scheduleबुधवार जेष्ठ १४ गते, २०७७

बाढीले तरकारी बगाउँदा किसानलाई लाखौँको क्षति

राजेन्द्रप्रसाद पनेरु, रासस / कञ्चनपुर, १६ बैशाख । मध्य वैशाखमा अचानक आएको बाढीले कञ्चनपुरको विभिन्न नदीको बगरमा किसानले लगाएको तरकारीखेतीमा ठूलो क्षति पुर्‍याएको छ । चुरे क्षेत्र भएर बग्ने स्याली, सनवोरा, दोदा, वनहरालगायतका नदीमा सोमबार अचानक आएको बाढीले किसानले ती नदीको बगरमा लगाएको तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको हो ।

बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजा, तितेकरेला लगायत तरकारीबालीमा क्षति पुर्‍याएपछि यस क्षेत्रका किसान चिन्तित बनेका छन् । लकडाउनका कारण बजारमा समेत तरकारी बिक्री गर्न नपाएका किसान बाढीले तरकारीखेती बगाएपछि थप मर्कामा परेका हुन् ।

स्याली र वनहरा नदीको बगरमा तरकारी खेती गरेका दुई दर्जन बढी परिवारको रु २५ लाख मूल्य बरावरको तरकारी बाढीले बगाएर लगेको शुक्लाफाँटा नगरपालिका— १२ का वडा अध्यक्ष बाले रानाले बताए । जिल्लामा लकडाउनका बेला भारतबाट तरकारी आयातमा रोक लगाउँदा समेत बगरको तरकारी खेतीले धानिँदै आएको थियो । उपभोक्ताले सस्तोमा तरकारी खान पाएका थिए । उनले भने, “बगरको तरकारीमा बाढीले नोक्सानी गरेपछि किसानको मिहिनेत सबै खेर गएको छ ।”

Dish_Home

“जलवायु परिवर्तनको असरका कारण वैशाख महिनामै बाढी आयो । बगरमा लगाइएको सबै तरकारी बगाएर लग्यो”, उनले भने, “किसानले ठूलो क्षति व्यहोरेकाले सरकारले क्षतिपूर्तिको व्यवस्था मिलाउन सक्नुपर्दछ ।”

आफूले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ स्थित स्याली नदीको बगरमा गरेको तरबुजा खेतीमा बाढी पसेर पुर्‍याएको क्षतिलाई निकाल्दै महिला ।

लालझाडी गाउँपालिका—४ सिकलपट्टिका एक सय २० परिवारले स्याली नदीको आठ विघा बगरमा लगाएको तरकारी बालीमा बाढीको पानी पस्दा ठूलो क्षति भएको छ । स्थानीय कृषि प्राविधिक लक्ष्मण रानाका अनुसार बाढीले रु १२ लाख मूल्य बराबरको तरकारी बगाएर वा बालुवाले पुरेर नोक्सान गरेको छ । “लकडाउन हुँदा तरकारी बिक्री गर्न नपाएर लागत खर्च नै उठाउन पाएका थिएनौं”, राजाराम डगौराले भने, “वर्षाका कारण नदीमा आएको बाढीले पूरै तरकारी बाली बगाएर क्षति पुर्‍याएको छ ।”

स्याली नदीमा बगर खेती गरेका चेतराज चौधरीले एक विघा बगरमा गरिएको तरकारी खेतीको लागत खर्च नै रु ५० हजार लागेको बताए । “बगरबाट रु दुई लाख बढी आम्दानी हुन्थ्यो तर नदीमा आएको बाढीले सबै तरकारी बगाएर निराश बनाएको छ,” उनले भने । “तरभुजा भर्खरै पाक्न शुरु भएको थियो । तरभुजाको गाउँमै खपत बढी हुन्थ्यो”, पिपलाडीका बगर खेतीमा संलग्न सोमवाराज चौधरीले भने, “त्यसबाट आम्दानी गरी घर खर्च चलाउने सोच राखेर बगरमा खेती गर्न शुरु गरेका थियौं । सबै बाढीमा बग्यो ।”

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –३ स्थित स्याली नदीमा आएको बाढीले बगरमा लगाएको काँक्रोलाई क्षति पुर्‍याएपछि टिपेर थुपार्दै कृषक ।

सनवोरा नदीको बगरमा ६० बढी परिवारले तरकारी खेती गरेका छन् । बाढीले पूरै तरकारीखेती बगाएपछि किसानले निकै क्षति व्यहोर्नु परेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । उनका अनुसार स्याली नदीमा ७० बढी परिवारले बगरमा लगाएको तरकारी खेती पूरै बगेको छ । लाखौंको क्षति पुगेको छ । बाढीले रु ३० लाख जतिको क्षति भएको हुनसक्ने उनको भनाइ छ ।

वैशाख महिनामै पहिलो पटक यति ठूलो वर्षा हुँदा किसानले नसोचेको क्षति व्योहोरेको मंगल चौधरीले बताए । दोदा नदीको बगरमा तरकारी खेती गरेका एक सय ४० बढी किसानले लगाएको तरकारी खेतीमा क्षति पुगेको छ । लालझाडी गाउँपालिका—६ का वडाध्यक्ष टिकाराम चौधरीका अनुसार दोदा नदीको बगरमा किसानले ८६ विघा जग्गामा तरकारी खेती गरेका थिए । बाढीले करिव रु ४५ लाख मूल्य बरावरको तरकारी बगाएर क्षति गरेको छ । लालझाडी गाउँपालिकाकै बल्मी र नन्दगाउँ जोड्ने निर्माणाधीन पक्की पुलको सामान समेत नदीको बाढीले बगाएर क्षति पुर्‍याएको छ । “नदीमा बाढी आउँदा बगरमा तरकारी खेती गर्नेहरुले क्षति व्यहोरेका छन्”, गाउँपालिका अध्यक्ष मदनसेन वडायकले भने, “क्षतिको विवरण सङ्कलन भैरहेको छ ।”

बाढीले बगाएका बृद्ध भेटिएनन्

कञ्चनपुरको दोदा नदीमा सोमबार आएको बाढीले बगाएर बेपत्ता बनाएका लालझाडी गाउँपालिका— १ विनवारीका अन्दाजी ६० वर्षीय साधु राना फेला परेका छैनन् । नदी तर्ने क्रममा राना बगेर बेपत्ता भएका थिए । स्थानीयवासी र प्रहरीले रानाको खोजतलास गरिरहेका छन् ।

नदीमा पानीको बहाव उच्च हुँदा खोजतलासमा अवरोध भैरहेको गाउँपालिका अध्यक्ष मदनसेन बडायकले बताए । “उहाँको खोजतलासमा जुटेका छौं”, उनले भने, “अहिलेसम्म पत्तो लाग्न सकेको छैन ।” रानासँगै रहेका ५५ वर्षीय उपदेव रानालाई स्थानीयवासीले नदीमा बग्दै गरेका बेला हिजो साँझ उद्धार गरेका थिए ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय