scheduleआइतवार श्रावण २५ गते, २०७७

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

डा. वेदप्रसाद खतिवडा

नेपालका गाउँघरमा घरको आसपासमा भइआएको खाली जग्गामा पारिवारिक उपभोगको लागि चाहिने ताजा फलफूल र तरकारी, मसलाबाली आदि लगाउने हाम्रो चलन नै करेसाबारी वा घरबगैंचा हो । सामान्यतया तरकारी उत्पादनका लागि करेसाबारी को निर्माण गरिन्छ भने घरबगैंचा भनेको यसको अलिक विस्तारित रुप हो ।

किसानसँग उपलब्ध भएको जग्गा, किसानमा भएको प्राविधिक ज्ञान, परिवारको संख्या, जाँगर र समयको उपलब्धताको आधारमा यस्ता घरबगैंचा र करेसाबारी बनाई वर्षैभरी यसको सञ्चालन र पारिवारिक आवश्यकता अनुसारको ताजा कृषि उपजहरु उत्पादन गर्न सकिन्छ । करेसाबारी वा घरबगैंचा तरकारी फलाउने स्थानको रुपमा मात्रै बुझ्ने गरिन्छ तर प्राविधिक दृष्टिकोणबाट हेर्ने हो भने करेसाबारी परिवारको लागि आवश्यक पोषणको भरपर्दो स्रोत र स्थानीय जैविक विविधता संरक्षण, सम्वर्द्धन र उपयोगको अनुपम नमूना बन्न सक्छ ।

नेपालको परिप्रेक्ष्यमा हेर्दा साधारणतया हिउँद र बर्खापछिका केही महिना नेपालमा करेसाबारी देख्न पाइन्छ र बाँकी समयमा भने गाउँगाउँमा पनि नजिकको बजारबाट तरकारी किनेको देखिन्छ । कृषि सम्बन्धी प्राविधिक पक्षमा ध्यान दिने हो भने यसलाई वर्षैभरी नै भान्छामा आवश्यक पर्ने तरकारी, मसला र फलफूलको स्रोत बनाउन सकिन्छ । यसभन्दा पनि महत्वपूर्ण कुरा त खाद्य तथा पोषण सुरक्षाको दृष्टिले अति जोखिममा रहेका पक्षहरु जस्तै महिला, बालबालिका तथा असहाय र वृद्धवृद्धाका लागि त करेसाबारी वरदान नै हुनसक्छ । किनकी यी सबैले करेसाबारी वा घरबगैंचाबाट ताजा कृषि उपजको भरपुर उपभोग गर्न सक्छन् ।

बजारबाट तरकारी फलफूल खरिदमा लाग्ने पैसाको बचत गर्दै, घरआँगन र भान्छामा खेर गैरहेका फोहोरको मल बनाएर परिवारका सबैजना मिलेर स्वास्थ्य लाभ लिँदै करेसाबारीमा काम गर्न पनि पाइन्छ ।

विश्वभर नै चलिरहेको कोरोना महामारीको अहिलेको विषम परिस्थितिमा यसले खाद्य तथा पोषण सुरक्षामा पार्न सक्ने जोखिम बढाउने पक्कापक्की छ । नेपालको अवस्थामा पनि अहिले चलिरहेको बन्द र आह्वान गरिएको प्रतिबन्धले पनि समग्र खाद्य र पोषण सुरक्षामा गम्भीर असर पारिरहेकै छ । एकातर्फ उपलब्ध समयको सदुपयोग गर्नुपर्ने टड्कारो आवश्यकता छ भने अर्कोतर्फ शरीरलाई व्यायाम र कसरत पनि आवश्यक पर्छ र शरीरमा रोग प्रतिरोधी क्षमताको विकास गराई सम्भावित संक्रमणबाट बच्नु पनि आवश्यक रहेको छ ।

यी सबै कुरालाई विचार गर्दा वैज्ञानिक घरबगैंचा तथा करेसाबारी निर्माण गरी वर्षभर नै ताजा कृषि उपजको उत्पादन र उपभोग अत्यावश्यक देखिन्छ । संघीय नेपालको परिप्रेक्ष्यमा कृषि र पोषण सुरक्षा स्थानीय सरकारको कार्यभारमा रहेको छ र खास जिम्मेवार स्थानीय गाउँपालिका र नगरपालिका नै हुन् । तसर्थ, स्थानीय सरकारको अग्रसरता र सहयोगमा हरेक घरघरमा दीगो करेसाबारी र घरबगैंचाको निर्माणको छलफल र काम अघि बढाउन आवश्यक रहेको छ ।

यसले गर्दा किसान परिवार र नजिकको बजारमा निर्भर रहने परिवारलाई पनि आवश्यक पर्ने ताजा तरकारी पनि उत्पादन गर्न सकिन्छ र अहिलेको संकटलाई टार्न सकिन्छ । स्थानीय स्तरमा रहेका कृषिका प्राविधिकहरु परिचालन गरी स्थानीय किसान समूह, महिला समूह, बचत तथा ऋण सहकारीहरु र अन्य संघसंस्थाले पनि यस अभियानमा साथ दिन सक्नेछन् ।

घरबगैंचा निर्माण गर्न अहिले भैराखेको करेसाबारीलाई नै वैज्ञानिक तरिकाले बिस्तार गरी नयाँ ढंगले बाली योजना गर्दै सञ्चालन गर्न सकिन्छ र नयाँ करेसाबारी वा घरबगैंचा बनाउने हो भने राम्रोसँग घाम लाग्ने, घरबाट नजिकै वा घरकै वरिपरि, पानी नजम्ने खालको र दोमट वा चिम्ट्याइलो माटो भएकोे, पानीको स्रोतको नजिकैे, घरपालुवा जनावरबाट जोगाउन सकिने जग्गामा बनाउनुपर्छ ।

करेसाबारीको नक्सांकन र बाली योजना परिवारको आवश्यकता, जग्गाको उपलब्धता आदिमा भर पर्दछ । एक देखि १.५ मिटर चौडाई र आवश्यकता अनुसारको लम्बाइका सानासाना प्लटहरु निर्माण गर्नुपर्छ । यीमध्ये राम्रो स्थानमा नर्सरी ब्याड बनाई बिरुवा जमाउन र हुर्काउन प्रयोग गर्नुपर्छ । सिजन र मौसमअनुसारका विभिन्न जातका तरकारी, मसलाबाली, जरेबाली, आदिलाई विभिन्न प्लटमा आफ्नो परिवारको छनौटअनुसार लगाउन सकिन्छ । घरबगैंचाको हकमा भने केही फलफूलहरुलाई पनि थप गर्न सकिन्छ र बजारका लागि पनि उत्पादन गर्न सकिन्छ । करेसाबारीलाई बाह्य गाइबस्तुबाट जोगाउनका लागि बाँसको मान्द्रोले छेकबार लाउन सकिन्छ वा तारबार गर्न आवश्यक हुन्छ ।

परिवारको आवश्यकताअनुसार बाह्रै महिना उत्पादन र उपभोग गर्न मिल्ने गरी बाली योजना तयार गरी आफ्नो क्षेत्रको मौसम हेरी बाली पात्रो निर्माण गर्न सकिन्छ । गर्मी याममा काँक्रा, फर्सी, करेला, घिरौँला, लौका, गोलभेंडा, र बोडीहरु लगाउन सकिन्छ भने बर्खाको समयमा भण्टा, खुर्सानी, विभिन्न बोडीहरु, स्कुस, भिण्डी, साग खान मिल्ने तरकारीहरु लगाउन सकिन्छ भने हिउँद वा सुक्खा मौसममा काउली, बन्दा, मुला, रायो, हिउँदे सिमी, धनियाँ, लसुन, प्याज, मेथी, आलु आदि लगाउन सकिन्छ ।

तरकारी लगाउँदा पहिला एउटा दुईटा तरकारी उत्पादन हुने गरी र क्रमशः परिवारलाई पूरै समयमा उपलब्ध हुन सक्ने गरी बाली योजना गरी सबै मौसममा उत्पादन गरिरहनुपर्दछ । परिवारलाई आवश्यक पर्ने फलफूल बालीलाई पनि केही क्षेत्र बढाएर घरबारी बगैंचामा समावेश गर्न सकिन्छ जसमा वर्षभरि नै फल दिने केरा, अम्बा जस्ता फलफूलका अलावा हिउँद, बर्खा, गर्मी र अन्य मौसममा फल दिने सबै प्रकारका फलफूलहरु रोप्न सकिन्छ । यसबाट घर वरीपरीको वातावरण स्वस्थ रहनुका साथै अन्य फाइदा पनि लिन सकिन्छ ।

नेपाली परिवेशमा यो किसिमको व्यवस्थापन सामान्य लागे पनि यो पर्यटकहरुको आकर्षण पनि हुन सक्छ र पछि गएर यसरी बनाइएको प्रांगारिक घरबगैंचालाई व्यवसायिक होमस्टेको रुपमा पनि विकास गर्न सकिन्छ र थप आयआर्जन पनि गर्न सकिन्छ । घरबारी बगैंचामा मसलाबालीका साथै बाँस जस्ता बहुपयोगी बोटविरुवा एवं कफी, चिया, आयुर्वेदिक जडीबुटीका विरुवाहरु पनि थप गरी लगाउन सकिन्छ । यसका लागि थप प्राविधिक सल्लाह र बीऊ तथा अन्य कृषि सामग्रीको सहयोग नजिकै रहेको कृषि ज्ञान केन्द्र, उपकेन्द्र वा एग्रोभेट पसलबाट पाउन सकिन्छ । स्थानीय रुपमा पाइने फलफूल तरकारी तथा अन्य बोटबिरुवा लाएर स्थानीय जैविक विविधताको संरक्षण पनि गर्न सकिन्छ । कालान्तरमा एउटा घरबारी बगैंचा पछि गएर गाउँपालिका तथा नगरपालिकाको नमूना पनि बन्न सक्छ जहाँ सबैजना आएर कृषिप्रविधिको ज्ञान लिन सक्छन् ।

महामारीको प्रकोप र असरका कारण विदेशमा नोकरीको उपलब्धतामा कमी आएसँगै आफ्नै गाउँघर फर्कने क्रम अबको महिनामा देखिनेछ । यस अवस्थामा विदेशबाट आएका जनशक्तिको श्रम र समयको उपयोग गरी समग्र कृषि क्षेत्रलाई अगाडि बढाउनु पनि रहेको छ । विपदका बेलामा सबैभन्दा महत्वपूर्ण मानवीय सुरक्षाको विषय भएता पनि खाद्य सुरक्षा र पोषण सुरक्षाको विषयमा कृषि क्षेत्रका सबै सरोकारवालाहरु मिलेर तत्काल नै दीगो करेसाबारीको अवधारणालाई आत्मसात गर्दै आआफ्नो क्षेत्रबाट आर्थिक, प्राविधिक लगायतका सबै सहयोग गर्दै करेसाबारी र घरबगैंचाको निर्माणमा अगाडि बढ्न अत्यावश्यक भइसकेको छ अन्यथा महामारीपछिको भोकमरीले अझैं ठूलो हलचल ल्याउन सक्छ ।

(लेखक हाल अष्ट्रेलियामा रहेर खाद्य गुणस्तर र सुरक्षा (Food safety and quality) विषयमा काम गर्छन् । उनले कृषि विज्ञानमा २०१६ मा केन्द्रीय क्विन्सल्याण्ड विश्वविद्यालय अष्ट्रेलियाबाट विद्यावारिधी गरेका हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय