scheduleमगलवार श्रावण २७ गते, २०७७

लकडाउनले बालबालिकाको सपनामा पारेको असरबारे कसले सोच्ने ?

श्रवण गर्ग

छन त अहिले सिंगो विश्व नै लकडाउनमा छ । सबै उमेर समूहका मानिस बन्दी भएका छन् । तर वयस्क मान्छेहरुले विरलै सोचेका होलान् कि बालबालिकाको मनोविज्ञानमा लकडाउनले कस्तो असर पारेको छ ? जब हामी आफ्नै घर तथा छरछिमेकमा बालबालिकाहरु देख्छौं, उनीहरुका जिज्ञासु र विस्फारित नजरले हामीलाई हेरिरहेको देख्छौं, उनीहरुको मनमा यतिखेर के-कस्तो हलचल मच्चिरहेको होला भनेर सोच्छौं ?

वयस्क व्यक्ति चिन्ता फरक होलान् । लकडाउनमा परिवार व्यवस्थापन गर्ने, खानेकुराको जोहो गर्ने, कोरोनापछि आर्थिक हानी क्षतिपुरण गर्ने आदि । तर बालबालिकाको चिन्ता अर्कै कुरामा हुन सक्दछ । उनीहरुले आफ्नो स्कुल, क्लास, साथीहरु, खेलमैदान, पुस्तकालय र आफ्ना शिक्षकहरुको बारेमा सोचिरहेका हुन सक्दछन्, त्यो कुरा हामीलाई थाहै नहुन सक्दछ ।

कोरोना र लकडाउन, बालबालिका सोच, सपनाभन्दा बिल्कुलै फरक यथार्थ हो । उनीको मनमा कोरोनाको डर कम, आफु स्कुल जान नपाएको, पढाई वा शैक्षिकसत्र बिग्रिएको चिन्ता ज्यादा हुन सक्दछ । उनीहरुको बारेमा, उनीहरुको सपना र त्यसको उडानबारेमा हामीले केही सोच्या छौं र ? ठूलाबढा मानिस घरबाट बाहिर निस्कन नपाएको, हिंडडुल भेटघाट र पेशाा व्यवसाय गर्न नपाएकोमा जति चिन्तित छन्, सायद बालबालिकाहरु स्कूल जान नपाएकोमा त्यतिकै चिन्तित होलान् ।

अहिले नेदरल्याण्डकी एक शिक्षिका सामाजिक सञ्जालमा चर्चामा छिन् । उनी हार्लेम शहरकी शिशुकक्षा की अध्यापिका हुन् । आफ्ना बाल विद्यार्थीलाई लिएर उनको चिन्ता कसैले ट्वीटरमा हाल्दिएको छ । त्यसमा भनिएको छ– कोरोनाको महामारीमा हरपल उनी आफ्ना २३ किर्डरगार्डेन विद्यार्थीलाई सम्झिरहन्छिन्, त्यसले उनको हृदयलाई व्यथित बनाइरहेको छ ।

यो पीडा उनी कसरी सामना गर्दैछिन् त ? उनले २३ वटा गुडिया बनाएकी छन् । प्रत्येक गुडियालाई आफ्ना २३ फरकफरक विद्यार्थीको आकृतिसंग मिल्दोजुल्दो बनाउने प्रयास गरेकी छन् । तर गुडियाको नाम आफ्ना विद्यार्थीको नामबाट राखेकी छन् । जस्तो कि– जुलियन, ल्युक, लिली, जायरा, बोरिस आदि ।

जब बच्चाहरुले सुने कि शिक्षिकाले उनीहरुको सम्झनामा गुडिया बनाइन, उनीहरुले ती गुडिया हेर्ने इच्छा गरे । उनले गुडिया स्कुलको कक्षाकोठामा पठाइ दिइन् । तर विद्यार्थीले फेरि सोधे कि त्यसमध्ये ‘टिचर गुडिया कुन हो ?’ यो प्रश्नले अध्यापिका भावविभोर भइन् । उनले आफूलाई एक गुुडियाको रुपमा बुनिन् र विद्यार्थी गुडियाहरुको बीचमा लगेर राखिदिइन् ।

अहिले उनले आफ्ना विद्यार्थीलाई खबर गरेकी छिन्– जुन दिन स्कुल खुल्नेछ, त्यो दिन हरेक विद्यार्थीलाई उसको आकृतिको गुडिया दिनेछु । के हाम्रा शिक्षक शिक्षिकाले लडकडाउनमा यसरी सोचेका होलान् ?

भारतमा स्कूलको संख्या १३ लाखभन्दा धेरै भएको अनुमान छ । ६ देखि १४ वर्षसम्मका स्कुल जाने बच्चाहरुको संख्या नै २० करोडभन्दा धेरै छ । यसको अर्थ पुरै उत्तरप्रदेशको जनसंख्या बराबर त देशमा बच्चा छन । यति ठूलो जनसंख्या र तिनको मनोदशाबारे हामी केही सोचिरहेको छैनौं भने सायद हामीले ठीक गरिररहेको छैनौं ।

‘द इकोनोमिस्ट’ का अनुसार विश्वमा १ अर्बभन्दा बढी अर्थात् झण्डै भारतको कुल जनसंख्या बराबरमा बालबच्चाहरु आआफ्नो स्कूल जान पाएका छैनन् । कतिपय देशमा बालबालिका स्कुल नगएको ४ महिनाभन्दा धेरै समय भइसक्यो । यसको सबैभन्दा नराम्रो असर गरिब बालबालिकामाथि परेको समेत त्यो रिपोर्टमा उल्लेख छ ।

अमेरिकामा बद्लिएको नयाँ परिस्थितिमा स्कुलको स्वरुपलाई कस्तो बनाउने भन्ने बहस प्रारम्भ भएको छ । कोरोनाको महामारी कति परसम्म जाला ? के कक्षाहरु पहिलेको जस्तै गरी खोल्न र चलाउन सम्भव होला ? यदि सम्भव भएन भने के बच्चाहरु सधै नपढिकन रहने ? सधै घरमै बन्दी रहने ? के सामाजिक दूरीको नियम पालना गरेर पनि स्कुल चलाउन सकिन्छ ? सकिन्छ भने कसरी ?

के शिक्षक विद्यार्थी सबै मास्क लगाएर स्कुल आइजाई गर्न सक्दछन ? वा कक्षा कोठमा बिद्यार्थीको बसाई पातुलो पार्न एउटै कक्षा फरकफरक समयमा दोहोर्‍याउन सकिन्छ ? के बच्चाको शरीरको तापमान हरेक दिन स्कुलमा नाप्न सम्भव छ ? स्कुललाई कुनै न कुनै तरिकाले सञ्चालनमा ल्याउन सकिन्न ? यदि सकिँदैन भने बालबालिकालाई पढाउँने नयाँ तरिका के होला ?

तर यी प्रश्नहरुको उत्तर पाउन सजिलो भइरहेको छैन । बालबालिकालाई कसरी स्कूलसम्म पुर्‍याउने ? यातायातको व्यवस्था कसरी गर्ने ? स्कुल बसमा सामाजिक दुरी कसरी कायम होला ? बच्चालाई स्कुल पुर्‍याउँदा, लिन जाँदा अभिभावकहरुकै भीड बढ्ने हुन्छ, त्यसको व्यवस्थापन गर्ने कुनै तरिका छ र ?

बालबालिकाले आफ्ना अभिभावक, शिक्षक र शिक्षा प्रशासकलाई सायद सिधै आफ्ना कुरा भन्न सक्दैनन् । उनीहरुको मनमा उकुसमुकुस छ भनेर बुझ्न गाह्रो छैन ।

उनीहरुको सपना संकुचन भएको छ । उनीहरुको मनको उडान, भविष्यका कल्पनालाई कोरोना लकडाउनले चंगालाई लटाईले जस्तै बाँधेर तानिरहेको छ ।

तर हाम्रा अध्यापकअध्यापिका सायदै गुडिया बनाइरहेका छन । हाम्रा शिक्षा प्रशासक वा शिक्षामन्त्री के के सोच्दैछन, त्यो वालवालिकाले कसरी थाहा पाउँलान् ?

उनीहरुको बारेमा पनि कसैले सोचिरहेकै होला भन्ने थाहा पाए भने सायद उनीहरुको मन थोरै भए पनि हल्का होला ।

(सत्यहिन्दीबाट भावानुवाद गरिएको)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय