scheduleशुक्रवार श्रावण २३ गते, २०७७

हाम्रा प्रधानमन्त्री कवि हुनुहुन्छ (कविता)

दामोदर त्रिपाठी

१.
नेपालमा एक जना
प्रधानमन्त्री हुनुहुन्छ,
जो एक कवि पनि हुनुहुन्छ ।

उहाँले बोल्नु मात्रै पर्छ
दर्शक दिर्घामा
हाँसोको फोहोरा फुट्छ,
तालीको लहरा छुट्छ … ।
हो, अझै उहाँले
अलिकति टाउको यता उता चलाउनुभयो,
हातको इशारामा
आफ्ना कवि वाणीहरुलाई
अलिकति लय दिनु भयो भने त
त्यसको कुरै नगरौं ।

त्यस्तो बेला,
तपाईं बसेको जमीन नै हल्लियो भने पनि
आश्चर्य मान्नु पर्ने छैन,
तपाईं बसेको कुर्सी त अवश्य ढल्छ ।
किनभने यो उहाँको
काव्यात्मकताको कुरा हो,
उहाँको आफ्नै प्रधानमन्त्रीयताको कुरा नै भन्नुस
किनभने उहाँ एक,
कवि हुनुहुन्छ ।

दामोदर त्रिपाठी
दामोदर त्रिपाठी

२.
एकताका हाम्रो देशमा
कार्यकारी प्रधान राजा थिए
त्यसो त यहाँ पहिले धेरै धेरैे राजाहरु भए
र, तीमध्ये धेरै कवि पनि थिए ।
तर, यी पछिल्ला प्रधान राजा,
(जसको म कुरा गर्दैछु)
बहुतै राष्ट्रवादी पनि थिए,
नाम थियो म वि.वि. शाह ।

वास्तवमा यो नामै कविता जस्तो छ,
उनी साँच्चै कवि नभएको भए
शायद यस्तो नाम जुर्ने थिएन ।
शायद उनी कवि भएकाले नै हुनसक्छ,
उनले आफ्नो शासन पद्धतिमा नै
एउटा नयाँ काव्यधाराको रचना गरे
जसलाई पञ्चायती धारा भन्न मिल्छ ।

उनलाई राजा भन्दा तपाईंलाई
सामन्ती गन्ध आयो होला, होइन ?
आउनसक्छ,
किनभने तपाईं वामपन्थी नहुने त कुरै छैन ।
त्यसैले तपाईंले उनलाई राजासँगै
देशको प्रधानपञ्च भने पनि हुन्छ ।
प्रधानमन्त्री भने पनि हुन्छ,
किनभने
तत्कालीन समयमा उनी नै
देशको प्रधान कवि थिए ।

उनी झरनाका छङ्गछङ्ग वेगलाई
एकैछिनमा रगतको भेल बनाउँथे,
हिमाललाई टोपी बनाएर लगाउँथे,
पहरालाई छाती बनाउँथे ।
उनलाई कुनै पहेलो फूल फूलेको देख्नै हुँदैनथ्यो
त्यसलाई उनले सुन बनाइहाल्थे ।
भनिन्छ सुनका त उनी पारखी नै थिए ।

वास्तवमा कवि हुन
प्रकृति चिन्नुपर्छ,
प्रकृतिमा पनि फूल चिन्नु पर्छ,
फूलमा पनि पहेलो
फूल चिन्नु पर्छ,
र, फूललाई तपाईंले सुनमा ढाल्न सक्नुपर्छ ।
यति गर्न सक्नुभयो भने तपाईं
प्रधान कवि बन्ने
योग्यता राख्नुहुन्छ ।
अहिलेका योग्य प्रधान कवि जस्तै ।
बास्तवमै,
पहेलो फूल, त्यो फूल गलेर बनेको
पहेलो सुन
प्रधानकवि र प्रधानमन्त्रीका बीचको
यो सम्बन्ध
सदियौं पुरानो छ ।

३.
फूल र सुनको,,
प्रधानकवि र प्रधानमन्त्रीको सम्बन्धका बारेमा
मैले हाम्रा समकालीन प्रधानमन्त्रीसँग आफ्नो
अनुभवको आदान प्रदान पनि गरेको छु ।
पछि म पनि प्रधानकवि भएँ भने,
प्रधान पञ्च वा मन्त्रि नै भन्नुस न,
भएँ भने,
तपाईंले आश्चर्य नमान्नु होला,
किनभने यो हामी
कवि र प्रधानकविहरुको
कवि, प्रधानपञ्च र प्रधानमन्त्रीहरुको,
आपसी समझदारीको कुरा पनि हो ।
यो ऐतिहासिक तथ्यले
पुष्टि गरेको कुरा पनि हो ।
यदि तपाईं कवि हुनुहुन्न भने,
यसमा कत्ति पनि
रीस र डाह नगर्नुहोला,
किनभने, यो हामी कविहरुको
आन्तरिक मामिला हो ।

अर्कोतर्फ आवश्यकताको सिद्धान्त
भन्ने कुरा त सबैले बुझिहाल्नु हुन्छ ।
कुरा एकदम सफा छ,
बहुमत पुर्‍याउनु पर्दासम्म
आवश्यकताको सिद्धान्त ।
आफ्नो पक्षमा बहुमत आएपछि
अब जनता लडाउनै पर्‍यो,
त्यसपछि, पहाडवादी र मधेशवादी,
खस बाहुनवादी र जनजातिवादी ।

मिलेर खानुपर्ने भयो भने सहमतिको राजनीति,
एक्ला एक्लै खानुपर्ने भयो भने,
वामपन्थी र प्रजातन्त्रवादी ।
वास्तवमा यो हाम्रो कविताको
विशिष्ट क्षमताको कुरा हो,
तपाईंले यसमा
आँखा गाडेर दुःख नसाँध्नु होला ।

यदि तपाईं पञ्चायती काव्यधारा बुझ्नुहुन्न भने,
यदि तपाईं फूल र सुनको सम्बन्ध बुझ्नुहुन्न भने,
बास्तवमा तपाईंले हाम्रा कवि
कसरी वर्तमानमा प्रधानमन्त्री हुनुभयो वा
हाम्रा प्रधानमन्त्री कसरी कवि हुनुभयो
भन्ने पनि बुझ्नुहुन्न ।
र, मेरो प्रधानमन्त्रीसँगको साइनो पनि
तपाईं देख्न सक्नुहुन्न,
र, तपाईं वामपन्थ र प्रजातन्त्रको फरक त झन्
कदापि बुझ्न सक्नुहुन्न ।
किनभने यो,
विल्कुल कविता जगतको कुरा हो,
यो शासन जगत र,
कविता जगतको सम्बन्धको कुरा पनि हो ।

४.
यतिबेला सडकमा कालापनी र लिपुलेकको कुरा छ,
सदनमा, फेसबुकमा, युट्युबमा र ट्वीटरहरुमा
अनि, एउटै खबरको टुक्रा टुक्रा र
किस्ता किस्तामा व्यापार गर्ने
हरेक सांसद र मन्त्रिका
घर घरबाट सञ्चालित अनलाइन पोर्टलहरुमा,
नेपालको जमीन मिचेर
तिब्बतको मानसरोवर जाने
सार्वभौम बाटो निर्माण गरेको
विवेकी छिमेकीको कुरा छ ।

कुरा त के के छ, छ ….।
कोरोनाको कुरा छ, …संसारै भरी ।
०७२ सालको भुइँचालोको कुरा
अझै सकिएको छैन,
वाइडबडी, ओम्नी र गोकुलधामको कुरा छ ।
अध्यादेशमा,
राष्ट्रपतिलाई समेत चिप्ल्याइएको कुरा छ ।
बालुवाटारको जग्गा
आफ्नै मान्छेहरुले खाए नखाएको कुरा छ ।
हत्या, हिंसा, अपहरण,
सांसद र पार्टीकै विक्रि वितरणका …. ।
कुरा त धेरै छन् ।

तर, तपाईंहरु मध्ये
धेरैले जान्न चोहेको,
यी सबै भन्दा बढी रोमाञ्चक,
हाम्रा प्रधानकविलाई
विवेकी छिमेकीले दिएको रेलको टिकट लिएर
संसारकै त्यो एक दिव्य भू–थल
मानसरोवर पुगेर
वैदिक युगमा गरिने
अश्वमेध यज्ञ जत्तिकै महत्वको
एउटा विशेष तप गरे जस्तै,
नेपालमा कहिल्यै कसैले लेख्न नसकेको
एक नयाँ कविता लेख्ने धुन सवार भएको छ ।

त्यसको साक्षी म स्वयं छु,
तपाईं यो कुरा मान्न तयार हुनुहुन्न भने
प्रधान कवि हुन कति कठीन छ
त्यो तपाईं कदापि बुझ्न सक्नुहुन्न ।

तपाईंलाई यो कुरा थाहा नहुनसक्छ,
किनभने तपाईंले मार्क्सवाद–लेनिनवाद, माओवाद पढेर,
गान्धीवाद, स्वतन्त्रता र अधिकारका कुराहरु जानेर,
राजनीतिमा लाग्नुभयो
तर तपाईंले
द्वन्दात्मक सम्बन्ध बुझ्नु भएन,
पहेलो फूलको र पहेलो सुनको,
कवि र प्रधानकविको ।

५.
वास्तवमा यतिबेला कालापानीको ‘लिपुलेख’
काठमाण्डुका सडकमा लेखिइरहेको छ
सबै पक्षले तीव्र रुपमा यो लेख लेखिरहेका छन्
उदीयमान दुई पाइलटहरुले लेखे,
अस्ताएमान कांग्रेसहरुले लेखे,
डाङ्गडुङ्ग गर्ने क्रान्तिकारीहरुले लेखे,
चिर्रविर गर्ने अक्रान्तिकारीहरुले लेखे, अरुअरुले पनि लेखे ।
यी सबै लेखहरुको लामो फेहरिस्त
जम्मा भएर
चाँडै सिंहदरवार नपुगेकोमा
हाम्रा विदेशिएका मन्त्रिहरुको
चिटचिट पसिना आइरहेको छ,
चाँडै दिल्ली पठाउन नपाएर ।

तपाईंलाई थाहा छ ?
त्यही ‘लेख’को एउटा सानो फिस्टो खेस्रा लिएर
केही विद्यार्थीहरु
हाम्रा कवि प्रधानमन्त्रीलाई
भेट्न जाने तरखर गरिरहेका छन् ।
मलाई लाग्दैन उनीहरुले
प्रधानमन्त्रीलाई भेट्नेछन् ।
बढीमा उनीहरु
प्रधानमन्त्रीका ड्राइभरलाई भेटेर
त्यो खेस्रा एक पटक खरर्र पढ्नेछन् र टाँढैबाट
सास्टाङ्ग दण्डवत् गरेर फर्किनेछन् ।
(कोरोनाको कुरा जो छ,
नत्र ड्राइभर नै किन नहोस
उसको हातपाउँ मै
दण्डवत् प्रणाम गर्नुपर्छ भन्ने कुरामा
विद्यार्थीहरु एथेष्ट जानकार छन्) ।

उनीहरुलाई थाहा छ
त्यो खेस्रा त्यहाँ बुझाएपछि
एउटा सफा सुन्दर कञ्चन लेख
चाँडै दिल्ली पुग्छ
किनभने दिल्ली हुँदै
छिटो भन्दा छिटो
मानसरोवर पुग्ने हाम्रा प्रधान कविको
तीव्र इच्छा छ ।

ड्राइभर भन्दा बित्तिकै मलाई
आइन्सटाइन र मदन मण्डारीको
एकै पटक याद आयो ।
भनिन्छ यी दुबैका ड्राइभरका
खास खास विशेषताहरु थिए ।
त्यसैले उनीहरुले ड्राइभरलाई
भेटे भने म भन्न सक्दिनँ उसले के उत्तर दिनेछ ।
कथम, उनीहरुले
हाम्रा प्रधानमन्त्रीज्यूलाई नै भेटे भने
उहाँले के भन्नुहुनेछ
त्यो म तपाईंलाई सजिलै भन्नसक्छु ।
किनभने,
यो हामी फूल र सुनको साइनोमा
जेलिएकाहरुको कुरा हो ।

‘माइकमा इको छ, इको’ ….. ।

‘हेर्नोस,
मैले दायाँ हातमा जुन लिएको छु
बायाँ हत्केलामा सूर्यलाई च्यापेको छु,
(हो आकाश कै)
अब म यी दुबैको फ्युजन गराउँदै
एउटा नयाँ सर्वश्रेष्ठ ग्रह बनाउँछु
र,
त्यसको नाम नेपाल राख्छु ।
दुई चार हात छिमेकीले मिचे भनेर
तपाईंहरुले काठमाण्डौंको सडकलाई
दुःख दिन आवश्यक छैन ।
अब तपाईंको यो खेस्रा लेख र कालोपानीको लेखले नै
दिल्लीको बाटो समातिसकेपछि,
के हामी पनि त्यही लेखै लेख्न उही लेकको सति जाने ?
यो हुनैसक्दैन,
तपाईंहरु घर घरमा गएर आरामसँग सुत्नुहोस ।

अब राता काला फुलबुट्टे झण्डा लिएर
जिन्दावाद र मूर्दावादका गीत गाएर
हिड्ने दिन सकिए ।
ती फगत एक
अर्थहीन स्मृतिहरु हुन् ।
मेरो सुझाव छ तपाईंहरुलाई
ती अर्थहीन स्मृतिहरुबाट
तपाईंहरु अलग्गै रहनुहोस ।

दिनभरिमा
एक प्लेट मःम खाने पैसा पनि
जोहो गर्न असमर्थ
ती स्मृतिहरुबाट
तपाईंहरु टाढा हुनुहोस ।

(…….. बररर् ताली…….)

बरु अब घरसम्म पुग्दा तपाइको घरमा
एउटा नयाँ उपहार मैले पठाइसकेको हुनेछु
त्यो उपहार हो तपाईको घरघरमा ग्यासको पाइप ।
किनभने
मैले तपाईको घर घरमा ग्याँसलाईन पु¥याउने
कामको सुरुवात गरेको सपना
भर्रखरै देखेर ब्युझिएको छु ।
म २०, २२ घण्टा त हरेक दिन
यस्तै सपना मात्रै देख्छु
यदि दिन ५० घण्टाको हुन्थ्यो भने पनि
म ४८ घण्टा त सपनाहरु नै देख्थे,
केवल तपाईको र देशको सपना,
निर्माण र नवःनिर्माणको सपना ।

म अब कुनै जिन्दावाद र मुर्दावादको
सपना देख्न सक्दिन
तपाईहरुले दिन भरिमा एक प्लेट
मःम पनि खान नपाएको कुरा अहँ
म अब सोच्नै सक्दिन’
(…….. बररर् ताली …….) ।

प्रधानमन्त्रीले
हाम्रा विद्यार्थीहरुको मनोभावलाई
सजिलै पक्डिन सक्नुहुन्छ ।
कम खुसी हुँदैनन् विद्यार्थीहरु पनि …. ।

‘लुपुलेख आयो र पो नत्र
बुढाका जोक्समा
फूलस्टप नै लागेछ कि
जस्तो लाग्या थ्यो !’

यसरी उनीहरुलाई हसाँउदा हसाउँदै
आफ्नो आँगनबाट पञ्छाएर
उनीहरु कै घर भित्रै
छिर्न बाध्य पारिदिनु हुनेछ,
हाम्रा प्रधानमन्त्रीले,
अथवा, हाम्रा प्रधानकविले ।

किनभने उहाँ एक बेजोड कवि हो,
देशको खास प्रधानपञ्चका रुपमा भन्नोस वा
प्रधानमन्त्रीका रुपमा
उहाँ सामान्य ठहरिनु होला,
तर एक कविका रुपमा त्यस्तो हुनै सक्दैन
किनभने उहाँ २१ औं शताब्दीको
अत्याधुनिक आशुकवि पनि हो ।

६.
भनिन्छ हाम्रा प्रधानमन्त्रीले
मानव जीवनका धेरै क्षेत्रमा
रेकर्ड बनाउनुभएको छ ।
क्रिकेटरहरुले बनाउने
अनेक तवरका रेकर्डहरु जस्तैः
रनको रेकर्ड, विकेटको रेकर्ड
तेज बलरको रेकर्ड यस्तै यस्तै ।
टेस्टमा रकेर्ड, ट्वान्टी ट्वान्टीमा रेकर्ड,
वान डे मा रेकर्ड आदि आदि ।

झापा विद्रोह सम्भवतः
उहाँको पहिलो राजनीतिक रेकर्ड हो,
जहाँ मानिसहरुलाई कुन तवरले
निमर्मतापूर्वक मार्न सकिन्छ
भन्ने कुराको रेकर्ड बन्यो ।
उहाँ जेल परेपछि
जेलबाट त्यसै किन निस्कनु हुन्थ्यो र ?
लामो जेल बसाइको अर्को रेकर्ड पनि बनाइहाल्नु भयो ।

सुनिन्छ बहुदलको राजनीतिमा
उहाँको पहिलो रेकर्ड,
महाकाली नदीमा पौडी खोल्नमा भयो ।
सबैभन्दा पहिला भारतीय सीमाना छुने
त्यो प्रतियोगितामा,
रेकर्ड उहाँकै बन्यो ।
त्यसपछि उहाँका रेकर्ड धेरैजसो दिल्लीमै बने,
(जहाँ यतिबेला यो कविता लेख्दै गर्दा ‘ लिपुलेख’ पुगिसक्नेछ)
मित्रताका रेकर्ड, आत्मियताका रेकर्ड,
स्वस्थ रेकर्ड, अस्वस्थ रेकर्ड,
सबै खाले ।

त्यसपछि त तपाईंले देखि हाल्नु भयो,
उहाँले खरिदबन्दिमा पनि नयाँ रेकर्ड राख्नु भयो ।
एकतर्फ खरिद गरिँदैन भनेर रेकर्ड,
अर्कोतर्फ अवैध खरिदलाई
बिनारोकतोक चल्न दिइन्छ भनेर रेकर्ड ।
एकतर्फ दशगजासम्म धकेलेर रेकर्ड,
अर्कोतर्फ दशगजासम्म जान पाइँदैन भनेर रेकर्ड ।

अब शास्त्रहरुको कुरा अझ बेजोडको छ,
उहाँसँग यति धेरै विद्यावारिधीका उपाधि छन्
त्यसको तपाईं हिसाब राख्न सक्नुहुन्न
किनभने
ती घोषित, अघोषित र स्व–अघोषित अवस्थामा छन्
र,
त्यस्ता वारिधिहरुको विवेचनामा
एउटा माहाकाव्य नै प्रकाशित हुनुपर्ने हो ।
तर, मलाई थाहा छ यदि त्यो
महाकाव्यले सर्वविधामा
एउटा नोवेल पुरस्कार
सम्म पनि पाउँदैन भने
किन प्रकाशन गर्ने भन्ने
उहाँको विचार हो ।

यति धेरै रेकर्ड र उपाधिहरु,
यो सबै कसरी सम्भव भयो !
तपाईंलाई आश्चर्य लागेको मात्रै हो
तर यो सम्भव छ ।
हो, यसको सफलताको आफ्नै राज छ,
त्यो के हो भने हाम्रा प्रधानमन्त्री
प्रधानमन्त्री मात्र हुनुहुन्न,
उहाँ,
एक नवीनतम् धारा प्रवाह गर्नसक्ने,
निर्विकल्प कवि पनि हुनुहुन्छ ।

७.
मान्छेहरु विश्वविद्यालय, अनुसन्धान केन्द्र
वैज्ञानिक र डाक्टरहरुतर्फ मात्रै फर्किएका पो छन् र,
नत्र हाम्रा प्रधानमन्त्रीले
कोरोनाको भ्याक्सिन पत्ता लगाउन सक्नुहुन्छ ।
किनभने त्यस्ता भाइरसहरुको आनिबानीलाई
उहाँ राम्रोसँग बुझ्नुहुन्छ ।
त्यस्तै तिनीहरुको बनोट,
मान्छेलाई कसरी भाइरसहरुले
आफ्नो बसमा पार्छन्
भन्ने कुरा
हाम्रा प्रधानमन्त्रीलाई राम्रोसँग थाहा छ ।
किनभने उहाँ कवि हुनुहुन्छ,
‘जहाँ न पहुँचे रवि उहाँ पहुँचे कवि’ ।

वास्तवमा लकडाउनको आविस्कार त
हाम्रै प्रधानमन्त्रीले गर्नु भएकै हो ।
काठमाण्डौलाई मधेशमा लकडाउन,
मधेशलाई काठमाण्डौमा लकडाउन,
सन् २०१५ मै ।
यसो भएपछि,
चीन र सिंगापुरलाई लकडाउनको
उपाय सुझाउने काम
हाम्रै कवि प्रधानमन्त्रीले
गर्नु भएको हो भन्ने कुरा पत्याउन
तपाईंलाई कुनै कठिनाई हुने छैन ।

८.
मान्छेहरु कतिसम्म स्मार्ट कुरा गर्छन भने,
उनीहरु प्रधानमन्त्रीको
स्टेटम्यानसिपको कुरा गर्छन ।
घोषणा–पत्र, दल, कार्यकर्ता
अनि, पार्टी विधान र पद्धतिको
राजनीतिक र व्यवस्थापकीय भनिने
बडो आधुनिक कुरा गर्छन ।

पानी जहाज, हवाइ जहाज …,
अन्तरीक्षमा रकेट, अणुबम …,
अनि उत्तर दक्षिण, पूर्व पश्चिम रेल ….।
यी सबै कुरा हाम्रा प्रधानमन्त्रीले घोषणापत्र
दोहोर्‍याइ तेहेर्‍याइ हेरेर
पढ्नुभएको हो भन्ने
मात्रै ठानेका छन् कि
के हो हँ ?
यदि उहाँले भनेको कुरा घोषणा हुँदैन र
त्यो पत्रमा लेखिँदैन भन्ने हुन्छ ?
उहाँले भन्न खोजेको कुरा
बुझिँदैन भन्ने हुन्छ ?
त्यो बुझिनुपर्छ, लेखिनुपर्छ ।

यदि यो बुझिदैन वा लेखिँदैन भने,
यो सरासर प्रधानमन्त्रीको,
उहाँको कवि व्यक्तित्व माथिको
उहाँको कलात्मक हृदय माथिको
घोर अपमान हो,
संगीन प्रहार हो,
र, यो, तमाम् काव्य जगत माथिको
बलात् हमला हो ।
के यति कुरासम्म पनि
उनीहरुले ख्याल गर्नु पर्दैन, कि,
हाम्रो देशको प्रधानमन्त्री कवि हुनुहुन्छ ?

उनीहरुलाई थाहा छ कि छैन,
प्रधानमन्त्रीले हरेक कुरा बोल्न
छुट त दिनु भएकै छ ।
फेरि पनि, यो हमला माथि उहाँ मौन रहनु
उहाँको बाध्यता पनि होला ।
तर भन्नोस त,
म कसरी मौन रहन सक्छु ?
मैले त प्रधानमन्त्रीको
हृदयलाई छाम्न सक्छु,
ओर्काइ फर्काइ धड्कन पनि
पहिल्याउन सक्छु,
त्यो हमलाको चोट
म नाप्न सक्छु,
एक सहृदयी कविको रुपमा ।

त्यसैले मैले उहाँको कवि हृदयको
पक्षमा लड्नै पर्छ ।
उहाँको काव्यात्मकताको रक्षार्थ
म खट्नैपर्छ ।
आम रुपमा उहाँ प्रधानमन्त्री मात्रै हुनुहुन्छ ।
तर, मेरो लागि उहाँ
देशको एकमात्र प्रधान कवि हुनुहुन्छ ।
एक सिद्धहस्त कविको रुपमा
मेरो उहाँ गुरु कवि पनि हुनुहुन्छ,
हो,
हाम्रो देशका प्रधानमन्त्री कवि हुनुहुन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय