scheduleसोमवार श्रावण १९ गते, २०७७

कृषिमा यान्त्रिकीकरणः आवश्यकता र उपलब्धता

शालिन आचार्य र डा. वेदप्रसाद खतिवडा

नेपालमा कृषि क्षेत्रको महत्व खाद्य सुरक्षा तथा जीविकोपार्जन दुबैका लागि उत्तिकै रहेको छ । नेपालका तराई तथा पहाडी भूभागमा विभिन्न किसिमका अन्नबाली, फलफूल बाली, तरकारी बालीहरु लगाइँदै आएको छ । पहाडी भेगका लागि बालीनाली लगाउनका लागि खेतबारी जोत्नका लागि मूलतः जोर गोरुको प्रचलन छ भने गोडमेल गर्न, झार हटाउन आदिका लागि कुटोकोदालोको प्रयोग भइरहेको पाइन्छ । तर कृषि कर्मलाई सरल, सहज र कम कष्टकर बनाउनका लागि विभिन्न कृषि यन्त्र वा मेशिनहरु उपलब्ध रहेको छ ।

भौगोलिक विकटताका कारणले दूरदराजका गाउँबस्तीहरुमा मकै छोडाउनका लागि रातभर लागि परेर हात दुखाएर छोडाउने चलन अद्यापी देख्न पाइन्छ भने धान गहुँ चुट्नका लागि पनि मान्छेहरुकै पाखुरी कै भर छ । कृषि क्षेत्रमा लागेकाहरुलाई माटो र भूगोल सुहाउँदो कृषियन्त्रको उपलब्धताको बारेमा सहज र यथेष्ट जानकारी नहुनुले पनि नेपालमा कृषिकर्ममा यान्त्रिकीकरणको अवस्था दयनीय छ । नेपालमा करिब ८ प्रतिशत किसानले खेत जोत्नका लागि ट्रयाक्टरको प्रयोग गर्छन् भने करिब २६ प्रतिशतले मात्र फलामे हलोको प्रयोग गर्छन् ।

यूवाहरु विदेशिएको यो चरम अवस्थामा अरु बेलामा भन्दा बढी नै महिलाले कृषि क्षेत्रमा योगदान दिइरहेका छन् । महिलामैत्री उपकरण र कृषियन्त्र बनाएर कृषिकर्मलाई कम कष्टकर र बढी उत्पादनशील बनाउनु पनि आजको आवश्यकता देखिन्छ । कृषिमा यान्त्रिकीकरण गर्न सकेमा मानिस वा पशुवस्तुहरु प्रयोग गरी गर्ने सबैजसो कामहरु साधारण औजार, यन्त्र वा उपकरण देखि लिएर अत्यन्तै आधुनिक मेशिन र प्रविधिहरुको प्रयोगबाट विना कुनै कष्ट, छिटो, कम लागतमा र पूर्ण गुणस्तरका साथ गर्न सकिन्छ । कृषि उत्पादनको कुनै पनि चरणमा साना कृषि औजारदेखि विभिन्न खालका आधुनिक मेशिनको पनि प्रयोग गर्न सकिन्छ । सामान्यतः कृषिका सबै कृषिकर्मलाई चार चरणमा विभाजन गर्न सकिन्छ ।

जग्गा तयार गर्ने देखि बाली लगाउने सम्मको समयमा खेतबारी सम्याउने, जोत्ने, बेर्ना रोप्ने वा बीऊ छर्ने काम प्रमुख हुन् । बाली रोपेपछि बाली उत्पादन लिने सम्मको समयमा विभिन्न खालका गोडमेल, झारपात हटाउने, उकेरा दिने, मल छर्ने, पानी सिँचाइ गर्ने, बालीलाई रोगकीराबाट व्यवस्थापन गर्नका लागि बिषादी छर्कने आदि प्रमुख कार्यहरु हुन् । यसपछिको प्रमुख काम भनेको बाली भित्र्याउने हो जसमा बालीको उत्पादन लिने समय भएपछि बाली काट्ने, वा घोगा भाँच्ने, पाँजा लगाउने, पाँजालाई मुठा पारेर बाँध्ने, चुट्ने वा झाँट्ने, ग्रेडिङ्ग गर्ने आदि हुन् ।

अन्तिम चरण भनेको बालीको ढुवानी गर्ने, सुकाउने, रोगकीरा नलाग्ने गरी सुरक्षित भण्डारण गर्ने, खान वा बेच्नका लागि कुटानी, पिसानी गर्ने आदि कार्यहरु पर्दछन् । यी विभिन्न चरणका लागि विभिन्न खालका, क्षमताका र लगानीका कृषि औजारहरु तथा आधुुनिक मेशिनहरु उपलब्ध रहेका छन् तर जानकारीका अभावमा किसानहरु यी कामहरु कष्टदायी तरिकाले गरिरहेका छन् वा यसका लागि भारतबाट आएका मजदुरहरुमा भर पर्ने गरेका छन् । नेपालको सन्दर्भमा किसानहरु अति नै संगठित रुपमा किसान समूह वा बचत समूह वा कृषि सहकारीमा आवद्ध भएका छन् । यस्ता कृषि औजारहरु कतिपय लगानीका हिसाबले एक जनाले किन्न सक्ने अवस्था नरहने र आफ्नो खेतबारीका लागि मात्रै पनि ठूलो लगानी भएकाले सामूहिक खरिद गरी सञ्चालन गर्न सके अत्यन्त प्रभावकारी हुन सक्ने देखिन्छ ।

यसका अलावा विदेशबाट नेपाल फर्केर आफ्नै गाउँ ठाउँमा केही गरौं भन्ने मनसाय भएका यूवाहरुका लागि पनि सानो देखि मध्यम वा ठूलो लगानीका कृषि यन्त्रहरु उपलब्ध रहेका छन् । सबै सिजनमा प्रयोग गर्न सकिने कतिपय यस्ता कृषि औजारहरु किसानको जानकारीमा आएमा चाँडो भन्दा चाँडो यसको प्रचारप्रसार हुने भएकोले र हालको अवस्थामा न्यून मात्रामा मात्र प्रयोग भएकाले पनि ठूलो बजार लिन सक्ने अवस्था देखिन्छ तर यसमा लगानी गर्ने सोचाई भएको अवस्थामा प्राविधिक रुपमा यसका सबै पक्ष बुझेर, लगानीको स्रोतलाई सम्पर्क गरी पूर्ण रुपमा योजनाबद्ध ढंगले मात्र निर्णय गर्नु आवश्यक रहन्छ । यसका लागि थप जानकारी आवश्यक परेमा विगत ८ बर्षदेखि यसै विषयमा काम गरी रहनुभएका लेखक मध्येका शालिन आचार्यसँग यस लेखको अन्तमा दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्न पनि सक्नुहुनेछ ।

किसानका लागि उपलब्ध केही कृषि औजारहरु निम्न अनुसार छन् जसमा कुनै मेशिनको सहायताले, कुनै महिला वा पुरुष दुबैले कम शारीरिक परिश्रमका साथ र कुनै ट्याक्टरका सहायताले प्रयोग गर्न सकिन्छ । कामको हिसाबले यस्ता कृषि औजारहरु र यन्त्रहरु निम्न अनुसार रहेका छन् ।

– जमीन जोत्ने र तयारी गर्ने यन्त्रहरुः ट्याक्टर, मिनि टिलर, पावर टिलर, ह्यारो, एम्बी, लेभलर, रोटाभेटर, जिरोभेटर, बिरुवा रोप्न जमीनमा खाडल खन्ने यन्त्र ।

– बीउ छर्ने र रोप्ने यन्त्रहरुः सिड ड्रीलहरु, राइस प्लान्टर, ज्याव प्लान्टर, ड्रम सिडर ।

– मल छर्ने यन्त्रहरुः कम्बाइन सिड ड्रील, झोले मेसिन ।

– सिँचाइ गर्ने यन्त्रहरुः वाटर पम्प, पि टि ओ पम्प, एन यस पम्प, (विद्युतीय), मट्टीतेल, पेट्रोल र डिजलबाट चल्ने विभिन्न पम्पहरु, सौर्य पम्प, शून्य शक्तिमा आधारित पापा र बर्षा पम्प, थोपा सिँचाइ, स्प्रीङ्कलर आदि ।

– गोडमेल गर्ने मेसिनः धान गोड्ने (म्यानुअल र इन्जीन बाट चल्ने), ड्याङ बनाउने, उकेरा दिने, कुलेसो बनाउने, बगैँचामा गोडमेल गर्ने तथा मकै गोड्ने मिनि टिलर, कल्टीभेटर ।

– कटानी गर्ने र थन्काउने यन्त्रहरुः कम्बाइन्ड हार्भेष्टर, रिपर, ब्रस कटर, आलु खन्ने, ग्रेडिङ गर्ने ।

– दाना छोडाउने यन्त्रहरुः धान र गहुँको थ्रेसर र मकैको थ्रेसर, म्यानुअल थ्रेसरहरु, कम्बाइन हार्भेस्टर ।

– ढुवानी गर्ने यन्त्रहरुः ट्याक्टरहरु देखि ट्रक आदि सम्म ।

– सुकाउने यन्त्रहरुः विद्युतीय र सौर्य ड्रायरहरु ।

– दाल, चामल, तेल र पिठो बनाउने यन्त्रहरुः राइस मिल, डिस्क मिल, कम्बाइन राइस मिल, मसला पिस्ने मिल ।

– बाली संरक्षण गर्ने यन्त्रहरुः विभिन्न प्रकारका स्प्रेयरहरु ।

– प्लास्टिक प्रविधिहरुः प्लास्टिक पोखरी, टनेल, मल्चिङ, क्रेट, बीऊ रोप्ने सिट र थैला ।

– ग्रीन हाउसः वातावरण अनुकूलको खेती गर्ने घर ।

– भण्डार गर्ने प्रविधिः तीन लेयरको हर्मेटिक स्टोरेज ब्याग (PICs/Bag), सुधारिएको भकारीहरु आदि ।

– अन्य यन्त्रहरुः कफि पल्पर, चियापत्ती टिप्प्ने यन्त्र , सुपारी छोडाउने , फलफूलमा काटछाट गर्ने, फलफूलको जुस बनाउने, उखु पेल्ने मेशिन आदि ।

– गाई भैंसी जस्ता ठूला पशुको लागिः दुहुने मेसिन, चिस्याउने, प्रशोधन गर्ने, क्यान र भ्याट मेसिन, दाना बनाउने, भुस्सा काट्ने, पशु र गोठ सफा गर्ने ।

– साना उग्राउने पशु (भेडा बाख्रा): ऊन काट्ने, शरीर सफा गर्ने ।

– सुँगुर बङ्गुरः दाना र पानी दिने यन्त्र

– कुखुराः फिडर, इन्कुबेटर, ब्रुडर लगायत अनेकौं ।

– माछालाई अक्सिजन पुर्‍याउने, माछालाई दाना दिने, अटो फिडर ।

कसरी सञ्चालन गर्ने ?

कृषि औजार तथा मेशिनहरु साना र कम मूल्यका छन् भने किसान आफैंले खरिद गरी निजी प्रयोगका लागि सञ्चालन गर्न सक्छन भने केही ठूला लगानीका मेशिनहरु भने राम्रै लगानी गर्न सक्ने वा विदेशबाट फर्केका यूवाहरुले वा किसान समूह वा सहकारीहरुले खरीद गरी प्रयोग गर्न सक्नेछन् । यसका अलावा यस्ता मेशिनहरु स्थानीय तहहरुले केही थान खरिद गरी किसान समूह वा सहकारीलाई भाडामा दिन सकेमा किसानहरु लाभान्वित हुन सक्ने देखिन्छ भने किसानको वा यूवाहरुको पनि कृषि कर्मप्रति आकर्षण बढ्न सक्ने देखिन्छ ।

कहाँ सम्पर्क गर्ने ?

कृषिमा आवश्यक कृषि यन्त्र, आधुनिक मेशिन तथा औजारहरुको सहज उपलब्धता सबैभन्दा महत्वपूर्ण पक्ष हुन् । यसका लागि तल दिइएको सम्पर्क स्थानमा सम्पर्क गरी थप जानकारी वा कृषि यन्त्रहरु पाउन सकिनेछ ।

प्रदेश ७ः आर.सी.टी एग्रो मेसिनरी एण्ड इन्जिनियरिङ वर्कसप, झलारी, कन्चनपुर ।
प्रदेश ५ः गुरुचरन खाद्द्यान्न तथा कृषि यन्त्र सेवा केन्द्र , बर्दिया, गुलेरिया ।
प्रदेश ५ः सिमिट/सिसा परियोजना, बाँके, खजुरा, www.csisa.org
प्रदेश ३ः कृषि इन्जिनियरिङ शाखा, राष्ट्रिय कृषि अनुसन्धान केन्द्र, खुमलटार ।
प्रदेश ३ः कृषि पूर्वाधार विकास तथा कृषि यन्त्र प्रवर्द्धन केन्द्र, हरिहरभवन ।
प्रदेश २ः कृषि औजार अनुसन्धान केन्द्र, वीरगञ्ज ।
प्रदेश २ः कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, सर्लाही, नवलपुर ।
प्रदेश १ः कृषि शाखा, बेलका नगरपालिका, उदयपुर

अन्तमा नेपालमा यूवा पलायनको अवस्था रोक्न वा अहिलेको कोभिड–१९ को महामारीका कारण विश्वभरमा नोकरी गुमाएर नेपाल फर्कने यूवालाई व्यवसायिक रुपमा कृषि क्षेत्रमा प्रयोग गर्ने हो भने कृषि मेशिन वा औजारमा आधारित बनाई कम लागत र कम शारीरिक मिहेनत चाहिने बनाउनु अनिवार्य रहन्छ अन्यथा यूवा पलायन रोक्न गाह्रो पर्दछ । कृषिको उत्पादकत्व बढाई कम लागतमा कृषि उपजहरु उत्पादन गर्नका लागि पनि तराई वा पहाड सबैतिर प्रयोग गर्न मिल्ने कृषि यन्त्रहरु प्रयोग गरी उत्पादन बढाउनु र कृषिकर्मलाई सहज बनाउनु अति आवश्यक रहन्छ ।

चित्रः कृषि यान्त्रिकीकरणको उदाहरण
चित्रहरुः शालिन आचार्य

फोटोहरुः
१. बिनाखनजोत सिडड्रिलबाट धान छर्दै ।
२. कम्बाइन हार्बेस्टरबाट धान काटेको खेतमा बिनाखनजोत गहुँ छर्दै ।
३. पावरटिलरबाट पहाडी जिल्ला सुर्खेतमा धान छर्दै ।
४. मिनिटिलरबाट पहाडी जिल्ला सुर्खेतमा मकै रोप्दै ।

(शालिन आचार्यले कृषिसंकायको बालीविज्ञान विषयमा स्नातकोत्तर गरेका छन् । आचार्य कृषि विज्ञ हुन् र विगत आठ बर्षदेखि कृषिमा यान्त्रिकीकरणको प्रचारप्रसार र प्राविधिक ज्ञान विस्तारका लागि सिमिट इन्टरनेशनल (CIMMYIT International) नामक संस्थाद्धारा सञ्चालित सिसा परियोजनामा आवद्ध रही Assistant Research Associate को पदमा कार्यरत छन् । फोन नं ९८५१२२३५२१ र इमेल s.acharya@cgiar.org मार्फत उनलाई सम्पर्क गर्न सकिन्छ र यस सम्बन्धी थप जानकारी लिन सकिन्छ ।

वेदप्रसाद खतिवडाले कृषि विज्ञानमा विद्यावारिधी गरेका छन् । किसानका लागि उपयोगी प्रविधि तथा जानकारी दिनका लागि किसानले बुझ्ने भाषामा प्रविधि र जानकारी बिस्तारका लागि लेख्छन् ।)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय