scheduleमगलवार श्रावण २० गते, २०७७

झरी

कविता
शर्मिला रानाभाट

 

जब आउँछ यो झरी

कसैलाई मिठो कल्पनामा डुबाइदिन्छ

त कसैलाई पुरानो सम्झनामा अल्मलाइदिन्छ

कसैको पीडा पखलीदिन्छ

त कसैलाई शून्यता र छ्टपटीमा धकेलिदिन्छ ।

कतै नदीको रवाफ बढाएर

“मै हुँ” भन्ने बनाउँछ

कतै सर्वाङ भिजाएर

लाजमर्दो पनि बनाउँछ ।

सुमधुर धुन लाग्छ कसैलाई यो झरी

झम झम दर्किरहोस् झैं लाग्छ

प्रेमल भावमा रुझेर उनीसँग

छम छम नाचिँरहुँ झैं लाग्छ ।

खहरेको कोलहल कसैलाई यो झरी

छिट्टै थामियोस् झैं लाग्छ ।

प्रियसीको यादमा डुबेर

यसै रोइरहु झैं लाग्छ ।

जब आउँछ यो झरी

फाटेका गरा अनी बाँझा पाखाहरुमा

नयाँ जीवन दिलाउँछ ।

महिना अनि दिन गन्दै बसेका किसानमा

आशाको किरण जगाउँछ ।

छोरो विदेश पठाउँदा लागेको ऋण

यसपाली त तिरिने भो भन्ने खुशीले

मुहार तेजिलो बनाउँछ ।

जब आउँछ यो झरी

नदीको बेग बढाउँछ ।

किनाराको सुकुम्बासी बस्तीमा

अविरल निराशा चढाउँछ ।

टुकीकै भरमा रात काट्ने उनको ढुकढुकी बढाउँछ ।

पोहोर सालको जलमग्न बस्तिको सम्झनाले उदास बनाउँछ ।

अस्ती भर्खर टालेको छानो

फेरी चुहिने भयले रातको निन्द्रा भगाउँछ ।

गल्ली गल्ली छिर्छ झरी

छाना छानामा तप्तपाउँछ ।

आँफै गोरेटो बनाउँदै उसले

गन्तव्य  पहिल्याउँछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय