scheduleआइतवार जेष्ठ १८ गते, २०७७

कोरोना संकटलाई तत्काल टार्ने मात्र होइन, अवसरमा बदल्न सक्नुपर्छ

केबी धामी

अहिलेकोे विश्वमहामारी कोरोना भाइरस (कोभिड-१९)ले विश्व मानव जातिलाई नराम्रोसँग थला पारेको छ । यस विषम परिस्थितिमा यसको सामना गर्न सिङ्गो मानव जाति एक भएर लागिपरेको छ । तर पनि अहिलेसम्म मानव जातीले कोभिड १९ लाई जित्ने कुनै सम्भावना देखिएको छैन । यसको एकमात्र विकल्प भनेको पूर्णरुपमा लकडाउन तथा समाजिक दुरी कायम गर्नु हो ।

अहिले विश्व नै लकडाउन त छ तर अर्कोतर्फ यसको ठूलो आर्थिक नोक्सानीको भरपाई पनि गर्नु परेको छ । लकडाउनको कारण उद्योग कलकारखाना तथा आद्यौगिक क्षेत्र, आर्थिक क्षेत्रमा ठूलो असर परेको छ जसका कारण सम्पूर्ण मानव जातिले कुनै न कुनै ठाउँबाट नोक्सानीको भरपाई गर्नु नै परेको छ । विश्वमा अहिले बेरोजगारी दर तीव्ररुपमा बढिरहेको छ । बेरोजगारी न्यूनीकरणको भार पूर्णरुपमा सरकारले व्यर्होनु परेको छ ।

सातवटा देशको समूह अन्तराष्ट्रिय अन्तर सरकारी संगठन जुन देशहरुको अन्तराष्ट्रिय मुद्राकोषमा विश्वकै सबैभन्दा उन्नत अर्थव्यस्थामा समावेश छन् । यी देशहरुको तथ्यांक हेरम् । यसमा अमेरिकन श्रम तथ्यांक ब्यूरोका अनुसार गएको ६ हप्तामा ३० मिलियन अमेरिकन नागरिकले बेरोजगार भत्ताका लागि आवेदन भरेका छन् । यस्तै अन्तराष्टिय मुद्राकोषमा आवद्ध देशका सरकारी तथ्यांकअनुसार बेरोजगारी बढ्दो छ ।

Dish_Home

क्यानडामा ७.२ मिलियन भन्दा बढीले आपतकालीन बेरोजगार सहायताको लागि आवेदन दिएका छन् । सबैभन्दा कम बेरोजगार वृद्धिदर भएको जापानमा गएको मार्च २०२० देखि हालसम्म २० हजारजनाको रोजगारी गुमेर १.७६ मिलियन मानिस रोजगारविहिन भएका छन् । अमेरिकामा लकडाउन भएपश्चात् लगभल २ मिलियन व्यक्तिले मुख्य लाभका लागि युनिभर्सल क्रेडिट आवेदन दिएका छन् । फ्रान्सको निजी क्षेत्रका १० मिलियन भन्दा बढी कामदारहरुलाई राज्यले आंशिक रोजगार वा छोटो समयको काम गर्ने भन्ने योजना मार्फत् सहयोग पुर्‍याईरहेको छ ।

केबी धामी

जर्मनको बेरोजगार दर अमेरिकाको भन्दा कम छ । किनभने जर्मन सरकारले संघर्षरत रोगारदाता तथा कर्मचारीलाई सरकारी अनुदानमार्फत् १० मिलियनभन्दा बढी व्यक्तिहरुलाई सहयोग गर्दै आईरहेको छ । यद्यपि अप्रिलमा मात्र ३ लाख ७३ व्यक्तिले रोजगारी गुमाएका छन् । कोरोनाको धेरै ठूलो सास्ती भोगिरहेको इटलीमा भने कोरोनाको कारणले कसैले पनि आफ्नो रोजगारी गुमाउनु नपर्ने इटालीका अर्थमन्त्री रोबर्टो गुल्टेरीले भनेका छन् । सरकारले कम्पनीहरु र परिवारका लागि करिब ७५ बिलियन युरो सहयोग गर्ने प्रतिज्ञा गरेका छन् । यद्यपि इटालीमा पनि बेरोजगारीको समस्या नभएको भने होइन ।

अब जाऊँ, छिमेकी राष्ट्र भारत जहाँ हाम्रो देश नेपालको अर्थतन्त्र सिधै जोडिएको छ । यसको असरबाट हामी टाढा रहन सक्दैनौं । लकडाउनका कारण विश्वव्यापी यातायातमा प्रतिबन्ध लगाए पछि व्यापार क्षेत्रमा ठूलो असर परेको छ । विशेषगरि पेट्रोलियम, खाद्यान्न बाली र कोइलाजस्ता अन्य आवश्यक वस्तुहरुको भारतमा निर्यात र आयातमा ठूलो गिरावट आएको छ । Center for Monitoring Indian Economy का अनुसार कोरोनाले गर्दा लगभग १४ करोड व्यक्तिको रोजगारी गुमेको अनमान गरिएको छ ।

२६ बिलियन अमेरिकन डलर बरावरको घाटा व्यहोर्नुपर्ने अनुमान गरिएको छ । यसको असर हामी नेपालीलाई पनि परिसकेको छ र पर्नेछ । आर्थिक वर्ष २०७५/७६ अनुसार जम्मा आयातको ६५५ भारतबाट मात्र भएको छ । लाखौं नेपालीहरु रोजगारीको शिलशिलामा भारतमा रहँदै आएका छन् । तीमध्ये धेरैजसो होटल रेष्टुराँ, रियल स्टेट, पर्यटन क्षेत्र र घरायसी कामदारहरुको जागिर गुमिसकेको छ । उनीहरु आफ्नो देश जान पाउने प्रतिक्षाको घडीमा रहेका छन् । यसको समाधानको जिम्मेवारी पनि नेपाल सरकार माथि थपिएको छ । सरकारले चाहे पनि नचाहे पनि यसको भारको भरपाई नेपालले गर्नु नै पर्छ । यो सरकार टाढिएर टाढा हुने समस्या होईन । यो त देशसँग जोडिएको अविछिन्न अंग जस्तै हो ।

यस विश्व महामारी कोभिड-१९ बाट माथि उल्लेख गरिएझैं नेपाल पनि अछुत रहने कुरै भएन । त्यसको सामना नेपालले पनि बराबर भोक्नु परेकै छ । अझभन्दा नेपालको जस्तो कमजोर अर्थतन्त्र भएको देशका लागि त झनबढी चुनौती थपिएको छ । संसारभरी रहेका नेपालीहरुको रोजगारी पनी गुमी रहेको छ यसले नेपालको जिडिपीमा गरेको ठूलो योगदान त गुम्ने भयो । योसँगै लाखौं युवाहरु कति रोजगारी गुमेर त कति कोरोनाको प्रभावले पारेको असरका कारण स्वदेशमै फर्केर केही गर्न चाहन्छन् ।

मोटामोटी भारतलगायत विभिन्नदेशबाट स्वदेश फर्किनेको संख्या १५ देखी २० लाख सम्म अनुमान गरिएको छ । अव स्देशमै रहेर औपचारिक तथा अनौपचारिक क्षेत्रमाकाम गरी रहेका युवाहरुको पनि रोजीरोटी गुम्ने खतरा उतिकै छ । हरेक वर्ष नयां रोजगारीका लागि थपिने युवाहरुपनि लगभग ५ लाख बराबर रहेका छन् । यो त भयो बेरोजगारी समस्या जुन हाम्रा सामु ठुलो चुनौतीको रुपमा देखा परिरहेको छ ।

लकडाउनका कारणले सम्पूर्ण औद्योगिक तथा आर्थिक क्षेत्रमा असर त पारेकै छ । यसको सबैभन्दा ठूलो मार साना तथा मझौला उद्योग तथा व्यापार व्यवसायमा परेको छ । पर्यटन क्षेत्र, होटल रेष्टुराँ, मनोरन्जनका क्षेत्र, कृषि तथा खाद्यान्न क्षेत्रमा धेरै ठूलो असर परेको छ जसका कारण कतिपय व्यापार व्यावसाय त विस्थापित हुने अवस्था आईरहेको छ । विशेषगरी साना तथा मझौला व्यापारीसँग सानो पुँजी हुने भएकाले निश्चित लागत भरपाई गर्दै व्यापारमा लगाएको मुख्य पुँजी नै जोखिममा जाने देखिन्छ ।

समस्याहरु त धेरै उजागर गरियो । यसको समाधान पनि त हामीले नै खोज्न जरुरी छ । भर्खरै अर्थमन्त्री डा.युवराज खतिवडाले संसदमा पेश गरेको विनियोजन विधेयक, २०७७ का सिद्धान्त र प्राथमिकता र राष्टपति विद्यादेवी भण्डारीबाट बाचित सरकारको निति तथा कार्यक्रम हेर्दा विगतको निरन्तरता एउटा किताब पाठ पढेर खतम गर्ने बाहेक खासै केहि देखिएन । देशको अर्थतन्त्र ओरालो लागेको यस संकटको अवस्थामा देशको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने स्पष्ट खाका देखिएन ।

झट्ट हेर्दा सबैतिर समेटेको देखिए पनि यसले दुर्गामी महत्वलाई ओगट्न सकेको देखिएन । सरकारले सुन्छ या सुन्दैन तर यहाँ केही मैले जानेबुझे जति सुझाव दिन चाहन्छु । सरकार तथा अर्थमन्त्रीसंग मेरो अनुरोध छ- यो संकट टार्न होईन यसलाई अवसरमा परिमार्जित गर्ने हिसाबले बजेटको विनियोजन होस् । यसमा हामीले दैनिक उपभोग गर्ने फलफूल, तरकारी तथा कृषिजन्य वस्तुहरुमा हामी मुख्यगरी छिमेकी राष्ट्र भारतप्रति निर्भर छौं । अब परनिर्भरता होईन यो कोरोना संकटलाई कृषि क्रान्तिमा लैजानु नै अहिलेको उत्तम विकल्प हो । यसका लागि आवश्यक बजेट विनियोजन गर्न जरुरी छ ।

कृषकलाई आवश्यक कृषि औजार बिउबिजन अनुदान दिन जरुरी छ । जसले गर्दा नेपाली कृषकको उत्पादनले विदेशी उत्पादनलाई प्रतिस्थापन गर्न ठूलो भूमिका खेल्छ । योसँगै अर्को नेपाली बजारको ठूलो समस्या छ । किसानले उत्पादन गरेर बारीमै सडाउनु परेको छ भने उपभोक्ताले महंगो मूल्यमा खरिद गर्नु परेको छ । यसका लागि बजार व्यवस्थापन र सप्लाई चेनको व्यवस्थापनमा सरकारले सहजिकरण गर्न जरुरी देखिन्छ । यो गर्न सक्यो भने रोजगारी पनि सृजना हुने आयातमा पनि ठूलो मात्रामा कम गर्न सकिन्छ ।

अर्कोतर्फ हामीले यो संकटलाई डिजिटल नेपालमा परिणत गर्ने अवसर हो । इन्टरनेट र इलेक्टोनिक डिभाइसको प्रयोगबाट धेरैजसो सरकारी कार्यालय, बैंक तथा वित्तिय क्षेत्रलाई चलायनमान बनाउनुपर्छ । यो कुरालाई सरकारले कसरी हेरेको छ थाहा भएन । यसले नयाँ क्षेत्रमा रोजगारी सिर्जना गर्छ नै । यसले भ्रष्टाचार न्यूनीकरण र पारदर्शितामा पनि धेरै ठुलो भूमिका खेल्छ । योसंगै सरकारले साना तथा मझौला उद्योग र आम मजदुरको लागि ठूलो आर्थिक प्याकेज ल्याउन पनि जरुरी छ । जसले यो लकडाउनको संकटमा विस्थापति भईरहेका व्यापार व्यावसायिक संगठनलाई जोगाउन सकोेस् ।

यो झट्ट हेर्दा त्यति महत्वपूर्ण नलाग्न सक्छ तर यसको दिर्घकालीन महत्व र योगदान धेरै ठूलो रहने पक्का छ । यसको असर आज होइन भोलि देखिन्छ । नेपाल र नेपालीलाई यो संकटबाट नयाँ युगमा पुर्‍याउन र देख्न चाहनुहुन्छ भने सरकार थोरै भएपनि जनताको स्वास्थ्य, खाद्यन्न र रोजगारीलाई दिर्घकालीन महत्वका साथ अगाडि बढ्नु हुनेछ भन्ने आशा गरेको छु ।

बाँकी अहिलेसम्म देखिएका सरकारी चर्तिकला देख्न र सुन्नु नपरोस् । तपाईहरुको व्यक्तिगत चाहना र स्वास्थ्यले आम नेपाली जनता र नेपाल राष्ट्रको वर्तमान र भविष्यमाथि कुनैपनि किसिमको कुठराघात आम नेपाली जनतालाई सह्य हुनेछैन । तपाईंहरुको आजको कुनियतले कुनैपनि नेपाली नागरिकले भोलिका दिनमा त्यसको भरपाई गर्नु नपरोस् । सबैको स्वास्थ्य लाभको कामना गर्दछु ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय