scheduleआइतवार जेष्ठ १८ गते, २०७७

किट अभावले दुई दिनदेखि कोराना परीक्षण प्रभावित

भीमदत्तनगर, २६ वैशाख । सुदूरपश्चिम प्रदेशमा हुँदै आएको कोरोना भाइरसको परीक्षण बिहीबारदेखि प्रभावित बनेको छ ।

पिसिआर विधिबाट परीक्षणका लागि किट सकिएपछि शङ्कास्पद बिरामीको कोरोना परीक्षण रोकिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट परीक्षणका लागि आवश्यक किट पठाउने कुरो छ”, उहाँले भन्नुभयो, “आज रातिसम्म आइपुग्ने अनुमान छ ।’

Dish_Home

किट अभावकै कारण धनगढीस्थित पशुपक्षी अन्वेषण प्रयोगशालामा केही समयअघि स्थापना गरिएको आरटी–पिसिआर मेशिनबाट कोरोना परीक्षण हुँदै आएको थियो । ‘किट अभावका कारण प्रयोगशालामा ल्याइएका ५५ वटा स्वाबको नमूना जाँचसमेत हुन सकेको छैन’, सम्पर्क व्यक्ति जोशीले भने,’हाल सुदूरपश्चिम प्रदेशमा पिसिआर प्रविधिबाट धनगढीमा मात्रै परीक्षण हुँदै आएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले यहाँको पहाडी जिल्ला बैतडी र डोटीमा समेत पिसिआर मेशिनमार्फत कोरोना जाँच गर्ने निर्णय गरेको थियो । ‘पहाडका ती दुई जिल्लामा सम्भाव्यता अध्ययनको काम सकिएको छ’, उनले भने,’प्रदेश सरकारले त्यहाँबाट पनि जाँच गर्ने गृहकार्य गरेको छ ।’ बिहीबारसम्म सुदूरपश्चिममा दुई हजार ९२३ जनाको स्वाब परीक्षणका लागि नमूना सङ्कलन गरिएको छ । तीमध्ये पाँचजनाको नतिजा पोजेटिभ र बाँकी सबैको नतिजा नेगेटिभ आएको थियो । सङ्क्रमित पाँचमध्ये चारजना निको भएर घर फर्किसकेको निर्देशनालयले जनाएको छ ।

‘परीक्षणका लागि यसअघि सुदूरपश्चिमा एक हजार किट केन्द्रबाट आएको थियो’, जोशीले भने, ‘अहिले अरु स्वास्थ्य सामग्रीको अभाव छैन ।’ उनले मास्क, पिपिइलगायत स्वास्थ्य सामग्री मौज्दात रहेको बताए । ‘१४ दिनपछि क्वारेन्टाइन बसेपछि कोरोना जाँच गर्ने निर्देशिकामा भनिएको छ’, उनले भन, ‘किट नहुँदा समस्या भएको छ ।’ किट अभाव हुँदा परीक्षणदेखि नमूना सङकलनको कामसमेत प्रभावित बन्न पुगेको छ । पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा पिसिआर किट र आरएनए एक्पेक्सन किट आवश्यक पर्छ ।

सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लामा गरी पिसिआर र र्‍यापिड टेष्टबाट हालसम्म १७ हजार ५२४ जनाको कोरोना परीक्षण गरिएको छ । सुदूरपश्चिमका नौवटै जिल्लामा स्थानीय तहले सञ्चालनमा ल्याएका ३९१ क्वारेन्टाइनमा बिहीबारसम्म तीन हजार ३७४ जना बसिरहेको निर्देशनालयले जनाएको छ । ‘क्वारेन्टाइनमा बसेकाको स्वाब लिएर परीक्षण गर्न बाँकी छ”, जोशीले भन्नुभयो, “पहाडी जिल्लामा क्वारेन्टाइनमा थपिने क्रम बढिरहेको छ ।’ रासस

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय