scheduleबिहिवार आश्विन १५ गते, २०७७

कोरोनाले सिकाएको पाठ र हाम्रो दायित्व

डा. सुरेश तामाङ

आज सिंगो विश्व र हाम्रो मुलुक नेपाल कोरोना महामारीको विरुद्ध लडिरहेको छ । हालको अवस्थामा कोरोना भाइरसबाट बच्नु हामी सबैको मूल लक्ष्य हो । तर अगामी दिनमा आफू बाँचेर मात्र भएन । यसबाट अति प्रभावित र जोखिममा रहेको समूहका लागि पनि सरकारले केही व्यवस्था गर्नुपर्ने देखिन्छ । । हामी आफै पनि थप सजग र जिम्मेवार भने हुनै पर्छ ।

सरकार भने बेमौसमी आयोग र अध्यादेशमा अल्झेको छ । मजदुर र असंगठित क्षेत्रमा काम गर्ने हजारौं श्रमिक र गरीब जनताहरु आक्रान्त छन् । एकातिर उनीहरुको जीवन सहज बनाउन सरकारले सकेसम्म तत्कालै राहत दिन जरुरी छ । आगामी दिनमा पनि के कस्ता नीति र कार्यक्रम लागू गर्ने भन्ने कुरा महत्वपूर्ण हुन सक्छ । आगामी बैसाख १५ पछि लकडाउन अर्थात बन्दाबन्दी फरक स्वरुपमा लम्बिने देखिन्छ । जसमा सार्वजनिक सवारीमा रोक तर नीजिलाई फुक्का गर्ने प्रस्ताव छ । यसो गर्दा फेरि पनि गरीब र निम्न आर्थिक अवस्था भएकाहरु नै बढी प्रताडित हुने कुरामा दुई मत छैन किनकि सार्वजनिक यातायात चढ्ने र दैनिक ज्यालादारी गर्ने उनीहरु नै हुन् । नीजि सवारी, नियमित जागिर वा पेशा र व्यवसाय पनि मध्यम र उच्च वर्गको हातमा नै छन् । फेरी लकडाउन खुल्नासाथ सर्वसाधारणले सुरक्षित महशुस गरी देशभरि एकाएक ठूलो चहलपहल बढेमा संक्रमण फैलिने पनि सम्भावना उत्तिकै छ । यस कुरामा आमनागरिक र सरकार थप सजग हुनैपर्छ ।

तर जे होस् यो महामारीलाई एक मौकाको रुपमा पनि लिएर हामी सबैले पाठ सिक्न सकिन्छ । यही बेला सरकारले हिजोका बेथितिहरुलाई पनि नियन्त्रण गर्न र सच्याउन सक्छ । जस्तो सवारी नियम पालन गर्ने, सेवा लिन लामबद्ध बस्ने र पालो पर्खिने आदि । यसका लागि राज्य र हरेक नागरिक आफू पनि जिम्मेवार र अनुशासित हुनुपर्छ तर यस महामारीलाई कमाउने मौकाको रुपमा भने कदापि लिइनु हुँदैन ।

नेपाल जस्तो अल्पविकसित देश मात्र होइन आज विकसित र शक्तिसम्पन्न राष्ट्रहरुले समेत कोरोना भाइरसको अगाडि घुँडा टेकेको अवस्था छ । पश्चिमा औषधी विज्ञान र चिकित्साशास्त्रले पनि यो महामारी नियन्त्रण गर्न सकेको छैन । किनकी मानव स्वास्थ्य केवल शरीर र वंशाणुले मात्र नभई समग्र सामाजिक र पर्यावरणीय कारकहरुले प्रभावित गर्दछ । पृथ्वीमाथिको चरम दोहन, क्रुर अतिक्रमण, तीव्र शहरीकरण, भूमण्डलीकरण र मानव जीवनशैलीले पनि यो महामारी निम्त्याएको होे भन्ने तर्क अगाडि आएको छ । तसर्थ मानव र पृथ्वी वा प्रकृतिसँगको सम्बन्ध समधुर हुन अत्यन्त आवश्यक छ ।

कोभिड-१९ पछिको हाम्रो समाज कस्तो होला ?

आज सम्पूर्ण विश्व नै कोरोना भाइरसको कारण थलिएको अवस्थामा छ । आजसम्ममा कोभिड-१९ का कारणले संसारभरमा २७ लाखभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् । यसबाट झण्डै दुई लाखको ज्यान गइसकेको छ भने सात लाख बढी मानिस निको पनि भएका छन् । नेपालमा पनि जम्मा ४८ संक्रमित भएकोमा ९ जना निको भएका छन् । यो क्रम निररन्तर बढिरहेको छ । यसबाट विकसित देश मात्र होइन, गरीब र कम विकसित देश पनि प्रभावित भइरहेका छन् । यसको अन्त्य कसरी र कहिले हुने कुरामा शंका कायमै छ । यो झट्ट हेर्दा स्वास्थ्य समस्या जस्तो लागे पनि यसको असरहरु आम समाज र विविध क्षेत्रमा देखिने छन् । मानव स्वास्थ्य र स्वास्थ्य सेवाका अलवा यसले हरेक देशको अर्थतन्त्र, व्यापार, शिक्षा र मानव जीवनको हरेक पक्षमा असर छाड्नेछ । यसरी कोभिड-१९ आतंकले हाम्रो समाजलाई थुप्रै चुनौतिहरु थपेका छन् भने अवसरहरु पनि दिनेछ । विश्व बैंकले विश्वव्यापी महामारीका कारण नेपाल लगायत दक्षिण एशियाका मुलुकहरुको आर्थिक बृद्धिदर १ दशमलव ५ देखि २ दशमलव ८ प्रतिशतमा गिरावट हुने बताएको छ । यसरी कोभिड-१९ पछिको विश्व परिवेश र हाम्रो समाजमा के कस्तो परिवर्तन होला भन्ने कुरा कठीन भए पनि केही अनुमान गर्न सकिन्छ ।

त्यसैले सर्वप्रथमतः विश्वले चरम आर्थिक मन्दी खेप्नु पर्नेछ । यसबाट खासगरी मानिसहरुको आवतजावत र व्यापार प्रभावित हुनेछन् । एक अनुमान अनुसार विश्वका ५० करोड भन्दा बढी मानिसहरु गरीबीतिर धकेलिनेछन् । बेरोजगारी र सुकुम्बासी समस्या पनि बढ्ने पक्का छ । यो आर्थिक विचलन पूर्वी तथा दक्षिणपूर्वी एशियाले बढी खेप्नु पर्नेछ ।

यसका कारण विश्वव्यापी नाकाबन्दीपछि पृथ्वीको कम्पन नै कम भएको तथ्य पनि आइसकेको छ । विश्वको वातावरणीय अवस्थामा केही सुधार हुनेछ । विश्व आर्थिक मञ्चका अनुसार विगत महिनाको तुलनामा हावाको प्रदुषण घटेको र गुणस्तर बढेको छ । हरेक राष्ट्रको वातावरण र जलवायू परिवर्तन र संरक्षणसम्बन्धी काममा लगानी बढ्नेछ । विश्वको जन्संख्यामा समेत भारी कटौति हुनेछ । मानिसहरुको जीवनमा पैसाको भन्दा धर्ती र आकाश अनि माटो र पानीको महत्व बढेर जानेछ । राज्यले भौतिक विकासमा मात्र नभई सामाजिक विकास खासगरी शिक्षा र स्वास्थ्यमा लगानी गर्नेछ । सरकारका निकायहरु जस्तै स्वास्थ्य मन्त्रालय प्राकृतिक र दैवी विपत्तिका लागि सधैं तम्तयार रहनेछन् ।

सामाजिक रुपमा हेर्दा पनि धेरै कुराहरुमा परिवर्तन आउने सम्भावना छ । सीमित समयका लागि काम गर्ने प्रथा बस्नेछ । घरबाटै र दूरस्थानबाट [remotely] पनि धेरै काम गर्ने चलन चल्नेछ । नगद कारोबार घटेर विद्युतीय विधिमा भर परिनेछ । अनलाइन सेवाहरु, बिटक्वाइन, इ-कमर्स, इ-पे, टेलि-हेल्थ/टेलि-मेडिसिन, भर्चुअल बैठकहरु आदिको प्रयोग बढनेछ । सार्वजनिक कार्यक्रमहरु, समूहगत खेलकुद, साप्ताहिक हाटबजार जस्ता गतिविधिहरु बन्द प्रायः हुनेछन् । समाजमा देखावटी रुपमा गरिने भिडभाड हुने खालका भोजभतेर र साँस्कृतिक कर्मकाण्ड निरुत्साहित हुनेछन् । धरतीको स्याहार र सम्भारमा जोड गरिनेछ । परम्परागत र प्राकृतिक खेतीप्रणाली, खानपिन र घरेलु तथा परम्परागत औषधी उपचारमा मानिसहरु फर्कनेछन् । मांसाहारीको संख्या घट्नेछ र साकाहारीहरु बढ्नेछन् । सामुदायिक सरसफाइमा र स्वास्थ्यमा उच्च सतर्कता अपनाइनेछ ।

तर यसको प्रभावले मनोसामाजिक मानसिक स्वास्थ्य समस्या बढ्नेछ । मानिसहरुको दैनिकीमा आमूल परिवर्तन आउनेछ र धेरै मानवहरुमा विकास र समृद्धिलाई हेर्ने चेत फर्किनेछ । मानिसहरु बिदेशबाट नेपाल र शहरबाट गाउँ फर्कनेछन् । पारिवारिक रुपमा पनि मानिसहरु बढी समय घरमा बिताउनेछन् । यसले परिवारका सदस्यहरुमा आपसी सम्बन्ध राम्रो हुनेछ । यसबाट एकातिर मेलमिलाप बढ्नेछ तर यसको विपरीत घरेलु हिंसा बढ्न सक्ने पनि उत्तिकै खतरा छ । हरेक व्यक्तिले मानव जीवनको महत्व बुझ्नेछ । मानिसहरु व्यक्तिगत स्वास्थ्य र सरसफाइप्रति बढी नै सजग रहनेछन् ।

कोरोनापछिको हाम्रो दायित्व

कोरोना महामारीपछि हाम्रो समाजमा धेरै कुरामा परिवर्तन आउन आवश्यक छ । हरेक व्यक्तिका दैनिक जीवनशैली देखि राज्यको नीति, कार्यक्रम र प्राथमिकतामा पनि सचेततापूर्वक परिवर्तनको खाँचो छ । हरेक व्यक्ति र उसको परिवार मिली समाज बन्छ । विभिन्न समाजहरु मिलेर नै राष्ट्र वा देश बन्छ । त्यसकारण यी अपेक्षित परिवर्तनहरु सबैको हितमा छन् । हिजोको समाजमा भएको विकासको नाममा आयातित संस्कृति, धर्तीको दोहन गर्ने होडबाजी र मानव गल्ति सच्याउन सके सबैको जीवन सरल र गुणस्तरीय बनाउन सकिन्छ भन्नेमा कुनै शंका छैन ।

व्यक्तिगत तवरमा हरेक व्यक्ति सचेत हुनु अपरिहार्य छ । यसका लागि कोइला र दत्तिवनले दाँत माझ्न पर्दैन । रिठा, खरानी र पीना जस्ता पदार्थले कपडा पनि धुन पर्दैन तर पनि हरेक व्यक्तिले आफ्नो जीवनमा केही भिन्नता भने पक्का ल्याउन सकिन्छ । मेहनती किसानहरु महान् छन् जसलाई हामी सत्कार गरौं । किनकी हाम्रो खाना बोटविरुवा वा पशुपक्षीबाट आउने गर्दछ । यसबाहेक पनि हरेक नागरिकका घरमा साना ठूला करेसाबारी बनाउन सकिन्छ । शहरी क्षेत्रमा पनि सानो घरबगैचा वा कौसी खेती गर्न राम्रो हुन्छ । जसबाट दैनिक उपभोगका लागि कम्तिमा तरकारी त उत्पादन होस् । हरेक छाकमा पाक्ने अनाज र सब्जी ताजा, सफा र विषादीरहित भए स्वास्थ्यका हिसावले धेरै बेश हुन्छ । दैनिक रुपमा करेसाबारी वा बगैँचामा काम गर्दा प्राप्त हुने आनन्द र मनोसामाजिक स्वास्थ्य अति लाभदायक हुन्छ । यसलाई स्वास्थ्य मनोविज्ञानको भाषामा पर्यावरणीय उपचार विधि (Ecotherapy) पनि भनिन्छ ।

भोलिका कर्णधार साना बालबच्चालाई पनि चाउचाउ, चकलेट जस्ता पत्रु खाना भन्दा घरमै पाकेको रोटी, ढिँडो, तरकारी र नियमित खाना दिनु राम्रो हो । यसको साथै ती प्रांगारिक खानाको महत्व र पोषणबारे राम्रोसँग बताउनुपर्छ । त्यसैगरी बजारका पत्रु खानाको नकारात्मक पाटो र असरहरुबारे पनि सचेत गराउनुपर्छ । घरमा अनुत्पादक कुकुर र बिरालो भन्दा एकजोर उत्पादनशील पशुपक्षि पाल्न किन नसकिने ? यसरी आफ्नो उत्पादनमा भर पर्ने थितिको अभ्यास गर्दा राम्रो हुनेछ । गुन्द्रुक, सिन्की र मसौरा जस्ता खानेकुराको जोहो र प्रयोग गर्दा खर्च पनि बचाउन सकिन्छ । वनजंगलमा पाइने कर्कलो, सिस्नो, निगुरो, च्याउ जस्ता तरकारी तथा अन्य औषधीजन्य वनस्पतिको संरक्षण, संकलन, उत्पादन र उपयोगमा जोड दिनुपर्छ । त्यसैगरी स्थानीय उत्पादनहरुलाई प्रोत्साहन गर्न सकिन्छ । जसले किसानले पनि श्रमको उचित मोल पाउन् र स्थानीय अर्थतन्त्र पनि बनोस् । तर यसका लागि साना किसानप्रति आदर र उनका उत्पादनको खपत गर्ने, किसानहरुको सहकारी बैंक र अन्य सामूहिक हितका लागि बनेका संस्थाको सेवा लिने बानी र विश्वासको आवश्यक छ ।

डा. सुरेश तामाङ

सरकारी तबरबाट आगामी दिनमा के कस्ता रणनीति लिने सम्बन्धमा निजी क्षेत्र समेतको सहभागितामा उच्चस्तरीय कार्यदल बनाई कोरोना प्रभावको अध्ययन अनुसन्धान गरिनुपर्दछ । उर्जाका लागि महंगा आयातित ग्याँस र पेट्रोलियम पदार्थ भन्दा गोबर (जैविक) ग्याँस, सौर्य शक्ति (सोलार) र देशमै उत्पादित बिजुलीमा भर पर्न सकिन्छ । यातायातको लागि साइकल र विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिन सकिन्छ ।

मानव जीवन र प्रृकतिको सम्बन्ध बिग्रेकाले पनि आजको नियति भोग्नु परेको यथार्थ हो । त्यसकारण यसमा सुधार र धर्ती माताको स्याहार सम्भार हाम्रो कर्तब्य हो भनेर सबैले बुझ्नैपर्छ । फगत पैसा मात्र भन्दा पारिवारिक, सामाजिक र प्राकृतिक सम्बन्धमा जोड दिनु ढिला भइसकेको छ । यसरी परम्परागत सीप, ज्ञान र प्रविधिको खोज, जगेर्ना र प्रवर्द्धको महत्व बढेर गएको छ । स्थानीय जडिबुटीबाट घरेलु उपचार साथै अन्य वैकल्पिक र परम्परागत विधिहरुमा आधारित उपचार र औषधी विज्ञानका उपायहरु अपनाउन सकिन्छ । जुन सर्वसुलभ, बढी प्रभावकारी र सबैको पहुँचमा पनि हुन्छ ।

यस विषम परिस्थितिबाट सिकेर राज्यस्तरमा पनि विभिन्न कदमहरु तत्काल उठाउन सकिन्छ । मठमन्दिर र चर्च भन्दा विद्यालय र अस्पतालहरु निर्माण गरिनुपर्छ । कृषि र पशुजन्य उद्यमशीलतामा जोड दिँदै बेराजगार युवाहरु खासगरी बैदेशिक रोजगारीबाट फर्केकाहरुको सीप र ज्ञानको उपयोगमा ध्यान दिन सके यसबाट राम्रो लाभ लिन सकिन्छ । विश्लेषक आहुतीको भनाइमा नेपालीहरु चाहेर बेरोजगार भएका होइनन् तर देशमा आवश्यक संख्यामा रोजगारीको अवसर नभएको कारण बिदेशिएका हुन् । यसरी उनीहरुका लागि थप अवसरहरु सिर्जना गर्न सकिन्छ ।

सरकारले नीजि क्षेत्र र सार्वजनिक सेवाबीच स्पष्ट सीमा रेखा कायम गर्न जरुरी छ । शिक्षा, स्वास्थ्य र सामाजिक विकास जस्ता जनताको जीवनमा प्रत्यक्ष सम्बन्ध राख्ने विषयहरुमा सरकारको पूर्ण नियन्त्रण हुनुपर्दछ । यसलाई फेरि पनि नीजि क्षेत्रको हातमा दिएर देशले हिजोकै गल्ति गर्न मिल्दैन । नीजि विद्यालय र नीजि अस्पतालहरु तत्काल खारेज वा सरकारीकरण गर्नुपर्छ । सरकारले आयातित विषादी र रसायनमाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्छ । जिएमओ, हाइब्रीड र इनह्यान्स्ड बीउविजन, प्लाष्टिक र अन्य नकुहिने पदार्थहरुको आयात, उत्पादन, विक्री वितरणमा तत्काल रोक लगाउनुपर्छ । जनस्वास्थ्यका हिसाबले खराब आयातित वा देशमै उत्पादित भए पनि अस्वस्थ पेय पदार्थहरु र प्लाष्टिकबन्द पत्रु खानाहरुमाथि कडा भन्दा कडा प्रतिबन्ध र तिनलाई उच्च करको दायरामा ल्याउनुपर्छ । पुनर्नविकरणीय उर्जा, सोलार र विद्युतीय सवारी साधनमा भारी छुट, थप चार्जिङ स्टेसन निर्माण र प्रवर्द्धनका कार्यक्रमहरु ल्याउनुपर्छ । नेपाललाई पनि छिमेकी देश भुटान र भारतको सिक्किम राज्यले समेत अवलम्बन गरिसकेको जस्तो प्रांगारिक राज्य बनाउन सकिन्छ ।

(लेखक समाज कल्याण अभियन्ता तथा जनस्वास्थ्यकर्मी हुन्)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय