scheduleबुधवार आश्विन १४ गते, २०७७

लकडाउनमा पनि निजामती कर्मचारी अस्पतालको सेवा नियमित

काठमाडाैँ, २७ वैशाख । मुलुकभर लकडाउन जारी रहेको अवस्थामा निजामती कर्मचारी अस्पतालले बहिरङ्ग (ओपिडी) सेवा नियमित गरिरहेको छ ।

लकडाउनको अवस्थामा पनि बिरामीको स्वास्थ्य उपचारलाई ध्यानमा राखी अस्पतालले आफ्ना अत्यावश्यक सेवा सञ्चालन गरिएको हो । अस्पतालले दुई सातादेखि ओपिडी नियमितरूपमा सञ्चालन गरिरहेको छ भने अन्य जटिल प्रकारका बिरामीको पनि उपचार गर्दै आएको छ ।

स्वास्थ्य मापदण्ड अपनाएर अत्यावश्यक जनशक्तिको व्यवस्थापन गरी सेवा सञ्चालन गरिएको अस्पतालका प्रशासकीय अधिकृत रञ्जना नेपालले राससलाई जानकारी दिए ।

उनले अस्पतालमा आँखा र दाँतको उपचारबाहेक अस्पतालले दिने अन्य सबैखाले उपचार सेवा उपलब्ध गराइएको बताउनुभयो । प्रशासकीय अधिकृत नेपालका अनुसार अहिले दैनिक २०० हाराहारी बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

पहिला सामान्य अवस्थामा बढीमा एक हजार २०० बिरामी ओपिडी सेवामा हुन्थे । अस्पतालले लकडाउन जारी भएपछि शुरुमा बिनाटिकट बिरामीको उपचार गरेको थियो भने पछिल्लोपटक सेवा नियमित गरेपछि टिकट काटेर सेवा दिएको जनाएको छ ।

अस्पतालले कोभिड–१९ का बिरामीलाई लक्षित गरेर ‘फिवर क्लिनिक’ सञ्चालन गरिरहेको छ । कोभिडका शङ्कास्पद बिरामी देखिएको अवस्थामा अन्य कोभिड उपचार हुने अस्पतालमा सिफारिस गर्ने गरिएको अस्पतालले जनाएको छ ।

क्लिनिकमा धेरै सङ्ख्यामा बिरामी आएका छैनन् । अस्पतालले प्रसूति सेवा नियमित गरिरहेको छ । हाडजोर्नीलगायतको शल्यक्रिया पनि गरिँदै आएको प्रशासकीय अधिकृत नेपालले बताए ।

अस्पतालले स्वास्थ्य परीक्षण ‘होलबडी चेकअप’ को सेवा दिए पनि साधारण अवस्थाका बिरामीलाई सेवा दिएको छैन । त्यो भनेको सामान्य अवस्थामा व्यक्तिको इच्छाअनुरुपका स–साना परीक्षणलाई रोकिएको छ । चिकित्सकको सिफारिसअनुसारका मात्रै परीक्षण गरिने गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय