scheduleसोमवार जेष्ठ १२ गते, २०७७

कोरोनाको भित्री मूल्य चीनका लागि निक्कै महंगो हुनेछ

क्यारी हुयेङ

मानव जातिको इतिहासमा आएका यसअघिका ठूला विपत्तिहरुले जस्तै कोरोना भाइरसले पनि विश्वको भूराजनीतिलाई धेरै हदसम्म पुनर्आकारित गर्ने छ । यस सन्दर्भमा यो प्रश्न अनिवार्य उपस्थिति हुनेछ कि संयुक्त राज्य अमेरिकासँगको ठूलो शक्ति संघर्षमा कोरोनापछि चीन अझ बलियो होला वा कमजोर होला ?

अहिलेसम्म संसारका अरु ठूला अर्थतन्त्रले भन्दा चीनले निक्कै राम्रो छनक देखाइरहेको छ । कोरोना नियन्त्रणको प्रयास र सफलतामा बेइजिङ आफ्ना सबै प्रतिस्पर्धीहरुभन्दा धेरै उच्च स्थानमा छ । संक्रमणको पहिलो चरणको अवस्थामा निक्कै नाजुक थियो । चीनमा यो दर ६.८ प्रतिशत थियो जबकी युरोपियन युनियनमा ३.५ र अमेरिकामा ४.८ प्रतिशत । तर दोस्रो चरणमा चीनले उल्लेखनीय प्रगति गर्‍यो । जबकी यो अवधिमा कोरोनाको इपिसेन्टर मानिएको चीनलाई इयु र अमेरिकाले उछिने । अहिले कोरोना वैश्विक महामारीको केन्द्र चीन हैन, अमेरिका र युरोप भएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार यो वर्ष विश्वको आर्थिक वृद्धि सन् १९३० को महामन्दी यताकै सबैभन्दा नराम्रो हुनेछ । इयुको अर्थतन्त्र ७.५ र अमेरिकाको अर्थतन्त्र ५.९ प्रतिशतले संकुचन हुने अनुमान छ जबकी चीनको अर्थतन्त्र १.२ प्रतिशतले मात्र संकुचन हुुनेछ । संसार अरु उन्नत अर्थतन्त्रहरु जस्तै इटलीको ९.१, बेलायतको ६.५ र जापानको ५.२ प्रतिशतले अर्थतन्त्र संकुचन हुँदैछ ।

Dish_Home

चीनको जिडिपी गत वर्ष १४ ट्रिलियन डलर थियो । यो अमेरिकी जिडिपीको दुईतिहाई हो । ठीक यही अबधिका अमेरिकाको जिडीपी २१ ट्रिलियन डलर थियो । कोरोना भाइरसले यो दुरीलाई कम गर्दिन सक्दछ । गत वर्ष चीनको वार्षिक वृद्धि अमेरिकाको भन्दा ३.८ विन्दूले बढी थियो, यो वर्ष त्यो ७.१ विन्दूले उच्च हुने देखिन्छ । गत वर्ष अमेरिकामा अर्थतन्त्रको वास्तविक विस्तार २.३ प्रतिशत थियो जबकी चीनमा ६.१ प्रतिशत ।

क्यारी हुयेङ

यदि यी प्रवृतिहरु कायम रहेमा अमेरिका र चीनको अर्थतन्त्र यसअघि अनुमान गरिएभन्दा धेरै छिटो करिब एक दशकभित्रै बराबरीमा पुग्नेछ । तर यहाँनेर जुन ‘यदि’ छ यो कुनै चानचुने ‘यदि’ हैन । यो निक्कै महंगो ‘यदि’ हो ।

कोरोना महामारीपछिको विश्व राजनीतिक प्रवृति अहिले अनिश्चित छ । चीन एक कम्युनिष्ट मुलुक हो । सन् १९७० मा शुरुवात भएको वैश्विक भूमण्डलीकरणबाट चीनले ठूलो फाइदा उठाएको थियो । चीन कम्युनिष्ट मुलुक भएर पनि विश्व पुँजीवादको अंग बन्न पाएको थियो । तर कोरोना महामारीपछि पश्चिमा विश्व चीनसंग सशंकित हुनेछ । चीनका चुनौति र अनिश्चितताहरु बढ्ने छन् । बेइजिङलाई पुुँजीवादी भूमण्डलीकरणको प्रक्रियामा सहज पहुँच दिनु अरुका लागि हितकर हुँदैन भन्ने अनुभूति बढ्ने छ ।

चीनको आर्थिक उदयसँगै अमेरिकी अर्थतन्त्र सुस्त हुन थालेको हो । ट्रम्पको उदयपछि त्यो क्रम झनै तीव्र भयो । सन् २०१८ मा ट्रम्पले चीनसंग व्यापार युद्ध नै शुरुवात गरे । आज अमेरिकाको जुन स्थिति छ, त्यो चीनको अघिल्लो एक दशक लामो आर्थिक सुस्ततासँग मेल खान्छ । गत वर्ष चीनकोे आर्थिक वृद्धिदर ६.१ प्रतिशत मात्र थियो जुन सन् १९९० यताकै कम हो । कोरोना नआएको भए पनि अमेरिकासंगको व्यापार युद्धका कारण यो वर्ष झनै कम हुने सम्भावना थियो ।

गत जनवरीमा अमेरिका र चीनबीच आंशिक व्यापार सम्झौता भएतापनि करिब दुईहिाई चिनियाँ वस्तुका लागि १९.३ प्रतिशत राखिएको छ, त्यो सम्झौता अघिको भन्दा ३ प्रतिशतले बढी हो । कोरोना भाइरस आफैले चिनियाँ अर्थतन्त्रका दूर्भाग्यहरु मेटाउन सक्दैन तर कोरोनापछिको भूराजनीतिले भने त्यो गर्न सक्दछ । कोरोनापछि बेइजिङले आफूलाई एकदमै फरक संसारमा पाउनेछ ।

कोरोनापछि चीनका लागि तीनवटा मुख्य मुद्दाहरु अगाडि आउनेछन् । अर्थतन्त्रलाई अलग्याउने प्रक्रिया, भाइरसको उत्पति र विस्तारमा चीनको भूमिका र अमेरिकालगायतका देशले चीनसँग दाबी गर्ने क्षतिपूर्ति ।

कोरोनाको दुःख सम्झेर राष्ट्रपति ट्रम्प र अमेरिकी कांग्रेस दुवैमा चीनसंगको आर्थिक सम्बन्धलाई कमजोर पार्ने भावना बढ्नेछ । साथै उनीहरुले चिनियाँ प्रविधिमाथिको विश्वास र निर्भरतालाई घटाउने छन् । उदाहरणका लागि ट्रम्पले टेलिकम्युनिकेसन कम्पनीहरुलाई नेटवर्कमा प्रयोग भएका सबै चिनियाँ दुरसञ्चार सर्भर र उपकरणहरु हटाउन आदेश दिइसकेका छन् ।

यदि अमेरिका चीनसँग व्यापार गर्न चाहँदैन भने उसका नजिकका सहयोगी राष्ट्रहरु बेलायत, जापान, जर्मनी, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र न्यूजील्याण्डले पनि उसैको बाटो अनुशरण गर्नेछन् । इयू, अमेरिका र जापान चीनमा भएका आफ्ना कम्पनीहरुलाई फकाएर विस्तारै त्यहाँबाट निकाल्ने दाउमा छन् ।

भाइरसको कारणले पश्चिमा देशहरुले आर्थिक मात्र हैन, चीनसँगको सम्बन्धमा सुरक्षा र उदार लोकतान्त्रिक प्रणालीप्रति पनि खतराको अनुभूति गर्न थालेका छन् । कोराना संक्रमणको पहिलो चरणमा चिनियाँ उत्पादनमा आएको व्यवधानले विश्वको आपूर्ति प्रणालीमा जोखिम बढाएको थियो । त्यतिन्जेल पश्चिमाहरुले चिकित्सा आपूर्ति र अन्य रणनीतिक सामानप्रति एक प्रकारको उदासिनता देखाएका थिए ।

अलिकति गहिराईमा गएर सोच्दा, अर्थतन्त्रको अलग्याउने प्रक्रिया निक्कै महंगो र पीडादायी हुने देखिन्छ । हुन त भूराजनीतिक महत्वका कुनै पनि निर्णयमा आर्थिक तत्वले नै प्रवल हुन्छ । त्यसपछि अरु रणनीतिक प्रश्नहरु आउँछन । तर चिनको समस्या को हो भने यसको भीमकाय आर्थिक वृद्धि भूमण्डलीकृत अन्तर्निरभरता र वैश्विक प्रणालीको स्वीकृतिमा आधारित छ ।

विगत दशकमा विश्व बजारमा चीनको स्थिर र प्रभावकारी हिस्साले पश्चिमासँगको विवाद बढाएको थियो । चीनले हालैका वर्षमा बढाएको राज्य–पुँजीवादको प्रयास पश्चिमा मागको केन्द्रविन्दू थियो । यदि अमेरिका लगायतका देशहरुले साँच्चै चीनसँग अर्थतन्त्रको अलगीकरण गर्ने हो भने चीनको आर्थिक विकासको एक अध्याय अन्त्य हुनेछ । बितेको दशकको चीनको आर्थिक उन्नति कथा हुनेछ । महामारीले विद्यमान भूराजनीतिक गतिशिलतालाई अझ बढी सघनीकृत गर्ने छ ।

बेइजिङले अहिले दुईवटा तरिका अपनाइरहेको छ । भाइरस नियन्त्रणको अनुभव बाँढ्ने र विभिन्न देशलाई चिकित्सा सामग्री सहयोग गर्ने । यो चीनको शक्ति बढाउने र प्रतिस्पर्धीहरुमाथि दबाब कायम राख्ने नरम तरिका हो । बेइजिङको ‘फेस माक्स कुटनीति’ र ‘भाइरसबारेको अमेरिकी भाष्य’ विरुद्धको प्रोपागण्डा अमेरिकी राष्ट्रवादसंग टकराउन थालेका छन् । यो ‘एक्सन फिल्म’ सन् २०१५ मा जस्तै ब्याकफायर नहोला भन्न सकिन्न ।

चीनको अमेरिका र उसका सहयोगी देशहरुसँगको नाजुक सम्बन्धलाई भाइरसले झनै नाजुक बनाइदिएको छ । कोरोना महामारीका लागि चीन जिम्मेवार छ भन्ने अमेरिकी अभियानले उसको सहयोगी देशबाट मात्र हैन, विश्वको मूलधार मिडियाबाट पनि सहानुभूति पाइरहेको छ ।

उदाहरणका लागि भर्खरै इयुमा पेश गरिएको एक प्रतिवेदनमा चीनलाई भाइरसबारे विश्वलाई ठीक समयमा ठीक सूचना नदिइएको आरोप लगाइएको छ । अष्ट्रेलिया, न्यूजिलैण्ड, ब्रिटेन र क्यानाडाले कोरोनाको विश्वव्यापी फैलाबका लागि चीन जिम्मेवार रहेको ठान्ने गरेका छन् । अमेरिकामा गरिएको एक जनस्तरको सर्वेक्षणमा अधिकांश अमेरिकीले यो आरोपलाई विश्वास गरेका छन् ।

बेइजिङले अमेरिकाको यो वैश्विक अभियानलाई निस्तेज गर्ने प्रयास गर्नुपर्नेछ । यद्यपि चीन विरुद्धको यस्तो अभियानको खासै कानुनी आधार छैन । तर चीनको विश्व प्रतिष्ठा, अन्तर्राष्ट्रिय मञ्चहरुमा भूमिका र प्रभावकारितालाई त्यसले हानी पुर्‍याउँछ ।

यदि चीनले कोराना हानीनोक्सानीको क्षतिपूर्ती नतिर्ने हो भने ट्रम्पले व्यापार प्रतिबन्ध लगाउने धम्की दिएका छन् । यसैबीच जर्मनीले १६० बिलियन डलर र नाइजेरियाले २०० विलियन डलरको क्षतिपुर्ती माग गरेका छन् । बेलायतको हेनरी ज्याक्सन सोसाइटीका थिंक ट्याङ्कहरु ‘जि सेभेन’ ४ ट्रिलियन युएस डलर बराबरको क्षतिपूर्ति माग गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

विकसित पश्चिमा राष्ट्रहरुसँगको सम्बन्ध बिग्रनु चीनको व्यापार हितमा हुँदैन । समकालीन विश्वमा ती बराबरको व्यापार साझेदार पाउन चीनलाई सजिलो छैन । कोरोनापछिको विश्वमा उनीहरुसँगको शत्रुतालाई सकेसम्म कम बनाउन र अनुकूलतामा ढाल्न चीनले निक्कै मेहनत गर्नुपर्नेछ ।

कोरानापछिको विश्वमा अमेरिका र चीन दुवैको अहिलेको प्रभाव विलिनझैं हुनेछ । नयाँ विश्वमा नयाँ ढंगले भूमिका खोज्नु पर्ने छ । यो प्रतिद्वन्द्विताले सृजना तनाव गर्ने कोरोना भाइरसको क्षतिभन्दा कम हुने छैन । यो क्रम दुबैका लागि विनाशको बाटो पनि हुन सक्दछ ।

(क्यारी चीन मामिलाका चर्चित स्तम्भकार हुुन् । उनको यो आलेख द साउथ चाइना मोर्निङ पोष्टबाट भावानुवाद गरिएको हो)

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय