scheduleमगलवार जेष्ठ १३ गते, २०७७

प्रसंग कोरोनाको, कुरा राजनीतिक महामारीको

दिवस खनिया

भनिन्छ, ‘कालो बादलमा चाँदीको घेरा हुन्छ ।’ नेपाली धर्तीमा यतिबेला कालो बादल लागेको छ । नेपाली धर्तीमा मात्र हैन, विश्व धर्तिमा नै अहिले कालो बादल लागेको छ । कोरोनाले विश्वकै आर्थिक वृद्धिलाई शून्यदेखि २ प्रतिशतको हाराहारी पुर्‍याउने अनुमान गरिएको छ भने लाखौंले रोजगारी गुमाउनुपर्ने अवस्था छ । नेपालका लागि पनि कोरोना संकट मुख्य चुनौतिको रुपमा आएको छ । यसले नेपालको अर्थतन्त्र तथा सामाजिक अवस्थामा दीर्घकालीन असर पार्ने देखिन्छ ।

गत डिसेम्बरबाट चीनको वुहान हुँदै विश्वब्यापीरुपमा फैलिएको कोरोनाले नेपाललाई पनि प्रत्यक्ष, अप्रत्यक्ष धेरै असर पारेको छ । यसले हामी सबैलाई त्रसित मात्र बनाएन, सिङ्गो मानव मन हल्लिएको छ, तन हल्लिएको छ र भावना हल्लिएको छ । थोरै नै किन नहोस्, बाँकी रहेको आशाको जिन्दगी त्रासमा परिणत भएको छ । यो त्रासको कालो बादलमा कति चाँदीको घेरा छ त्यो त भविष्यले बताउला ।

राष्ट्रिय संकटको यस घडीमा सबैले सबैलाई जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गरिरहेका छन् । आम-नागरिक र सञ्चार जगत स्वयम् समेत राज्यले गर्ने काममा लाग्नु अत्यन्तै सराहनीय काम हो ।

Dish_Home
दिवस खनिया

नेपालीहरूको जन्मजात बानी छ, दुःखमा आत्तिने र सुखमा मात्तिने । आफू माथि पर्दा सगरमाथाको टुप्पोमा चढेर कुर्लने आफू तल पर्दा दुलोमा पसेर हराउने । आफूलाई संकट परे स्याल हुने र आफ्नो हात माथि पर्नासाथ बाघ झैँ गर्जने । नेताहरूको यही बाघ र स्यालको परिवर्तित स्वभावले गर्दा नेपाल लामो समयदेखि राजनीतिक संकटमा जकडिइरहेको छ । नेताहरूले जोसमा होस् गुमाउने र संकटमा खुट्टा कमाउने गरिदिँदा त्यसको शिकार चाहिँ देश र जनता भइरहेका छन् ।

महामारीले सृजना गरेको अहिलेको अवस्थाका कारण यतिबेला देश संकटमा छ । प्राकृतिक विपत्तिको दृष्टिले हेर्दा हामी यो शताब्दीकै अत्यन्तै सङ्कटकालीन घडीमा यात्रा गरिरहेका छौँ । तर संकटको अर्थ हामी सकिएका छैनौँ । हो हामीमाथि विपत्ति आइलागेको छ तर यस्तो विपत्ति हामीमाथि मात्र होइन र हाम्रो पुस्तामा मात्र पनि होइन । विश्वका धेरै मुलुकले यो विपत्ति भोगिरहेका छन् । हामी अघिका धेरै नेपाली पुस्ताले पनि यस्तो विपत्तिलाई धैर्यताका साथ ‘फेस’ गरेका छन् । यसकारण यो धैर्य गुमाउने बेला पनि होइन, आज आत्तिएर भोलि मात्तिदै निस्केर डुक्रिने बेला पनि होइन । यतिबेला खाँचो छ धैर्य, अठोट र एकताको ।

हामीलाई शोकलाई शक्तिमा बदल्ने भावी योजना चाहिएको छ । खण्डहरलाई सुन्दरतामा बदल्ने पौरखी हातहरू चाहिएको छ । एउटा पौरखी हात होइन धेरै पौरखी हातहरू चाहिएको छ । तर, ती पौरखी हातहरू सबैभन्दा पहिले दलहरूबाटै अगाडि बढ्नुपर्छ । त्यो हुन्छ कि हुँदैन– फेरि पनि आशंका यहीँनेर बाँकी छ । अहिले दलरुमा जस्तो एकता देखिनु पर्थ्यो र जस्तो सन्देश दिनुपर्थ्यो त्यो भइरहेको छैन । अझै समय छ- आशा गरौँ । सबैको बुद्धि फिर्नेछ र सबै एक भएर अहिलेको चुनौतिलाई अवसरको रुपमा परिवर्तन गर्न हामी सफल हुनेछौं ।

यस्तो संकटमा पनि हाम्रा राजनैतिक दलहरु भित्र कुर्सीको चिन्ता भइरहेको छ र भ्रष्टचारको गन्ध आइरहेको छ । नेपालमा यस्तो प्राकृतिक महामारी शताब्दीमा एकपटक आए पनि राजनीतिक महामारी भने दशकैपिच्छे आउने गरेको छ । हरेक राजनीतिक महामारीले कुनै न कुनै उथलपुथल र परिवर्तन ल्याएको छ । तर परिवर्तनलाई संस्थागत गर्न सकिएको छैन ।

यसको प्रमुख कारण दलहरूबीच एकता हुन नसक्नु नै हो । परिवर्तनका लागि एकतामा जुट्ने तर परिवर्तनलाई संस्थागत गर्ने बेलामा एकता टुट्ने रोग हाम्रो रैथाने रोग नै हो । यो रोग धेरै पुरानो भैसकेको छ । आपत्ति, विपत्ति र संकटमा पनि यही कुरा लागू भैरहेको छ ।

अहिलेको यो विपत्तिको बेला सबै पक्ष एक हुनुपर्ने आवश्यकता छ र उक्त एकताको शक्ति देश निर्माणमा लगाउने बेला हो । यो प्राकृतिक विपत्ति भए पनि यसको सम्बन्ध कुनै न कुनै रूपमा राजनीतिसँग रहने छ । कालान्तरमा यसका राजनीतिक परिणामहरू देखिनेछन् । यसको सकारात्मक वा नकारात्मक के परिणाम आउँछ भन्ने कुरा दलहरूबीचको एकतामा निर्भर गर्दछ ।

अहिलेको यो महामारी प्राकृतिक हो। तर प्राकृतिक महामारीले राजनीतिक महामारी निम्त्याउने कुरालाई पनि कम आँक्न मिल्दैन । प्राकृतिक महामारीले पनि यदि दलहरु एक भएनन् वा सबै पक्ष एक भएर अब यसले पार्ने दुरगामी असर र चुनौतिको सामाना गर्न सकेनन् वा अहिलेको यो अवस्थाले देशमा सृजित विद्यमान संक्रमणकालीन संकटलाई निकास दिन सकेनन् भने राजनीतिक महामारी पनि नआउला भन्न सकिन्न ।

राजनीतिक महामारीको परिणाम सधैँ सकारात्मक नहुन पनि सक्तछ । त्यस्तो प्रतिगमनकारी महामारी नआओस् । सबै दलहरूलाई चेतना जागोस् । समय धेरै गुज्रिसकेको छ । देशले प्राकृतिक विनाशको लीलाभन्दा राजनीतिक विनाशको लीला धेरै खपिसक्यो । यो देशसँग थप विनास खेप्ने क्षमता छैन । सबैलाई चेतना भया।

अन्त्यमा, कालो बादलमा चाँदीको घेरा हुन्छ भने जस्तै आशावादी हुने र सकारात्मक हुने थुप्रै बिषय र अवसरहरु छन् । कोरोना भाइरस पनि एउटा शिक्षा दिन आएको छ । नेतृत्वको असलीस्वरुप संकटको बेला देखिन्छ । दरिलो इच्छाशक्तिका साथ वर्तमान राजनीतिक नेतृत्वले सोचिदिने हो भने नयाँ शिराबाट विकासको बहस गर्न सक्छ । तसर्थ, नेपालको सन्दर्भमा वर्तमान राजनीतिक नेतृत्वले विकासमा क्रमभङ्गता गर्ने हिम्मत गर्नुपर्छ । यो चुनौतिलाई अवसरमा बदल्न सक्ने क्षमता राख्न हामी सफल हुनुपर्दछ ।

(खनिया सामाजिक अभियान्ता तथा टेलिभिजन कार्यक्रम निर्माता हुन्)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय