scheduleशुक्रवार श्रावण २३ गते, २०७७

ओडारमुनिको खोर

प्रेमबहादुर बोहरा

असार महिना प्रिय लाग्छ । भैंसी चराउन जान पाइन्छ । चढ्न पाइन्छ । ऐसेलु टिप्न र खान पाइन्छ । अरु छाचौरी (बच्चाहरु) हरुसँग हुलाक (डन्डीबियो) खेल्न पाइन्छ । चरन मैदान भेट्यो भने भैसीहरु लडाउन पाइन्छ । यतिमात्रै कहाँ हो र ? झरी पर्दा भिज्न पाइन्छ । हिमाली गाउँमा हिउँदमा हिउँ पर्छ भने बर्खामा बर्षा । झरी हिउँदको हिउँ जति त चिसो हुँदैन । तर, लुगा भिजेपछि अर्को लुगा फेर्न पनि । स्कूलमा पढ्दा पढ्दै झरी भए, झरी विदा हुन्छ । यो भन्दा रमाइलो कुरा अरु के होला र ? आकाशबाट झर्ने झरीले मलाई खुसी दिएको छ । मलाई असार महिना होइन, झरी प्रिय लाग्छ । झरी असारमा मात्र होइन, जेठमा पनि झर्छ । साउनमा पनि ।

त्यो वर्ष जेठमै झरी खस्यो । त्यो पनि दिउँसै, स्कूलमा पढ्दा पढ्दै । टिनले टिनटिन आवाज निकाल्दा कक्षाकोठाका थिपथिप गर्न थाल्यो । कक्षाभित्रको अर्धझरी भन्दा बाहिरको पूर्ण झरी ठिक । सरहरुलाई पनि यस्तै लागेछ क्यारे, झरी विदा दिए । काठको पाटी हल्लाउँदै अरु विद्यार्थीहरुसँगै म पनि घरतिर दौडिएँ ।

कतिजना छाछौरीहरु त रुन्छन्, तर मलाई किन किन झरी मन पर्छ । चिसो त हुन्छ । तर, घरमा गएर रोटी चपाउँदै कम्बलमुनि लुक्नुको मज्जा अर्कै हुन्छ । झरी कसरी पर्छ होला भनी सोच्दासोच्दै निदाउँदा थाहा नभएपनि ब्युँझिँदा बाँकी रहेको रोटी देख्दा झनै खुसी लाग्छ । सिंगो रोटी भन्दा पनि सानै टुक्रा रोटी मिठो लाग्छ । सायद, सकिन लागेपछि चीज राम्रो लाग्न थाल्छ होला ।

घर पुग्दा सधैझैं कोही पनि थिएनन् । बुवा यार्चा टिप्दा चाहिने सामल पुर्‍याउन जानुभएको थियो । आमा मकै वा कोदो गोठमेल गर्न जानुभएको होला । म पनि सिमी र आलु खोज्न जाने गर्छु । तर आज मलाई रोटी चपाउँदै सुत्न मन छ । त्यसपछि सुत्न, सुतेपछि उठेर फेरी रोटी चपाउन । त्यतिन्जेल आमा आउनु हुन्छ अनि तातो आगोमा पाकेको तातो भात, तातै दाल र आलुच्याउको तरकारी खाने ।

असोजमा फलेको आलु जेठसम्म पुग्दा उम्रिसकेको हुन्छ, त्यति मिठो त हुन्न तर भर्खर उम्रेको कलिलो च्याउले तरकारी स्वादिलो बनाउँछ । यही आशामा घरभित्र भरारमा गई खोजेँ नास्ता । उज्यालोमा वा अध्यारामै भएपनि नछोपेर राख्दा बिरालोले खाने हुँदा आमाले खाजा जहिले भित्र भरारमा राख्नुहुन्छ । जति खोजेपनि नभेटेपछि म हरेश खादैं ओछ्यान लगाइएको मैडामा कम्बल ओडेर सुतेँ । सुते के भन्नु, पल्टिएँ अनि टोलाएँ ।

प्रेमबहादुर बोहरा

पेटका चाम्टा दुख्दा र पेटभित्रका आन्द्रा बटारिँदा निन्द्रा पनि लाग्दैन रहेछ । सायद, यही भएर त बेलुका नखाई सुत्दैनन् मान्छेहरु । यतिकै निन्द्रा लाग्ने भए त बेलुका नखाएपनि हुन्थ्यो होला । दिउँसो पो काम गर्नलाई शक्ति चाहियो, खानुपर्छ तर राती के काम पनि हुँदैन । राती नखाँदा अन्न त बच्थ्यो नि, होइन र ?

पेट कोक्काइ रहेको थियो । पेट पनि रुँदो रहेछ भनी सोचेँ । हाँसो लाग्यो । अरु रुँदा हाँसो किन लाग्छ ? आफु रुँदा आँशु किन आउँछ ? यति बुझ्ने भइसकेको थिइनँ । भर्खर सात वर्षको त भएँ ।

भिटामिन क्याप्सुल पाउन छाडेको र स्कूल जान थालेको दुई वर्ष त भयो । आँखा चिम्लेर कदेखि ज्ञसम्म पढ्न सक्थेँ भने लेख्न त कदेखि ग… सम्म मात्र । क लेख्नै एक वर्ष लाग्यो मलाई । चैत्रमा स्कूल खुलेदेखि जेष्ठसम्म ख र ग लेख्न सक्ने भएँ । घ पनि लेख्नै लाग्या छु । घरमा भने आलु पकाउन सक्छु, भैसी चराउन सक्छु, आमासँग आलु, मकै र सिमीका बोटहरु हुर्काउनका लागि बिउ छर्नेदेखि गोड्नसम्म सक्छु । हलो जोत्न सिक्दैछु ।

स्कूल छुट्टी भएको बेला भेडाबाख्रा चराउन सक्छु । अस्ति त भैसीको पाडो पनि उठाएँ मैले । अँ, गुच्चेच्याउ, च्याउ टिप्न मात्र होइन, घरमा तरकारी बनाउन पनि सक्छु । कोदा र मकैको रोटी बनाउन अलि गाह्रो हुन्छ । गहुँको रोटी बनाउन र पकाउन सक्छु । यति काम गर्न त हाम्रा स्कूलका सरहरु पनि सक्दैनरहेछन् । यही भएर होला, सधैं भातमात्रै खान्छन् । स्कूलमा पढाउने बेला पढाउने बाहेक अरु केही कामै गर्दैनन् । हुन त सरकारले पाल्ने भएकाले होला, काम गर्नुपनि किन पर्‍यो र ?

स्कूल छुट्टी भएको बेला सरहरु खेत जोत्न आइदिए नि हुन्थ्यो जस्तो लाग्छ । यस्तै के के सोँच्दै थिएँ, आमा आइपुग्नुभयो । गोडमेल गर्न होइन, आमा त बोबोबज्यैलाई भेट्न जानुभएछ । फर्किदा दाउरा ल्याउनुभयो । आमा कतैबाट पनि रित्तो हात फर्केको देखेको छैन न त कहिल्यै फुर्सदमा नै देखेको छुँ । दाउराको भारी खोल्नुभयो । माझैमा भोजपत्रले बेरेको पोको थियो । मेरो हराएको भोक फेरी बहुरिएर आयो । मैले थाहा पाइहालेँ, त्यो भित्र सिन्ला नै हुनुपर्छ । चिसो भएको बेला तातो खान मन पर्छ तर सिन्ला भने चिसो नै मिठो ।

यस्तो भोक लागेको बेला, कति मिठो हुन्छ भन्ने कुरा म यहाँ भन्नै सक्तिनँ । भन्न पो सक्तिनँ त, त्यो खाएको स्वाद अहिले पनि ताजा भएझैं लाग्छ । बाल्यकालमै पनि मिठा खानेकुराहरु कति धेरै खाइयो होला । कतिको नाम पनि याद छैनन्, नाम याद भएकाको स्वाद याद छैनन् । ती ठिकठिकै मिठा थिए, र त याद भएनन् । ठिककिठै होइन, ज्यादै स्वादिला खानेकुराहरु याद हुन्छन् । राम्रा हुन् या नराम्रा कुराहरु नै किन नहुन्, त्यसमा ज्यादै मिसिएन भने याद हुन पनि ज्यादै कठिन हुने रहेछ ।


मलाई ज्यादै मनपर्ने कुराहरु हुन्- झरी, ऐंसेलु, सिन्ला, आलु, कद्दु, सिमीको दाल । मन त अरु पनि पर्छन् तर ज्यादै भित्र पर्दैनन् । बुवाआमा र घरकै बोबोबज्यै त यत्तिकै ज्यादैभित्र परिहाल्छन् । तर कहिलेकाही खाइने गाली र पिटाइले, उहाँहरुले पाउने अंकमा घटबढ भइरहन्छ । बुवाआमा र बोबोज्यै जतिकै माया गर्ने तर कहिल्यै गाली नगर्ने तथा पिटाईका बारे सोच्दै नसोच्ने मामा वा आमातिरका बोबोबज्यै ज्यादै ज्यादै मन पर्छन् ।

नजिकैको खोरमा हुँदा कतिपटक खीरमाथि दही, सिन्लासँगै दूध खान गएको छु । मलाई यस्तो लाग्थ्यो, उहाँहरुको मुख्य काम नै मलाई खुवाउने हो । घरमा त्यो सुविधा कहाँ हुनु र ? यो काम गर अनि यति खा जस्तै हुन्थ्यो घरमा । बोबोबज्यैको खोरमा गयो भने न गाई चराउनुपर्ने न त भैंसी नै । नजिकैको मुलबाट पानी पनि ल्याउनु नपर्ने । कहिले काहीँ आफै गएर पानी ल्याइएछ भने, संसारकै सबैभन्दा बढी काम गरेको जस्तो महसुस गराउनुहुन्थ्यो । थोरै काम धेरै मामले कति आनन्द दिन्छ भने, नो काम, धेरै मामले कति देला ? अनुमान गर्न सक्नुहुन्छ ।

घर, स्कूल र बोबोबज्यैको खोर तुलना गर्नुपर्‍यो भने पहिलो रोजाइ हुन्छ, खोर । त्यसपछि घर अनि बल्ल स्कूल । घर र खोरमा आधाआधा समय बिताउन पाइयो भने कति गज्जब हुन्थ्यो । जुन मन नपर्ने त्यही नै बढी गर्नुपर्ने अर्थात् धेरै समय स्कूलमा जानुपर्ने हुँदा मलाई झ्याउ लागेर आउँछ । सबैभन्दा बढी समय बित्ने ठाउँ नै स्कूल हो । दिनभरी पढाएको सुन्नु, आधा घण्टा जति दाईहरुले बल खेलेको हेर्नु, हातका औंला दुखिन्जेल धुलोमा क ख ग लेख्नु । यति नगरे सरको चुम्लीको लट्ठीले कि ढाड सोज्याइ पाउनु कि हात थर्थराई पाउनु । त्यसपछि घर जाँदा भने केही ताजा महसुस हुन्छ ।

लाग्छ, स्कूलको जबरजस्ती सरहरुले भनेको गर्नुभन्दा त खनजोत गर्नु, ग्वाला जानु, दाउरा स्याउला बोक्नै कति उचित । यी कामहरु गर्ने समय पनि टन्नै मिल्थ्यो । आधाभन्दा बढी समय त स्कूल बन्द हुँदा कामबाट पनि मुक्ति पाउन मन लाग्थ्यो । अन्ततः सुखको खोजीमा मलाई जान मन लाग्थ्यो बोबोबज्यैको खोर । सात वर्षको यो उमेरसम्म पुग्दा आफै डाँडाको बाटो, जंगल पार गर्दै स्वेच्छाले पन्ध्रपटक म खोर पुगेको छु, एक्लै । कदेखि ज्ञ लेख्न वर्षौ लाग्ने भयो, त्यो सम्झिँदा जति डर लाग्छ, पहाड चढेर खोर पुग्ने रहर त्योभन्दा बढी लाग्छ । करले डर बढाउँदोरहेछ भने रहरले डर हराउँदो रहेछ ।

स्कूलले गर्दा म तीन महिनादेखि मैले बोबोबज्यै भेट्न पाएको छैन । खीर, सिन्ला, दूध र दही खान पाएको छैन । बोबोबज्यै देख्न पाएको छैन । एक ठेको पानी ल्याएर अमृत ल्याएको महसुस गर्न भ्याएको छैन । र अर्को कुरा पनि उत्तिकै बाधक छ । अहिले बोबोबज्यैको खोर ऊऽऽऽ माथि हिमालको काखमा छ । ठूलो ढुंगाको ओडारमुनि छ जुन गाउँबाट धेरै टाढा पर्छ । ठूलाठूला ढुंगाहरु, जंगलहरु र पहाडहरु छन् । त्यहाँ पुग्न मुस्किल छ । आमालाई पुगेर घर फर्किन त एक दिन लाग्यो भने मलाई कति लाग्ला ।

धेरै टाढा र अर्कोतिर बाटो थाहा नभएकाले म खोरतिर जान पाएको छैन । आज सिन्ला खान पाएँ । राती, तातो फाडो पिएर सुत्यौं म र आमा । राती सपनामा बोबोबज्यैको खोर जाने बाटो देखेँ भने भोलि बिहानै म त्यता जान सक्छु । मलाई आनन्द लाग्ने ठाउँ । घरको काम छलेर खोर जाँदा त कति रमाइलो हुन्छ भने स्कूल नै छलेर जान पाइयो भने कति रमाइलो होला है । म पक्कै जानेछु ।

… कुकुरी काँ … भाले बास्यो । उज्यालो भयो । … सायद, आज पनि स्कूलै जानुपर्ने होला । केही दिनपछि यार्चा टिप्न । अनि बल्ल बोबोबज्यैको खोर । मनपर्ने काम सधै पछि, सधै ढिला । किन यस्तो होला ?

 

तस्बिरः Sakura of America, २०१४ फेब्रुअरी ४

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय