scheduleबुधवार आश्विन १४ गते, २०७७

पुटिन शासनका पाँच शक्ति समूहहरु

ततियना स्तोनोभाया

धूर्ततापूर्ण पछिल्लो संवैधानिक संशोधनसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई संविधानले सन् २०३६ सम्म सत्तामा रहने सक्ने अवसर दिन्छ । उनले संविधान संशोधन मात्र गराएको छैनन्, राज्यका मुख्य जिम्मेवारीमा रहेका व्यक्तिहरुको परिवर्तनमार्फत् आफू प्रतिकुल हुन सक्ने शक्ति सन्तुलनलाई अनुकूलतामा समेत ढालेका छन् । पुटिनका प्रयासले संकेत गर्दछ कि उनी एउटा यस्तो नयाँ राजनीतिक सत्ता निर्माण गर्न चाहन्छन् जुन अझ बढी रुढीवादी, अझ बढी वैचारिक र अझ बढी पश्चिमा दृष्टिकोण विरोधी हुनेछ ।

यद्यपि सबै चिज योजनाबद्ध र पुटिनले सोचेअनुरुप नै हुन्छ भन्ने छैन । तेल मूल्यको विश्वव्यापी ह्रास र कोरोना भाइरसले पुटिनले योजनाबद्ध पुनर्सरचना गर्न चाहेको रुसी राजनीतिको प्रणाली अनपेक्षित रुपमा संकटमा परेको छ । अप्रिल २२ मा गर्ने भनिएको संविधान अनुमोदन सम्बन्धि जनमत संग्रह कोरोना महामारी र नयाँ आर्थिक संकटलाई देखाएर स्थगन गरिएको छ । यी दुई ‘जुम्ल्याहा संकट’ पुटिन शासनकालकै सबैभन्दा जटिल संकट बनेर देखिएका छन् जसले आम असन्तुष्टिलाई बढाइरहेको छ ।

यी संकटलाई सफलतापूर्वक सम्हाल्न रुसी नेतृत्वमा सुविचारित सामूहिक प्रयत्न आवश्यक देखिएको छ । कोरोना महामारीले पुटिनका लागि दूर्भाग्यपूर्ण क्षण सृजना गरेको छ । पुटिनले सोचेअनुसारका योजनामा काम गर्न पाइरहेका छैनन् । उनी धेरै कामहरु अरुलाई सुम्पिन बाध्य छन् । कोरोना संकटको प्रारम्भिक चरणमै उनले सरकारका विभिन्न अंग र गभर्नरहरुलाई आफ्नो मुख नताक्ने, बरु बढो जिम्मेवारीपूर्वक संकट सामना गर्न आव्हान गरेका थिए ।

तर पुटिनको राष्ट्रपतीय शासन समूह एकीकृत छैन नत सामूहिक नेतृत्व प्रणालीमा काम गर्न नै अभ्यस्त छ । पुटिनको शासनमा मुख्य ५ शक्ति सम्भ्रान्त समूह देखिन्छन् । यो लेखको उद्देश्य नै रुसी सत्ताको आन्तरिक शक्ति संघर्ष र त्यसका मुख्य समूहको स्वार्थ वा कार्यशैलीलाई चित्रण गर्नु हो ।

पुटिनको २२ वर्षे शासनले रुसी राजनीतिमा अनेक मिथ र अवधारणा सृजना गरेको छ । सन् २००० का प्रारम्भिक वर्षमा पुटिन समूहको शक्ति संघर्ष बोरिस यल्तसिनका अनुयायीहरुसँग थियो । यल्तसीनवालाहरु विस्तारै कमजोर भए । त्यसको ठाउँ विस्तारै पुटिन समर्थकहरुको आन्तरिक शक्ति संघर्षले लियो ।

पहिलो शक्ति संघर्ष पूर्व केजिबी अधिकारी र पुटिन गृहनगर सैन्टपिटर्सबर्गका ती व्यक्तिहरु बीच थियो जो यथाशिघ्र मस्कोमा शक्तिशाली देखिन चाहन्थे । यो संघर्ष प्रकारान्तले रुसको सुरक्षा सेवाका अधिकारी र पुटिनका राजनीतिक सहकर्मीबीचको संघर्षमा अभिव्यक्त भएको थियो ।

हालसालै पुटिनको तथाकथित ठाडो शक्तिसंचरनाको उच्चतहमा नै शक्तिसंघर्ष जटिल हुँदै गएको बताइन्छ । यो संघर्षलाई उदारवादी विरुद्ध टेक्नोक्र्याटहरुको संघर्ष भनिए पनि यथार्थमा यो पुटिनका नजिकका साथीहरु र राज्य सञ्चालनमा काम गरिरहेका पेशागत व्यक्तिहरुबीचको संघर्ष हो ।

तर यथार्थ भनिएभन्दा निक्कै जठिल छ । सुरक्षा अधिकारी वा पेशागत व्यक्तिहरु आफैं विभाजित छन् । कयौं उच्च सुरक्षा अधिकारीहरु विभिन्न प्रकारका फौजदारी षडयन्त्रहरुमा सामेल छन् । शक्ति संघर्ष चर्किंदा आफूहरु फस्न सक्ने भय उनीहरुमा छ । हालसालै नयाँ शक्ति सम्भ्रान्तहरु परिदृष्यमा उदित हुँदैछन् । उनीहरु एकअर्काका स्वार्थहरु कहाँ बाझ्छन् भन्ने कुरामा राम्रो जानकार छन् तर स्वार्थहरुको साझा निष्कर्ष कहाँनेर बन्छ भन्ने बारे अन्यौलमै छन् ।

सामान्यतया शासनवृत्त भनेको राजनीतिक वैचारिक समूह र सुरक्षा संयन्त्रहरुको स्वार्थको सम्झौता हो । यी दुवैलाई अहिले रुसी चुनौतिहरु सामना गर्न झनै रुढीवादी बाटो समाउनु पर्छ भन्ने लागेको छ । रुसी राजनीतिले दुई धारणाहरु अझै मृत हुन मानेका छैनन् । पहिलो- सबै जटिल निर्णयहरु अन्ततः पुटिनको सोचमा निर्भर गर्दछ र उनले लिने कुनै पनि निर्णय अकारण हुँदैनन् । दोस्रो– पुटिनका केही त्यस्ता साथीहरु छन, जो दृष्यमा खासै आउँदैनन् तर पुटिनमाथि निरन्तर दबाब बनाइरहन्छन् । पुटिनका निर्णयमा उनीहरुको दबाबले काम गरिरहेको हुन्छ ।

यथार्थमा यी दुवै धारणा सही हैनन् । तर रुसीहरु यस्तै गलत धारणा पत्याएर बाँच्न विवश छन किनकी यहाँको राजनीति अपारदर्शिता र अप्रत्याशिततामा आधारित छ । रुसी राजनीतिको आजको मुख्य समस्या पुटिन वृत्तको अनौपचारिक शक्ति राज्यको औपचारिक शक्तिमाथि हाबी हुँदै जानु हो । पुटिनको वरिपरि ५ शक्ति सम्भ्रान्तहरु छन् । उनीहरुले औपचारिक, अनौपचारिक तबरले असीमित शक्ति अभ्यास गर्ने ताकत राख्दछन् । उनीहरुका लागि राज्यका प्रणाली र पद्धति केही हैन, उनीहरुको इच्छा र स्वार्थ स्वयं एक प्रणाली र पद्धति हो ।

यिनीहरु बीचको शक्ति संघर्ष नै अहिलको रुसी राजनीतिको यथार्थ हो । क्रेमलिनको आन्तरिक वृत्तमा अहिले नयाँ टेक्नोक्र्याटहरुले स्थान बनाएका छन् । उनीहरु दैनिक पुटिनको सम्पर्कमा हुन्छन् । यो वृत्त एकदमै साँघुरो छ । यिनीहरुले नै पुटिनका सबै कार्यक्रमको तालिका बनाउँनछन् र व्यवस्थापन गर्दछन् । ति व्यक्तिहरु दिमित्री कोच्नेभ, अलेक्साई रुबेज्नी, एन्टोन भाइनो र दिमित्री पेश्कोभ हुन् । यिनीहरुको काम नै पुटिनको मुड ठीक राख्नु र विभिन्न सवालमा पुटिनको धारणालाई प्रभावित गर्नु हो ।

जस्तो कि हालैका दिनमा कोरोना भाइरसबारे त्यो टिमले जे भन्यो पुटिनले त्यही पत्याए । उनीहरु पुटिनलाई सबैतिर ठीकठाक छ भनेर रिपोर्ट गर्छन्, समस्या बताउने साहस कमै गर्दछन् । उनको टिममा जनसरोकारका सवाल बुझ्ने मान्छे हुँदै नभएका हैनन्, जस्तो कि पेश्कोभ । तर पुटिन त्यस्ता व्यक्तिको कुरा सुन्नु भन्दा अचेल आन्तरिक वृत्तमा नै रमाउन थालेका छन् ।

पुटिनका सहयोगीहरुको ५ वटा फरकफरक वृतहरु छन् । त्यसको समग्र समायोजनबाट रुसको शासन चल्दछ । त्यसको पहिलो तह स्वयं पुटिनको आन्तरिक वृत्त हो- यो समूहमा एन्टोनियो भाइनो निर्णायक जस्तो स्थितिमा छन् । उनी पुटिन सचिवालयमा प्रमुख हुन् । बाँकी ४ समूह इगोर सेचिन, सेर्गेइ क्रिनेन्को, म्यारुट खुस्नुनिन, निकोलाई पेट्रोशेभको वरिपरि केन्द्रित छ ।

इगोर सेचिन परिवृत्तमा सर्गेइ चेमेकोभ, अलेक्सी मिलर, जर्मन ग्रेफ, निकोलाई टाकारेभ र अनातोली चुभाइस छन् । यिनीहरु राष्ट्रिय अर्थतन्त्रका विभिन्न क्षेत्रबाट आएका छन् । यिनीहरुका पनि स्वार्थ फरकफरक छन् । चेमेकोभ सैन्य उद्योगलाई पुनस्र्थापित गर्न चाहन्छन् । मिलरको ध्यान ग्याँस उद्योगमा छ । ग्रेफको रुचि बैंकिङ क्षेत्र हो । चुभाइस भने प्रविधि नवप्रवर्तन उद्योगमा ध्यान दिन्छन् । तर यी सबैको राजनीतिक महत्व भने घट्दै गइरहेको छ । यो समूहमा इगोर सेचिन आफैं आकर्षक व्यक्तित्व हुन् । उनको रुची तेल उद्योगमा हुन्छ ।

पुटिनका केही पुराना राजनीतिक साथीहरु छन् । जस्तै- दिमित्री मेदवेदेभ, दिमीत्री काजोभ, सेर्गेई इभानोभ, एलेक्सी कुर्दिन आदि । तर पुटिनको नयाँ समूहले यिनीहरुलाई साखै महत्व दिइरहेको छैन । तथापि पुटिन यिनीहरुको आफूप्रति निष्ठा र समर्पणलाई महत्व दिन्छन् ।

पुटिनको प्रारम्भिक जीवनका केही साथीहरु छन् । कुलालचोक दाजुभाइ, रुटेनबर्ग दाजुभाइ, गेन्नाडी याभेन्को आदि । उनीहरुसंग पुटिनको व्यवसायिक सम्बन्ध जोडिएको छ । राजनीतिक टेक्नोक्र्याटहरुमा सेर्गेइ क्रिकोभको नाम उच्चस्थानमा छ । उनीले राज्यसंचरनाभित्रको एउटा ठूलो पंक्तिलाई नेतृत्व गर्दछन् ।

प्रधानमन्त्री मिखाइल मिशुस्टिन यही समूहभित्रका हुन् । उनी राजनीतिज्ञ हैनन् तर प्रशासनिक संचरनाबाट आएर प्रधानमन्त्रीसम्म हुन सके । तर अहिले उनलाई कोरोना लागेको छ । क्वारेन्टाइनमा बस्नु परेको कारण उनी जिम्मेवारीबाट अलग भएका छन् ।

अर्को समूहमा केही मन्त्रीहरु पर्दछन् जसले पुटिन शासनका निर्णयहरु कार्यान्वयन गर्नछन् । ऊर्जामन्त्री अलेक्साई नोकोभ, प्रविधिमन्त्री मस्कट सदायेभ, आन्तरिक मामिलामन्त्री कोलोनोस्तेभ, जर्नेल इगोर क्रास्नोभआदि यो समूहका सदस्य हुन् । यो समूहमा मरट खुश्नुनिल मुख्य जस्तो देखिन्छन् ।

क्रेमलिन पछिल्ला दिनहरुमा अझ बढी रुढीवादी हुँदै गइरहेको छ । यो काम पाँचौ समूहको प्रभाव हो । यो समूहले आन्तरिक तथा बाह्य सुरक्षाको प्रबन्धन गर्दछ । यस समूहभित्र अधिकांश हार्डलाइनरहरु छन । यिनीहरु आवश्यक पर्दा आफ्ना राजनीतिक प्रतिस्पर्धीहरुको कठोर दमन गर्न तयार हुन्छन् । यिनी गुप्तचरहरुको उपयोग गर्दछन् र वास्तविक षडयन्त्र सिद्धान्तका खेलाडी हुन् ।

अलेक्जेन्डर ब्याट्रस्किन, सेर्गेई नारिस्किन, भिक्टर जोलातोभ आदि यो समूहमा छन् । यिनीहरु सुरक्षा अधिकारीहरु हुन् । जसले सेना, प्रहरी, गुप्तचर आदि संगठनहरुको रणनीति बनाउने र संचालन गर्ने गर्दछन् । यो समूहमा निकोलाई पेट्रोशेभको भूमिका विशेष छ । उनी राष्ट्रिय सुरक्षा परिषदका सचिव हुन् ।

परबाट हेर्दा पुटिनका शक्ति समूहमा एकता भएकोजस्तो देखिन्छ । तर यथार्थमा यी सबै भित्रभित्रै तीव्र शक्ति संघर्षको अवस्थामा छन् । यी शक्ति र सम्पतिको वर्चश्वको लागि त लड्छन् नै साथसाथै कस्को विचार सोच अनुसार राज्य हिडाउने भन्ने बिषयमा पनि टकराई रहेका हुन्छन् । यिनीहरु बीच मुख्य सवालहरुमा एउटै धारणा विरलै बन्दछ ।

पुटिन समूहहरुको प्रतिस्पर्धा रुसी राजनीतिको कमजोरी मात्र भएर बिशेषता पनि हो । पुटिन यी सबै समूहबीच मध्ययस्थकर्ताको भूमिका गर्दछन् । यी स्वार्थ समूहहरुलाई संयोजन गर्न सक्नु नै उनको शासनकलाको मुख्य पक्ष हो । यो कलाले उनलाई जहिल्यै शासनको केन्द्रभागमा राख्दछ । यस्तो विशेषता रुसी राजनीतिको शदिऔं लामो संस्कृति हो । रोमानोभ वंशका राजाहरु यसरी नै भारदारी समूहको संयोजन गर्थे । कम्युनिष्ट पार्टीको शासनकालमा गुट समूहहरुको समायोजन गर्नुपर्ने हुन्थ्यो ।

कोरोना भाइरसको स्वअगलावले यी समूहहरुलाई झनै टाढा बनाई दिएको छ । पुटिन आफै सबैसंग निश्चित दुरी बनाइरहेका छन् । यस कारणले गर्दा स्वार्थ समूहहरुको प्रतिद्वन्द्विता, कमजोरी र बैमनस्यताहरु झनै बढिरहेका छन् । पुटिन शासनमा एकता र समन्वय अहिले सबैभन्दा कमजोर भएको छ । कोरोनापछिको रुसी राजनीति कसरी अगाडि बढ्छ भन्ने कुरा यिनै स्वार्थ समूहको सोच र समन्वयमा निर्भर गर्दछ ।

(लेखिका मस्को स्थित राजनीतिक अनुसन्धानकर्ता हुन् । यो लेख उनले ट्वीटरमा लिंक उपलब्ध गराएको एक प्रतिवेदनबाट भावानुवाद गरिएको हो)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय