scheduleमगलवार आश्विन ६ गते, २०७७

विपत्तिले सिकाएको पाठ

प्रमोद कट्टेल

नेपाली जनताले २००७ साल देखि ४६ सालको जनआन्दोलन हुँदै २०७२ सालमा नयाँ संविधान नबन्दासम्म इतिहासमा विभिन्न राजनैतिक परिवर्तनका लागि कष्टपूर्ण समयको सामना गर्दै आए । हाम्रो अहिलेको युवा पुस्ताले पनि माओवादीले सञ्चालन गरेको युद्ध, ०६२/६३ को जनआन्दोलन, शान्ति सम्झौता, राजतन्त्रको अन्त्य, संविधानसभाबाट संविधान र यी परिवर्तनका लागि भएका आन्दोलन, कर्फ्यु, बन्द हड्तालका दृश्यहरु देख्न पायो । अब त समृद्धिको चित्र देखिन्छ कि भन्ने लागिरहेको बेला फेरि हामीले नसोचेका संकटहरुको सामना गर्नुपरेको छ । यी संकटहरुले हामीलाई पाठ पनि सिकाएका छन् ।

प्रमोद कट्टेल

भूकम्प

२०७२ सालमा नेपालमा हाम्रो जीवनकालकै सबैभन्दा ठूलो भूकम्पको सामना गर्नुपर्‍यो । जसले गर्दा भूकम्प प्रतिरोधात्मक निर्माणका लागि हामी सचेत हुन थाल्यौं । शहरदेखि गाउँगाउँसम्म पनि भूकम्पप्रतिरोधी संरचना बनाउनुपर्छ ज्ञानको सञ्चार भयो । भूकम्पपछिका भौतिक संरचनाहरुको निर्माणमा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्ने कुरालाई प्राथमिकता दिइन्छ ।

हामीले घरहरु बनाउँदा भूकम्पप्रतिरोधात्मक पनि बनाउनुपर्छ भन्ने मुख्य पाठ हामीले सिकेका छौं । सँगसँगै विपत्तीको सामना गर्न हाम्रो तयारी पनि पर्याप्त रहेनछ भनेर पनि हामीलाई भूकम्पले सिकाएको छ । तर अझै पनि हामीले यस्ता खाले विपत्ती आउँदा त्यसबाट जोगिन, उद्धार, राहत, पुनःस्थापना जस्ता कार्य तत्काल गर्न पूर्वतयारी गर्नमा भने ध्यान लगाउन सकेका भने छैनौं ।

भूकम्प जाँदा धनी र गरीबको भेद हराएको जस्तै भएको थियो । भूकम्प जाँदा ठूला महल हुने, आर्थिक रुपमा सम्पन्नहरुदेखि गरीबहरुसम्म सबै कैयौं दिनसम्म एउटै आकाशमुनि थियौं । त्यतिबेला धन सम्पत्ति केही होइन रहेछ, प्राकृतिक विपत्तीले धनी गरीब भनेर विभेद गर्दोरहेनछ भनेर धेरैलाई सिकाएको थियो । विपत्तीपछि फेरि यो कुरा बिर्सन थालेका हामीलाई अहिले फेरि अर्को विपत्तीले उस्तै खाले पाठ पढाइरहेको छ ।

कोभिड-१९

अहिले विश्व नै कोरना भाइरस (कोभिड-१९) को महामारीबाट आक्रान्त छ । भाइरसका कारण दुई लाख बढी मानिसहरुले ज्यान गुमाइसके र ३० लाख बढी मानिसहरु यसबाट संक्रमित भइसकेका छन् । लाखौं मानिसहरु यो रोगको सामना गरिरहेका छ्न् । आज विश्व नै एउटै संकटको सामना गरिरहेको छ ।

नेपाल पनि यो कोभिड-१९ को संकटबाट प्रभावित छ । अरु देशहरुको तुलनामा संक्रमणको संख्या कम भए पनि सारा नेपाली त्रसित छ्न् र पूरै देश लकडाउनमा छ ।

अहिले पनि हामीलाई प्राकृतिक विपत्ति र यस्ता खाले नयाँ नयाँ महामारीले धनी गरीबको भेद नगरी कसैलाई पनि छोड्दैन भन्ने ठूलो पाठ सिकाएको छ । अहिले देश लकडाउनमा गएको ३६ दिन भइसक्यो । यसबीचमा रोगले भन्दा पनि ज्यादा मानिसहरु लकडाउनका कारण प्रताडित बन्नुपरेको हामीले देख्यौं । खानेकुरा सकिएपछि काठमाडौंबाट हप्तौं लाग्ने गन्तव्यसम्म पनि मानिसहरु हिँडेरै गएको पनि देखियो । रोगको संक्रमण नफैलियोस् भनेर गरिएको लकडाउनको मर्मविपरीत अहिले पनि गाडीमा मान्छे ओसार्ने क्रम रोकिएको छैन । यस्ता संकटका बेलामा गरीब, मजदूर, न्यून आय हुनेहरु, विपन्नहरुलाई कसरी राहत उपलब्ध गराउने, कोही पनि भोकले छटपटाउनु नपर्ने स्थिति बनाउन हाम्रो पूर्वतयारी र संरचनाहरु निर्माणमा हामी कमजोर रहेको छर्लंगै छ । हामीलाई अहिलेको संकटले यसका लागि बलियो संरचना र संकट सामनाको पूर्वतयारी गर्न पनि पाठ पढाएको छ ।

विश्वका अधिकांश देशहरु अहिले कोरोनाको संकटमा लकडाउनमा छन् । यसको सकारात्मक प्रभाव वातावरणमा परेको छ । अनेक प्रकारका प्रदुषण अहिले घटेको छ । यसबाट भौतिक सुखका लागि हामीले पृथ्वी र प्रकृतिमाथि जे जस्तो दोहन गरिरहेका छौं त्यसलाई रोक्नुपर्छ भन्ने पनि पाठ सिकाएको छ ।

विपत्ति भनेको बाजा बजाएर आउँदैन र यो आएपछि यसको सामना हामी मानव जातिले नै गर्ने हो । विपत्तीले सम्पूर्ण मानव जातिलाई एकै किसिमले मात्रै चिन्दो रहेछ । धनी-गरीब, यो जात त्यो जात, यो धर्म मान्ने, त्यो धर्म मान्ने केही पनि भन्दो रहेनछ । त्यसैले हामी सबैले सबैसँग मानवकै रुपमा मात्रै व्यवहार गर्न पनि यी विपत्तीहरुले सिकाएका छन् ।

भौतिक सुखमात्रै खोजेर आफू बस्ने प्रकृतिलाई भुल्ने, अहंकार, अहमतालाई अंगाल्ने नगरी अब हामी मानव बनौं, हरेक मानवसँग मानवीय व्यवहार गरौं, प्राकृतिक नियमलाई पनि नभुलौं, प्रकृतिसँग मित्रवत् व्यवहार गरौं ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय