौँ
साहुको हलो जोत्ने हामी हलियाले
जीवनभरी बाँझो जीवन बाँचिरहेका छौँ
कारखानामा काम गर्ने हामी मजदुरले
सँधैभरी भोको पेट बाँचिरहेका छौँ ।

ओ सर्वहाराको सरकार !
तिमीलाई हामीले जीन्दगीभरि खोजिरह्यौं
अहिले चलिरहेको लकडाउनमा पनि
तिमीलाई हामीले काठमाडौमा खोज्यौं
सुरुङजस्तै अँध्यारो कोठामा खोज्यौं
चिसो चुल्हो र भोकोपेटमा खोज्यौं
ठेला परेका हत्केला र पिल्सिएका पाइतालामा खोज्यौं
तिमी कतै छौ कि त भनेर आफ्नै मनको गहिराईमा खोज्यौं
ओ गरिबको सरकार !
तिमीलाई हामीले चारभन्ज्याङ बाहिर काभ्रेमा खोज्यौं
सिन्धुलीमा खोज्यौं/दयपुरमा खोज्यौं
सयौं किलोमिटरको यात्रामा बाटाभरी खोज्यौं
पहाडको उकालीओर्‍हालीमा मात्रै होइन
तराई/मधेसका सम्म फाँटहरूमा पनि खोज्यौं
पूर्वको झापादेखि पश्चिम कंचनपुरसम्म खोज्यौं
उत्तरको हिमालदेखि दक्षिणको फाँटसम्म खोज्यौं
तर तिमी बाटाको कुनै मोडमा
भञ्ज्याङ् अनि चौतारीमा
हाम्रो तिर्खा मेटाउन
एक अञ्जुली पानी लिएर कुवामा उभिएको देखेनौं ?
हाम्रो भोक शान्त गराउन
एकमुठी सातु लिएर पाटीमा पर्खिएको भेटेनौं ?
हो साम्यवादी सरकार तिमीलाई हामीले कहिँ भेटेनौं ।

हामी भुइँमान्छे !
त्यसैले तिमीलाई हामीले यहीँको भुइँमा खोज्यौं
यहीँको माटोमा खोज्यौं/आफ्नै जमिनमा खोज्यौं
तर सरकार तिमीलाई हामीले कहिँ भेटेनौं ।

Dish_Home

कम्युनिस्ट सरकार !
तिमी हाम्रो काँधको भर्‍याङ चढेर
सायद अहिले सिंहदरबारको सतरन्जमा
पासा हानिरहेका छौ कि ?
चन्द्रशमशेरको नयाँ अवतारमा
सिंहदरबारको कौसीबाट बगैंचा हेरिरहेका छौ कि ?
जे होस् गरिबको सरकार ! तिमीलाई हामीले भेटेनौं ।

सरकार !
हामी मजदुर/हामी किसान
हामी गरिब/हामी सर्बहारा
हामी भुइँमान्छे
हामीले तिमीले जति कुरा बुझेका त छैनौं
हामी तिमीजति बाठा पनि छैनौं
हामीलाई धेरै कुरा थाहा पनि छैन
तर कम्युनिस्ट सरकार !
हामीलाई यति कुरा चाहिँ थाहा छ-
तिमीलाई सिंहदरबार पुर्‍याएको हामीले नै हो
हामीभन्दा बढी बाठो बनाएको पनि हामीले नै हो
अझ यसो भनौं-
हामी लाटा बनिदिएर नै तिमी बाठा भएका हौ ।

हामी भुइँमान्छे
अर्थात् सिंहदरबारको जग
साँची सरकार ! दरबारको जग कहाँ हुन्छ रे ?
हावामा कि जमिनमा ??
* * *

(काठमाडौंमा खान नपाएर हप्तौं दिन खाली खुट्टा सयौं किलोमिटर पैदल हिँड्दा दु:ख पाएकाहरूको दु:खमा आधारित कविता)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय