scheduleबुधवार जेष्ठ १४ गते, २०७७

घर फर्किने दिनको पर्खाइमा सीमापारिका नेपाली

फाइल फोटो

विनोदसिंह विष्ट, रासस/ बैतडी, ११ वैशाख । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण भारतीय सीमामा फसेका नेपाली नागरिकले घर कहिले जान पाइएला भनेर दिन गन्न थालेका छन् । क्वारेन्टाइनमा रहेका एक हजारभन्दा बढी नेपाली नागरिक गएको २६ दिनदेखि नेपालसँग सीमा जोडिएको भारतको झुलाघाट र धार्चुलामा बसिरहेका छन् ।

भारतीय क्वारेन्टाइनमा राखिएका उनीहरुका लागि बसोबासको उचित प्रबन्ध नहुँदा कोही महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरिरहेका छन् भने कोही ट्युबमार्फत एक हजार भारतीय रुपैयाँ तिरेरसमेत नेपाल आइरहेका छन् । साथमा पैसा हुनेहरु ट्यबुमार्फत नेपाल आए पनि बेखर्चीहरु केही उपाय नभएपछि घर फर्किन पाउने दिन कुरेरै बसेको बताएका छन् । रोजगारीका लागि भारत गएका उनीहरु अधिकांश मजदुरी गर्ने नागरिक हुन् । भारतमा पनि लकडाउनको घोषणा गरेपछि उनीहरु नेपाल फर्किएकोमा नेपाल सरकारले पनि देशैभरि बन्दको घोषणा गरेकोले सीमापारि नै परेका हुन् ।

सीमा क्षेत्रमा समस्यामा परेका मजदुर भित्र्याउन सर्वोच्च अदालतले नेपाल सरकारलाई आदेश पनि दिएको थियो । भारतीय सीमा क्षेत्रमा क्वारेन्टाइनमा बसेका ती नेपाली मजदुरले सर्वोच्च अदालतको आदेशपछि घर जान पाउने आशा गरेको भए पनि त्यो पूरा हुन सकेन । आफूहरु निकै समस्यामा परेकाले सबैले सहयोग गरेर घर जाने बाटो खोलिदिनुपर्ने बैतडीको पुर्चौडी नगरपालिका घर भएका नवीन बोहराले बताए । उनले भने, ‘‘भारतीय क्वारेन्टाइनमा बसोबास र खानाको पनि निकै समस्या छ, हामीलाई स्वदेश नै फर्किन दिए बरु जति दिन बस्नुपर्छ घरमै या सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा बस्ने थियौँ ।’’

Dish_Home

भारतले नेपाली मजदुरलाई व्यवस्थित क्वारेन्टाइन बनाएर राखेको भने पनि मन्दिरका धर्मशाला र विद्यालयका कोठाहरुमा कोचाकोच गरेर राखेको झुलाघाटमा रहेका दीर्घराज जोशीले गुनासो गरे । उनी भन्छन्, “बाहिर त सामाजिक दूरी कायम गरेर बस्ने भनेको सुनिन्छ तर यहाँ न यस्तो सामाजिक दूरी कायम गर्ने काम भएको छ, न त सुत्ने राम्रो व्यवस्था नै छ । बसोबासको समस्या हुँदा यहाँ उल्टै अन्य सरुवा रोगको जोखिम बढेको छ, गर्मी बढ्दो छ एकै कोठामा धेरै मानिस सुत्नुपर्ने समस्याले अब के हुने हो थाहा छैन ।’’

आफू भारतीय क्वारेन्टाइनमा बसेको २६ दिन भएको बताउँदै जोशीले भने, ‘‘खानेपानी, शौचालय, खानपिनको समेत उचित व्यवस्था छैन, तीन हप्ताभन्दा बढी क्वारेन्टाइनमा बस्दासमेत स्वदेश फर्कन नपाउँदा निकै दुःख भइरहेको छ ।’’ सीमामा रहेका नेपालीलाई स्वदेश ल्याएर क्वारेन्टाइनमा राख्नु भन्ने सर्वाेच्च अदालतको आदेश एफएमहरुबाट सुनेको र छिट्टै स्वदेश फर्किन पाउँछौँ भन्ने आशा पलाएको भए पनि अहिलेसम्म यहीँ बस्नुपरेकामा पुष्कर बोहराले पनि गुनासो गरे । “हामी स्वदेशमै रोजगारीको सिर्जना भएको भए अर्काको देशमा आउने थिएनौँ घरधन्दा चलाउन दुुई पैसा कमाउन भारत पसेका हौँ”, उनले भने । ‘समस्या पर्दा घर फर्किन पनि नपाएपछि हामीले प्रशासनबाट के आस गर्ने ?’ उनले प्रश्न गरे।

स्वदेश फर्कन पाए एक महिना भने पनि क्वारेन्टाइनमा बस्न तयार भएको मजदुरहरुले बताएका छन् । क्वारेन्टाइनमा बसेका नेपाली मजदुरहरुको खानपिनको व्यवस्था भारतीय सरकारले गरेको भए पनि बसोबासको भने समस्या रहेको भारतीय पत्रकार प्रमोदकुमार भट्टले जानकारी दिए। उनले भने, “सङ्क्रमणको जोखिम कम गर्न सामाजिक दूरी कायम गरेर बस्नुपर्ने भए पनि नेपाली मजदुरहरु भने एकै कोठामा कोचिएर बसिरहेका छन् ।’’

क्वारेन्टाइनमा बसेका नेपालीहरुको खानपिन तथा बसोबास व्यवस्था मिलाउन पिथौरागढ प्रशासनलाई आग्रह गरिएको भए पनि व्यवस्था हुनसकेको छैन । सुदूरपश्चिममा नयाँ बर्षलाई बिसुपर्वका रुपमा मनाउने चलन रहेको भए पनि बिसुका लागि भनेर घर फर्कन लागेका सुदूरपश्चिमेलीहरु भारतीय क्वारेन्टाइनमै बस्न बाध्य भएका थिए । सीमामा रहेका नेपाली मजदुरलाई बसोबासको प्रबन्ध मिलाउन भारतको स्थानीय प्रशासनलाई अनुरोध गरिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको भनाइ छ । भारतीय क्वारेन्टाइनमा बसोबासको सहज व्यवस्था नहुँदा अझै पनि ट्युबमार्फत जोखिम मोलेर नेपाल फर्कने क्रम पनि रोकिएको छैन ।

लामो समयसम्म अव्यवस्थितरूपमा हुलकाहुुल कोचिएर बस्दा सरुवा रोगको जोखिम बढ्दै गएको छ । गर्मीको समयमा धेरै जना एकै ठाउँमा बस्दा छालासम्बन्धी रोग, झाडपखाला र अन्य सरुवा रोगको सङ्क्रमण हुनसक्ने जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । उनी गर्मीको समयमा सरुवा रोगको बढी जोखिम हुने हुँदा बसाइलाई व्यवस्थित बसाइ बनाउन सुझाव दिन्छन् । भारतीय बजार झुलाघाटमा २५० र धार्चुलामा १ हजारभन्दा बढी नागरिक क्वारेन्टाइनमा बसिरहेका छन् ।

झुलाघाटको तालेश्वर धर्मशाला, खरक्युडा, रज्युडा र जामीरपानीका आधारभूत विद्यालयमा २४९ जना राखिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । यस्तै धार्चुलाका विभिन्न छ स्थानमा एक हजार ७६ नेपाली मजदुर राखिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका मोहन भट्टले बताए । राजकीय स्नातक महाविद्यालयमा ३६४, इण्डोर स्टेडियममा ३३४, लक्ष्मण सिंह विश्वविद्यालयमा २२३, जिआइसी बरममा १०५, फायर स्टेशन निगलपानीमा ३० र ट्वालीसेरामा २० नेपाली नागरिक बसेका छन् ।

यी क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारका तर्फबाट स्थानीय प्रशासनमा कुनै परिपत्र नआएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । उनले भने, ‘‘परिपत्र नआउँदासम्म भारतीय क्वारेन्टाइनमा बसेकाहरुलाई नेपाल ल्याउन सकिने अवस्था छैन ।” सीमापारि रहेका नेपाली मजदुरलाई स्वदेश ल्याउने बिषयमा पहल भइरहेको र यसका लागि कार्ययोजना बनाएर गृह मन्त्रालयमा पठाइएको उनले बताए ।

सीमापारि रहेका नेपाली मजदुरलाई स्वदेश फर्काउनुअघि मापदण्डअनुसारका क्वारेन्टाइन निर्माण गरिरहेको जानकारी दिँदै उनले नेपाल सरकारले निर्णय गरेलगत्तै मजदुरलाई स्वदेश ल्याउने प्रजिअ पौडलले बताए । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय संयन्त्रले नेपाल सरकारको क्वारेन्टाइन कार्यविधि, २०७६ बमोजिम सदरमुकामस्थित दशरथचन्द नगरपालिका र आवश्यकताअनुसार अन्य स्थानीय तहहरुमा पनि क्वारेन्टाइन निर्माण गर्ने निर्णय यसअघि नै भइसकेको छ ।

भारतीय क्वारेन्टाइनमा बसेका नेपाली नागरिक समस्यामा रहेको तथ्य यहाँका जनप्रतिनिधिलाई समेत राम्रोसँग थाहा छ । सीमामा रोकिएका नेपाली मजदुरको समस्याबारे सरकारको ध्यानकर्षण गराइसकेको बैतडीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दामोदर भण्डारीले बताए । उनले भने, ‘‘सीमामा रहेका मजदुरसँग नियमित सम्पर्कमा छु र उनीहरुलाई स्वदेश फिर्ता गर्न पहल जारी राखेको छु ।’’

यसैबीच बुवा बितेको चार दिनसम्म बैतडीका तीन जना नागरिकले भने हिजो नेपाल प्रवेश गर्ने आदेश पाएका छन् । भारतीय क्वारेन्टाइनमा रहेकै बेला उनीहरुका बुबाको निधनको खबर आएको थियो । जिल्लाको पुर्चौडी नगरपालिकाका प्रेम धामी, अम्मर धामी र राम धामीको बुवा बितेको चार दिनसम्म पनि नेपाल प्रवेश गर्न पाएका थिएनन् । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिकाका वासुदेव भट्टको पनि आमाको निधनको खबर आएपछि क्वारेन्टाइनमै किरीया बसेको समाचार प्रकाशन भएपछि उनलाई पनि ६ दिनपछि नेपाल भित्र्याइएको थियो ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय