scheduleमगलवार आश्विन ६ गते, २०७७

सत्ताको बीऊ जोगाउने कि जनताको जीउ ?

अभि गाउँले

यतिबेला कोरोना महामारीले मानव सभ्यताको खम्बा नै हलचल गराएको छ । विश्वका शक्तिशाली राष्ट्रहरू यो महाव्याधिका कारण हावाकावा भएका छन् । यथोचित रूपमा रोकथाम तथा यसबाट बच्न प्रयत्न गरिए पनि कोरोना प्रकोप अनियन्त्रित जस्तै भएको छ । यसको सङ्क्रमण अकल्पनीय ढंगले फैलिएपछि सिङ्गो विश्व आक्रान्त बन्नु स्वभाविक हो । राज्यको दूरदर्शिता र सावधानीकाबीच केही देशहरू भीमकाय सङ्कटबाट लगभग बच्न सफल भएका छन्, तथापि यकिन गर्न सकिने सहज वातावरण नबनिसकेको स्थिति छ । विश्व कोरोनाजस्तो डरलाग्दो रोगसँग जुधिरहेको विषम परिस्थितिमा नेपाल पनि अछुतो रहन सकेन भलै महामारीकै स्वरूप लिन सकेको छैन । विज्ञहरूले भौगोलिक बनावटका आधारमा नेपाल कोरोनाको उच्च जोखिममा नरहेको बताए पनि भारतसँगको खुल्ला सीमानाका कारण ढुक्क भएर बस्नसक्ने आधार छैन । र, एकपछि अर्को नयाँ सङ्क्रमित भेटिँदै जानुले थप त्रासदी जन्माएको छ । अब यसको कठोर सामना गर्नुको विकल्प हामीसँग रहेन । राज्यका सबै संयन्त्रहरूलाई एकाकार बनाएर कोरोनाविरूद्धको लडाइँलाई उत्कर्षमा पुर्‍याउनु पहिलो दायित्व हो ।

चीनको वुहान शहरमा नोवल कोरोना भाइरस(कोभिड-१९) फैलिएको तीन महिनासम्म पनि हामी चुपचाप बसिरह्यौं । त्यो बेवास्ता गरिएको तीन महिने गर्भ बिस्तारै देखिन थाल्यो र हस्याङफस्याङ गर्दै जुर्मुराउने कोशिस गर्‍यौं । अहिले नेपालमा कोरोना भाइरस फैलिएको विषयमा अलिकति सरकारप्रति लक्षित गरेर बोल्नासाथ प्रतिक्रियावादीहरू हावी भैहाल्छन् । अहिलेको यो भयभित अवस्था आउनुमा सरकारबाहेक कसलाई दोष्याउने ? यद्यपि जनता पनि जिम्मेवार बन्नैपर्छ तर जनता सरकारलाई गाली गरेर बस्ने पक्षमा छैनन् । किनकि अहिलेको मूल समस्या भनेको सङ्कटको व्यवस्थापन नै हो । राज्य यो जिम्मेवारीबाट विमूख हुनुहुँदैन र भएको छैन पनि । तर जुन रफ्तारमा अघि बढ्नुपर्ने हो त्यो पूरा हुन सकेन । महामारी रोकथामको अचूक उपाय बन्दाबन्दी मानिएको र पछिल्लो परिणामले त्यसैलाई प्रमाणित गरेकाले अहिले हामी त्यसैको अनुशरण गर्दैछौं । सरकारले योभन्दा अर्को उपाय अपनाउन नसक्दा जनस्तरमा समस्या विकराल बन्दैछ । अलिकति जोहो गरेको अन्न र सरकारले उपहार दिएको दुई मुठ्ठी चामल र एक मुठ्ठी दालले पेट भरिरहेका अकिन्चन जनताको क्रन्दन कसले सुनिदिने होला ? देशको नेतृत्व अक्कारिलो पहाडमा ठोक्किएको बेला नागरिकहरूको जनजीवन सजिलो बन्ने त कुरै भएन । फलतः अहिलेको अवस्थालाई विश्लेषण गर्न निकै अप्ठेरो छ, बुझ्न कठीन छ ।

अभि गाउँले

महासङ्कटको घडीमा पनि देशमा राजनीतिक एकता भङ्ग हुने खालका अवाञ्छनीय गतिविधि भएको छ । ‘कामकुरो एकातिर कुम्लो बोकि ठिमीतिर’ भन्ने नेपाली आहान चरितार्थ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फास्ट ट्र्याकबाट दुई अध्यादेश ल्याएपछि उत्पन्न राजनीतिक गत्यावरोधले देशलाई अपुरणीय क्षति त पुगेको छ नै । यससँगै जनताको भावनालाई कुल्चिने काम भएको छ । जनजनका समस्याको प्रवाह नगरी नेतृत्वले सबै कुरामा मनमौजी गरेकोले जनतामा निराशा उत्पन्न भएको छ । हामीलाई अहिले न रेल, न पानीजहाज, न कुनै समृद्धि चाहिएको हो । चाहिएको छ त केवल स्वस्थ जीवन । क्षणभङ्गुर सपना देखाएर जनमत लुट्नेहरूले जनताको जीउधनको सुरक्षा गर्नुपर्दैन ? राज्यशक्तिलाई केन्द्रीकृत बनाउनुसट्टा इतरवितर गरेर कोरोनासँग कसरी लड्न सक्छौं ? समयको माग र सान्दर्भिकताको उपेक्षा गरेर देश विकासमा लगाउनुपर्ने ऊर्जा प्रत्युत्पादक काममा खर्चिएको छ । सत्ताप्राप्तिलाई अलौकिक शक्ति मान्ने प्रवृत्तिले नै देशमा अराजकता मौलाएको हो । यसलाई सांसारिकताको रूपमा स्वीकार्दै जान नसक्नु दुर्भाग्य हो । लोकतान्त्रिक पद्धतिबाट राज्यसत्ताको टुङ्गो लाग्छ तर नेतृत्वले यसलाई सर्वसत्तावादी विचारले अगाडि बढाएको भान हुन्छ । सत्ताको आडम्बरीमा लोकतान्त्रिक मूल्यमान्यतालाई कुल्चेर प्राप्त उपलब्धि गुम्ने खतरा निम्त्याउने खेल जनताले बुझुन् । नैतिकता टकटकिएर रित्तो खोपडी बोकेर हिँडेका नेताहरूले देशलाई अग्रगति प्रदान गर्न सक्दैनन् ।

अहिले देशको सम्पूर्ण बागडोर सम्हाल्ने मौका नेकपाले पाएको छ । झन्डै दुई तिहाइ बहुमतको वरिपरिमा सत्तासीन पार्टी नेकपाको यात्रा सुखद भने पक्कै छैन । विधिको शासन मिच्ने र हारालुछको गुलजार खेल खेल्ने प्रवृत्ति मौलाएको छ । इतिहासकालदेखि नै कुनै न कुनै बहानामा देशलाई बन्धक बनाउने परिपाटी जुन हुर्किँदै आयो त्यसैको उपज हो यो । वर्तमान परिप्रेक्ष्य हेर्दा नेकपाको राजनीतिक भविष्य चीरनिन्द्रामा पर्ने निश्चित देखिन्छ । पछिल्लो घटनाक्रमले लोकतान्त्रिक विधि र प्रक्रियालाई स्थापित गर्नुपर्ने बखत यसलाई जनमर्दन गरिएको छ, इतिहासले दुत्कार्ने छ । जाज्वल्यमान परिघटना र जनताका तत्कालीन आवश्यकतालाई नजरअन्दाज गर्ने राज्यसत्ता दण्डित हुनैपर्छ । यसर्थ जनमानसको तकलिफमा अन्जान राजनीतिक नेतृत्वबीच नै तकरारको स्थिति तयार हुनु लोकतन्त्रका निमित्त घातक विषय हो । दलहरूबीचको असमझदारी परिक्षिप्त रूपमा नाङ्गिएको छ । उच्च ओहोदामा बस्नेहरूको नैतिकता भ्रंश हुँदा समेत नागरिकलाई फुस्ल्याउने नकाम भैरहेको छ । सत्ताको तुजुक देखाएर दगाबाजी गरेर निहत्था जनतामाथि बर्बरता प्रहार गर्नु भनेको पतनको मार्ग तय गर्नु हो ।

दलीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्ष साथै साना दलहरू हुनु लोकतन्त्रको मनोहरता हो । राज्यसत्ता अकर्मण्यतातर्फ जान लाग्यो भने त्यसलाई लगाम लगाउने र जनताप्रति उत्तरदायी बनाउन प्रेरित गर्ने काम प्रतिपक्षको हो । विडम्बना भन्नुपर्छ, हाम्रो देशमा अहिले प्रतिपक्ष दूधको साक्षी बिरालो बनेर बसेको छ । सरकारले खनेको खाडलमा आफै पनि पुरिन राजी भएजस्तो देखिएको प्रमुख प्रतिपक्षी पार्टी निरीह बनेर बसेको छ । सत्ता र प्रतिपक्षी एउटै आयामको हुँदा जनताको आवाज कुण्ठित हुन पुगेको दु:खद अवस्था छ । जनताले दिएको मुख्य एजेन्डा भुलेर राजनीतिक खचमच निकालेर देशलाई फेरि अनिर्णयको बन्दी बनाउने दुष्प्रयास गरिएको छ । जनता अहिले पिँजडामा थुनिएको अवस्था भएकैले पनि सरकारले मनलाग्दी गरिरहेको छ । जनतामा धैर्यताको बाँध फुट्यो भने सबैको मेल बगरसँग हुने सम्भावना छ । यहाँ न व्यवस्था, न पार्टी खराब हो । तर पात्र र प्रवृत्ति खराब हुनाले हामी प्रतिगमनमा भासिएका छौँ । पार्टीभित्र जीवित रहेका देशभक्त व्यक्तिहरूले नै अहिले सत्ताभित्र बसेर पनि विद्रोह गरिरहेका छन् । जनमत उनीहरूकै पोल्टामा जानू जरूरत छ । जनताले जसलाई प्रमुख प्रतिपक्षीको जिम्मेवारी दिए, आज उनीहरू सुतिरहेका छन् । दम्भी राज्यसत्ताले आफ्नै कोखमा प्रतिपक्ष जन्मायो । त्यही प्रतिपक्षले नै जनताको समस्यालाई मुखरित गरिरहेको छ ।

विश्वका सबै राष्ट्रहरू कोरोनासँग लडिरहेका बेला नेपालमा भने फरक धारको राजनीतिक घटना विकास भएको छ । यसले विश्वसामु एकचोटि नेपाललाई लज्जित बनाएको छ । सायद युरोपेली राष्ट्रहरू हाम्रो घरझगडा देखेर जिब्रो टोक्दा हुन्, घोत्लिँदा हुन्, चकित पर्दा हुन् । किनभने उनीहरू सम्पूर्ण शक्तिसहित कोरोनाबाट मुक्ति पाउन अहोरात्र खटिइरहेका छन् । नागारिकहरूको जीवनरक्षाका लागि आर्तनाद गरिरहेका छन् । तर हाम्रो नेतृत्व सत्ता र कुर्सिका लागि गुटभेला गर्दैछ । एकाअर्कालाई कमजोर बनाउने र शक्ति आफ्नो केन्द्रमा तान्न भ्याइनभ्याई छ । योभन्दा शीर निहुराउने दुष्कर्म अर्को के हुनसक्ला ?

यसै त राजनीतिक दलहरूमा नैतिकताको खडेरी परेका बेला सत्ताको दुर्गन्धित हरकले लोकतन्त्रलाई निर्धक्क सास फेर्न गाह्रो पारेको छ । असाध्यै आत्मकेन्द्रित र अहङ्कारी सत्ताले गणतन्त्रलाई तानाशाही बनिबनाउ रोबर्ट बनाउन थाल्यो, जो हरक्षण उनीहरूकै आदेशमा चलेको छ । जनताले निर्वाचनमार्फत जोकरफाल्टु बनाइएका केही पात्रलाई सत्ताको डोली चढाउने तानाबाना रचिँदैछ, यो अत्यन्दै खेदजनक छ । नेकपाभित्र जुन हास्यास्पद परिदृश्य देखिएको छ, त्यो आकाशको फल आँखा तरी मर् भनेजस्तै हो । थुप्रै संवैधानिक र कानुनी व्यवधानका बावजुद पनि गलत यात्रा किन तय हुँदैछ भन्ने कुरा रहस्यमय छ । किनकी संविधानमा जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्ता प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पद नियुक्तिका लागि योग्य हुने छैन भनी उल्लेख गरिएको छ । हैन अब राजनीति भनेको त्यस्तो खेल हो, जहाँ जे पनि सम्भव हुन्छ भन्ने खालका अमूर्त कुरा गर्ने हो भने त कसको के लाग्ला र, तर होइन लोकतन्त्रमा जनता जनार्दन हुन्छन् भन्ने मान्यता अझ बलियो बनाउने हो भने त्यहीअनुरूप जानुपर्ला ।

जनतालाई गुमराहमा राखेर लोकतन्त्रको खिल्ली उडाउने कामको पक्षपोषण गर्नुहुन्न । यतिखेर चारैतिर त्रास फैलिएको छ । कसरी हुन्छ देशका नागरिकहरूलाई महामारीबाट सुरक्षित राख्नुपर्छ । जतिबेलै अनेक दाउपेच गरेर सत्ताको बीऊ मात्र जोगाउन खोज्ने तर नागरिकहरूको जीउधनको हिसाबै नगर्ने हो भने लोकतन्त्र कसका लागि ? आपतविपदका बेला देश र जनताको आँटिलो र विश्वासिलो अभिभावक भनेकै सरकार हो । फेरि जनताले तिरेको कर जनताकै भलो हुने काममा खर्च गर्न पनि मख्खिचुस गर्नुपर्ने कारण के ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय