scheduleशुक्रवार आश्विन ९ गते, २०७७

स्वदेश फर्कन चाहनेका लागि क्वारन्टाईनको व्यवस्था मिलाउन खाडी देशका राजदूतको आग्रह

काठमाडौं, १७ वैशाख । अत्यावश्यक रूपमा नेपाल फर्काउनुपर्ने कामदारहरूका लागि तत्काल क्वारन्टाइनकाे व्यवस्था मिलाउन खाडी देशमा रहेका नेपाली राजदूतहरूले  आग्रह गरेका छन् ।

खाडी देशमा रहेका नेपाली राजदूतहरूले परराष्ट्र मन्त्रालयलाई पत्र पठाउँदै कोरोना भाइरसका कारण उत्पन्न सङ्कटका बेला सैयौँको सङ्ख्यामा नेपालीले रोजगारी वा सुविधा गुमाएको हुनसक्ने भएकाले नेपालीलाइ स्वदेश फर्काउन तत्काल क्वारन्टाइनकाे व्यवस्था मिलाउन भनेका हुन् ।

यसै साता उनीहरूबीच भएको भिडिओ कन्फ्रेन्समा विशेष गरि साना व्यवसायमा आश्रित नेपाली कामदारहरू बढी प्रभावित हुनसक्ने निष्कर्ष निकालिएको थियो।

बाहरेनस्थित नेपाली राजदूत पदम सुन्दासले कोभिड-१९ का कारण रोजगारी गुमाएकाको विवरण सङ्कलनका लागि बुधवार दूतावासले सूचना जारी गर्न लागेको बताए।

उनले भने,- ‘सानासाना कम्पनीहरू सबै बन्द भएका छन्। होटल व्यवसाय धराशायी नै भएको छ। अर्कोसँग करार गरेर रोजगारी दिने ब्युटि पार्लर जस्ता साना व्यवसाय पनि बन्द भएका छन्। हामीले अनुमान गरे अनुसार तीन हजार जतिले रोजगारी गुमाउन सक्छन्।’

उनले आपतमा परेका व्यक्तिहरूलाई नेपाल पठाउनका लागि क्वारन्टाइनकाे व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमा यसै साता गल्फ कोअपरेशन काउन्सिल जीसीसीमा आवद्ध देशका राजदूतले प्रतिवेदन पठाएको उल्लेख गरे।

संयुक्त रूपमा राजदूतहरूले मङ्गलबार पठाएको उक्त प्रतिवेदनबारे परराष्ट्र मन्त्रालयले कुनै जवाफ दिइसकेको छैन।

श्रम स्वीकृति लिएर नेपालबाट विदेशिएका झण्डै ४० लाख कामदारमध्ये अधिकांश खाडी देशहरूमा छन्। उल्लेख्य सङ्ख्यामा अवैध रूपमा नेपाली कामदारहरू पनि ती देशमा रहेको बताइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२० मा निकालेको एउटा प्रतिवेदनका अनुसार अघिल्लो वर्ष ८७ दशमलब ८ प्रतिशत नेपाली कामदार जीसीसी आवद्ध पाँच देशहरू कतार, संयुक्त अरब एमिरेट्स यूएई, साउदी अरेबिया, बाहरेन र ओमानमा रोजगारीका लागि गएका थिए। बीबीसीले खबर लेखेकाे छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय