scheduleमगलवार श्रावण २७ गते, २०७७

आफैं सहयात्री भएको एक यात्रा–पुस्तकको समीक्षा

डम्बर खतिवडा

समय र गतिको सम्बन्ध यसो अनुमान गर्छु, बढो विचित्र लाग्दछ । त्यही २४ घण्टाको समय हो- अमेरिकी राष्ट्रपतिको पनि, नेपालका प्रधानमन्त्रीको पनि, बेलायतको राजखान्दानको पनि, नेपालका सर्वसाधारण पनि । नासाका वैज्ञानिकको पनि, गाउँका गोठालाको पनि । ठीक त्यति नै समयमा कयौं मान्छे हज्जारौं गुणा बढी काम गर्दछन्, कसैले उत्तिकै गुणा कम । कसैलाई समय नपुगजस्तो लाग्दछ, कसैलाई धेरै भएजस्तो ।

यस्तो विरोधाभाष कसरी सृजना हुँदो होला ? किन कसैको जिन्दगी त्यतिकै खेर गएजस्तो, गर्छु भन्दाभन्दै गर्न चाहेका काम गर्न समय नै नपुगेजस्तो हुन्छ ? किन उत्तिनै समयभित्र कतिपयले साँच्चै प्रभावकारी काम गर्न र परिणाम निकाल्न सक्दछ ? यसको रहस्य के होला ?

लाग्छ– समयको उपादेयता ‘मिसन’ संग जोडिएको हुन्छ । कुनै दृरदृष्टि, लक्ष्य र उद्देश्यसँग जोडिएको छ । मिसन छ- कामहरु, क्रियाकलापहरु स्वतः सृजना हुन्छन् । अनि जीवनको दौड शुरु हुन्छ । समय नपुग जस्तो लाग्दछ । समय थोरै जस्तो लाग्दछ । मिसन छैन- क्रियाकलाप सृजना हुँदैनन् । अनि समय धेरै जस्तो लाग्दछ । समय कटाउन गाह्रो पर्दछ ।

नयाँ शक्ति पार्टी २०७३ जेष्ठ ३० गते बन्यो । २०७६ बैशाख २३ गते संघीय समाजवादी पार्टीसँग एकीकृत भई समाजवादी पार्टी बन्यो । अहिले त समाजवादी पार्टी पनि राजपासंग मिलेर जसपा बनेको छ । तर नयाँ शक्तिको ३ बर्ष भन्दा पनि कम समय आफ्नै खालको महत्वको समय थियो हाम्रा लागि ।

बाहिरबाट मान्छेले झट्ट हेर्दा– प्रयास गरे, असफल भए, समय खेर फालेजस्तो देखिने । भित्रबाट आफूले अनुभूत गर्दा जीवनकै रोचक, रोमाञ्चक, व्यस्त र उपलब्धिपूर्ण वर्षहरु । अझ मेरो व्यक्तिगत जीवनका लागि त्यस अघिका ३० वर्षभन्दा यी ३ वर्ष कुनै मानेका कम महत्वपूर्ण रहेनन् । कम उपलब्धिपूर्ण रहेनन् । कम रोचक र रोमाञ्चक रहेनन् ।

राजनीतिमा कुनै मोड, भाष्य वा युग निर्माण गर्न दशकौं लाग्दछ । ३ वर्षको के कुरा । नयाँ शक्तिको अवधिको चुनावी परिणाम के रह्यो, त्यो पक्षले मलाई कत्ति प्रभावित गर्दैन । बरु ती ३ वर्ष हामीले कुन सोच, कुन उद्देश्य र कुन सक्रियताका साथ बितायौं, यो कुराले गौरवान्वित गर्दछ ।

यी ३ वर्षमा नेपालको राष्ट्रिय जीवनका अनेक क्षेत्रबाट अनेक पात्र र प्रवृतिहरु भेला भयौं । बढो ठूलो विश्वास गर्‍यौं एक अर्काप्रति शुरुवातमा । लाग्थ्यो– एक से एक प्रतिभा एकत्र भएका छौं, आआफ्नो क्षेत्रबाट । कोही राजनीतिबाट, कोही प्रशासनबाट, कोही नागरिक आन्दोलनबाट, कोही कला, साहित्य, संगीत र सिनेमाको क्षेत्रबाट । पक्कै त्यसको ठूलो सामाजिक मूल्य हुन्छ । राजनीतिक मूल्य हुन्छ । एक दीगो पार्टी, दीगो आन्दोलन, दीगो अभियान बनाएरै छोड्छौं ।

टाढाबाट देखेको हिमाल हेर्न जति मज्जा आउँछ, सायद हिमाल चड्न त्यसको हज्जारौं गुणा बढी कष्ट हुन्छ । जब हिमाल साँच्चैै चढ्नुपर्ने भयो, अविश्वास शुरु भयो, भागदौड शुरु भयो । एक से एक संकल्प र प्रतिबद्धताका कुरा गर्थे साथीहरु । लाग्थ्यो– मान्छेहरु मुखले हैन, साँच्चै हृदयले बोलिरहेका छन् । केही महिना नबित्दै तिनै साथीहरु व्यक्तिगत क्यारियरको चिन्ता गर्न थाले । ‘खत्तम हुने भो, जीवन यसै जाने भो’ भनेर रुन थाले ।

३ वर्षको यात्रा सोचेजस्ता सहज रहेन । कति खेर कुन साथीले साथ छोडर हिड्ने हो, टुङगो भएन । आज पार्टीभित्र कुनै उपल्लो जिम्मेवारी र पदका लागि मरिहत्ते गरिरहेको मान्छे भोलिपल्ट बिहानै अर्को कुनै पार्टीमा प्रवेश गरेको समाचार आयो भने आश्चर्य नमान्दा भयो ।

नेपाली राजनीतिमा विचार निर्माण, एजेण्डा सेटिङ र पार्टी संगठनको घोषणा मात्र मुख्य प्रश्न हैन रहेछ । राजनीतिमा मुख्य हुनुपर्ने यी नै तत्व हुन् तर नेपाल कस्तो विचित्रको देश रहेछ भने निक्कै घघडान राजनीतिज्ञ भनिएका मान्छेहरु आफूलाई मन नपर्ने एजेण्डा भएको पार्टीमा पनि जाँदा रहेछन् । ठूला विद्धान र आन्दोलनकारीको हृदयमा पनि पद, प्रतिष्ठा र शक्तिको आशक्ति विचार र एजेण्डालाई छोड्न सक्ने गरी गढेर बसेको हुँदोरहेछ ।

यही संकटका बीच मान्छेहरु थिग्रिदै गयौं । जति मान्छे थिग्रिदै गयौं उतिकै धेरै दौडिनु पर्ने भयो । २०७४ को चुनावपछि ल्वाङ बैठक भयो । लुम्बिनी बैठक भयो । जीवनमा कल्पनै नगरिएका नयाँनयाँ साथीहरुको टिम बन्यो । परशुराम खापुङ, नवराज सुवेदी, हिसिला यामी, गंगा श्रेष्ठ, प्रशान्त सिंह, प्रभुराम श्रेष्ठ, पदम बहादुर राई, राम भट्टराईजस्ता अग्रज र साथीहरुसँग हज्जारौं हज्जार किमी यात्रा गरियो । प्रशान्तजीको गाडीमा मात्र ३० हज्जार किमीभन्दा बढीसंगै हिंडियो । प्रभुजीको गाडीमा हामी काठमाण्डौंबाट निस्किएर कहिले २२ दिन, कहिले २८ दिनमा फर्किन्थ्यौं । ६६ जिल्ला नेपाल त यही ३ वर्षमा पुगिएछ ।

यी सबै स्थितिमा हाम्रो नेताको रुपमा डा. बाबुराम भट्टराई र हामी बाँकी साथीहरुको क्लियर कट सोच थियो । नेपालमा एउटा लोकतान्त्रिक–समाजवादी धारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने महायज्ञमा सकेको योगदान गर्ने । क्रान्तिका अधूरा एजेण्डालाई अगाडि बढाउने । संघीयता, सुशासन, समृद्धि र समाजवादका बाँकी कार्यभार पुरा गर्न आफ्नो बाँकी जीवनलाई समर्पित गर्ने । शासकीय स्वरुपको परिवर्तन र प्रदेश पुनर्सीमाङ्नका पक्षमा जनमत निर्माण गर्ने । नेपालका सीमान्तकृत समुदायको सशक्तिकरणमार्फत् साँचो अर्थको समावेशी राज्य निर्माण गर्ने ।

‘समृद्धि र सुशासनका लागि जनसंवाद यात्रा–२०७५’ को योजना त्यो बेला बनेको थियो जतिखेर नयाँ शक्ति पार्टी सबैभन्दा बढी संकटमा थियो । संगठनात्मक रुपले पनि, आर्थिक रुपले पनि । हामीलाई एक जनआधारित मितव्ययी र राष्ट्रियस्तरको सन्देश दिने कुनै कार्यक्रम तय गर्नु थियो । त्यही परिवेशमा बनेको थियो यो योजना ।

२०७६ फाल्गुृन १५ गते त्यो यात्राको ठीक एक वर्ष पुरा भयो । त्यही दिन गंगानारयाण श्रेष्ठको किताब र प्रशान्त सिंहको वृतचित्र लोकार्पण भयो । किताबको नाम– ‘मध्यपहाड यात्रा, चिवा भन्ज्याङ, झुलाघाट’ राखियो । वृतचित्रको नाम–‘आधा गिलास खाली’ । आजको मेरो चर्चाको बिषय भने गंगा श्रेष्ठको किताब हो ।

आफैं पात्र भएको किताबलाई आफैं समीक्षा गर्नु सायद यो निक्कै गाह्रो कम हो । यो किताबमा म आफै बारम्बार देखा पर्दछु । सहयात्री भएर । तर केही अनुपस्थित एरिया पनि छन् । यात्राको प्रारम्भ अघि गंगा, प्रशान्त र भीम पराजुली काठमाण्डौं–चिवा भन्ज्याङ गएका थिए । किताब यहीनेरबाट शुरुवात हुन्छ । काठमाण्डौं– चिवाभन्ज्याङको यात्रा म थिइनँ । जुन दिन चिवाभन्ज्याङ पुग्नु थियो, अर्थात् २०७५ माघ १५ बिहान ९ बजे– म च्याङथापु माथि सिस्नेरी डाँडोमा हिउँले रोकिएको थिएँ । करिब ७ किमीमिटर यात्रा त्यहाँ टुटेको थियो ।

अर्को बुर्तिबाङदेखि रुकुमकोटसम्म करिब १५७ किमी यात्रा मैले साथ छोडेको थिएँ । त्यसको कारण रुकुमको पाती चडाउने लेकमा परेको बाक्लो हिउँ थियो । यो यात्रामा डा. भट्टराईको साथ र रुट बिल्कुलै नछोड्ने सीमित साथीमध्ये गंगाा र प्रशान्त पनि हो । तसर्थ, यो यात्राको आधिकारिक वर्णन उनीहरुबाट आउनु स्वभाविक र आवश्यक थियो ।

गंगानारायण श्रेष्ठ केवल राजनीतिक कार्यकर्ता मात्र हैन, एउटा राम्रो कवि, लेखक र गीतकार पनि हुन् । माओवादी जनयुद्धबारे थुप्रै साहित्य लेखेका छन उनले । सिन्धुलीको एक सामान्य गाउँले किसान परिवारमा जन्मेर अहिले समाजवादी पार्टीको महासचिवसम्म आइपुग्दा गंगा श्रेष्ठका जीवन संघर्षका कथाहरु रोचक मात्र छैनन्, रुवाउने प्रकृतिका पनि छन । माओवादी धारका सबै मूल पात्र र प्रवृतिसंग लालामो व्यक्तिगत सम्बन्धको अनुभव छ उनीसंग ।

अहिले विद्रोही नेकपा चलाइरहेका विप्लव विद्यार्थी जीवनमा उनका नजिकका साथी थिए । काठमाण्डौंको डेरामा भोकभोकै संगै सुतेका अनुभव जोडिएका छन् विप्लव र गंगाजीका । वैद्य धारका सीपी गजुरेल सिन्धुली कै हुन्, चौमधारका पुराना नेता । माओवादीको एउटा समूह चलाइरहेका गोपाल किँरातीसंग पूर्वी मोर्चामा संगै थिए गंगाजी, एक भयानक अन्तर्संघर्षबाट गुज्रिएका थिए, किरातीसंग । जनयुद्ध शुरुवात गर्दाका सिन्धुलीगढी एक्सनका कमाण्डर गंगा प्रचण्डको संगतमा पनि राम्रै परेको कार्यकर्ता हुन् । डा. बाबुराम भट्टराईसंगको सम्बन्धको त चर्चा नै गर्नु परेन ।

‘सिन्धुलीगढी दरबारदेखि सिंहदरबारसम्म’ उनको जीवनको एउटा कालखण्डलाई समेट्ने पुस्तक हो । करिब ५ बर्ष गोलघरसहितको कष्टसाध्य जेल जीवन बिताएका श्रेष्ठको लेखनमा स्वाभिमान र विद्रोहको आगो सधै ह्वार्ह्वार बलिरहेको हुन्छ ।

नयाँ शक्तिमा लागेका पूर्वमाओवादीको उपल्लो तहको कार्यकर्तामा क्यारियरिज्मको जुन चिन्ता थियो, मैले गंगा श्रेष्ठमा त्यो कहिल्यै देखिनँ । कुरो सुन्दा माओवादी आन्दोलनभित्र पनि उनी एक सहज कार्यकर्ता थिएनन् । पार्टी अन्तर्संघर्षका क्रममा बारम्बार तारो बनेका थिए । जीवन जोखिममा हालेका थिए । कम्युनिष्ट पार्टी र सिष्टमभित्र संस्थापन पक्षसंग टकराएर युद्ध र क्रान्तिको राजनीति गर्नु पक्कै सजिलो कुरा थिएन । त्यो अध्याय पनि पार गरेका हुन उनले । उनको लेखनमा यी सबै पक्षहरुको छाप देखिनु स्वभाविक हो ।

सरलता गंगा श्रेष्ठको लेखनको विशिष्ठ पक्ष हो । सामान्यतया साहित्यमा अति सरलताले फितलोपनको समस्या जन्माउँछ । तर श्रेष्ठको लेखनमा त्यो हुँदैन । उनी सरल भाषामा क्लिष्ट कुराहरु भन्न सक्दछन् । सरल प्रवाहमा स्तरीय साहित्यको छनक दिन सक्दछन् । यो किताब पनि सरल छ । सलल बग्दछ । खुरुरु कुद्छ । यात्रा संस्मरणमा उपन्यास पढेको मज्जा दिन्छ पाठकलाई ।

यो किताबलाई त्यतिखेरको नयाँ शक्ति पार्टी वा त्यसको राजनीतिक अभिष्टसंग मात्र जोडेर हेर्नु हुँदैन । नेपालको साहित्यिक इतिहासमा यो एक रेकर्ड तोड पुस्तक हो । पुरै मध्यपहाडी राजमार्गको यात्रा १ महिनाभित्र सक्ने त्यो टोली नेपालको पहिलो टोली थियो । र यो किताब त्यो रुट र सेरोफेरोको पहिलो किताब हो नेपाली साहित्यमा । पछि यस्ता यात्रा हुँदै जालान, पुस्तकपनि लेखिएलान तर चिवाभन्ज्याङदेखि झुलाघाटसम्म एकनासले खुरुरु यात्रा गर्ने र त्यसको वरिपरिको परिवेशलाई समेट्ने अर्को कुनै किताब अहिलेसम्म छैन ।

कुनै समय डा. हर्क गुरुङले महिनौं पहाडी गाउँहरु डुलेर ‘मैले देखेको नेपाल’ लेखेका थिए । तर यो त्यस प्रकारको किताब हैन । मध्यपहाडी लोकमार्गको सबै खण्ड अझै बनिसकेको छैन । कयौं खण्डमा अप्ठ्यारा र जोखिमपूर्ण ट्रयाकहरु मात्र छन् । बाटो र मौसम दुवै दृष्टिकोणबाट ठूलो जोखिम मोलेर गरिएको थियो त्यो यात्रा । ट्रयाकले छोएका कयौं गाउँहरु ‘भर्जिन ल्याण्ड’ जस्ता थिए, जुन गाउँमा कुनै प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्री त्यस अघि कहिल्यै पुगेको थिएनन् ।

तसर्थ, राजनीतिक उद्देश्य नभएका पाठकहरुले पनि यो किताबबाट ठूलो फाइदा उठाउन सक्दछन् । नेपालको मध्यपहाडी लोकमार्ग कताकता हुँदै कसरी जान्छ ? त्यस वरपरका बस्ती, भाषा र संस्कृति कस्ता छन, त्यसको ज्ञानको लागि पनि धेरै पाठकका लागि यो उपयोगी पुस्तक हुन सक्दछ ।

मध्यपहाड यात्रामा अनेक रोचक ग्रामिण परिवेशहरु आउँछन् । भूगोल, सँस्कृति र जनजीवनको भिन्नता आउँछ । च्याङथापु एक लिम्बुवानी गाउँ हो । च्याब्रुङ त्यहाँको पवित्र बाजा । लिम्बु जातिका थुप्रै थरहरु यही वरिपरिबाट उत्पति भएका छन् । बैतडीकोे गोठालापानी पुग्दा जाति, भाषा र संस्कृति बिल्कुल फरक हुन्छ । लिम्बुदेखि डोट्यालसम्मको भाषा र संस्कृति, च्याब्रुङदेखि माजोकसम्मको बाजा र धुन त्यहाँ एकीकृत भएको छ ।

चिवाभन्ज्याङपारि भारतको सिक्किम छ, झुलाघाटपारि उत्तराखण्ड । दुबै भारतका उच्च पर्यटकीय सम्भावना भएका प्रदेश हुन् । यी दुई प्रदेशका मान्छेहरु बिरलै भेटिदा हुन एकअर्कासंग । जुन दिन नेपालको मध्यपहाडी राजमार्ग खुरुरु गाडीमा हिंड्न सक्ने होला, यी दुई प्रदेशमा आउने पर्यटकहरुले नेपालभित्रका अनेकौं प्रादेशिक स्वादहरु हेर्न र भोग्न पाउनेछन् ।

यही रुटमा लिम्बूवान छ– अरुणसम्म । किरात छ–सुनकोशीसम्म । तामाङ र नेवा सभ्यता र संस्कृति छ– बुढी गण्डकीसम्म । तमु संस्कृति छ–दराम खोलासम्म । मगरात छ– रुकुमकोटसम्म । खसान छ– कर्णाली राकमकोटसम्म । कर्णालीपारी अछामी, डोट्उयाल र बैतडो उपप्रादेशिक मनोविज्ञान, भाषा र संस्कृतिहरु छन् ।

यी एकअर्काबाट टाढा थिए । यी दिल्लीमा भेटिन्थे एकअर्कासंग । काठमाण्डौंमा भेटिन्थे । आफ्नै रुट, आफ्नै बाटोबाट भेटिदैनथे । जोडिदैनथे । मध्यपहाडी राजमार्गले यिनीहरुलाई जोडिदिएको छ । भेट्न सक्ने बनाइदिएको छ । यो राजमार्गको अवधारणा निर्माणकर्ता डा. भट्टराई आफै थिए । उनीले नै अर्थमन्त्री छँदा टुक्राटुक्री जिल्ला सडकहरुको सञ्जाल जोडेर यो अवधारणा बनाएका थिए । प्रधानमन्त्री हुँदा यसलाई राष्ट्रिय गौरवको योजनाभित्र राखेका थिए ।

आफ्नै मष्तिष्कले रेखा खिचेको बाटोको पहिलो पूर्ण यात्री पनि डा. भट्टराई आफै बन्न पुगे । हामी उनका सहयात्रीहरु थियौं । नेपालको पुरानो पहाडी हुलाकी मार्ग यही रुट भएर हिड्थ्यो । डा. भट्टराईले त्यो जनसंवाद यात्राको क्रममा भन्ने गर्थे– यदि नेपालको अहिलेको राजमार्गको साटो पहाड र मधेशका दुई हुलाकी राजमार्गहरु संगसंगै बनाएको भए विकास मोडेल, जनसांख्यिक परिचित्र, क्षेत्रीय सन्तुलित र दीर्घकालिन परिणाम धेरै फरक र राम्रो हुने थियो ।

जे होस, अहिले पहाडी र हिमाली दुवै हुलाकी राजमार्ग बन्दैछन । सकिएलान् केही बर्षभित्र ।

मध्यपहाडी राजमार्गको वरिपरि भाषा, सम्यता र संस्कृतिको मात्र हैन, भूगोल र हावापानीको पनि व्यापक विविधता छ । कयौं ठाउँ यस्ता छन, जहाँ पुग्दा हिउँदमा पनि गर्मी हुन्छ । कयौं लेकाली जंगल भएर गुज्रिनु पर्छ । पूर्वको ट्याम्के डाँडा र चखेवा भन्ज्याङदेखि पश्चिमको खोड्पेको लेकसम्म जीवनमा एउटै यात्रामा हेर्न पाउनु त्यो भन्दा ठूलो भाग्यो के होला । जुन दिन मध्यपहाडी सडक सकिएला, हरेक नेपालीले आफ्नो देश राम्ररी बुझ्न यो बाटोबाट एकपटक यात्रा गर्नै पर्छ ।

गंगाजीको किताबले केवल यात्राको वर्णन मात्र गर्दैन । फरफरक सभ्यताको यात्रा गर्छ, गराउँछ । फरकफरक भाषा, संस्कृतिको यात्रा गर्छ, गराउँछ । फरकफरक भूगोल, हावापानी र वनस्पतिको यात्रा गर्छ, गराउँछ । हिउँ चिवा भन्ज्याङमा पनि थियो, रुकुमकोटमा पनि थियो, खोड्पे र अनारखोलीको लेँकमा पनि । गुराँस तेह्रथुम बसन्तपुर आसपास मिल्के, तीनजुरेमा पनि फुलेको थियो, जाजरकोट सुयडाको लेकमा पनि । यी सबैको सुवास र सहभागिता र सुवासलाई पुस्तकले एक ठाउँ ल्याउँदछ । नेपाल क्षेत्रफलले धेरै ठूलो देशमा नपर्ला तर विविधताले धेरै ठूलो देश हो । यो पुस्तक त्यो ठूलो देश नेपालको सानो आँखीझ्याल हो ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय