नबोल्नु भनेपछि नबोल्नु
कविता
सक्दिनँ म
कुर्सी राखेर तरबारको धारमा
माटोको टीका लगाउन सक्दिनँ ।
केटाकेटी हो
होहल्ला नगर्नु
ज्ञानी हुनु
मजस्तै ज्ञानी हुनु ।
सबथोक देखेर केही नदेख्नु
सबथोक बुझेर केही नबुझ्नु
आज्ञाकारी हुनु
नबोल्नु भनेपछि नबोल्नु
असैह्य भयो भने सुस्तरी बोल्नु
लैनचौरले सुन्नेगरी नबोल्नु ।
के हुन्छ थाहा छ तिमीहरुलाई ?
तिमीहरु चर्को बोल्यौ
र लैनचौरले सुन्यो भने
बर्बाद हुन्छ ।
जिन्दगीभरिको कमाई
मेरो सिंहासन
उत्तिखेरै उत्तानो पल्टिन्छ ।
(हालः नर्थ क्यारोलिना, अमेरिका)