scheduleबुधवार आश्विन ६ गते, २०७८

श्रद्धाञ्जली इरफान खानः जो एक वैकल्पिक हिरो थिए

नम्रता जोशी

सन् २००२ को यही क्रुर अप्रिल महिना थियो । इरफान एक दशक बढी समयदेखि अभिनयको क्षेत्रमा संघर्ष गरिसेकका थिए । लोकप्रिय टिभी श्रृंखला ‘अपनी बात’मा उनले काम गरिसकेका थिए । तथापि उनको व्यक्तित्वको प्रभाव भारतीय सिने दर्शकहरुमा भर्खरै पर्न थालेको थियो ।

लण्डन केन्द्रित निर्देशक असिफ कडाडिया, जसले इरफानलाई सन् २००१ मा ‘द वारियर’मा निर्देशन गरिसकेका थिए र त्यो उनको अवार्ड बिजेता डेब्यु फिल्म बनेको थियो, ले मलाई भनेका थिए, ‘इरफान भारतको वेनिसिलो डेल टोरो, सिन पेन, ग्यारी ओल्डम्यान, भिन्सेट गेलो हो । ऊ आफूले चाहेको जे पनि गर्न सक्दछ । उसले अगाडि तीव्र उडान भर्न सक्छ भन्ने मलाई लागिरेहको छ ।’

म त्यतिखेर ‘आउट लुक’मा काम गर्थें । सिनेमाबारे एक स्टोरी बनाउन मैले उनलाई भेटेकी थिएँ । उनीहरु भारतीय सिनेमा उद्योगका सम्भाव्य अभिनेता/अभिनेत्रीबारे कुरा गर्दै थिए । उनी केही बेर इरफानमा रोकिएका थिए ।

इरफानबारे उनको धारणा बेजोडको आकर्षणले भरिएको थियो । भारतीय सिनेमामा उदीयमान नयाँ हिरोहरुको माझ इरफानलाई उनले बिल्कुलै नयाँ क्षितिज उघार्न सक्ने सम्भावनाका रुपमा लिएका थिए ।

कपाडियाले कल्पना गरेको त्यो उडान मैदानमा उत्रिन थालेको थियो । इरफान छिट्टै भारतको त्यस्तो एक कलाकारमा गनिए, जसको प्रतिभा अन्तर्राष्ट्रियस्तरमा स्थापित थियो । आज सम्झिन्छु, कपाडियाको त्यो भविष्यवाणी कति धेरै सत्य थियो । वितेका १५ बर्षमा सिनेमा र त्यसभित्रका भूमिकाहरुको लागि इरफानले फरक धार र अध्याय निर्माण गरे ।

इरफानकोे अभिनय र अपिल ठीक त्यस्तो हुन्थ्यो, जो वास्तवमा उनी हुन सक्दैनथे । उनी हिन्दी सिनेमाको मानक पाठ्यपुस्तक जस्तो बने । उनी साँच्चैको वैकल्पिक हिरो थिए । उनको ‘जयपुरको ठिटो’ व्यक्तित्वलाई बलिउडले साँच्चै मान्यता दियो । तर बलिउडको मूलधार हिरो स्वीकार गरिँदा पनि उनले आफ्नो मूल जरो चरित्र र विशेषतालाई गुमाएनन् ।

इरफान एक अपरम्परावादी महत्वाकांक्षा भएका अभिनेता थिए । त्यो महत्वाकांक्षा भारतीय सिनेमाको स्थापित परम्परासँग मिल्दैनथ्यो तथापि बलिउडले इरफानलाई छेकबार गर्न सकेन । इरफानको अभिनयले सबै राष्ट्रियता र देशका सीमाहरु नाघेको थियो ।

उनका शुभेच्छुकहरु कुनकुन देशका छन्, कुनकुन भाषाभाषीका छन्, यो स्वयं उनलाई थाहा थिएन । उनी यसरी काम गर्दथे कि अभिनयले जुनसुकै भूमिकामा दुरुस्त बन्न सक्थे । अझ बढी महत्वको कुरा उनी सधैं ती नयाँ सिने निर्माताको साथ हुन्थे जो सिनेमालाई नयाँ तरिकाले आख्यानित गर्न चाहन्थे । नयाँ कथाहरु नयाँ तरिकाले भन्न, पस्कन चाहन्थे ।

सिने उद्योगको त्यो बिन्दूसम्म आइपुग्न उनलाई सजिलो भएको थिएन । उनको डेब्यु सिनेमा नै धेरै दूर्भाग्यले लखेटिएको थियो । मिरा नायरको ‘सलाम बम्बे’ सम्पादनको क्रममा बारम्बार काटकुट गरिएको थियो । उनले कडा र लामो संघर्ष गरेका थिए । लडाइँ जति नै थकित पार्ने, तीतो वा निन्दापूर्ण किन नहोस्, उनले कहिल्यै छोडेनन् । उनले आफूलाई निराशाको खाडलमा खस्न दिएनन् ।

‘सिने क्षेत्रले दिएको स्वीकारोक्ति मेरो लागि लाडप्यारजस्तो थियो जसले गर्दा अभिनयका यति धेरै लामा बर्षहरु मेरा लागि सम्झनयोग्य बन्न पुगे ।’ उनले एक अन्तर्वार्तामा मसँग भनेका थिए । उनी दिल्ली स्कुल अफ ड्रामाका आफ्ना ती दिनहरु बारम्बार सम्झिन्थे जसले उनलाई ‘समग्र र एकाग्र भएर सोच्ने’ वातावरण दिएको थियो । उनले आफ्नो अभिनय संघर्षका टिभी बर्षहरुलाई यस मानेमा सम्झन्थे कि त्यसले उनलाई बाँच्न र क्यामेरा अगाडि उभिन अभ्यस्त गर्‍यो ।

उनलाई फिल्मी क्षेत्रमा चिनाउने सिनेमा भने दिग्मसु धुलियाको हासिल, विशाल भारद्वाजको मकवुल र नायरकोे नेमसेक थियो । ‘हासिल’मा एउटा सानो शहरको कलेजमा हुने विद्यार्थी राजनीतिको चित्रण छ । यसमा इरफान विद्यार्थी नेता बनेका छन्, जसले धोका खाएको छ तर दर्शकको हृदयभरि बास बस्न सफल हुन्छ । ‘नेमसेक’मा उनी एक अन्तमुर्खी बंगाली प्रोफेसर अशोकको भूमिकामा देखिन्छन् ।

‘पान सिंह तोमर’ मा उनी एक च्याम्पेन खेलाडी जो पछि डाँकु बन्छ, त्यसको भूमिका गर्दछन् । यसमा इरफानको चरित्र साहस, सरलता र हास्यले बनेको छ । यही सिनेमामा उनले सर्वश्रेष्ठ अभिनेताको राष्ट्रिय पुरस्कार जिते । सन् २०११ मा उनलाई पद्मश्रीले सम्मान गरियो ।

इरफानको विशेषता थोरै अभिनयबाट धेरै अभिव्यक्त हुनु हो । उनी थोरै शब्द र अनुभूतिसहित प्रवेश गर्दछन, चरित्रको सजिव छाप दर्शकमा छोड्दछन् । इरफान शब्दको साटो आफ्ना आँखामार्फत् बोल्छन् । रितेश बात्राको ‘लन्चबक्स’मा साजन बनेका इरफानको यही शैलीले काम गरेको छ । ‘तलबार’मा उनी एक हत्या अनुसन्धान गर्ने पुलिस अश्विन कुमारको भूमिकामा छन् । ‘ल वारियर’ मा उनको काम थोरै हतियारसहित क्रुर यात्रा गर्नु पर्ने योद्धाको चरित्रमा रुपान्तरित हुनु थियो । ‘हैदर’ मा उनको भूमिका छोटो छ तर सिनेमाको राजनीतिक, भावनात्मक र नैतिक चरित्र उनकै वरिपरि छ ।

अनुराग बसुको ‘लाइफ इन मेट्रो’ मा उनी हास्य र रोमान्चकताको प्रतीक बन्छन् । कोनकोन सेन शर्मा इरफानसँग मिल्दो जोडी लाग्दिनन् तर उनीहरुको रसायन मिल्छ । सुजित सरकारको ‘पिकु’मा अभिताभ बच्चन र दिपिका पादुकोणे बाउछोरी सडक मार्गबाट कलकत्तादेखि दिल्लीसम्मको यात्रा गर्छन् र इरफान रानाको रुपमा ड्राइभर बनेका छन् । ‘लन्च बक्स’मा जब उनी आफ्नो बुढ्यौली र विदुर जीवनलाई महत्व दिएकोमा युवा निम्रत कौरप्रति कृतज्ञ हुन्छन्, ती शब्दले नछुने हृदय बिरलै होलान ।

इरफान र उनकी श्रीमती स्तुपा सिदकर आफूलाई जहिल्यै धर्मनिरपेक्ष र उदार विचारधाराका मानिस मान्थे । उनीहरुको विश्वासमा भारतले लिनुपर्ने बाटो यही हो र भारत भविष्यमा यही बाटोमा आउनेछ भन्ने आशावाद थियो । उनीसँग अन्तर्वार्ताका लागि तयारी गर्दा म फेसबुक इन्बक्समा प्रश्नहरु अगाडि नै पढाउँथें । एकपटक उनले अभिव्यक्ति स्वतन्त्रताको महत्वलाई जोड दिँदै मलाई लेखेका थिए । त्यो अझै मेरो इन्बक्समा छ ।

त्यसको एक प्याराग्राफमा उनले लेखेका छन्, ‘यो देख्दा मलाई दुख्ख लाग्छ कि यति लामो सभ्यता र विकासक्रमपछि पनि धर्मले हामीलाई सहअस्तित्वको लागि सहयोग गरिरहेको छैन । सबै धर्महरुको मौलिक मान्यता शुद्ध छ तर जनसमुदायमा प्रभाव जमाउन चाहनेहरुले यसलाई दुरुपयोग गरेका छन् । व्यक्तिको धर्मबारे किन यति धेरै महत्व दिएको होला ? धर्म भनेको मेरो विचारमा व्यक्ति र परमात्माबीचको सम्बन्ध हो, यो सम्बन्धका कुनै तेस्रो पक्ष, व्यक्ति वा संस्था प्रवेश नै गर्नु हुँदैन ।’

मैले इरफान र स्तुपा दम्पत्तिलाई पछिल्लोपटक ‘करिबकरिब सिंगल’ सिनेमा रिलिज हुनुभन्दा अगाडि एक अन्तर्वार्ताका लागि सँगै भेटेकी थिएँ । त्यो ठाउँ जुहु बीचको नोभलेट होटल थियो । ती दिन उनी व्यस्त थिए । प्रि रिलिज कन्फ्रेन्स, पत्रकार सम्मेलन, भेटघाट र दिल्लीसम्मको प्रोमोसन ट्रिप थिए । मलाई यो थाहा थियो कि उनमा सन् २०१८ पछि मार्चमा न्युरोएन्ड्रोकाइन ट्यूमर देखिएको छ र योे भेट उनीसँग अन्तिम पनि हुन सक्छ ।

आफ्नो फिल्म पत्रकारिता जीवनमा मेरो लागि इरफान सधै एक दृढ भरोशा थिए । उनका अगाडि म कुनै शिकारु जिज्ञासुका जस्ता प्रश्नहरु गर्थें । इरफानका सिनेमाको समीक्षा गर्नु मेरो पत्रकारिताको एक महत्वपूर्ण पाटो थियो । यसक्रममा उनीसँगका भेट र वार्ताहरु सर्वथा महत्वपूर्ण रहे । उनले मेरो लागि त्यस्ता धेरै सुखद स्मरणहरु सृजना गरे जसको मूल्य मैले तिर्न सक्ने सम्भावना रहँदैन ।

इरफानले भारतीय सिनेमा क्षेत्रमा जुन धार निर्माण गरे, भन्न सकिन्न त्यो अरु कसैले पूरा गर्दछ वा त्यो ठाउँ उनकै लागि सधैं खाली रहन्छ ।

(द हिन्दूबाट अनुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय