scheduleमगलवार आश्विन ६ गते, २०७७

नो मोर ‘वृद्ध शासन’

प्रदीप उप्रेती

जब म सानो थिएँ, टेलिभिजनमा समाचारहरु बज्दा भारतको प्रधानमन्त्री अटल बिहारी बाजपेयी, अमेरिकी रास्ट्रपति जर्ज डब्लु बुस अनि नेपाली नेताहरु गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, माधवकुमार नेपाल जस्ता नामहरु बजिरहन्थ्यो ।

समयको गतिसँगै आजकल समाचारहरुमा अमेरिका, भारत र अन्य देशहरुलाई नेतृत्व गर्ने फरक र नौला नामहरु गुञ्जनछन् । तर, बिडम्बना नेपालको नेतृत्वको सन्दर्भमा भने त्यहि पुरानै नामहरु गुञ्जिरहेका छन् । यदि गुञ्जिन छोडेका केहि नामहरु भेटियो भने तिनले परलोकको यात्रा तय गरेको पाउनुहुनेछ । म कहिलेकाँही आफैंलाई प्रश्न गर्छु, किन हाम्रो राजनैतिक नेतृत्व पल्टाउनै नसकिने बडेमानको बङ्गुरको ढुङ्गाजस्तो बनेको छ ? किन यो यति धेरै जड र ठोस छ ? बाँकी लोकतान्त्रिक देशहरुमा नेतृत्व तरल देखिन्छन्, बगिरहेको कञ्चन खोलाजस्तो । हामीलाई कुन बाध्यताले घेरेको छ कि मृत्युअगावै कुनै पनि नेताले नेतृत्व हस्तान्तरण गरेको नजिर पाउन गाह्रो छ ।

आज देशको बागडोर सम्हाल्न तँछाड–मछाड गरेर लामबद्ध भएकाहरुको हालत बुढ्यौलिका कारण आफैंलाई सम्हाल्न नसक्ने किसिमको छ ।

त्योभन्दा माथि उनीहरु ज्ञान–विज्ञान र सूचना प्रविधिको मामलामा धेरै नै पछाडि परिसकेका छन् । हुन त उनीहरु राजनीतिमा होमिएको बखतमा गाउँ घरमा रेडियो पनि बिरलै पाइन्थ्यो । उनीहरु त्यस जमानाका नेतृत्वगण हुन् जुन जमानामा गाउँभरिका मानिसहरु एक ठाउँमा जम्मा भएर रेडियोमा समाचार सुन्थे ।

आजकल समय फेरिएको छ, घर–घरमा वाइफाई र हातहातमा स्मार्टफोन छ । यस्तो अवस्थामा उनीहरुमा तत्कालीन सोच, व्यवस्थापकीय रंगढङ्ग र आचरण, शैली देखिनु कुनै अनौठो कुरा होइन । अनौठो कुरा त के हो भने बदलिएको परिस्थितिले उनीहरुमाथि प्रतिकुलता थोपरेर अयोग्य साबित गर्दा पनि धक नमानी सत्ताको र्‍याल काढी रहन्छन् । विज्ञान र प्रविधिको विकासले नयाँ–नयाँ चुनौती र अवसरहरु जन्माइराखेका छन् । प्रविधिको विकास त झन् यति तीव्र छ कि तीन वर्षअघि हासिल गरेको ज्ञानले तीन वर्षपछि नै निकम्मा बनिन्छ ।

प्रदीप उप्रेती

यसकारण निरन्तरको खोज, सिकाइ र अभ्यास आजको जीवनशैली बनिसकेको छ । अझ नेतृत्व गर्छु भन्नेहरूमा त यसको ठूलै हुटहुटी चाहिन्छ । तर उहाँहरु राज्यको सम्पूर्ण स्रोत र साधनहरु च्यापेर ओथारो बसेको कुखुराजस्तो थ्याच्च बसिदिनुभएको छ । ओथारो बसेको कुखुरालाई जस्तै उहाँहरुलाई कोहि नजिक आएको मनपर्दैन । कोहि नजिकपरे फुल्नुहुन्छ, क्वार्र–क्वार्र गर्नुहुन्छ अनि अलि बढी नै खतरा महसुस भयो भने ठुङ्ग्नु पनि हुन्छ । ओथारो बसेको नि लामै समय भयो, चल्ला जन्मने भए जन्मिसक्थे होलान् । बरु खोर खाली गरेदेखि अरुले पनि बस्न पाउथेँ, चल्ला कोरल्ने सम्भावना बढेर जान्थ्यो । तर अफसोच कोहि पनि वरिपरि ढिम्किनै पाउँदैनन् ।

लोकतन्त्रको सबैभन्दा ठूलो सफलता सम्भावनाको खोजीमा हुनेगर्दछ । जहाँ निरन्तर सम्भावनाको खोजी हुन्छ त्यहाँ नै लोकतन्त्र मौलाउँछ । फस्टाउँछ । तर हाम्रो लोकतन्त्र चाहिँ सधैं सम्भावनाबाट झस्किन्छ, तर्सिन्छ । शक्तिको चरम तिर्खा बोकेर हिंडेकाहरुलाई विस्थापनको ठूलो भय हुन्छ । त्यसैले ऊ सम्भावनाहरुलाई हुर्काउने त परको कुरा देख्नेबित्तिकै निमोठ्न उद्दत हुन्छ । आफ्नै दलभित्रको सम्भावित अनुहारलाई ऊ आफ्नो सहयोगीको रुपमा मात्रै पचाउन सक्छ ।

आफूभन्दा अगाडि लागेको वा बढेको उसको कल्पनाको कल्पनाभित्र पनि पर्दैन । यदि त्यसो हुन खोजेमा आफ्नो सम्पूर्ण स्रोत र अस्त्र प्रयोग गरी तिनीहरुलाई सिध्याउने काम गरिन्छ । उसले तोकेको दायराभित्र बसेर ऊप्रतिको भक्तिभाव जगाइराखे ऊ सहन्छ नत्र सहँदैन । यही कारण हो, आज नेतृत्व तहमा रहेका नेताहरुको वरिपरि झुम्मिएका नयाँ पुस्ताका नेताहरुको वैचारिक खुराक कमजोर, संवेदनशिलता न्यून र आचरणहरु दरिद्र हुनुको कारण ।

त्यस्ता नयाँ पुस्ताका नेताहरु दासत्वलाई स्वीकार गरी स्वाभिमानलाई बेचेर कुनै पद या ओहदा खरिद गर्न विवश हुन्छन् । चाकडीबाज उसको स्वाभाविक गुणको रुपमा विकसित हुन्छ । जो नयाँ पुस्ता आफ्नो आदर्श र स्वाभिमानसँग सम्झौता गर्न खोज्दैन । ऊ बिस्तारै किनार लाग्दै जान्छ । अटेर विद्रोही बहसकर्ताहरुको आफ्नै पार्टीभित्र पनि बाँदरखेदाइ हुन्छ । त्यसैले आजका बडा नेताज्यूहरुले वर्तमानमा मात्रै डढेलो लाउनुभएको छैन । भविष्यको सम्भावनाहरुको पनि हत्या गर्नुभएको छ ।

आशालाग्दा नयाँ नेतृत्वको खडेरी लागेको छ । एकप्रकारको रिक्तता छाएको छ । यो लोकतन्त्रजस्तो उन्नत ब्यबस्थामाथि कै खतरा हो । यदि एउटै दलभित्र त यस्तो हालत छ भने उसले अर्को दलभित्रको सम्भावनालाई सहने त कुरै भएन । अझ स्थापित हुन नसकेका नव–आगन्तुक दलहरुभित्रको सम्भावनालाई त उसले जेल बसेको र आन्दोलन गरेको विवरण सुनाएर लोप्पा खु्वाईदिन्छ ।

यस्तो चरम निराशाका बीच राजनीतिप्रति आशा जगाउने जिम्मेदारी केही प्रगतिशील युवा राजनीतिज्ञले लिनुपर्दछ । सर्वप्रथम त आफ्नै दलभित्र हस्तक्षेप गर्ने साहस देखाउनुपर्दछ । ७० कटेका वृद्ध नेताहरुलाई सरसम्मान राजनीतिबाट अवकाश लिन अनुरोध गर्नुपर्दछ । सम्पूर्ण दलहरुको युवा नेतृत्वबीच बृहत्तर मोर्चा गठन हुनुपर्दछ । आ–आफ्नो दलीय स्वार्थ भन्दा माथि उठेर वृद्ध शासनविरुद्ध एउटै आवाज उठाउनु पर्दछ । त्यति गर्दा पनि यी बृद्ध नेताहरु बिचलित हुन्नन् र लाजको पसारो देखाईरहन्छन् भने समय आएको छ । सबै दलका सबै युवा नेताहरु एक ठाउँमा उभिएर नयाँ राजनैतिक अभियान सञ्चालन गर्नुपर्दछ । त्यसले नेपाली राजनीतिलाई नयाँ आशा दिनेछ अनि नयाँ ऊर्जा पनि ।

वैकल्पिक भनिएका दलहरुमा त यसै पनि युवाहरुको बर्चस्व छँदैछ । यिनै युवाहरुबीचको शालीन प्रतिस्पर्धाबाट अबको नेतृत्व चुनिनुपर्दछ । यसो गर्दैमा सबै समस्याहरुको एकैचोटि समाधान हुन्छ भन्ने त होइन तर नेपाली राजनीतिबाट वृद्ध शासन अपदस्त हुन्थ्यो र क्रियाशील तथा आधुनिक उत्तरदायी शासनको सम्भावना बढेर जान्थ्यो । अब यो देश यी रोगी, अहंकारी र अविवेकी वृद्ध शासनबाट उन्मुक्ति चाहन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय