scheduleशनिवार श्रावण २४ गते, २०७७

एना जारविस जसले सुरुवात गरेकी थिइन् वर्ल्ड मदर्स डे र पछि विरुद्धमा अभियान सुरु गरिन्


एजेन्सी, २९ वैशाख । आज विश्व मदर्स डे अर्थात् मातृत्व दिवस हो ।

तर यो दिवस कसरी सुरु भयो भन्ने कुरा धेरैलाई थाहा छैन । यो दिवसलाई एना जारविसले सुरु गरेकी हुन् ।

विश्वका अधिकांश मानिसहरु मे महिनाको दोस्रो आईतबार मदर्स डेको रुपमा मनाउँछन् ।

आमाको नाममा मनाइने यो दिनको व्यवसायीकरण त्यो बेला पनि हुने गरेको थियो जब एना जारविस जीवितै थिइन् ।

त्यस समय उक्त दिवसमाथि भईरहेको व्यवसायीकरणका कारण उनी यति धेरै निराश भईन की उनले यो दिवसको विरुद्ध अभियान नै चलाइन् ।

एक दिनको कुरा हो एलिजाबेथ बर नामकी एक महिलाको फोनमा जब एउटा कल आयो । तब फोन गर्ने व्यक्तिले उनको परिवारको इतिहासको बारेमा सोध्न थाले ।

यो सबै कुरा सुनिसकेपछि एलिजाबेथलाई कसैले इन्टरनेटबाट उनीसँग फ्रड गरेको जस्तो लाग्यो ।

तर त्यो फोन कल कुनै फ्रड कलरको थिएन वास्तवमा एकजना इतिहासकारको थियो । ती इतिहासकार जारविसको कुनै जीवित वंशजलाई खोज्दै थिइन् ।

एना जारविस तिनै महिला थिइन् जसले सय वर्ष पहिले अमेरिकामा मदर्स डेको सुरुवात गरेकी थिइन् ।

एना १३ जना सन्तानमध्ये एक थिइन् । तर तीमध्ये चार सन्तान मात्र बयस्क थिए ।

तीमध्ये जरविसका सबैभन्दा ठूला दाईको मात्र वंशज अघि बढ्न सक्यो । उनका अन्य सन्तान तथा दाजुभाइहरु सबै साना उमेरमा टिबी रोगका कारणले मरेर गए ।

एना जारविसको सबैभन्दा अन्तिम वंशजको मृत्यु सन् १९९० मा भयो ।

यसैबीच माईहेरिटेज नामक संस्थासँग सम्बद्ध इतिहासकार एलिजाबेथ जेटल्याण्डले एनाको सन्तान तथा वंशजलाई खोज्न सुरु गरिन् । यसै क्रममा उनी एलिजाबेथ बरसम्म आईपुगेकी थिइन् ।

एलिजाबेथ भन्छिन् कि उनको बुवा र आन्टीहरुले कहिल्यै पनि मदर्ड डे मनाएनन् किनभने उनीहरु सबै एनालाई सम्मान गर्दथे ।

ती सबै एनाको त्यस भावनालाई सम्मान गर्दथे जुन मदर्स डेको व्यवसायीकरण विरुद्ध थियो ।

एना जारविसले जुन मदर्स डे मनाउन सुरुवात गरिन् त्यो विचार उनलाई आफ्नी आमाबाट मिलेको थियो ।

आमाको सपना सपना पुरा गर्दै थिइन् एना
अर्की इतिहासकार केथरीन एन्टोलिनी बताउँछिन् की श्रीमती जारविसले आफ्नो पुरा जीवन महिलाहरुलाई बुझ्नमा व्यतित गरिन् । उनी आमाहरुले बच्चाको राम्रो पालनपोषण गर्नुपर्ने र आमाको यो कामको कदर गरिनुपर्ने धारणा राख्थिन् ।

एकपटक श्रीमती जारविसले भनेकी थिइन्, ‘मलाई आशा छ, र प्रार्थना पनि गर्छु कि आमाको लागि एउटा दिन बनाइनेछ । विश्व मानवताका लािग अतुलनीय सेवा दिने आमालाई त्यो दिन सम्मान दिईनेछ ।’

सन् १८५८ देखि उनी मेथाडिस्ट इपिस्कोपल चर्चमा निकै सक्रिय थिइन् । त्यहाँ उनी एउटा मदर्स डे नेटवर्क चलाईरहेकी थिइन् ।

उनको उदेश्य उच्च शिशु मृत्युदर र बाल मृत्युदरलाई कम गर्नु थियो । त्यस समय शिशु मृत्युको कारण उनको क्षेत्र ग्रेफ्टन, वेस्ट भर्जिनियामा फैलिएको एउटा विमारी थियो ।

उन रिव्स ससाना समूहमा महिलाहरुलाई संलग्न गराएर सरसफाईसँग जोडिएका कुराहरुका बारेमा सिकाउने गर्थिन् ।

यो समूह आयोजना गर्नेहरु पीडित परिवारलाई औषधी तथा जरुरी सामाग्रीहरु दिने गर्दथे ।

वेस्ट भर्जिनिया वेसलेयन कलेजमा प्रोफेसर रहेकी क्याथरिन एन्टोलिनीको अनुसार एन रिव्स जारविस आफू पनि एकजना पीडित आमा थिइन् जसे आफ्ना नौंजना सनतान गुमाईसकेकी थिइन् ।

उनका पाँच सन्तानको मृत्यु सम्भवतः अमेरिकी गृह युद्ध ताका कुनै विमारीको कारणले भएको थियो । १९०५ मा जब एन रिव्स जारविसको निधन भयो तब उनको चारजना सन्तान उनीसँग थिए । दुखको घडीमा छोरी एना जारविसले आमाको सपना पुरा गर्ने कसम लिएकी थिइन् ।

केही अलग थियो एनाको विचार
तर आमाको सपना पुरा गर्ने एनाको तरिका केही फरक थियो । उनी त्यो दिवसको दिन आमाहरुले गरेको कामको सराहना गरियोस् भन्ने चाहान्थिन् ।

एनाको यो सन्देशलाई शिरोधार्य गर्न एकदमै सजिलो थियो । उनको सन्देशले सर्वव्यापी स्विकार्यता पायो । चर्चमा पनि उनको सन्देशलाई सराहना मिल्यो ।
एनाको मृत्युको तीन वर्षपछि पहिलोपटक ग्रेफट्नको एन्ड्रयूज मेथाडिस्ट चर्चमा पहिलोपटक मदर्स डेको आयोजना भयो ।

एना जारविसले मे महिनाको दोस्रो आईतबारलाई यसकारण चयन गरिन् किनभने यो दिन ९ मेको नजिकको दिन थियो जुन दिन उनकी आमाको पुण्यतिथि थियो ।

एनाले मदर्स डेको दिन आयोजित कार्यक्रममा सहभागी हुने महिलाहरुको बीचमा सयौं सेतो कार्नेसन फूल बाँडेकी थिइन् जुन उनको आमालाई मन पर्ने थियो ।

सन् १९१० मा यो वेस्ट भर्जिनिया स्टेटको राजकीय दिवस बन्यो । यसपछि १९१४ मा राष्ट्रपति वुड्रो विल्सनले यसलाई अमेरिकाको राजकीय दिवस घोषित गरिदिए ।

इतिहासकार एन्टोलिनी भन्छन् कि यो अभियानको सफलताको सबैभन्दा ठूलो कारण यसको व्यवसायिक पक्ष थियो ।

उनको अनुसार एना यो दिवस कहिल्यै पनि व्यवसायीकरण नहोस् भन्ने चाहाना राख्थिन् तर उनको चाहना विपरित यो तिब्र गतिमा व्यवसायीकरण भयो । यो दिवस फूल, चकेलेट र ग्रिटिङ कार्ड छाप्नेहरुमाझ लोकप्रिय बन्यो ।

तर एना यस्तो कदापि चाहन्न थिइन् । जब कार्नेशन फूलको मूल्यले आकाश छोयो तब उनले एउटा प्रेस विज्ञप्ति जारी गर्दै फूल व्यापारीहरुको निन्दा गरिन् ।

१९२० मा उनले मानिसहरुलाई फूल खरिद नगर्ने अपिल गरिन् ।

इतिहासकार एन्टोलिनीको अनुसार एना त्यस्ता संस्थाहरुसँग पनि रुष्ट थिइन् जसले यो दिनको नाममा चन्दा संकलन गर्ने गरेका थिए ।

मदर्स डेलाई महिलाहरुको मतदानको अधिकारसँग पनि जोडियो ।

त्यस समय एनाको प्रजातान्त्रिक विचारधारा विरुद्ध सोचाई राख्ने व्याक्तिहरु महिलाको लागि असली स्थान उसकै घर भएको तर्क गर्थे । उनीहरु महिला आमा र श्रीमतीको रुपमा नै व्यस्त हुने भएको हुँदा राजनीतिमा उनीहरुलाई संलग्न गराइनु उनीहरुमाथि जिम्मेवारी थप्नु जस्तो भएको बताउँथे ।

एना जब जिवित थिइन् तबसम्म उनले यो दिनको व्यवसायीकरणको विरुद्ध लडिरहिन् ।

उनले मेको दोस्रो आईतबार मदर्स डेको नाममा कपिराइट पनि दर्ता गराइन् ताकी यो शब्दको प्रयोग अन्य ठाउँमा हुन नसकोस् ।

न्यूजविक अखबारको अनुसार सन् १९४४ सम्मा उनको ३३ ओटा कानुनी मामिलाहरु दर्ता थिए । त्यस समयसम्म उनी ८० वर्षकी भइसकेकी थिइन् र उनले देख्न सुन्न छोडेकी थिइन् ।

उनी एउटा वृद्धाश्रममा बसेकी थिइन् जहाँ चार वर्षपछि उनको हृदयघातको कारण निधन भयो ।

तर उनले जीवनको लामो समय यसै अभियानमा रहेर अन्तिम समयसम्म नै मानिसहरुको घर घर पुगेर ती कागजहरुमा हस्ताक्षर गराई रहिन् जसमा यो व्यवसायीकरण भएको दिनको अन्त्य गर्न माग गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय