scheduleबुधवार आश्विन ७ गते, २०७७

तीन दिनमा दुई चितुवा मृतावस्थामा भेटियो

गोरखा, ४ जेठ । गोरखाको पालुङटार नगरपालिका–९ घडेरीखोलास्थित मानव बस्तीभित्र आज एउटा चितुवा मृतावस्थामा भेटिएको छ । शरीरमा कतै पनि चोटपटक नलागेको अवस्थामा बयस्क पोथी चितुवा मृतावस्थामा फेला परेको डिभिजन वन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौड्यालले जानकारी दिए ।

‘चितुवा मृत फेला परेको ठाउँमा वरपर चितुवाले दिसा र बान्ता गरेको समेत पाइएको छ’, उनले भने, ‘शरीरमा कतै पनि चोटपटक देखिएको छैन ।’ मृतावस्थाको चितुवाकोे प्रकृति हेर्दा बिष खुवाएर मारेको हुनसक्ने आङ्शका वन कार्यालयले गरेको छ । उक्त मृत चितुवा घडेरीखोलाको बस्ती बीचमा रहेको एउटा घरभित्र फेला परेको उनले बताए ।

स्थानीयवासीले बयस्क चितुवा मर्न लागेको अवस्थामा भेटिएको भनेर जानकारी गराएपछि तत्काल उद्धारका लागि वन कार्यालयबाट टोली पुग्दा चितुवा मरिसकेको पाइएको प्रमुख पौड्यालको भनाइ छ । चितुवा विष खुवाएर मारेको आशङ्कामा कार्यलयले अनुसन्धान शुरु गरेको उनले बताए । ‘यसरी नै मर्‍यो भन्न सकिहाल्ने अवस्था छैन’, प्रमुख पौड्यालले भने, ‘घटनाको सबै प्रकृति हेर्दा शङ्कास्पदजस्तो पनि देखिन्छ, मृत्युको कारण पत्ता लगाउन परीक्षणको तयारी भइरहेको छ ।’

उनले मृत चितुवाको परीक्षणका लागि चितवनस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा लैजाने तयारी भएको बताए । ‘परीक्षणपछि कालगतिले मरेको हो वा होइन भन्ने पुष्टि हुन्छ’, उनले भने । यसअघि गएको शुक्रबार पनि जिल्लाको पालुङटार नगरपालिका–२ जामुनेस्थित जङ्गलछेउमा एउटा चितुवा मृतावस्थामा फेला परेको थियो । शुक्रबार मृत फेला परेको चितुवा भने कालगतिले मरेको पाइएको उहाँको भनाइ छ । जिल्लामा गएको तीन दिनभित्रमा दुई चितुवा मृत फेला परिसकेका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय