scheduleबुधवार आश्विन १४ गते, २०७७

वैश्विक महामारीहरुको अन्त्य कसरी हुन्छ ?

गिना कोलटा

कोविड–१९ वैश्विक महामारीको अन्त्य कहिले होला? र कसरी होला?

इतिहासकारहरुको अनुसार महाव्याधीहरुको अन्त्य दुई तरिकाले हुन्छ । एक चिकित्सा र अर्को सामाजिक विधि । चिकित्साले संक्रमण र मृत्युदर घट्छ भने सामाजिक विधिले महाव्याधीको भय आफैं बिलाएर जान्छ ।

जोन हप्किन्सका चिकित्सा इतिहासकार जेरेमी ग्रिन भन्छन्, ‘जब मानिसहरु यो महामारी कहिले रोकिन्छ भनेर सोधिरहेका हुन्छन्, उनीहरु सामाजिक तरिकाबाट अन्त्यको कुरा गर्दै हुन्छन् ।’

अर्को शब्दमा भन्दा रोगको ठ्याक्कै अन्त्य त कहिल्यै पनि हुँदैन । बरु हुने के हो भने मान्छे व्याधीको बीचमा पनि बाँच्न बानी पर्दै जान्छन् । रोगको भय र पीडालाई भुल्दै वा स्वभाविक ठान्दै बाँच्छन् ।

हावार्ड इतिहासकार एलान ब्रान्ट कोविड–१९ का बारेमा झण्डै यस्तै हुने ठान्दछन् । उनी भन्छन्, ‘मान्छे कहिले महामारी कहिले रोकिएला र अर्थतन्त्र फेरि क्रियाशील होला भनेर सोध्ने गर्दछन्, त्यसको त के उत्तर हुन्छ न? महामारी रोकिने भन्ने कुरा चिकित्सकीय भन्दा बढी राजनीतिक–सामाजिक प्रक्रिया हो ।’

एक्सटेर विश्वविद्यालयकी डोरा भार्गबको भनाईमा, ‘महामारीको अन्त्य एक भद्दा कल्पना हो । हामीले पछाडि फर्किएर हेर्‍यौं भने यस्तो अवस्थाका संकथनहरु निक्कै कमजोर हुन्छन् । कस्ले भन्ने महामारी कहिले रोकिन्छ? कति रोकिएको वा ककसका लागि रोकिएकोलाई रोकिएको मान्ने?’

गिना कोलटा

रोगको महामारीभन्दा डरको महामारी कमजोर हुँदैन । मानौं कि रोग कम नै छ तर डरले गर्दा उत्तिकै तयारी गर्नुपर्ने हुन्छ । फेरि आर्थिक तथा सामाजिक प्रभाव त उत्तिकै पर्दछ । डब्लिन रोयल कलेजकी सर्जन डा. सुसन मुरेले सन् २०१४ मा इवोलाको पहिलो केस आयरल्याण्डमा भेटेकी थिइन् । त्यसको एक महिनाभित्र पश्चिम अफ्रिकामा मात्र ११ हज्जार मानिस मरेका थिए । त्यसपछि महामारी आफ्नै लिप्त हुँदै गयो तर आयरल्याण्डमा कुनै मृत्यु भएन । तथापि डरले आयरल्याण्डलाई उत्तिकै प्रभावित गर्‍यो ।

डा. मुरेले भरखरै न्यू इंलिस मेडिसन जर्नलमा एउटा लेख लेख्दै ती दिन सम्झिएकी छन् । उनी लेख्छिन्, ‘अस्पतालको वार्डमा मान्छे जति डराइरहेका हुन्थे, सडक र गल्लीमा पनि डर उत्तिकै हुन्थ्यो । बस र रेलमा यात्रा गर्दा आफूभन्दा अलिक फरक रंगको मान्छे भेटे मान्छेहरु साइड लाग्थे । कसैले खोक्दै छ भने त मान्छे तर्सेर बाह्र हात पर पुग्थे ।’

डब्लिन अस्पतालका स्वास्थ्यकर्मीहरुमा डरको कुनै सीमा थिएन । उनीहरु आफ्नो सुरक्षा पोशाकबारे हरदम चिन्तित रहन्थे । इवोला प्रभावित क्षेत्रबाट एक जवान रोगी आएका थिए । उसको छेउ पर्न कोही मानेन । नर्सहरु कुनातिर गएर लुके । डाक्टरहरुले अस्पताल छोडेर हिड्ने धम्की दिए ।

डा. सुसनले एक्लै त्यो बिमारीको उपचार गर्ने आँट गरिन । संयोगले ऊ क्यान्सरको बिमारी थियो । उसको क्यान्सर सजिलो खालको नै थियो, उपचार संभव थियो । तर उसलाई आफू इबोला संक्रमित हुँ भन्ने ठानिरह्यो । केही दिनपछि मात्र यो प्रष्ट भयो कि उसलाई इवोला छैन । त्यसको एक घण्टापछि ऊ मर्‍यो ।

ठीक ३ दिन पछि विश्वस्वास्थ्य संगठनले इबोला महामारीको अन्त्य भएको घोषणा गर्‍यो । डा. सुसन अगाडि लेख्छिन्, ‘यदि हामी महामारीसंग डराइरहन्छौं भने भाइरसले भन्दा बढी कमजोर व्यक्तिहरुलाई डरले असर गर्दछ । डर त्यतिखेर झनै घातक हुन्छ जब यसलाई कुनै क्षेत्र, जाति र भाषासंग जोडेर हेर्न थालिन्छ ।’

बितेको २ हज्जार वर्षमा प्लेग कयौं पटक देखा पर्‍यो । त्यसले करोडौं मान्छेको ज्यान लियो । इतिहासको बाटो नै बदल्दियो । प्रत्येक महमारीले त्यसको अर्को चरणको संक्रमण आउने भय सृजना गर्दछन् । प्लेग ब्लाक सिबाट मान्छेबाट मान्छेमा संक्रमित हुन्थ्यो, मुसा मारेर त्यो रोकिने कुरै थिएन । इतिहासकारहरुले प्लेगको ३ चरणको चर्चा गरेका छन् । जोन हप्किन्सकी म्यारी फिसेलका अनुसार प्लेग छैठौं शताब्दि, १४ औं शताब्दि र १९ औं शताब्दिमा व्यापक रुपमा देखिएको थियो ।

मध्यकालिन महामारी सन् १३३१ मा चीनमा देखिएको थियो । ठीक त्यही वेला चीनमा गृहयुद्ध पनि थियो । यी दुबै कारणले चीनको जनसंख्या आधा घटयो । प्लेगले मात्रै युरोपियनहरुको एकतिहाई जनसंख्यालाई मार्यो । इटालीमा सिइनामा मान्छे ठीक आधा भएका थिए । १४ औ शताब्दिमा एक कोषकार आग्नोला डि टुराले लेखेका थिए,‘मानव जिब्रोले मानव नियतिको भयावहतालाई वर्णन गर्न असंभव हुन्छ । खातमाथि खात पारिएका लासहरुको वर्णन कसरी संभव छ ?’


फ्लोरेन्सका जियोभिनी बोकासियाले लेखेका थिए,‘आज मरेका मान्छेको मूल्य मरेका बाख्राको भन्दा कम छ । रक्सी पिउनु, नाँच्नु, गाउनु, जीवनको आनन्द लिनु, तृष्णाहरुलाई तुष्टि गर्नु कुनै खुशीका लागि भएर मृत्युमाथि मजाक गर्ने तरिका भएका छन् ।’ त्यो महामारी समाप्त भयो । तर प्लेग समाप्त भएन ।

सन् १८५५ मा प्लेग फेरि तीनमा देखापर्‍यो । त्यसले भारत बर्षमा मात्र करिब १२ करोड मान्छे मारेको थियो । येले विश्वविद्यालयका इतिहासकार फ्राक्क स्नोडेन भन्छन्, ‘त्यो समय बम्बेमा कयौं प्लेग प्रभावित बस्तीहरु जलाइएका थिए । त्यसको प्रभावबारे भने मान्छेमा कुनै ज्ञान थिएन ।’

केही रोगहरु औषधीको कारण निर्मूल भएका पनि छन् । जस्तो कि बिफर । एकपटक दिएको बिफरको खोपले जीवनभरि काम गर्न सक्दछ । सन् १९७७ मा सोमालियाको एक अस्पतालका भान्छे अलि मलाउ मलिनपछि बिफर अहिलेसम्म कसैमा देखिएको छैन । तर औषधिका बाबजुद मरेलिया भने बिफरझैं अन्त्य भएको मान्न सकिन्न ।

अब प्रश्न उठ्छ, कोभिड–१९ चाहिँ के होला ?

कतिपय इतिहासकार यसको औषधि पत्ता लाग्नु अगाडि नै यो सामाजिक विधिबाटै अन्त्य हुन सक्ने ठान्दछन् । मान्छेहरु अहिलेको जस्तो व्यवधान विधिबाट विस्तारै थकित हुन्छन् । भाइरस धेरैमा संक्रमित हुन्छ तर मान्छेलाई शरीरमा कोरोना भाइरस लिएर हिड्ने लत पर्छ र भाइरस आफै प्रभावहीन हुन थाल्दछ । औषधि वा खोप पत्ता लाग्नु भन्दा अगाडि नै यस्तो हुन सक्दछ ।

येले इतिहासकार नोअमी रोजर्स भन्दछन्,‘मान्छेहरु लामो व्यवधानबाट निराश हुनेछन् । मनोवैज्ञानिक थकानको साटो म काम गर्न सक्छु भन्ने भावना बढ्नेछ । जे पर्ला भन्ने सोच राखेर मानिसहरु सामान्य जीवनमा फर्किन थाल्ने छन् ।’ धेरै देशमा यस्तो हुन थालिसकेको छ । लकडाउनले जतिधेरै आर्थिक क्षति गर्नेछ, उत्तिनै कोरोनाको भय समाप्त हुँदै जानेछ ।

डा. ब्रान्डको विचारमा कोरोनामाथि तुरुन्तै विजय पाउँन सम्भव छैन । उनी भन्छन्, ‘महामारीको अन्त्य एक लामो र कष्टसाध्य प्रक्रिया हो । त्यसलाई सामना गर्न मानसिक रुपले तयार रहनु बाहेक अरु उपाय छैन् ।’ रोजर्स भन्छन्, ‘महामारीको अन्त्यको तरिका र समय कसैले बताउँन सक्दैन । विश्वास भने गर्न सकिन्छ, यसको अन्त्य चाहिँ आवश्यक आउँछ ।’

-द न्यूयोर्क टाइम्सबाट
तस्बिरः Werner Forman/Universal Images Group/Getty Images

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय