scheduleबुधवार आश्विन ७ गते, २०७७

लकडाउन प्रभावितलाई सघाउँदै युवाहरु

गोरखा, २० वैशाख । संसारभरी महामारीको रुप लिइरहेको कोरोनाका कारण लकडाउन लागू गरिएको छ । दैनिक ज्यालादारीमा काम गरेर बाँच्ने मानिसहरु संकटमा पर्न थालेका छन् । लकडाउनको कारण विभिन्न क्षेत्रहरुमा अनेकन समस्याहरु देखिन थालेका छन् । कतिपय ठाउँहरुमा निम्न आर्थिक अवस्थाका कारण खाद्य संकट देखिन सुरु गरिसकेको छ ।

स्थानीय स्तरमा संकटमा परेका परिवारहरुलाई सघाउन पालुङ्टार नगरपालिका वडा नं. १ खोप्लाङ सातदोबाटोका पिटरकुमार श्रेष्ठ तथा सिरानचोक-४ छोप्राक स्थायी घर भई हाल कामको शिलशिलामा स्वीट्जरल्याण्ड रहेका सुनिल पोखरेल सहकार्य गरिरहेका छन् । उनीहरु गोरखा विभिन्न ठाँउमा राहत तथा सहयोग वितरणमा क्रियाशील छन् ।

श्रेष्ठका अनुसार उनीहरुले जिल्ला प्रहरी कार्यालय गोरखालाई एकहजार थान मास्क, इलाका प्रहरी कार्यालय ठाँटीपोखरी पालुङ्टारलाइ २०० थान मास्क, दर्जन स्यानीटाइजर, चाउचाउ बिस्कुट लगायतका खाद्य सामग्रीहरु वितरण गरेका छन् । यस्तै, जिल्ला ट्राफिक पहरी कार्यालय गोरखालाई १०० थान मास्क, दर्जन स्यानीटाइजर, साबुन चाउचाउ बिस्कुट लगायत खाजाका साथै प्रहरी चौकी चोरकाटेलाइ मास्क, खाजा लगायतका सामग्री उपलब्ध गराएको श्रेष्ठले जानकारी दिए ।

युवाद्वयले लकडाउनको कारण खाद्यान्न संकटमा परेका सिरानचोक ४ छोप्राक चोरकाटे स्थित वडाका करिब ४२ घरपरिवारका १५० भन्दा धेरै मानिसहरुलाई सिरानचोक गाउँपालिकासँगको समन्वयमा पालिकाको मापदण्डअनुसार राहत वितरण गरेका छन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजु गुरुङ, वडा नं. ४ का वडाध्यक्ष दिपक हमाललगायत जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको श्रेष्ठले जानकारी दिए ।

युवाद्वयलाई खाद्यान्न लगायतको सहयोग जुटाउन सोही ठाँउ निवासी हाल कतारमा रहेका समाजसेवी गणेश गुरुङ, कोरियामा रहेका कृष्ण भट्टराई तथा कोरियामै रहेका राजेन्द्र पोखरेलले पनि सघाइरहेका छन् । गोरखामा काम गर्न आएका तर लकडाउनको कारण आफ्नो गृहजिल्ला जान नसकेका मजदूरहरुलाई पनि खाजा, सवारी लगायत सहयोग र समन्वय गर्दै फिल्डमा सेवामा खटिरहेका श्रेष्ठले जानकारी दिए ।

स्विट्जरल्याण्डमा रहेको पोखरेलको सहयोग र सहकार्यमा केही दिनमै पालुङ्टार नगरपालिकासँगको समन्वयमा पालुङटार वडा नम्बर १ मा पनि गरिब घरपरिवारलाई राहत वितरण गर्ने जानकारी दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय