scheduleबुधवार जेष्ठ १४ गते, २०७७

डोटीमा अन्य जिल्लाबाट आउनेलाई २१ दिन अनिवार्य क्वारेन्टाइन

डोटी, १० वैशाख । जिल्ला प्रशासन कार्यालयले डोटी जिल्लाभन्दा बाहिरबाट आउने नागरिकलाई २१ दिन अनिवार्यरुपमा क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको अध्यक्षतामा बसेको प्रकोप व्यवस्थान केन्द्र जिल्ला स्तरीय समितिको बैठकले आजबाट लागू हुनेगरी अन्यत्र जिल्लाबाट आउनेलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

विश्वभर कोरोना भाइरस सङ्क्रमण बढिरहेकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । उनले भने, ‘कोरोनाको संक्रमण हुन नदिन र नागरिकलाई सुरक्षित राख्नका लागि आजदेखि लागू हुनेगरी जिल्ला बाहिरबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने निर्णय गरेका छौँ । निर्णयको पूर्णरुपमा पालना गरिनेछ ।’

Dish_Home

जिल्ला बाहिरबाट आउनेलाई सम्बन्धित स्थनीय तहले एक स्थानमा सम्पूर्ण व्यवस्थापन गर्ने गरेर अनिवार्यरुपमा २१ दिन क्वारेन्टाइनमा राख्ने र र्‍यापीड डाइग्नोष्टिक टेस्ट (आरडीटी) जाँचपश्चात रिपोर्टका आधारमा मात्र घर फर्काउने जिल्लास्थित सम्बन्धित सबै स्थानीय तहलाई जानकारी गराइसकेको प्रजिअ पौडेलले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा भारतलगायत अन्य मुलुकबाट आएकालाई पहिलो चरणमा २१ दिन राखिएको थियो । समयावधि पुगेका र आरडीटी जाँचपश्चात सबैको रिपोर्ट नेगेटिभ आएपछि सबैलाई घर पठाइएको हो ।

पछिल्लो समय जिल्लाको बडीकेदार गाउँपालिकाले ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बिपिनगरमा स्थापना गरेको क्वारेन्टाइनमा १२ जना काठमाडौंबाट र ४ जना कैलालीबाट आएकालाई राखिएको छ भने जिल्लाका अन्य स्थानीय तहले तयार गरेका क्वारेन्टाइन हाल खाली छन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय