scheduleसोमवार जेष्ठ १२ गते, २०७७

स्मृतिमा हिँउ खेल्दै, यार्चा टिप्दै हुर्किएको बाल्यकाल

प्रेमबहादुर बोहरा

दिउँसो बुवा गहुँ र कोदो पिस्न पानी घट्ट जानुभएको थियो । आमाले ओक्लोमा फापर पिस्नुभएको थियो । म साथीहरूसँग घट्टेखोलामानुहाई लत्ताकपडा धोईवरी सफाचिटिक्क भएको थिएँ । त्यही दिन बेलुका नास्तामा आमाले गहुँको रोटी पकाउनुभयो । हरियो लसुन, गोलभेडा र खुर्सानी पिसेर बनाएको अचारसँग रोटी खाएपछि बुवाले घट्टबाट ल्याएको गहुँ र कोदाको पिठो र आमाले पिसेको फापरको पिठो थैलामा जाकियो । ओड्ने कम्बल, राडी र ओछ्याउने भेडाको ऊनबाट बनाएको फिक्मा राखेर बुवाले बोक्ने भारी तयार पारियो । आमाले नुन, तेल, रोटी हाल्ने तावा, भात पकाउने दिप्ची, डाडुपन्यु, कुटो र अन्य लेकमा बस्दा, हिड्दा र खाँदा चाहिने सामग्री राखेर आफ्नो भारी बनाउनुभयो ।

राती नै आमाले पकाउनुभएको फापरको बाग्ला ढेसु, मलाई फापरको रोटी तितो लाग्ने हुदाँ गहुँको रोटी, अचार पनि आमाले आफ्नै कुम्लोमा राख्नुभयो । मेरा लत्ताकपडाको मात्र एउटा सानो भारी पनि तयार भयो, जुन मेरा लागि थियो ।

कक्षा ४ को वर्ड मिनिङ्गको कापी, सिसाकलम पनि झोलामा कोचेको थिएँ । यी सबै मिलाउँदै रातिको ९ बजिसकेको थियो । बिहान सबेरै उठ्नुपर्ने भएकाले साँझ आमाले सिमीको दाल पकाउनु भएको रहेछ । कोदाको रोटी पकाउनुभयो । दालसँग तात्तातो रोटी खाएर सुत्यौँ ।

Dish_Home
डोल्पाको यार्चा पाइने ठाउँ, पाखेपानी ।

साईकुमारी जाने कल्पना गर्दागर्दै निदाएको थिएँ । बैशाख महिनाको तेस्रो साता । त्यतिखेर म कक्षा ४ मा पढ्थेँ । पहिलोपटक लेकमा जाने साईत जुरेको थियो । बज्यै भन्नुहुन्थ्यो, ‘रहन्देउ, नान भाउ कईतेरी जाला ? भिरमा लडला, पल्टेला ।’

जवाफमा आमा भन्नुहन्थ्यो, ‘भाहिर गएपो सारिएला त ? घरै बस्या त अल्छे होला ।’ आमाले लाने प्रयास गरेको तर बज्यैले यस्तै भनेको तीन वर्ष भईसकेको थियो ।

यो वर्ष आमाले जित्नुभयो वा बज्यैले हार्नुभयो, म जाने भएँ । भिरपाखामा हिंड्न सक्ने, खोला नदी तर्न सक्ने, हिउँको चिसो खप्न सक्ने अर्थात् यार्चा टिप्न जान सक्ने भईसकेको रहेछु । अरुबेला म बाहिर जाँदै नजाने पनि होइन तर अरु मेरा सहपाठीहरू बढी नै समय बाहिर जान्थे । आमाको विचारमा उनीहरू अनुभवी, बलिया र सक्षम भईसकेका थिए । पाँच वर्षको उमेरदेखि नै यार्चा टिप्न गएका उनीहरू तीन वर्षको अनुभव बटुली सकेका थिए । आमा मलाई बलियो बनाउन चाहनुहुन्थ्यो ।

धेरै यार्चा टिपोस्, कम्तीमा आफुले लेखपढ गर्ने किताब, कापी, कलम किन्न सक्ने जति त पैसा कमाओस् भन्ने चाहना थियो होला । चामल किन्न, लत्ताकपडा, शैक्षिक सामग्री किन्न वा अरु नै केही किनमेल गर्न पैसा चाहिन्थ्यो । पैसा यार्चामा थियो । यार्चा साईकुमारीमा थियो । म पनि कमाई गर्ने भएको कल्पना गर्दागर्दै निदाएको सपनामा पनि एक पहाडबाट अर्को पहाडसम्म हाम्फालेँ, आकासमा उडेँ र जंगलमा हिडेँ । डर, रमाईलो र कौतुहलता एकैपटक महसूस गरेको थिएँ ।

‘उठ् हउवा । उठ्ठ हउवा । सप्पै उठिया त । अरु बाईजान्ना । उठ्, मुख धो,’ आमाले भन्नुभयो । बिहान ४ बजेको थियो । अरुबेला मलाई बिहान उठ्न त्यति रुचि हुदैंनथ्यो । तर आज आमाको एकै आकारमा म जर्‍र्याकजुरुक उठेँ ।

साईंकुमारी पाटनमा हिउँमा यात्रा

बुवाले ल्याईदिनुभएको बाग्ला मोजा, आर्मी छाप भएका पाटे जुत्ता, ट्राउजर सेट, स्वेटर र ज्याकेट लगाएँ । हिउँ पर्दा बोबोले खुट्टामा ल्हाम लाउनुहुन्थ्यो । म दोचा लगाउथेँ । बुवाले दौरासुरुवाल, उनको बक्खु, कोट लगाउनुभयो भने आमाले गुन्यु, चोलो र त्यसमाथि गादो पाड्नुभयो । पानी पर्दा घुम थियो तर हिउँ पर्दा ओड्ने केही थिएन । गमक्क तातो लुगा र ठम्ठम् जुत्ता लगाएपछि हिउँले केही गर्न सक्दैन्थ्यो ।

जेष्ठ महिनामा हिमाली पाखापखेरामा गर्मी छाउँछ । खेतबारी र बाटोमा हिड्दा खुट्टा पोलेर हैरान पार्छ । हिमालमा चिसो हुन्छ भन्ने पनि बिर्सन लगाउँछ यतिबेलाको गर्मीले । मकै, कोदो र आलु गोडमेल जस्ता जेष्ठ असारमा गर्ने काम वैशाख महिनादेखि जेष्ठ पहिलो हप्तासम्म सक्काईन्थ्यो, किनभने जेष्ठ पहिलो हप्तादेखि असारको अन्तिम हप्तासम्म धन कमाउन लेकतिर जानुपर्थ्यो । यार्चाको खोजीमा ।

कसैले भनेको सुनेको थिएँ, डोल्पालीहरु पैसा देखेपछि अरु सब छोड्छन् । हुन पनि त्यस्तै गर्थे । यार्चाको कमाई हुने आशामा बालबच्चाको पढाइ, बुढाबुढीको हेरचाह, पशुवस्तुको बेवास्ता नै गरेर जान्थे पाटनमा ।

प्रेमबहादुर बोहरा

‘नाथे अन्न जेसुकै होस् । धन आउने यार्चा छदैँछ, र धनले चाहेको चिज किन्न सकिहालिन्छ,’ गाउँलेको बुझाई थियो । सबैले असारे काम वैशाखमै सकेर यार्चाको खोजीमा लेकतिर लागिरहेका थिए ।

पाल्लौटीसम्म खेतवारी, त्यसपछि पाखैपाखामा तेर्सो बाटो । दुई घण्टा जति हिंडेपछि ओर्पु खोला पुगियो । त्यसपछिको बाटो जंगलैजंगल र उकालो । बिहानको ६ बजिसकेको थियो तर जंगलमा अँध्यारो बाँकी नै थियो । अरुबेला राति घरबाहिर आउन पनि डर लाग्ने आज भने जंगलको बीचमा आईपुग्दा पनि डर लागिरहेको थिएन । किनभने म राति पिसाब फेर्न बाहिर निस्केझैँ एक्लै थिईन । अगाडि पनि सयौं मान्छे थिए र पछाडि पनि त्यतिकै । केटाकेटीदेखि वयोवृद्धले सक्दो रासनपानीको भारी बोकिरहेको थिए ।

डरलाग्दो जंगल, बडेमान रुखहरू र झरेका पातपतिंगरहरूले छोपेको हिड्ने बाटो र पाखापखेराहरू । अगाडि हिंडेको मान्छेको पाईला गएतिर जानुपर्थ्यो । अगाडिको मान्छेसँगको पदचाप मिलाउन सकेन भने बाटो हराउँथ्यो । भारी बोकेकाहरूले भारी बिसाउनका लागि बीच बीचमा रोकिनुहुन्थ्यो । बसेर सुल्पामा तमाखु भरेर धुवाँ उडाउनुहुन्थ्यो । मलाई भने स्याँस्याँ भईरहेको बेला यसरी एकछिन भए पनि रोकिन पाउँदा खुसी लाग्थ्यो । बसिरहेको बेला चराचुरुङ्गीका चिरबिर पनि प्रष्ट सुनिन्थ्यो ।

उकालो नै उकालो जंगल कट्न थप तीन ३ घण्टा लाग्यो । बल्लबल्ल पाखा पखेरा देखिन थाले । जंगलमा हिंड्दाको काईदा भनेको कति हिंडियो र कति बाँकी छ पत्तो नहुने । पाखामा हिंडेको भन्दा हिड्न बाँकी धेरै देखिँदा टाउको रनक्क हुन्थ्यो । खुट्टा कक्रक्क पर्थ्यो ।

उकालो उक्लिदै गर्दा हिमालको चुच्चोमाथि हिउँ र हिउँ माथि घाम देखेँ । म सय मिटर जति हिड्न नपाउँदै घाम दश किलोमिटर तल झरेर मलाई भेट्टायो । मेरो अनुहारमा स्पर्श पनि गर्‍यो । केहीबेरमै पाखाको बुकीघाँस, जंगलका रुखका पातहरू, खेतबारीको हरियाली छुँदै गाउँ पुग्यो । गाउँका घरहरू साना साना थोप्ला जस्ता देखिन्थे जसरी घरबाट हेर्दा यहाँका ठुल्ठुला जुरहरू देखिन्थे । घाम बउर पुगेर नदीमा नुहाई सक्यो मेरो खुट्टाले पाईला चाल्नै सकेनन् । धैरै मान्छेअगाडि पाखामा छरिएर हिडिरहेका थिएँ भने थोरै मात्र मेरो पछाडि थिए । हिड्न गाह्रो भयो । पाखामै पल्टिएँ ।

आँखा चिम्म गरेको थिएँ, खोलेँ । माथि निलो आकाश नजिकै थियो । थोरै बादलका टुक्राहरू उडेर मलाई छुन खोजिरहेका थिए । म आफैं आकाश र धर्तीको समदुरीमा उडिरहेको जस्तो लाग्यो । शान्त र आनन्द अनुभूति । मेरो भारी अर्थात् लत्ताकपडाको पोको मबाट छुट्टिएर पर पुगेछ । उठेँ, नजिक तानेँ अनि त्यसमा टाउको ठाडो पारेर फेरि पल्टिएँ । ऊ पारी हिमालैहिमाल सेता दाँत देखाएर हाँसिरहेका थिए । गाउँलाई केन्द्रविन्दू बनाएर सेतोसेता घेरा हिडिरहेको जस्तो, गाउँ वरीपरी हरिया खेतबारी, त्यसबाहिर खैरा पाखापखेरा, खोलानाला, कालो र हरियो मिश्रित जंगल, बेसीमा बगिरहेको नदी र अन्तिम घेरा सेता हिमाल, कुनै कलाकारले बनाएको पेन्टिङ जस्तै थियो । कति सफा, कति सुन्दर र कति मौन ।

डोल्पाको माझफाल गाउँ

‘थाकी की धई ?,’ मेरो मौनता भंग भयो । मिठो सपनाबाट झल्याँस्स ब्युँझेझैं भयो । फरक्क दायाँ फर्केर हेरेँ अनि बुवालाई देखेँ ।
‘लेक लाग्या छ कि धई ?,’ बुवाले सोध्नुभयो ।

धेरै अग्लो लेकतिर गयो भने लेक लाग्छ भन्ने सुनेको त थिएँ तर लेक लाग्दा कस्तो हुन्छ, थाहा थिएन । टाउको रिंगाउनु, दुख्नु, हिड्न मन नलाग्नु र श्वास लिन गाह्रो हुनुलाई लेक लाग्नु अर्थात् अक्सिजनको कमीले बिरामी पर्नु भन्ने रहेछ । मलाई हिड्न गाह्रो त भएको थियो तर लेक चाहीँ लागेको थिएन ।

‘मकन केही भया नाईं । हिंड्न सकिल्दौँ,’ मैले भनेँ ।

म उठेँ पनि । कुम्लो बोकेँ र हिडेँ बुवासँगै । हिउँमाथि हिंड्दै अझ अगाडि बढ्यौं । कतै हिउँ कतै पाखा, कतै ढुंगा, कतै चट्टान र कतै खागर । अघि लामबद्ध भएका मान्छे अहिले किन छरिएर हिडिरहेका छन् । मलाई छक्क लाग्यो । मैले सोँचे, थकाई लागेर हल्लिदैं हिडिरहेको होलान् । पाखामा बाटो भन्ने पनि त थिएन । जता हिड्यो त्यही बाटो । पाखा भरी कि त थियो हिउँ, ढुंगाहरू र बुकीको घाँस खैरो झार । ठाउँठाउँमा कुटोले खनि पनि रहेका थिए । पछि बुवाले पनि खन्न थाल्नु भयो । र, म सँग आएका केटाकेटी पनि फटाफट खन्न थाले । म त हेरेको हेरै भएँ । म त ट्वाँ परेँ र वाल्ल परेर हेरिरहेँ । मलाई बरु भोक पो लाग्यो त ।

टप्लक्क आमा आईपुग्नुभयो । हिउँ भए नजिकै गयौँ र गोलो भएर बस्यौं । आमाले कुम्लोबाट ढेसु निकाल्नु भयो, भाँचेर आधा बुवालाई दिनुभयो र आधा आफुलाई राख्नु भयो । गहुँको रोटी झिकेर मलाई दिनुभयो । सानो पोकोमा खुर्सानी ल्याउनुभएको रहेछ । मैले अलिकति हालेँ । त्यसमा हिउँ हाल्न लागेको थिएँ, हावाले उडायो । थोरैमात्र आँखामा आयो । पिरो भयो । हिउँले आँखा छोपेँ, शितल भयो ।

खाईवरी फेरि पाखामा लाग्यौँ यार्चा खोज्न । म फेरि हिउँतिर जादैँ थिएँ, बुवाले बोलाउनुभयो, ‘यही वरीपरी दुईटा जीवनबुटी छन्, हेर त ।’ मैले यार्चा देख्छु कि देख्दिनँ वा चिन्छु कि चिन्दिनँ भनेर हेर्न खोज्नुभएको थियो । घोप्टो परेर हेरेँ तर देखिएन । पाखामा चेप्टे परेँ, र हेरेँ तर अहँ देख्दै देखिनँ । त्यत्ति नै खेर बुवाले कुटो पाखामा रोप्नुभयो । रोपिएको कुटो मुनि ठाडो खैरोखैरो जस्तो झार देखाएर भन्नुभयो, ‘यही हो जीवनबुटी ।’

उहाँले खन्नुभयो र फेरि देखाउनुभयो । मैले यार्चा त घरमा पनि देखेको थिएँ । हरेक साल देखिनै रहन्थेँ टुप्पो कालो हुन्थ्यो । तर यहाँ त खैरो देखिन्छ । फेरि अर्को हेर्न भन्नुभयो । केहीबेरको कसरत पछि मैले पनि देखेँ अर्को खैरोखैरो ठाडा उभिएको यार्चा । कति अनौठो महसुस भईरहेको थियो । मैले देखेको यार्चा बुवाले हेर्न लगाएको होइन रहेछ । उहाँले आफ्नो खनेर मेरो पनि खनिदिन आउनुभयो । बुवाले खनिदिनुुभयो । फेरि अर्को देखेँ । यहीँ वरीपरी यति धेरै रहेछन्, मैले नचिनेरमात्र नपाएको रहेछु । एकपछि अर्को देख्दा मुटु ढुकढुक गरेजस्तो हुन्थ्यो । फेरि अर्को पाउन पाए हुन्थ्यो भन्ने लाग्ने । कुनै कुनै झार पनि त्यस्तै हुँदारहेछन्, झुक्याए ।

देख्दा ठ्याक्क त्यस्तै तर नजिक जाँदा त झार पो रहेछन् । यार्चा सबै एउटै हुन्छन् होला भनेको त फरक फरक पो हुँदारहेछन् त । भेट्टाउँदै, खन्दै जाँदा थाहा पाएँ । मैले घरमा देखेको यार्चा त सुकेर कालो भएको रहेछ । कुनै यार्चा त नसुक्दै पनि कालो हुँदो रहेछ । यो पनि मान्छे जस्तै रहेछ । कुनै कालो, कुनै लामो, कुनै छोटो र कुनै रातो । हिउँमा पाईने किरा जस्तो एक जीव जुन केही महिनापछि हिउँ बिलाएसँगै जमिनमुनि गएर टाउकोबाट उम्रिन्छ र वनस्पती बन्छ । यार्चागुम्भा अर्थात् स्थानीय बोलीचालीमा जीवनबुटी अर्थात् किराबाट जरा बनेको वनस्पती । हाम्रो जीवनको लागि उपयोगी चीज ।

डोल्पाको गाउँबाट देखिएको यार्चा पाटन

अरु केटाकेटी पहिलेदेखि नै बानी परिसकेकाले होला आमा बुवाहरूबाट टाढा टाढा गए । म भने बुढापाखाहरूसँगै । बेलुकासम्म त एक पनि पाईनँ । मसँगैका अरु केटाकेटी कसैले १००, कसैले १२० पाएछन् । बुवाहरूले पनि सय भन्दा माथि नै पाउनु भएको थियो । मैले भने दशओटा जति पाएँ । साँझ पर्‍यो । गाउँतिर नजर लगाएँ तर त्यहाँ त झन अँध्यारोनै भईसकेछ । डेरातिर लाग्यौँ ।

जंगलभन्दा केही माथि ओडार जस्तो देखिने ठाउँमा बान्नो चिनेर त्यसमाथि काठको फल्याक ठड्याइएको थियो । भित्रबाट बलिया खम्बाले फल्याक अड्याएको रहेछ । बाहिर दुई बलिया खम्बाले ढोका बनाएको थियो । त्यो थियोबर्षामा भेडा राख्ने खोर अर्थात आजको हाम्रो डेरा । दनदनी आगो बलेको थियो । धुवाँ बाहिर फुस्फुसाई रहेको थियो । पिउने पानी पाउन त साह्रै समस्या रहेछ । घरमा पानीको धारा पाँच मिनेट टाढा थियो त कस्तो झ्याउ लाग्थ्यो दिनदिनै पानी ल्याउनँ । यहाँ त धारा रहेनछ ।

दिउसो हिउँ पग्लेको पानी जम्मा गर्ने काठको झुपा बनाईएको रहेछ । पिउन र हात घुन त्यही पानी प्रयोग भयो । अंकल र ठूला दाइहरूले खाना बिहान घरबाट ल्याएका ढेसु र रोटी तताए । अचार र खुर्सानीसँग रोटी र ढेसु खाएर राती छिट्टै सुत्यौं । सबैजना भोलिपल्ट छिट्टै उठेर यार्चा खोज्नुपर्छ र त्यसपछि साईकुमारी जानुपर्छ भन्ने कुरा सबैले मनन गरेका थिए ।

मैले एकदमै सुनेको नाम थियो यो साईकुमारी । देउता तिर्थ लिने तीर्थस्थल, पर्वतेले भेडा ल्याउने ठाउँ र यार्चा पाईने ठाउँ । हिउँदमा डोल्पालीले भेडाहरू जाक्नाका रुपमा रुकुम तल्लो भेगतिर लग्ने गरेझैं बर्खामा रुकुम तकसेराका पर्वतेहरूले असारमा पाखा सेताम्य हुने गरी हजारौंको संख्यामा भेडाहरू चराउन ल्याउँछन् । हाम्रो गाउँको वनको शुल्कस्वरुप एक खसी लिने चलन थियो । यार्चागुम्मा राम्रोे पाइने तीर्थ भन्ने ठाउँ पनि छ भन्ने सुनेको थिएँ । साईकुमारी पुग्न माथि हिमाल चढ्ने अनि फेरि चट्टानको बाटो हिड्नुपर्थ्यो ।

बिहानै सबै हिडेँ । म पनि बुवाआमासँगै हिडेँ । चिसो बिहानीमा घाम नझुल्किदै घरबाट देखिने सबैभन्दा अग्लो हिमालको टुप्पोमा पुग्यौं । नेपाने भनिदो रहेछ त्यो डाँडालाई । आहा, कति रमाईलो । गाउँतिर हेर्दा पारी पारीका हिमालहरू बराबर उचाई भएको भान हुन्थ्यो तर पछाडि फर्केर हेर्दा त्यहाँ त अर्को अग्लो हिमाल उभिएको थियो ।

मैले सोचेँ- त्योभन्दा अग्लो त अर्को हिमाल छैन छैन । किनभने चारैतिर देखिएका हिमालहरू मध्ये त्यसको चुचुरो सबैभन्दा अग्ला देखिएको थियो । अग्लो त्यो हिमाल भएतिर हेर्दा तल खोला देखिन्थ्यो, त्यसमाथि सानो झाडी, र त्यसभन्दा पर खागर अर्थात चट्टान र सानादेखि मसिना ढुंगाहरूको रेलो । साईकुमारीतिर फर्केको हिमालमा गाउँतिरको साईडमा जस्तो घाँसपात र रुखबिरुवा केही थिएन । डरलाग्दो भिरको बाटो हिंड्नु पर्ने रहेछ । ज्यान जोगाउँदै बाख्राले झैं चार हातखुट्टा टेकेर, छामेर, नापेर र तौलेर हिंड्नुपर्ने हुन्थ्यो । हात फुस्किने, खुट्टा मर्किने, माथिबाट ढुंगा खस्ने, ढुंगा वा हिउँको रेलोमा बग्ने, बरफमा चिप्लिने र चिसोमा हातखुट्टा बाउडिने सम्भावना उत्तिकै थियो ।

पुग्नुपर्ने पाखा नजिकै भए पनि त्यहाँ पुग्दा धेरै समय लाग्यो । हिडेको दुई घण्टामा असारे भन्ने ठाउँमा पुगियो । आधा घण्टा ओरालो झरेपछि चउर आईपुग्यो । जति हिंड्यो त्यति चउर लम्बिएजस्तो । अत्यासलाग्दो थप डेड घण्टा हिंडेपछि बल्ल अर्को सानो खोलामा पुग्यौँ । त्यो खोलापारी पाखामा हिउँ टल्किरहेको थियो । हिउँ टल्केको बाहेक अरुतिर अँध्यारो भईसकेको थियो । बाटोमा चारपाँच जना मजस्तै बच्चा र उनका बुवाहरू थिए । खोला तरेपछि बुवाले भन्नुभयो, ‘हब त्यो ठूलो ढुंगो देखि ?’ प्रष्ट नदेखेपनि त्यहाँ ढुंगा छ भन्ने लाग्यो र अँ भनेँ । ‘हो, त्यही नै ओडार हो,’ बुवाले भन्नुभयो । हामी बस्ने बास हुने भयो ।

दुई महिनाका लागि घर, पैसा कमाउने कार्यालय वा दरबार, जे पनि त्यही थियो । हेर्दा त धेरै टाढा थिएन, त्यस्तै एक किलोमिटर जति थियो । तर उकालो एकातिर र थकाई, चिसो र भोक अर्कातिर । बुवाले बोक्नुहुन्थ्यो होला । उहाँको भारीले उहाँलाई थिचिरहेको थियो । अलिकति हिँडेपछि कोही माथिबाट तल झर्दै गरेको देखियो । मेरो कान्छो काका हुनुहुन्थ्यो । मलाई बोकेर लानुभयो ।

बल्लतल्ल ओडारमा पुग्यौं । भिरबाट ल्याईएका धुपी जस्तै बास्ना आउने जगका दाउराले पकाएका रोटी र सिन्की अर्थात् असुरोको पातमा तरकारी खायौँ । ढुंगाहरू मिलाएर मैडा बनाईएको रहेछ, त्यही माथि सुकेको बुकी हालिएको थियो । त्यसमाथि ओछ्यान लगाईयो । लगाएको कपडा खोल्नै सकिन । थकाई, डर वा लाजले होइन । कठ्यांग्रिने चिसोमा कपडा खोलेर सुत्नु अर्को ठूलो लडाई लड्नु जस्तै हुन्थ्यो । मान्छेको श्वास साटासाट हुँदा तातो बढ्छ भनेर खाँदिएर बुढापाखा एकातिर, महिला अर्कोतिर र बीचबीचतिर छाचौरी । युवा छेउछाउमा लाईन लगाएर सुते । कम्बल र कम्बलमाथि राडी राख्दा ओड्ने गहुंगो भएको थियो । सुतेको केहीबेरमा तातो पनि भयो । थकाईले हो वा चिसो मौसममा तातोपनाले हो, निन्द्रा लाग्यो ।

भोलिपल्ट बिहान चिस्सो मौसमसँगै ब्युझिएँ । बाहिर हेर्छु त आफ्नै अगाडि टक्क सेतो हिमाल उभिएको । निष्पट सेतो, स्वच्छ र डरलाग्दो । काकाहरूले खोलाबाट पानी ल्याउनुभएको रहेछ । फापरको पिठो मुछेर ढेसु हाल्दै हुनुहुन्थ्यो । बिहान चाउचाउ उमालेर पियौँ । तितो फापरको पिठोबाट बनाईएको ढेसु झोलामा र कुटो हातमा बोकेर हिड्यौँ । त्यो दिन साईकुमारीको चउर, रातोजुरको पाखाहरूमा यार्चा खोज्दै गयौँ ।

समय वित्दै जाँदा म एक्लै पनि जान सक्ने भएँ । हरेक दिन नयाँ नयाँ ठाउँहरूमा जान्थ्यौँ । पहिलो हप्ता अलि अलि पाईने भए पनि बिस्तारै समय वित्दै जाँदा यार्चा कम पाईदै जान्थ्यो । दिनदिनै रोटी, फापरको ढेसु खाँदा शरीर पनि सुक्दै गएको महसुस हुन्थ्यो । चाउचाउ र फाडो बाहेक अरु झोल पदार्थ त्यति खान पाईदैनथ्यो । त्यसैले होला, दिशा गर्न पाखामा जाँदा बुकी समात्नुपथ्यो । कनीकुथी गरेपछि मात्र दिशा निस्किन्थ्यो । त्यो खस्दा यस्तो लाग्थ्यो कि ढुंगा खस्दैछ । पानी यति धेरै चिसो हुन्थ्यो कि छुन पनि कठिन हुन्थ्यो । दिउँसो भएपछि मात्र मुख धुने हो । नुहाउने त एक वा डेढमहिनामा गाउँमा पुगेपछि मात्र हो । दाउरा ल्याउन भिर चड्नुपर्थ्यो । जगको रुख काचै पनि बल्थ्यो । प्रकृतिको जोरजाम पनि अचम्मको थियो । रुखबिरुवा नै नहुने हिमालमा त्यस्तो बिरुवा थियो जुन आलै बल्थ्यो ।

हरेक बिहान माथिमाथि लेकतिर जाने र बेलुका यार्चा टिपी फर्किने नै रुटिन थियो । यो रुटिन हरेक वर्ष जारी रह्यो । एसएलसी परीक्षा दिएपछि सम्म निरन्तर गएँ । जानैपथ्र्यो, गएँ ।

चौथो वर्ष यार्चा टिप्न जाँदाको अनुभव पनि स्मृतिमा ताजै छन् । घमाईलो घाम लागिरहेको थियो । केही युवासँग तिर्थ गएको थिएँ । हरेक वर्ष झैं यस वर्षपनि सुरुवातको दुईहप्ता सम्म यार्चा पाईन्थ्यो, त्यसपछि टाईमपास । घरमा गएर हल्लिनुभन्दा एक जरा पाएपनि जाती मानिन्थ्यो । यति छिट्टै थप दुई पैसा कमाउने अरु उपाय थिएनन् ।

अर्को एक हप्ता वितिसकेको थियो, यार्चा कम पाउन थालेकै पनि । त्यस्तो बेला कोही तास खेलेर बस्थे, कोही केटीहरू जिस्काएर, कोही झगडा गरेर, कोही पाखामा सुतेर, कोही जोडीहरू एकान्त वादलमुनि हराएर, कोही भने हाडछाला घोट्टिन्जेल, आँखा रातो हुन्जेल र टाउकोमा चक्कर आउन्जेल पाखामा यार्चा खोजेरै पनि समय कटाउथे । हिउँ रहुन्जेल त हिउँमुनि खोस्रेर पनि लुकेका वा छुटेका यार्चा खोजिन्थ्यो, हिउँ नै सकिदैं गएपछि त्यो आशा पनि रहेन ।

समयको गतिसँगै हिउँ यार्चा पाईने पाटन भन्दा धेरै माथि पुगिसकेको थियो । त्यही भएर पनि युवा नावर खेद्न गएका । मासु खाने लोभ र समय बिताउने उपाय ।

नावर हिउँमै बस्ने भए पनि घाँस खान तलतल झर्नै पर्थ्यो । दिउँसो यार्चा खोजिरहेका मान्छेले डिस्टर्व गर्ने भएकाले ती नावरहरू राती आउँदा रहेछन् । जति हिउँ माथि सर्दै हिमालको टुप्पोतिर जान्थ्यो त्यसैगरी नावरहरू पनि हाम्रा डेरा भन्दा झनै टाढा हुँदै जाँदारहेछन् । अर्थात् हिउँ बढ्दा तल तल खोला र पाखातिर आउँदारहेछन् । गत वर्ष जेष्ठको अन्तिममा पनि अत्यधिक हिउँ परेकाले नावरहरू तल झरेका थिए ।

डोल्पाको माझफाल गाउँबाट देखिएको यार्चा पाइने ठाउँ ।

हिउँमा यार्चा खोज्ने कुनै उपाय हुन्थेन्, फाडो पियो अनि लाग्यो नावर खेद्न । खेदीखेदी २९ वटा नावर भिरबाट खसाएर मारिएका थिए । धेरै त साना साना पाठाहरू थिए । केही गर्भवती नावरहरू थिए । बलिया नावरहरू भागिसक्ने भएकाले गर्भवती र पाठाहरू मात्र हाम्रो फन्दामा परेका थिए । हप्तौ मासु खाएका थियौँ । त्यहीबाट पल्केर होला, हामी नावर खेद्न गयौँ ।

नावर त ठ्याक्कै सेता भेडा जस्तै हुँदा रहेछन् । जीउडाल भेडा जस्तै र सिङ्ग पनि भएका । मैले त सुरुमा पर्वतेले भेडा ल्याईसकेछ भनी सोचेको थिएँ । तर पछि खेदेर मारेपछि थाहा पाएँ, ती भेडाहरू नभई हिउँमा बस्ने, भोक लागेको बेला पाखामा आएर घाँस खाने जंगली जनावर पो रहेछ त । भेडाभन्दा आकारमा धेरै ठूला पनि हुँदारहेछन् । ती भेडाजस्तै जनावर अर्थात् नावर खेद्न आँट आउथ्यो । भेडा चराएर बानी परेकालाई ती जीव अनौठो लागेन र डर पनि ।

हिउँ बिलाएर माथि हिमालको काखैमा पुगिसकेकाले र नावर हिउँमा पनि कुद्न सक्ने भएकाले ती नावरहरू खेद्न त माथि नै जानुपर्ने भयो । अरु युवासँग म पनि पछि पछि लागेँ । सुरुमा दौड्दै नावर भेट्टाउने गरी गएँ तर सकिएन स्पिडमा हिँड्न । बिस्तारै हिउँमा खुट्टाले पाईला बनाउदैं बनाउनैं माथितिर हिडेँ । कति जना धेरै माथि पुगिसकेका थिए भने कति जना तलतिर फर्किसकेका थिए । म भने आफ्नो स्वासप्रस्वासको गति बढेसँगै माथितिर बढ्दै गएँ । जति माथि जान्थेँ त्यति चिसो बढेको महसुस हुन्थ्यो । स्वासको तातो भने बढेको जस्तो लाग्थ्यो । हिड्दै गर्दा हिउँ भासिँदा खुट्टा निकाल्न गाह्रो हुन्थ्यो । माथिबाट ढुंगाले हिउँको डल्लो पार्दै ल्याईरहेको थियो, त्यो देखेर मेरो मुटुले ठाउँ छोड्यो । चिटचिट पसिना आए । त्यो भयंकर डर तब रोकियो जब त्यो ढुंगा माथि भासिएको हिउँमा अड्कियो ।

म जति माथि जादैं गएँ, मैले नेपानेको डाँडाबाट देखेको अन्तिम अग्लो हिमालको टुप्पोमा पुग्ने दृढता बढाउदैं गएँ । एकाएक हावाहुरी चलेझैं भयो । मलाई नै उडाउला जस्तो । यस्सो मुन्टो माथितिर ढल्काउँछु त म आकाशको नजिक पुगेछु अर्थात् हिमालको चुच्चोमै पुगेँ । बाफ् रे, यतिधेरै उत्साह मनमा लाग्यो कि किताबको कथामा लेखेझैं सगरमाथा चढेको महसुस गरेँ ।

केही न केही चिनो त्यहाँ छोड्न मन लागेको थियो तर मसँग केही थिएन । हिजोआज भएको भए क्यामरा लिएको हुन्थेँ, फोटो खिच्थेँ होला तर मसँग त्यो सुविधा थिएन त्यो बेला । मलाई लागेको थियो, त्यो नै अन्तिम अग्लो हिमाल होला तर होइन्, रहेछ । त्यो भन्दा पनि अग्लो हिमाल देखेँ । अरु अग्ला हिमालहरू चारैतिर पनि देखिए । उताबाट जोडले आएको हावाहुरी छल्न मैले गहिरो पाईला बनाएँ, र बलियोसँग हिउँमा टाँसिएर बसेँ । यति नगरे पाईला रड्किने वित्तिकै दाँया वा वाँया दुबैतिर खस्न सकिन्थ्यो । तर म बचेँ ।

हिउँमा बस्दा हात कठ्यांग्रिएको महसुस गरेँ । यति माथि आएको मान्छे अब कसरी तल झर्ने ? नावर भेट्न त सकिएन तर हिमालको चुचुरोमा भने पुगियो । माथि पुग्न गाह्रो । पुगेपछि झर्न झनै गाह्रो । त्यहाँबाट तल झर्न कम्तीमा दुई घण्टा लाग्थ्यो । चिसो जति बढेको थियो त्यो भन्दा बढी चिन्ता बढ्यो ।

हिमालको टुप्पोबाट तल झर्ने झन्झट थियो । हिउँमा माथि जान सजिलो तर तल झर्न गाह्रो हुन्छ । म अगाडिका युवा नावर खेद्दै अर्को ठाउँ पुगिसकेका थिए । मान्छे हिउँमा बसेर चिप्लिएको अर्थात् चिप्लेटी खेलेको देखेको थिएँ । सय मिटर दुरीमा त मैले पनि चिप्लिएको थिएँ तर यहाँ त सयौं मिटर दुरी टाढा थियो । म पनि डराई डराई त्यसै गरेँ जुन एकमात्र उपाय थियो छिटो तल झर्ने र डेरा पुग्ने । हिउँ बसेँ र हात छोडेँ, तल झर्दै गर्दा स्पीड बढ्दै गयो । मज्जा र डर दुवै एकैपटक महसुस गरेँ ।

गाडी चड्दा यस्तै त हुँदो हो ? जहाजमा उड्दा पनि यस्तै भाव पैदा हुँदो होला । डरले फेरि कल्पनाबाट बाहिर निकाल्यो । म उल्टिन पनि सक्थेँ तर मैले हात फैलाएँ । हिउँ बुर्किएर अलि स्पीड कम भयो । चिप्लेटीमा चिप्लिदै गर्दा डर पनि पैदा हुदैं गयो । कतै ढुंगामा पर्ने हुँ कि ? कतै हिउँ भासिएर हिउँ पहिरो झर्छ कि ? कतै हिउँले नै पुरिदिन्छ कि ? नभन्दै तल पुग्दा नपुग्दै अगाडिका ठुल्ठुला ढुंगाहरू देखिए ।

तर भाग्यवश्, म हिउँ भएतिरै पछारिएँ । हिउँ पहिरोपनि आएन । केही दिनपछि खबर सुनेँ, एक जना व्यक्ति हिउँमा चिप्लेटीमा चिप्लिएछन् । बीचमै आत्तिएर हातको कुटो हिउँमा रोप्न खोज्दा आफ्नै घुँडामा हानेछन् । घुँडा ताछिएछ । उनी बेहोस्, भएछन् । तर धन्न उनका साथीहरूले बचाएर घरतिर लगेछन् । पछि थाहा पाएँ, हिउँ खेल्न, स्की गर्न अर्थात चिप्लटी खेल्न त थुप्रै विदेशीहरू नेपालका हिमालहरूमा आउँदा रहेछन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय