scheduleबुधवार आश्विन १४ गते, २०७७

गाउँमै सुरक्षित जीवनको आभास र विकासको बहस

धनचन्द्र राई

समय, प्रविधि र सेवा सुविधाको कारण मानिसले गाउँ छोडेर शहरतिर बसाई सर्ने क्रम तीब्र छ । यो प्रवृत्ति हाम्रो देशमा मात्र नभएर प्रायः सबै विकासोन्मुख देशमा छ । मानिसको इच्छा, चाहना, आवश्यकता र क्रय क्षमताका आधारमा बसाई सर्ने ठाउँको निर्धारण गर्दछ । हाम्रो देशको मुख्य आम्दानी भनेको नै कृषि र वैदेशिक रोजगार भएकाले विदेशी प्रभाव, विदेशी संस्कार र विदेशी रहन-सहनले पनि बसाई सर्न उत्प्रेरित गरिरहेको छ भने गाउँ दिनानुदिन प्रायः खालि हुँदै गइरहेको छ ।

नेपालमा खासगरी भौगोलिक विकटता र भौतिक पूर्वाधार अभावको कारण पहाडबाट तराई वा काठमाडौंतिर बसाई जाने क्रम जारी छ । बिगत दशक अगाडिसम्म पहाडी क्षेत्रमा सडक थिएन, बिजुली थिएन, अस्पताल र स्कुल कलेजको अभाव थियो । नुन, तेल र चामलको लागि ढाकर बोक्नुपर्ने बाध्यता थियो । औषधी खान नपाएर अकालमा लाखौंको ज्यान गुम्थ्यो । सरकारसँगको सामिप्यता थिएन । यो अत्यासलाग्दो जीवन भोगाइबाट मान्छेले विकल्प खोज्दै आफ्नो पैतृक थातथलो कसैले कौडीको भाउमा बेचेर, कसैले बाँझो छाडेर शहर भित्रिएका छन् । गाउँमा बस्ने त लगभग हैसियत नभएकाहरु, साना किसानहरु र सानोतिनो जागिरमा अल्झिएकाहरु मात्र छन् । अहिले पनि गाउँलाई हेर्ने दृष्टिकोण फरक छ । अशिक्षित, अबुझ, पाखे, फोहोरी, यी सब शब्दहरु गाउँबासीलाई सम्बोधन गरिने शब्दहरु हुन् । असुविधा, अभाव, बेचैन, बेखर्ची, बेफुर्सदी गाउँमा हुन्छ भन्ने मानसिक बुझाइ हुन् ।

धनचन्द्र राई

हाल नेपालका ४२ प्रतिशत मानिसहरु शहरमा बस्छन् र यो संख्या दिन दुगुना रात चौगुना बढिरहेको छ । नेपालको सबैभन्दा उर्बर जवानी विदेशमा श्रम बेचिरहेका छन् भने प्रायः ती सबैको परिवार आफ्नो बालबच्चालाई राम्रो शिक्षा दिने बहानामा र सुविधाभोगको रहरले शहर पलायन भएका छन् । गाउँमा टेलिभिजन, कम्प्युटर, मोबाईल जस्ता सञ्चार माध्यमको सामग्रीहरु सहज उपलब्ध हुँदैन । त्यसो हुँदा गाउँका बालबच्चाहरु ती सामग्री प्रयोग गर्न जान्दैनन् तर शहरका बच्चाहरुले ती सामानहरु सहज रुपमा चलाउन सक्छन् । यो देख्दा अभिभावकलाई ग्लानी हुनु स्वाभाविक हो तर शहरमा हुर्केको अधिकांश बालबच्चाले मौलिक पहिचान, सामाजिक संस्कार र साँस्कृतिक महत्व बुझेका हुँदैनन् । हुन त विश्व प्रविधिको अत्याधुनिक युगमा प्रवेश गरिसकेको अवस्थामा हरेक नागरिकले प्रविधिसँग जोडिएर बाँच्नु नै आजको आवश्यकता र चाहना हो तर सामाजिक संस्कार पनि जीवनको एउटा महत्वपूर्ण पाटो हो भन्ने कुरा पनि भुल्नु हुँदैन ।

गत चैत ४ गते जब नेपालमा पनि कोरोना भाइरसले औपचारिक रुपमा नै संक्रमणको रुप लियो र संक्रमणलाई नियन्त्रण गर्नका लागि नेपाल सरकारले एकैचोटि देशभर लकडाउनको घोषणा गर्‍­यो । यो अवस्था आएपछि मजदूर र विद्यार्थीहरु बाध्यताले गाउँ फर्केका छन् भने शहरका मानिसहरु गाउँलाई सुरक्षित आवासको रुपमा देखेर गाउँ फर्केका छन् । बर्षौंदेखि छुटेको आफ्नो आफन्त वा परिवारसँग भेट गर्ने र गाउँले परिवेशमा रमाउने संयोग पनि मिलेको छ । भाइरस नियन्त्रणको लागि पटक पटक लकडाउन लम्बिँदा शहरमा एकातिर भोकमरीले ग्रस्त बनाएको छ भने अर्कोतिर जघन्य अपराधहरु पनि बढ्दै गइरहेको छ । उता गाउँमा भोकमरीको हाहाकार भइसकेको अवस्था छैन तर पाकेको बाली भित्राउने र नयाँ बाली लगाउने सिजनमा लकडाउन लम्बियो भने अनिकालले ज्यान जान्छ भने कृषि र रेमिट्यान्समा आधारित अर्थतन्त्र अकल्पनीय धरासायी बन्न सक्छ । यो अवस्थालाई रिकभर गर्न धेरै बर्ष कुर्नुपर्ने हुन्छ । खासगरी नेपालले वैदेशिक रोजगार अत्यन्तै ठूलो मात्रामा गुमाउँदैछ जब कि विदेशबाट जनशक्ति स्वदेश फर्के पनि विदेशबाट भित्रिएको सीपलाई स्वदेशमा सदुपयोग गर्ने न त दीर्घकालीन योजना छ न त तत्कालीन व्यवस्थापन गर्ने हैसियत छ । यो कोभिड महामारी अन्त्यपछि शुरु हुने आर्थिक संकट कसरी सामना गर्ने भन्ने बारेमा राज्यले कल्पना समेत गरेको छैन ।

लकडाउनको यो डेढ महिनाको अवधिमा शहरबाट गाउँ जानेको संख्या एकिन नभए पनि अनुमान गर्न सकिन्छ । गत चैत्र ७ गते नेपाल सरकारले लकडाउनको पूर्व सन्ध्यामा इच्छुकलाई घर जान अपर्झट सूचना जारी गर्दा तीन दिनको अवधिमा उपत्यकाबाट मात्रै लगभग दुईलाख बढी मानिस घर फर्केका थिए । त्यसपछिका दिनहरुमा आफ्ना निजी सवारीसाधन र पैदल यात्रा गर्नेको भीड देख्दा हजारौंले उपत्यका छोडेको थाहा हुन्छ । तराई तथा अन्य शहरहरुबाट पनि कोरोना भाइरस संक्रमणको संन्त्रासको कारण लाखौं मानिसले शहर छोडेर गाउँ गएको देखिन्छ । आखिर किन हेपिएको गाउँमा नै सुरक्षित जीवनको आभास भइरहको छ ? सुविधासम्पन्न शहर छाडेर असुविधा र अभावमा बाँचिरहेको गाउँमा नै किन आरोग्य महसुस भइरहेको छ ? शहरमा जस्तो गाउँमा भोकमरीले किन आत्महत्या गर्न परेन ? यी सबैको उत्तर हुन सक्छ समयले मानिसलाई प्रकृतितर्फ फर्क भनिरहेको छ । वैज्ञानिक प्रविधिले मात्र शृष्टि चल्दैन, प्रकृतिको पनि खाँचो हुन्छ भन्ने सन्देश हो । अहिलेको यो दृश्यले क्षणिक मात्र नभएर समय कालान्तरसम्मको लागि शिक्षा दिएको छ । विकासको नाममा प्रकृतिलाई भष्म गर्नु भनेको मानव जगतको घाट निर्माण गर्नु हो भन्ने बुझिन्छ । यसपालिको कोभिड-१९ भाइरस संक्रमणको प्रकृति हेर्दा अति विकसित मुलुकले बढी क्षति व्यहोर्नु परेको देखिन्छ । हरहिसाबले विकासको चरम उपभोग गरिरहेको अमेरिका, चीन र युरोपियन मुलुकमा कोरोना संक्रमणको दर उच्च रहनुले पनि भौतिक तथा प्राविधिक विकासको असरबारे एउटा गहीरो प्रश्न जन्माएको छ । कम विकसित मुलुकमा किन कम प्रभाव पर्‍यो भन्ने पनि उत्तिकै गम्भीर प्रश्न उब्जिएको छ । सम्भवतः यो प्रश्नको उत्तरले प्राकृतिक धरातललाई जोड्न सक्छ, खानपान र रहनसहनलाई जोड्न सक्छ, जीवन दैनिकीलाई जोड्न सक्छ । यो कोरोना भाइरसले यो पनि बहसको बिषय उठाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय