scheduleबुधवार श्रावण २८ गते, २०७७

ऋषि कपुरको पोष्टर टाँसिएको चोकमा समेत हेर्नेको भीड हुन्थ्यो

करण जोहर

जब ऋषि कपुर ‘बबी’ मार्फत् ठूलो पर्दामा आए, हिन्दी सिनेमा उद्योगमा रोमान्सको परिभाषा र छवी बद्लियो । उनी तुरुन्तै ‘पोष्टर ब्वाई’ भए । उनको सिनेमा लागेका हलमा भीड हुनु स्वाभाविक थियो । तर शहरका चोकमा टाँसिएको उनको पोष्टर हेरेर मात्र पनि मान्छेहरु टोलाइरहेका हुन्थे । उनलाई पोष्टरमा एक झल्को हेरर कैयौं मानिसले आफ्नो मनको धित मार्थे ।

उनी आफ्ना प्रसिद्ध पिता राज कपुरको विरासत बोकेर आएका थिए । तर उनीसँग आफ्नो बेग्लै र मौलिक प्रतिभा थियो । जब म ७ बर्षको थिएँ, मेरा मातापिताले उनलाई ‘दुनियाँ मेरी जेब मे है’ को प्रिभ्यु हेर्न निम्त्याएका थिए । यो सुनेर मेरो खुशीको सीमा रहेन । तर आमाले मलाई लिएर जान अस्वीकार गर्नु भयो ।

त्यो समय मेरो स्कुल लागिरहेको थियो । स्कुल सकिनेबित्तिकै मैले रातीको सो हेर्न जानुपर्ने हुन्थ्यो । त्यही भएर आमाले मलाई नलाने मन बनाउनु भएको थियो । तर म रीसले आगो भएँ । बुबाआमालाई दंग्याउन थालें । अन्त्यमा मलाई लिएर जान उहाँहरु राजी हुनु भो । ऋषि मेरा लागि ठूला स्टार थिए । मन्त्रमुग्धझैं म उनलाई हेर्थें ।

उनी मेरो लागि साँच्चैको हिरो थिए । साह्रै आकर्षक र सुन्दर । उनी मेरा लागि सदावहार रोमान्टिक हिरो रहे । मेरो बाल्यकाल उनको सिनेमाका गीत सुन्दै, उनको अभिनयको अनुकरण गर्दै बित्यो । म उनको जस्तै बुट्टेदार स्वीटर लगाउँथें र आफ्नै ओछ्यानमा नाच्थें । डिनरको प्लेटलाई ‘सरगम’को डफलीवालेको तरिकाले स्कुले साथीहरुको अगाडि बजाउँथें ।

मैले उनलाई पहिलोपटक मेरो बुबाको फिल्म ‘दुनियाँ मेरी जेब मे है’ हो सेटमा कोचिनमा भेटेको थिएँ । जब देखें हेरेको हेर्‍यै भएँ । मलाई लाग्यो कि ऊ कुनै मान्छे हैन, त्यस्तो स्मारक हो जसलाई म मेरो हृदयमा जीवनभरि उभ्याउन चाहन्छु ।

समय क्रुर मात्र छैन, दयालु पनि छ । मानिसका कैयौं इच्छाहरु पूरा हुँदैनन् भन्ठानेर हामी निराश हुन्छौं । तर मेरो जीवनमा त्यो क्षण आयो कि मैले विद्यार्थी उमेरमै ऋषिलाई निर्देशन गरें । जब मैले उनलाई ‘सोती’ मा निर्देशन गरें, उसको पहिलो शटपछि एकछिन रोकिएँ र रोएँ । मेरा आँखाहरु चिसा भएका थिए । मन भावविभोर भएको थियो । मेरो बचपनको सबैभन्दा ठूलो सपना त्यो दिन पूरा भएको थियो ।

ऋषि मेरा लागि सबैभन्दा प्रिय अभिनेता थियो । सिने क्षेत्रमा मेरो त्यस्तो आदर्श त्यस्तो तारा थियो जो आकाशमा थियो, धर्तीबाट म उसलाई हेर्दै मग्न हुन्थें । लाग्थ्यो– कुनै दिन उसलाई छुन म पनि आकासमा पुग्नेछु ।

आज मलाई असीमित शून्यताको बोध भइरहेको छ । मलाई लाग्दैछ कि मेरो अस्तित्व नै खण्डित भएको छ । म कुनै संकटमा छु । भारतीय सिनेमामा रोमान्टिक धारको ऊ एक्लो धरोधर जस्तो थियो । म उसलाई प्रेम र सम्मान दुबै गर्थें । उसका यावत इच्छा र चरित्रहरु मलाई थाहा थियो ।

उसको खानपान, उसको प्रिय पेय, उसको बोल्ने शैली सबै कुराको जानकार थिएँ । उसको अनुहार हेरेर ऊ रिसाएको, खुसाएको वा अन्यमनस्क भएको छुट्याउन सक्थें । ऊ मर्‍यो भन्ने म कसरी पत्याउँ ? म पत्याउनै सक्दिनँ । ऊ मर्नै सक्दैन । ऊ तारा हो । आकाशमा उदाउँछ । दिउँसो हामी उसलाई नदेखौंला, तर जब साँझ पर्छ, त्यो फेरि त्यही हुनेछ ।

ऋषि भारतीय रोमान्टिक सिनेमाको इतिहासमा हुनेछ, उसका सिनेमाहरुमा हुनेछ । थाहा छैन, उसका सिनेमा कति पुस्तासम्म मान्छेले हेर्नेछन् । उसलाई जसजसले पर्दामा हेर्ने छन् – यो मरिसकेको मान्छे हो भन्ने बोध कसैलाई हुने छैन । उसको कला, अभिनय र हाउभाउले ऊ उत्तिकै जीवन्त भएर मानिसको मष्तिष्कमा बस्नेछ । अर्थात् ऊ बारम्बार उदाउनेछ, पुनर्जिवित हुनेछ । आकाशको त्यो ताराजस्तै ।

मेरो प्रिय ऋषि, म तिमीलाई धेरै धेरै माया गर्छु । तिमी यो ब्रह्माण्डको जुनसुकै कुनामा जे सुकै भएर बस तर मेरो मायालाई कहिल्यै नर्बिसनु । तिम्रो कवाहती विरासत यो धर्तीमा कहिल्यै मर्ने छैन ।

(करण जोहर यस जोहरका छोरा तथा प्रसिद्ध फिल्म निर्देशक हुन् । यो अभिव्यक्ति उनले ऋषि कपुरको निधनमा फिल्मफेयरलाई दिएको शोक प्रतिक्रियाबाट अनुवाद गरिएको हो ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय