scheduleशुक्रवार श्रावण २३ गते, २०७७

मित्र ! नयाँ वर्षको सुरु मै नेपाल घुम्न आउनु होला

कविता
दामोदर त्रिपाठी
दामोदर त्रिपाठी

१.
के तपाईंलाई थाहा छैन,
नेपाल भन्ने एउटा देश छ ?
जुन देशमा पहिला सयौं
राजाहरुले शासन गरे,
पछि श्री ३ हरुले शासन गरे,
श्री ५ हरुले शासन गरे,
अहिले प्रधानमन्त्रीले र गणतन्त्रका नेताहरुले
शासन गर्छन् ।

 

अहिलेको नेपालमा राष्ट्रपति, मन्त्री र सांसदहरु छन्,
कस्तो कुरा,
संसद भवन पनि त छ …।
हजार बाह्र सय मान्छे अट्ने
(भलै त्यो छिमेकी देशले नै बनाइदिएको होस्)
तपाईं कस्तो मान्छे यार !

 

त्यहाँ जाने कमसे कम सय भन्दा केही बढी त
असली सांसदहरु नै हुन् नी,
नठान्नुहोस ति सांसदहरु मध्यकालीन युरोपका सामन्तजस्तै हुन् भनेर ।
जनतले धरै धरै गर्व गरेका छन्
किनभने ति सांसदहरु
उनीहरुले नै दिएका सक्कली भोटबाट चुनिएका हुन् ।

 

२.
तपाईंलाई थाहा छ ?
हाम्रो देशमा अदालत पनि छ ।
निष्पक्ष न्याय दिने
आधुनिक राजनीतिको एक उत्कृष्ट आविस्कार !
सुन्नु हुन्छ ?
यदाकदा, ती न्याय दिनेहरुलाई यहाँ
न्यायमूर्ति भनिने प्रथा अझै कायम छ
(गड्स स्ट्याचु, दे आर लाइक् गड्) ।

 

अझै भगवान पशुपति नाथको त कुरै नगरौं ।
मान्छेहरु भन्थे
कुनै जमानामा नेपाल भन्ने देशको शासन
भगवान पशुपतिनाथले नै चलाउथे रे ।
तर अहिले न्याय मुर्ति आए पछि
मान्छेहरु
पशुपतिनाथको पूजा त गर्छन्,
तर, उनले देश चलाउछन् भन्ने कुरालाई
अन्धविश्वास मान्छन् ।

जिउँदा मान्छे ले नै मूर्तिको रुप धारण गरेपछि
यहाँ एउटा नयाँ युग सुरु भएको छ ।

 

अझै जान्न चाहनुहुन्छ ?
यहाँ कानुनको संख्या त कति छ कति,
ति भित्रका धारा र उपधाराको संख्या हिसाब गर्नुभयो भने
यो देशका सबै नागरिकलाई चाहिने खानेपानीको धाराको संख्या भन्दा
धेरै बढी हुन्छ भनेर नेपालीहरु जोक गर्छन् ।

वितेको १५ वर्ष सम्म हाम्रो देशमा
३ बटा मुख्य मुख्य उत्पादनहरु भए
जान्न चाहानु हुन्छ ति के के हुन् ?

पहिलोः कानुन,

दोस्रोः कानुन

र, तेस्रोः पनि कानून ।

यहाँ हाँस्नु पर्ने कुरा छैन,
किनभने यसमा हाम्रो राष्ट्रवाद छ ।
कसरी भने,
ति कानुनका किताब एकै ठाउँमा राख्ने हो भने नेपालमा
तपाई दोस्रो माउण्ट एभरेष्ट देख्ने
भाग्यमानि मान्छे हुनसक्नु हुन्छ,
अनि भएन त राष्ट्रवादी कुरा ।

तपाईं भए बर्लिनको पर्खाल भन्नुहुँदो हो,
हामी हिमाल र पहाडसँग असाध्यै लठ्ठिएका छौं ।

तिनै कानूनका किताबहरु बोक्ने कालो कोट लगाएका
हाम्रा साथीहरुको सानो झुण्डलाई
म देखाउन सक्छु काठमाण्डौको
माइतीघर मण्डलाको छेउछाउमा ।
अब आँफै बुझ्नुहोस्
कानुन धेरै
दरखास्त धेरै,
स्वभाविक छ, फैसला धेरै
न्याय त कति हो कति
यहाँ न्यायको धारा अटुट छ !

कस्तो गजबको मान्छे तपाई
संसारको छानो भित्र लुकेजस्तो भएर हो नदेख्नु भएको ?
नत्र, हाम्रो देश एउटा गजबको देश हो भन्ने कुरा
तपाईं कसरी थाहा पाउन सक्नुहुन्न?
तपाईं भन्नुहुन्छ,
म बिसौ शताब्दीमा जन्मिएको २१ औं शताब्दीको मान्छे
बालिग, बयस्क, पढालेखा हुनुहुन्छ
इतिहास राजनीति, समाजशास्त्र बुझनुहुन्छ,
अनि कसरी सम्भब हुन्छ कि
तपाईलाई हाम्रो नेपाल भन्ने देश बारे थाहा छैन ?

 

३.
के हाम्रो देशमा सेना पनि हुनसक्छ भन्ने कुरा
तपाइले अनुमान गर्न सक्नुभएन र,
हिमाली सिमानाको कुरा झिक्नु भयो ?
हाम्रो देशमा पनि सेनाका ठूला ठूला ब्यारेकहरु छन् ।
हजारौ हजार संख्यामा सेनाहरु छन् ।
त्यहाँ सैनिक तालिम हुन्छन्,
नयाँ कौशलहरुको प्रर्दशन पनि हुन्छ ।

 

राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई त्यस्ता कौशलहरु देखाइन्छ,
साँचै उनीहरु सेनाको यो कामलाई
चमत्कार ठान्छन्, दंग पर्छन् र,
सलामी खाँदै सलामी दिँदै,
नयाँ नयाँ फुली जवानहरुका काँधमा थपिदिन्छन् ।

 

थाहा छ ?
त्यसबापत हाम्रो सेनाले पटक पटक नेताहरुलाई
आफु पानीमा भिज्दै आफ्नो छाता ओढाएको छ
आफु पानीमा चुर्लुम डुबेर नेताहरुलाई बुई बोकेर
खोला र जंघारहरु तारेको छ ।

तपाईंले आश्चर्य मान्नु पर्दैन,
सेना भने पछि तपाईको मष्तिष्कमा
बारुद, ट्याङ्ककर, र सिमानामा राइफल बोकेको
एक जवानको चित्र आउँदो हो
त्यो सेनाको पुरानो चित्र हो ।

 

हाम्रो गणतन्त्तले सेनाको नयाँ परिभाषा दिएको छ,
नेताहरुका बगैचाको हेरचाह गर्ने,
उनीहरु मन्दिरमा जाँदा खुट्टामा फोहोर लाग्न नदिन
हरेक पाइतालमा आफ्नो हत्केलासम्म राखिदिने,
गाडी धुने,
कपडा सफा गर्ने,
खाना पकाउने,
उच्च नेता र कर्मचारीका
छोराछोरीहरुलाई स्कुल पुर्‍याउन जाने,
घर लिएर आउने … यस्तै यस्तै ।

शान्ति सेना वा शान्त सेना,
जे भन्नुस कुरा एउटै हो ।

 

४.
मलाई विश्वास छ
अब यति धेरै प्रमाणहरु दिए पछि तपाईले
‘के नेपाल भन्ने देश पनि छ र ?’
भन्ने प्रश्नै गर्न सक्नु हुन्न
सोध्नु भयो भने पनि,
माफ गर्नु होला
अब त मैले तपाईंको प्रश्नलाई
खारेज गर्नै पर्छ ।

बरु सोध्न सक्नु हुन्छ एउटा आधुनिक देशको रुपमा,
एउटा नयाँ गणतन्त्तको रुपमा,
नेपालसँग के छैन ?

यहाँ प्रहरी छ, प्रशासन छ, र भन्सारहरु पनि छन्
यहाँ विद्यालय, कलेज र विश्व विद्यालयहरु पनि छन्
अस्पताल, सिनेमा हल, दुरसञ्चार,
विद्युत, खानेपानी, दुग्ध र कृषि सम्बन्धिका प्रतिष्ठानहरु,
साना ठुला किनमेल गर्ने पसलहरुदेखि
वजार, पार्क, संग्रहालय, र चिडियाखानाहरु पनि छन् ।

तपाईं कुरै नगर्नुस ति प्रतिष्ठनहरुको अवस्था के छ
चिडियाघर भित्र राखेका जनवारले समेत यहाँ
कार्ल मार्क्सको वर्ग संघर्ष पढेका छन् ।
हरेक जनवारका खोरमा यहाँ
कुनै न कुनै पार्टीको नारा छ ।
यदि त्यहाँ कसैले त्यो नारा मेट्यो भने
जनावर भोकै पर्न सक्छ ।

किन ?
किनभने चिडियाघरमा जनावरको
संरक्षण गर्न खटिएका कामदारहरुले
जनावरको स्वभाव अनुसार होइन,
आ–आफ्ना मर्जिका नारा अनुसार
जनावारलाई भोजन बाँड्ने
नियम बनाएका छन् !

 

५.
बाहिरका मानिसहरु नेपालमा धेरैजसो
हिमाल हेर्न आउँछन्,
पहाडको मनोरम दृष्य र
त्यहाँका मान्छेका जिउने आफ्ना आफ्नै
सुर लयहरुमा उनीहरु हराउँछन् ।

मलाई विश्वास छ,
नेपाल आउनु भयो भने
आधुनिक राज्यको
अत्यन्तै लालित्यपूर्ण सौन्दर्यबाट मोहित हुने
ज्यादै कम संंख्या भित्र पर्ने
अत्याधुनिक पर्यटक मध्ये
तपाईं एक हुनुहुने छ ।

त्यति मात्र होइन,
तपाईंले हाम्रा नेताहरु
ज्यादै उत्सुक भएको बेलामा भेट्नु भयो भने
नदिलाई बेँशीबाट हिमालतर्फ फर्काउने
आदेशमा सहि गरेको देख्न पाउनुहुन्छ !

उनीहरुले हरिणलाई मासु खुवाए भने
आश्चय नमान्नु होला,
उनीहरुको आदेशमा
बाघले घाँस खायो भने,
यो के भयो भन्ने नसोच्नु होला ।
यो कुनै बहुलठ्ठी कुरा होइन
हाम्रा नेताको वास्तविक र दिनदाहाडै
फुर्ने आदेशको कुरा हो,
उनीहरुको आदेशमा भएको
चमत्कारी दमको कुरा हो ।

 

६.
मित्र,
तपाईंको ठट्टा नगर्नोस् ….
भन्ने कुराले म अझै
तपाईलाई आफ्ना कुराहरु सुनाउन
उत्सुक बनेको छु ।
तपाईंसँग अलि नजिकिए कि
जस्तो पनि महसुस गर्दै छु ।
अब चाहिँ तपाईले पहिला मैले भनेको होइन
आफूले देखेको नेपाल सुन्नु पर्छ ।

छिमेकीले घरी घरी कुल्चने र
धकेल्ने कुराले त ‘हाम्रो रौं पनि हल्लदैन’
भनिराख्यौ हामीले,
एउटा बलियो भुइचालो र
कठोर महामारीलाई त हामीले
भर्खरै सामना गरिनै सक्यौ ।

तर
यसपाली
अर्को यथार्थ हाम्रो अगाडि छ,
एउटा कटु र कठोर यथार्थ ।

समय घर्किएपछि सायद
तपाईलाई मैले निम्ता गर्ने अवसर नरहनसक्छ ।
फेरी यो अनुपम दृष्यको कुरा पनि त हो
जो अरु रहला नरहला !
धेरै टाढाको कुरामा हामी भर पर्न पनि त सक्दैनौं !

त्यसैले,
अहिल्यै
पहिलो प्राथमितामा नेपाल भ्रमणलाई राखेर,
तपाई सन् २०२१ को सुरु मै,
…..
हो अरु कुरा नेपालमै गर्ने गरी,
…….
नयाँ बर्षको सुरु मै,
नेपाल घुम्न आउनु होला ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय