scheduleसोमवार जेष्ठ १२ गते, २०७७

नमुना कृषि फार्मः सानो लगानीमा दीगो आम्दानीको स्रोत

डा. वेदप्रसाद खतिवडा र चन्द्रप्रसाद अधिकारी

नेपालका अधिकांश किसानहरुको कृषि कर्म गर्नुको उद्देश्य पारिवारिक पोषण र खाद्य सुरक्षा नै हो । यसका अलावा घरखर्च चलाउनका लागि केही कृषि उपजहरु बजारका लागि विक्री गरी घरखर्च चलाउने मध्यम किसानको लक्ष्य हुन्छ भने अलिक व्यवसायिक किसानको हकमा भने आम्दानीको प्रमुख स्रोत नै कृषि हो । साना किसानहरुले आफ्नो पारिवारिक पोषणका साथ साथै भएको सानो जग्गाबाट केही आम्दानी गर्ने चाहना पनि हुन्छ तर प्राविधिक ज्ञानको कमी तथा मार्गदर्शनको अभावमा कसरी अगाडि बढ्ने भन्ने कुरामा नै अलमल हुन्छ । तराईमा करिब ५ कठ्ठा देखि २० कठ्ठासम्म जग्गा भएका र पहाडमा करिब १०–१५ रोपनी जग्गा हुने किसानहरुले आफ्नो बारीलाई नमुना कृषि फार्म बनाई अगाडि बढ्न सके सानो लगानीमा दीगो आम्दानी लिन सकिन्छ । यो भन्दा साना किसानले पनि नमुना कृषि फार्म बनाउन सकिन्छ र बजारका लागि भन्दा पनि पारिवारिक पोषणमा केन्द्रित गर्न सकिन्छ । यसका लागि आवश्यक पूर्वाधार, प्राविधिक पक्षहरु, बजार, उत्पादनमा विविधीकरण आदि कुरालाई विशेष ध्यान दिनु आवश्यक हुन्छ ।

के हो नमुना कृषि फार्म ?

पारिवारिक जनशक्तिको सदुपयोग गर्दै पारिवारिक आवश्यकताका बालीहरु र केही आम्दानी दिन सक्ने बजारमुखी उत्पादन समेत समावेश गरी विविध प्रविधिहरुको प्रयोग गर्दै उपलब्ध उत्पादनका साधनस्रोतको दीगो उपयोगको माध्यमबाट आफ्नो घरजग्गा व्यवस्थापन नै नमुना कृषि फार्म हो । फार्मलाई चाहिने जग्गा, सिचाइँका लागि पानीको स्रोत, प्रांगारिक मलखाद, बीउबीजन आदि प्रमुख आवश्यकता हो । परिवारलाई सामान्यतया दैनिक रुपमा उपभोग गर्नका लागि चाहिने तरकारी, फलफूल, मसला, दूध दही, घीउ, माछामासु, तेल, दाल, र अन्नबाली नमुना कृषि फार्मका लागि अनिवार्य पक्ष हुन् । यसका अलावा बजारमा उच्च माग भएका कृषि उपजहरु जस्तै गाउँघरमा आवश्यक पर्ने तरकारीबालीका बेर्नाहरु, नौलानौला जात र प्रजातिका फलफूलका बोटहरु, वषैभरि आवश्यक पर्ने गोलभेंडा, धनियाँ, कुरीलो, प्याज र लसुन, तरकारी र कोशेबाली (भटमास, मास, मुसुरो, सिमी, बोडी) आदिका बीउबीजनहरु समावेश गर्न सके आम्दानीको भरपर्दो स्रोत हुन सक्छ । यसका साथै स्थानीय बजारमा थोरै प्रचारप्रसारमा पनि सजिलै बिक्री हुन सक्ने उपजहरु जस्तै स्थानीय जातका कुखुराहरु, बट्टाई आदि पनि नमुना कृषि फार्ममा उत्पादन गर्न सकिन्छ ।

Dish_Home

नमुना कृषि फार्ममा के के उत्पादन गर्ने भन्ने उत्पादनको विस्तृत योजना बनाउँदा स्थानीय मागको अवस्था, नजिकको कृषि बजारको मागको विश्लेषण, बजारसम्मको दूरी र आफ्नो क्षमतालाई पनि विचार गरिनु पर्दछ । तर सामान्यतया कृषि फार्ममा हेर्ने भनेको नवीनतम कृषि प्रविधि, भएका स्रोतको उचित परिचालन र उपयोग, खेतीबालीका विभिन्न जातहरुको प्रदर्शनी र जानकारी, मलखाद तथा सिंचाई व्यवस्थापनको नमुना, प्रांगारिक विषादी उत्पादन, बीउ, बेर्ना तथा फलफूलको बोट उत्पादन, च्याउ उत्पादन, सुक्खा तथा शुन्य शक्ति शीत भण्डार प्रविधिको प्रदर्शन भएको हुनाले यस्ता विषयमा विशेष ख्याल गर्नु पर्दछ । नेपाली परिवेशमा करेसाबारी, खेतबारी, बस्तुभाउ, भेडाबाख्रा, डालेघाँस, चरिचरन, वनजंगल आदिबीच अत्यन्त निकट सम्बन्ध रहेको हुनाले यी पक्षहरुलाई पनि नमुना कृषि फार्ममा समावेश गरिनुपर्छ । आफ्नो फार्मको वरिपरि वा कुनै स्थान विशेषमा बहुपयोगी बनस्पति जस्तै बाँसका विभिन्न जातहरु (चोया बनाउने, तामा खाने, पिङ बनाउने, फर्निचर बनाउने), खनायो, काप्रो आदि लगाउन सकिन्छ जसले गाइवस्तुको लागि डाले घाँस तथा परिवारलाई आवश्यक दाउराको पनि व्यवस्था हुन जान्छ । इन्धनको स्रोतको लागि बायोग्याँस प्लान्ट, सुधारिएको चुल्हो आदि र पानी तान्न तथा बिजुलीको लागि सौर्य उर्जाको प्रयोग पनि नमुना कृषि फार्मको अवयवहरु हुन् । मौरीका केही घारहरु पनि नमुना कृषि फार्मको अभिन्न अंग हो किनकी मौरीले बालिनालीमा परागसेचन गरेर उत्पादन बढाउने मात्र हैन परिवारलाई मौसम र बालीअनुसारको महको पनि परिपूर्ति गर्दछ । हालैका दिनहरुमा वर्षैभरि नै तरकारीको उत्पादन गर्नका लागि प्लाष्टिक टनेलको निर्माण, माछा उत्पादनका लागि माछापोखरी र गड्यौली मल उत्पादन तथा साना गड्यौला विक्रीका लागि गड्यौली खेती पनि नमुना कृषिमा थप्न सकिने पक्षहरु हुन् । आँगन वरपर र अन्य स्थानबाट खेर गैरहेको झारपातलाई कुहाएर बास्केट कम्पोष्ट तथा औषधीजन्य बोटविरुवाहरुलाई एक ठाउँमा कुहाएर हर्बल कम्पोष्ट बनाउन सकिन्छ र हर्बल कम्पोष्ट नर्सरीव्याडमा राख्दा बिरुवामा लाग्न सक्ने विभिन्न रोगकीराको आक्रमण कम हुन जान्छ । आकाशेपानीको संकलन गर्न छुट्टै पानीटंयाकीको निर्माण वा व्यवस्था र यसबाट करेसाबारीमा गरिने सिचाइँ पनि अर्को महत्वपूर्ण र दीगो विकासको पक्ष हो ।

कसरी शुरु गर्ने नमुना कृषि फार्म बनाउन ?

नमुना कृषि फार्म बनाउन सबैभन्दा पहिला दृढ इच्छाशक्ति, जाँगर र मेहनेती हातहरु र परिवारको पूर्ण साथसमर्थन आवश्यक पर्छ । त्यसपश्चात भने पारिवारिक आवश्यकता र अवस्था विश्लेषण, आफ्नो स्थानको मौसम र हावापानी, जग्गाको अवस्थिति, मोहडा, घाम लाग्ने वा नलाग्ने अवस्था, जग्गाको र माटोको किसिम, नजिकको बजार र यसमा कृषि उपजको मागको अवस्था, वा पर्यटकहरु आउन सक्ने अवस्था भए खाजाघर र होमस्टेको व्यवस्था आदि सबै पक्षहरु विचार गरी विस्तृत व्यवसायिक कार्ययोजना बनाउनु पर्छ । यसमा लगानी र लगानीको स्रोत, आम्दानी र आवश्यक जनशक्तिको बारेमा पनि पूर्ण विचार गरिनुपर्छ । फार्म गतिविधिको विधिवत अभिलेखनका लागि आन्तरिक नियन्त्रण प्रणाली पुस्तिकाको पनि व्यवस्था गरिनुपर्छ जसमा फार्ममा भएका सबै लगानी, गरिएका कामहरु (जस्तै मल राखेको, बीउ उत्पादन भएको, तरकारी उत्पादन भएको सहित मिति र मात्रा सम्बन्धी जानकारीहरु) को अभिलेख राख्न सकिन्छ । यो पुस्तिका फार्मको भ्रमणमा आउनु हुने सबैका लागि आवश्यक जानकारी दिनका लागि अत्यन्त महत्वपूर्ण अभिलेख हुन पुग्छ भने प्रांगारिक प्रमाणीकरणका लागि पनि भरपर्दो आधार हुन पुग्छ । यो पुस्तिका साना किसानहरुको प्रांगारिक प्रमाणीकरणको लागि प्रयोग गरिने विधि सहभागितात्मक प्रत्याभूति प्रणाली (Participatory Guarantee System, PGS) का लागि पनि आधार हुन्छ । यसरी नमुना कृषि फार्म प्रांगारिक प्रमाणीकरण गराउन सकेमा प्रांगारिक उत्पादन तथा बजारीकरणका लागि नयाँ बाटो समेत खुल्न पुग्छ । फार्मको हरहिसाब, लगानी र आम्दानीका लागि भने छुट्टै खातापाताको व्यवस्था गरिनुपर्छ । यसका अलावा आफ्नो फार्ममा भएका कृषि जैविक विविधताको जानकारी राख्नका लागि भने जैविक विविधता पुस्तिका पनि व्यवस्था गरिनुपर्छ जसमा आफनो फार्ममा भएका बालीनालीका जातहरु, प्रजातिहरु, त्यसको स्रोत, त्यसको जातीय गुणहरु पनि अभिलेखीकरण गरिनुपर्छ । यस्ता अभिलेखहरु बीउ उत्पादन गरिसकेपछि बीउ बैंकका लागि आवश्यक हुन्छ भने फार्मको धेरै ठूलो सम्पत्ति पनि हुन आउँछ ।

यसपछि भने फार्मको डिजाइन गरिनु आवश्यक हुन्छ जहाँ घरबारी, गाइवस्तुको गोठ, भण्डार कोठाहरु, उत्पादित बीउ संकलन गरी बिक्रीका लागि राखिने बीउ कक्ष, बायोग्याँस, आदिलाई केही स्थान छोडेर फार्मको समग्र डिजाइन आकर्षक ढाँचामा निर्माण गरिनुपर्छ । यसपछि बारीको अवस्था अनुसार घरको नजिकै पर्ने गरी करेसाबारी, फलफूल बगैंचा बनाउने र गड्यौली मल उत्पादन गर्ने गरी डिजाइन गर्नुपर्छ । करेसाबारी बगैंचा बनाउँदा भने बषैभरिनै ताजा तरकारी उत्पादन गर्न सकिने गरी योजना बनाइनुपर्छ र त्यसका लागि बाली तथा जातको छनौट महत्वपूर्ण हुन्छ । कुन प्लटमा कुन बालीपछि कुन बाली लगाउने, प्लटहरुमा कसरी बालीचक्र अपनाउने, कसरी मिश्रित खेती प्रणालीमा करेसाबारीमा लगाउने, कुन तरकारीबालीको बीच-बीचमा वा वरिपरि कुन बाली लगाएमा कीराहरुको प्रकोप कम हुन सक्छ आदि कुराहरुको विचार पनि गरिनु आवश्यक हुन्छ । त्यससँगसँगै गाइवस्तुको भकारो सुधारको प्रविधि, बायोग्याँसको लेदोमलको व्यवस्थापन, गड्यौली मलको उत्पादन र व्यवस्थापन आदिको प्रदर्शनी राख्नुपर्छ । अब त्यसपछि भने प्लाष्टिक टनेलमा तरकारी खेतीको नमुना बनाइनुपर्छ जसमा पनि बर्षभरिको बाली योजना बाली चक्र अपनाई बनाउनु पर्छ । प्लाष्टिक टनेलको सन्दर्भमा किसानको अनुभवमा प्लाष्टिक घर (पूरा बन्द भएको) उच्च पहाडी क्षेत्र तथा तापक्रम न्यून हुने समय र भूगोलमा उपयुक्त हुने देखियो भने प्लाष्टिक टनेल भने मुसलधारे पानी र असिना आदिबाट जोगाउनका लागि उपयुक्त हुने देखिन्छ । यस्ता प्राविधिक कुराहरुमा भने किसानहरुले कृषि प्राविधिक तथा अगुवा कृषकहरुको सुझाव सरसल्लाह र परामर्श लिनुपर्दछ । त्यसपछि भने किसानले आफ्नो स्थानको मौसम हावापानी अनुसारका तरकारी बालीहरुका लागि तरकारी प्लट, फलफूल उत्पादनका लागि फलफूल प्लट, मसलाबाली उत्पादनका लागि मसलाबाली प्लट, बीउबीजन उत्पादनका लागि बीउबीजन प्लट बनाउनुपर्छ । बीउबीजन उत्पादन प्लट नजिकै पर्ने गरी माहुरीको घार राखिनुपर्छ ताकि परागसेचन प्रक्रिया राम्रोसँग हुन सकोस । कृषि उपजहरु सुकाउनका लागि भने सोलार जडित सुकाउने संरचना (solar dryer) को प्रयोग गर्न सकिन्छ ।

अब यसका अलावा व्यवसायिक कृषि उत्पादनका लागि तरकारी प्लट जसमा कुरीलो, गोलभेंडा, धनियाँ, दलहन बालीको लागि प्लट, मसलाबाली (बेसार अदुवा, आदि)को प्लट, र अन्नबाली उत्पादनको लागि पनि विभिन्न प्लटहरु बनाउन सकिन्छ । अन्नबालीको लागि पनि विभिन्न मन पराइएका जातहरु जस्तै अनादीको धान, मुरली मकै, जुनेलो आदिको बीउ उत्पादन गर्न सके अझै राम्रो आम्दानी लिन सकिन्छ भने कृषि जैविक विविधताको उपभोग गर्दै संरक्षण गर्न पनि सकिन्छ । बारीको पुछार वा अन्य उपयुक्त स्थानमा डाले घाँस वा बाँस लगायतका बहुपयोगी बनस्पतीहरु लगाउन सकिन्छ ।

दीगो आम्दानी लिने हो र कृषि फार्मलाई अझै लगानी गर्ने हो भने कृषि फार्मको अवस्थिति हेरी नमुना कृषि फार्म होमस्टे र खाजाघर पनि सञ्चालन गर्न सकिन्छ र अतिरिक्त आम्दानी लिन सकिन्छ जसका लागि बारीको उपयुक्त स्थानमा सुविधा सहितको आवास गृह बनाउन सकिन्छ । यसका अलावा कृषिसम्बन्धी तालिम, गोष्ठी सञ्चालन गर्नका लागि पनि एउटा तालिम हलको व्यवस्था गर्न सके थप आम्दानी गर्न सकिन्छ । यसमा आफ्नै बारीमा उत्पादन भएका कृषि उपजहरु प्रयोग गरी पर्यटक, तथा आगन्तुकहरुलाई खुवाउन सकिने भएकोले पनि दोहोरो फाइदा हुन जान्छ ।

कतैबाट सहयोग पाउन सकिन्छ कि?

जिल्ला स्थित कृषि ज्ञानकेन्द्रले विभिन्न जिल्लामा यस्ता नमुना कृषि फार्मको लागि आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ भने विभिन्न गैरसरकारी संस्थाहरुबाट पनि यस्ता सहयोग पाउन सकिन्छ । दीगो रुपमा परिचालनको खाका र विस्तृत परियोजना प्रस्तावका साथ जान सक्ने हो भने बैंक, स्थानीय तहहरु, सहकारी संस्थाहरुबाट पनि ऋण तथा अनुदानमा कतिपय सहयोगहरु पाउन सकिन्छ ।

नमुना कृषि फार्मको नमुना

डा. वेदप्रसाद खतिवडा कृषि विज्ञान विषयका विज्ञ हुन् भने लामो समयदेखि दीगो कृषिका लागि प्राविधिक पक्षका परामर्शदाता छन् । सम्पर्कः bedkhatiwada@gmail.com

चन्द्रप्रसाद अधिकारी फूलबारी चितवन स्थित प्रांगारिक घरका सञ्चालक तथा नेपालको प्रांगारिक कृषिका अभियन्ता हुन् । दुई दशकभन्दा बढी दीगो कृषि र प्रांगारिक कृषिको अनुभवी उनी प्रांगारिक कृषिसम्बन्धी परामर्श तथा तालिमका लागि र नमुना कृषि फार्मको डिजाइनका लागि उपलब्ध छन् । सम्पर्क नंः ९८४५०५०८९३

 

यो पनि-

महामारीमा सुरु गरौं घरबगैंचा र करेसाबारी निर्माण अभियान
यसरी चलाऔं बीउ साटासाट अभियान र बनाऔं सामुदायिक बीउ बैंक
स्थानीय तहमा कृषि स्रोत केन्द्र निर्माणः अवधारणा र अभ्यास

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय