scheduleशुक्रवार श्रावण २३ गते, २०७७

यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक

डा. वेदप्रसाद खतिवडा

खाद्यबाली तथा तरकारी बालीका गुणस्तरीय बीउ कृषि उत्पादनको प्रमुख र अनिवार्य शर्त हो । यो बिना हामी पोषण तथा खाद्य सुरक्षाको कल्पनासम्म पनि गर्न सक्दैनौं । नेपालमा हालसम्म विभिन्न बालीहरुका ६२३ वटा जातहरु विकसित गरी उन्मोचन गरिएका छन र विभिन्न हावापानी, स्थान र मौसमका लागि सिफारिस गरिएको छ । तर, दशकौंसम्म विदेशबाट आयातित वर्णशंकर (हाइब्रिड) तथा उन्नत जातको बीउको प्रयोगले नेपालका हावापानी सुहाउने र स्थान बिशेषका रैथाने बाली तथा यसका जातहरुका बीउहरु करिब-करिब लोप हुने अवस्थामा पुगेका छन् ।

केही स्थान विशेषमा गैरसरकारी संस्थाको पहल वा जागरुक किसानहरुको आफ्नै पहलमा संरक्षण गरिएका केही सीमित उदाहरणबाहेक व्यवसायिक तथा अर्ध व्यवसायिकरुपमा खेती गरिने स्थानमा आयातित बीउको प्रयोग अत्यधिक बढेको छ । खाद्यान्न उत्पादन बढाउनुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै बढी उत्पादकत्व लिन भित्र्याइएका यस्ता उन्नत जातहरुले उत्पादनका लागि आवश्यक पर्ने अवस्था (आवश्यक रासायनिक मल, सिंचाई, रोग कीरा व्यवस्थापन आदि) को अभावमा र कतिपय अवस्थामा रोगकीराको प्रकोपले र हावापानी नमिल्नाले स्थानीय जातको जति पनि उत्पादन दिन सकिरहेको हुँदैन ।

उदाहरणका लागि बाराका हाइब्रिड मकै खेती गरेका किसानहरुले घोगामा दाना नलागेका थोते मकैसहित गरेको आन्दोलन हामी धेरैले बिर्सेका छैनौं भने यस्तै अवस्था कतिपय धानका बीउमा पनि बेलाबखत आइरहेकै छ । समग्रमा भन्ने हो भने आयातित बीउको अधिक प्रयोगले किसानको खेतीको कूल लागत पनि बढ्दै गयो र खुद नाफामा कम हुँदै गयोे । खेती प्रणालीमा आएको यो परिवर्तनले गर्दा प्रत्यक्ष रुपमा स्थानीय जातहरु विस्थापित हुँदै गए र स्थानीय बीउको संरक्षण, सम्वर्द्धन र उपयोग न्यूनप्रायः हुँदै गई स्थानीय बीउ प्रणाली ध्वस्त हुन पुग्यो ।

खुल्ला बजार अर्थनीतिको मारमा मात्रै हैन, कृषि विश्वविद्यालयहरुको शिक्षण तथा कृषि अनुसन्धानमा पनि यस्ता स्थानीय जातहरु तथा रैथाने बालीहरुले स्थान पाउन सकेनन । तराई तथा मध्य पहाडी भेगका सुगम जिल्लाहरुमा भने खाद्यबाली, तरकारीबाली आदिमा आयातित बीउको प्रयोग अधिक भइरहेको छ । तर अझै पनि दुरदराजका गाउँ बस्तीहरुमा भने अन्नबाली, कोशेबाली, मसलाबाली तथा तरकारीबालीका स्थानीय जात तथा प्रजातिहरु एवं रैथाने बालीहरुको खेती भई नै रहेको छ ।

यस्ता स्थानीय जातहरुको उन्नत प्रविधिबाट खेती गर्दै उपभोगको माध्यमबाट संरक्षण गर्नुपर्ने टड्कारो आवश्यकता रहेको छ । यसका लागि किसान, किसान समूह, कृषि सहकारी, स्थानीय कृषि केन्द्र आदि सबैको पहलमा समूह तथा समुदायस्तरमा बीउ साटासाट कार्यक्रम अभियानका रुपमा नै अगाडि बढाई सामुदायिक बीउ बैंकको रुपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ ।

बीउ साटासाट कार्यक्रम

नेपालका हरेक जिल्ला तथा स्थानीय तहका प्रायः किसानहरु किसान समूह, कृषि सहकारी वा यस्तै संस्थाहरुमार्फत संगठित भएका छन् । यस अवस्थामा किसानको आफ्नै संगठनबाट र आफ्नै पहलकदमीमा हरेक किसानले आफूसँग भएको सबैखाले बीउहरु एकापसमा साटेर समूहका हरेक सदस्यहरुको, समूह समूहहरुको बीचमा बीउहरु साटेर नजिकका किसान समुदायहरुको, स्थानीय गाउँपालिका वा नगरपालिका स्तरीय बीउ साटासाट कार्यक्रमलाई अभियानकै रुपमा लैजान सके स्थानीयरुपमा खेती गरिँदै आएका बालीहरु तथा जातहरु संरक्षण गर्न सकिन्छ ।

साना किसानको हकमा करेसाबारीका लागि आवश्यक पर्ने तरकारी बालीहरु, दलहन बालीहरु, मसलाबाली, सिमीत मात्रामा अन्नबाली यस अभियानमा एकापसमा आदानप्रदान गर्न सकिन्छ । कुनै पनि तामझाम बिना नै किसान समूहहरुको मासिक बैठकको बेलामा हरेक किसानले आफुसँग भएका स्थानीय बालीका बीउहरु ल्याउन आग्रह गरी सबै किसानहरुले ल्याएका बालीको विवरण (बाली र जातको नाम, किसानको नाम र ठेगाना, जातीय गुणहरु, पाक्न वा टिप्न लाग्ने दिन, आदि)को अभिलेखीकरण राखेर बीउ साटासाट कार्यक्रम गर्न सकिन्छ ।

यसका लागि एउटा टेबल, गुन्द्री, वा सादा भुईमा लहरै बीउ हरु राखी समूहका सबै सदस्यहरुले भाग पुग्ने गरी (जस्तै तरकारीबाली हरुमा ५ वटा बीउ, दलहन बालीमा भने एक मुठी, अन्नबालीमा ५ मुठी वा १ किलो आदि) हरेक बीउ लगेर आफ्नो बारीमा लगाउनुपर्छ । यस्ता बीउहरु लगाउनका लागि उन्नत प्रविधिको पनि जानकारी गराउनु पर्छ ।

खासगरी बीउका लागि प्रयोग गर्नका लागि भएकोले यस्ता बालीहरुमा बीउ छनौटमा बिशेष जानकारी गराउनुपर्छ । किसान सदस्यहरुले लगेर लगाएका बालीहरुको २–३ जना किसानको सानो समूह बनाएर अनुगमन गर्नुपर्छ । सामान्यतया किसानहरुद्धारा उत्पादन गरिएका वा संरक्षण गरिएका यस्ता बीउहरुको गुणस्तरमा धेरैको प्रश्न रहेको हुन्छ तर किसानहरुमा रहेको वषौंदेखिको ज्ञान, अगाडीका पुस्ताहरुबाट सिकेको बुद्धि र उनीहरुको आफ्नो गहिरो विवेकले बालीका जातहरुको उत्पादन, आफुलाई मनपरेको रङ, स्वाद, वा वास्ना आदिलाई आधार मानी छनौट गरेका हुन्छन् ।

अझै राम्रो बीउहरु समूहका सदस्यहरुकाबीचमा साटासाट होस् भन्ने चाहना छ भने स्थानीय स्तरमा बीउ छनौट र व्यवस्थापन सम्बन्धी तालिमको आयोजना पनि गर्न सकिन्छ । यसले अन्ततोगत्वा किसानको बीउको आवश्यकता पुरा हुने मात्र हैन कि कृषिको स्थानीय जैविक विविधता संरक्षण गर्ने, बीउमाथिको परनिर्भरता हटाउने र बीउमाथि किसानको अधिकार स्थापित गराई खाद्य सम्प्रभुताको लक्ष्य प्राप्तिका लागि आधार निर्माण गर्छ ।

स्थानीय स्तरमा बीउ साटासाट कार्यक्रममा अहिलेको मौसमका लागि सामान्यतया निम्न किसिमका बालीबिरुवाहरु समावेश गर्न सकिन्छ-

बालीसमूहबालीहरू
अन्नबालीमकै, धान, कोदो, जुनेलो, चिनो
तरकारी बालीलौका, घिरौंला, करेला, काँक्रा, फर्सी, सिमी, बोडी, भण्टा, भिण्डी, भिंडे खुर्सानी आदि
फलफूल बालीसुन्तला जात बालीहरु, अम्बा, अनार, केरा, आँप, लिची, रुख कटहर, भुई कटहर आदि
अचार खाने बालीधनियाँ, पुदीना, गोलभेंडा, सिलाम, भाँगो, मुला आदि
सलाद र साग खाने बालीमुला, काँक्रो, जिरीको साग, देशी चम्सुर, सुप, फापर आदि

स्रोतः गोविन्द शर्माको फेसबुक, हसेरा कृषि फार्म, पातलेखेत काभ्रे

सामुदायिक बीउ बैंक

सामान्यतया स्थानीय किसान समूह वा सहकारीको स्तरमा बीउ साटासाट कार्यक्रम एउटा अभियानकै रुपमा अगाडी बढ्दै जाँदा यसलाई थप व्यवस्थित, वैज्ञानिक, र बढी क्षमताको बनाई आवश्यकता अनुसारको भण्डारणको प्रबन्ध गरी सञ्चालन गरिने संगठित संरचना नै सामुदायिक बीउ बैंक हो । बैंकमा पैसा राख्ने र आवश्यक पर्दा निकाले जस्तै सामुदायीक बीउ बैंकमा पनि स्थानीय किसानका लागि आवश्यक पर्ने बीउहरु सुरक्षित, प्राविधिक रुपमा उमार शक्ति रहने गरी, बीउको आवश्यकता अनुसारको भण्डारण व्यवस्था गरी र समग्रमा यसको गुणस्तर कायम गर्दे राख्ने गरिन्छ ।

कीराहरुबाट बचाउने र बीउको स्वभाव अनुसारको आद्रता कायम गर्नु बीउको भण्डारणमा अति महत्वपूण पक्ष हुन भने किसानलाई आवश्यक परेको समयमा, र परिमाणमा गुणस्तरीय बीउ उपलब्ध गराउनु बीउ बैंकको लक्ष्य हो । यसका लागि केही थप प्राविधिक ज्ञान, केही भौतिक पूर्वाधारहरु जस्तै भण्डारण कोठा, बीउ राख्ने धातु वा माटोको भाँडा, र यसको चुस्त व्यवस्थापनका लागि आवश्यक अन्य सामाग्री जस्तै रजिष्टर, बीउको जातीय विवरणका लागि खातापाता, बीउ उत्पादन र व्यवस्थापन सम्बन्धी प्राविधिक पुस्तिका पनि आवश्यक पर्दछ ।

पोखरामा मुख्य कार्यालय रहेको लिबर्ड नामक संस्थाले विगत लामो समयदेखि नेपालमा स्थानीय बालीका जातहरुको संरक्षण, अनुसन्धान र विकासका साथै सामुदायिक बीउ बैंकको कार्यक्रम गर्दै आइरहेको छ । यसको सञ्चालन कार्यविधि, फाइदा आदिका बारेमा थप जानकारीका लागि उक्त संस्थाबाट प्रकाशित विभिन्न विभिन्न प्रकाशनहरु हेर्न सकिनेछ र www.libird.org बाट पाउन पनि सकिन्छ । यसका अलावा नेपाल सरकारका शिक्षण, अनुसन्धान तथा प्रसारसँग सम्बन्धी काम गर्ने विभिन्न निकायहरुबाट पनि यस सम्बन्धी जानकारी पाउन सकिन्छ ।

यो पनि-

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय