scheduleआइतवार आश्विन ११ गते, २०७७

को हुन् लेबर पार्टीको नयाँ नेतामा चुनिए केर स्टार्मर ?

लण्डन, ५ वैशाख । बेलायतको प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले कोरोना महामारीबीच नयाँ नेताको निर्वाचन गरेको छ । नयाँ नेतामा निर्वाचित भएका छन्– ५८ बर्षीय केर स्टार्मर ।

यसअघि पार्टीको नेतृत्व जेरेमी कोर्बिनले गर्दै आएका थिए । सन् २०१९ को आम निर्वाचनमा पार्टीको पराजयपछि कोर्बिनले पराजयको नैतिक जिम्मेवारी लिँदै गत जनवरी मै पदत्याग गर्ने र नयाँ नेताको निर्वाचनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए ।

कोरोना महामारीको बीच अप्रिल ४ मा भएको निर्वाचनमा करिब ५ लाख पार्टी सदस्यले भाग लिएका थिए । प्रतिष्पर्धाको मैदानमा मुख्य ३ उम्मेदवार थिए- केर स्टार्मर, रिबेका लङ–बेली र लिसा नन्दी ।

केरले पहिलो चरणको निर्वाचनमा नै ५०% भन्दा बढी २,७५,७८० मत अर्थात् ५६.२ प्रतिशत मत पाएका थिए । दोस्रो भएकी रिवेकाले १,३५,२१८ अर्थात् २६.६ प्रतिशत मत पाएकी थिइन् भने तेस्रो भएकी लिसा नन्दीले ७९,५९७ अर्थात् १६.२ प्रतिशत मत पाएकी थिइन् ।

सन् २०१० यता लेबर पार्टी निरन्तर सत्ता बाहिर छ । कोर्बिन अघि यो पार्टीको नेतृत्व इड मिलिब्राण्डले गर्दथे । सन् २०१५ को निर्वाचनमा लेबर पार्टीले बहुमत ल्याउन नसकेपछि मिलिब्राण्डले राजीनामा गरेका थिए । कोर्बिनका लागि पनि ठीक त्यही नियति दोहोरिएको छ ।

केर सन् २०१५ यता होर्नबल निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन् । उनी कोर्बिनझैं ‘कडा वामपन्थी’ भने हैनन् । उनको छवी ‘नरम वामपन्थी’ र ‘उदार समाजवादी’ को छ । कोर्बिनको नेतृत्वमा लेबर पार्टीको अति वामपन्थीकरण भएको आरोप लाग्ने गरेको थियो ।

सन् २००८ अघि उनी मानव अधिकारका मुद्दामा पैरवी गर्ने वकिलका रुपमा चर्चामा आएका थिए । त्यसपछि उनी लामो समय क्वीन्स काउन्सीलको सदस्य तथा पब्लिक प्रोसेक्युसन बोर्डकोे निर्देशक थिए । सन् २०१५ को आम निर्वाचनमा पहिलो पटक संसद सदस्य निर्वाचित भएपछि उनलाई छाया सरकारको युरोपियन युनियन मामिला मन्त्रीको जिम्मेवारी दिएएको थियो । उनले ब्रेक्जिट मामिलामा दोस्रो चरणको जनमत संग्रहको माग गर्दै आएका छन् ।

केर विवाहित छन् । उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

टोनी ब्लेयर र ग्रोडन ब्राउनको कार्यकालपछि लेबर पार्टीले बेलायती राजनीतिमा बलियो भूमिका गर्न सकिरहेको छैन । तर प्रमुख प्रतिपक्षको स्थान भने सुरक्षित रहँदै आएको छ ।

कोर्बिनअघिका इड मिलिब्राण्ड युवा र गतिशील नेता मानिन्थे तर ब्राण्डले पार्टीलाई सत्तामा पुर्‍याउन सकेनन् । कोर्बिनले सधैं श्रमजिवी वर्ग, सामाजिक सुरक्षा र समाजवादको मुद्दा उठाए । तर कोर्बिनको क्रान्तिकारीकरणले पनि पार्टीलाई सत्तामा पुर्‍याउन सकेन ।

केरले यस्तो बेलामा लेबर पार्टीको नेतृत्व पाएका छन्– जबकी वेलायतमा आम निराशा छाएको छ । प्रधानमन्त्री बोरिस जोहन्सनले ब्रेजिक्ट जनमत संग्रह र गत आम निर्वाचनमा सृजना गरेको उत्साह कोरोना संकटसंगै शिथिल हुँदै गएको छ । चरम राष्ट्रवादी ध्रुविकरण र कोरोना संकट बीच केरले कस्तो रणनीतिमा पार्टीलाई हिडाउँछन्, अझै प्रष्ट छैन ।

केर राम्रा वक्ता हुन् । उनी बलियो आत्मविश्वाससहित प्रस्तुत हुने गर्दछन् । कुनै पनि विषयमा बोल्नु अघि उनी राम्रो अध्ययन गर्दछन् । कम विवादित बिषय मात्र बोल्न रुचाउँछन् । कतिपय विश्लेषकहरुका अनुसार बेलायती राजनीतिमा यो लोकप्रिय शैली भने हैन । बेलायती मतदाताहरु चर्को शैली र उग्र कुरा नै बढी रुचाउँछन् । तसर्थ, केरजस्ता शालिन व्यक्तित्वले आम मतदाताको ध्यान आफूतिर खिच्न सजिलो हुँदैन । स्टार्मरमा जादुगरी व्यक्तित्व भने खासै छैन, जो अधिकांश मानिस प्रधानमन्त्री बोरिस जोहन्सनको प्रतिद्वन्द्विताका लागि अपेक्षा गर्दछन् ।

सक्रिय राजनीतिमा आएको छोटो समयमै पार्टीको उपल्लो नेतृत्वमा पुग्न सफल केरको उदयलाई समयको उपज ठानिएको छ । बेलायती समाजमा अहिले जुन निराशा, पीडा र अवसादबीच छ, लेबर पार्टीको राजनीतिक जीवन पनि एकदशक बढी समयदेखि प्रतिपक्षमा रहँदा कम निराशाजनक छैन ।

विश्लेषकहरु ठान्छन् कि निराशाले नयाँ प्रकारको नेतृत्व खोजिरहेको थियो । बेलायती राजनीतिमा केरको स्थान निराशाले दिएको अवसर हो । निरासालाई आशामा बदल्न सके उनले आफ्नो भूमिका पुरा गरेको ठानिने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय