scheduleसोमवार आश्विन ५ गते, २०७७

अबको राष्ट्रवादको सुई यतातिर घुमोस्

प्रदीप उप्रेती

पछिल्लो समय नेपाल–भारतबीचको सीमाविवाद पुनः उत्कर्षमा पुगेको छ । भारतको प्राथमिकतामा यो बिषय खासै नपरे पनि नेपालमा भने कोरोनाको कहर छायामा पर्नेगरी यो बिषय उम्लिएको छ । हुन त नेपालमा राष्ट्रवादका यस्ताखाले मौसमी ज्वरो प्रथमपटक आएको भने पक्कै होइन । तर यसपालि राष्ट्रवादको पनि नयाँ शिराहरुबाट व्याख्या र बहस सुरु गरौं भन्ने हेतुले यो लेख तयार गर्दैछु ।

भारतले कैलाश मानसरोबर जानको लागि नेपालले आफ्नो भनी दावी गरेको विवादित क्षेत्रमा ट्रयाक खोली सडक उद्घाटन गरेपछि घटना सतहमा आएको हो । त्यसपश्चात नेपालमा कोहीले लकडाउनको कारणले निदाएका सडकहरु ब्युँझाए, कोहीले समाजिक सञ्जालमै खुकुरी उध्याएर दुश्मनलाई काट्न तयार रहेको उद्घोष गरे। कोहीले पाँच मिनेट बत्ती निभाएर ब्ल्याकआउट मनाउन सुझाए त कोहीले बिरोधपत्र थमाए । जनताले आ–आफ्नो ढंगले विरोध जताए ।

बिगत एक दशकदेखि भारतले खुलेआम बाटो बनाउँदा नदेख्ने यी आँखाहरु एकाएक रसाए, कानहरु राता भए अनि मस्तिष्क ताता भए । पाखुरामा बल यसरी भरिएर आयो कि वरिपरि पर्ने दुई चार जना भारतीय ढाल्छुजस्तो लाग्यो । कथित शीर्ष कहलिएका नेताहरुको गोष्ठी र उद्घाटनको पछि लागेर नथाक्ने मिडियाका क्यामेराहरू पनि कालापानीतिर सोझिन थाले । विद्वानहरुको छटपटि बढेर अन्तर्वार्तामा पोखिन थाल्यो । सीमा–विज्ञहरु काखीमा नक्सा च्यापेर त्राहीमाम् भन्दै गुहार्न थाले । ठूलै हल्लीखल्ली मच्चियो, नेपाली समाजलाई एकाएक राष्ट्रियताको ऐठन भयो । कति लामो समय हुने हो यसै भन्न सकिने कुरा भएन । पहिले पहिले यस्तोखाले ज्वरो आउँदा कहाँबाट झारफुक गर्थे कुन्नि दश–पन्ध्र दिनमा निको भैहाल्थ्यो ।

राष्ट्रवादको धुन नेपाली राजनीतिको कर्णप्रिय धुन हो । यो धुनले समस्त नेपालीजनलाई लट्ठ पार्ने क्षमता राख्दछ । राष्ट्रवादको नारा नै त्यस्तो मन्त्र हो जसले जस्तोसुकै आपराधिक पृष्ठभूमि बोकेका नेतागणलाई गंगास्नानजस्तै तुरुन्तै चोख्याइदिन्छ । मान्छेका टाउका गिँडेका, चोरी–तस्करीमा प्रहरीसँग भिडेका, बमबन्दुक फोरेका, अपहरण गरेका सबैले एकपटक राष्ट्रवादको मन्त्र जपेपछि जननेतामा रुपान्तरण हुन्छन् ।

प्रदीप उप्रेती

आफ्नो चरित्र निर्माणको यस्तो सरल विधि थाहा पाएपछि पटक–पटक यसलाई प्रयोग नगर्ने कुरै भएन । यही राष्ट्रवादको नारा घन्काएर कैयौंले सत्तारोहण गरे त कत्तिलाई सत्ताबाट घोक्राइयो । फलतः राष्ट्रवाद राष्ट्रप्रेमको बलियो भावना नभएर सत्ताप्राप्तिको गोटी बन्यो । अनि बिस्तारै राष्ट्रवाद आफ्नो मूल चरित्र गुमाएर निस्प्राण मौसमी हावादारी गफ बन्न पुग्यो जसको मूल्य नेपालले चुकाउँदै आइरहेको छ । सबैभन्दा हास्यास्पद कुरा त के छ भने यिनै राष्ट्रवादी नाराका लेप लगाएर सिंगारिएका मागपत्र र दस्तावेजमार्फत् गठन भएका अहिलेका प्रमुख दलहरुबीच परराष्ट्र नीति र कार्यदिशालाई लिएर न्युनतम सहमति र समान दृष्टिकोण समेत उपलब्ध छैन । अवसरवाद उनीहरुको मूल दर्शन हो र त्यहाँ स्वावलम्बन र स्वनिर्णयको यथोचित स्थान छैन ।

सत्ताको भर्‍याङ चढ्न जोसुकैको हारगुहार लगाउन उद्दत हुने गर्छन्, चाहे त्यो स्वदेशी शक्ति होस् या विदेशी शक्तिकेन्द्र । अन्ततः कतैबाट केही चाँजोपाँजो नमिलेपछि एउटा नेताले खुलामन्चमा उभिएर भारतलाई सराप्न नपाउँदै, नेपालीजन राष्ट्रवादी नेता जन्मिएकोमा हर्षविभोर हुन्छन्, नाचगान गर्छन् र हर्षका आँसु झार्छन् । न त उसको बिगत नियालिन्छ, न त आगतको पर्याप्त चिन्तन नै हुन्छ । आजसम्म हामीले देखे–भोगेको राष्ट्रवाद यही हो । के अब राष्ट्रवादको दायरा बढाउने बेला भएन र ?

राष्ट्रवादको यस्तो सस्तो प्रयोगले देशलाई नै जोकर बनाएको छ । हाम्रा सबै कुरा लुटिँदैछन् र हामी झन्झन् थिल्थिलो र आक्रान्त भइरहेका छौं । सरकार त दिशाहीन छँदैछ, जनताको द्वैध चरित्र र आडम्बरले पनि समस्या जन्माएको छ । आजको सन्दर्भमा हेपाहा छिमेकी, दिशाहीन सरकार र आडम्बरी जनता सबै नै राष्ट्रियताका लागि खतरा हुनसक्छन् । भूगोलमाथिको अतिक्रमण त छँदैछ, हाम्रो जीवनशैलीमाथिको अतिक्रमण झनै भयावह ढंगले अगाडि बढिरहेको छ । हाम्रो भाषा, संस्कृति, चाडपर्वहरु, रहनसहन र सिङ्गो नेपालीपन नै सुषुप्त रुपमा यसको सिकार हुनपुगेको छ ।

टेलिभिजनमा कार्टुन हेरेर पारङ्गत भएका पाँच वर्षका बाबु–नानीहरु नेपाली प्रष्टसँग बोल्न जान्नुभन्दा अगाडि हिन्दी पटट भट्याउँछन् । बार, रेस्टुरेन्ट, डिस्को, बिहे पार्टी, बर्थडे पार्टी, बस, घर जताततै हिन्दी गाना गुन्जिरहन्छन् । तर तपाईंहरुले सोच्नुहोला भाषालाई यस्तोसाह्रो रीस किन गरेको ? मेरो पनि प्रतिप्रश्न यही छ कि हाम्रो जीवनमा यतिसाह्रै प्रयोग हुने हिन्दी भाषा संसदभित्र बोलेको सुन्दाचाहिँ किन हाम्रो पारो चढेको ? के आफूले सुन्दा वा बोल्दा सामान्य लाग्ने, तर मधेसतिरकाले बोल्दा चाहिँ राष्ट्रियतामा आघात हुने हो कि ? यहाँ एउटा नश्लवादी चिन्तन हावी भएको गन्ध आउँछ । संसदभित्र बोल्न नदिएर बाहिर चाहिँ चौबिसै घन्टा हिन्दी भाषा बज्नुले कुनै अर्थ राख्दैन ? चाहेर होस् या नचाहेर, हिन्दी भाषा हाम्रो जीवनमा सर्वाधिक सुनिने या बोलिने भाषा अन्तर्गत परिसक्यो । आज हिन्दी बोल्न नजान्ने वा नसुन्ने कति नेपाली होलान् ? त्यसैले यसको प्रतिबन्ध भन्दा पनि प्रभाव न्युनीकरणमा ध्यान दिनुपर्छ जस्तो लाग्छ ।

अब आइन्दा भाषामाथिको अतिक्रमणमा पनि पर्याप्त चिन्तन गर्ने कि ? त्यस्तै आजकल विवाहहरुमा बेहुला शेरवानी र बेहुली लेहेंगामा सु–सज्जित हुन थालेका छन् । मधेसी सम्प्रदायमा त यो उनीहरुको मौलिक पहिरन होला (यकिन छैन), तर पहाडिया समुदायमा आएका यस्ता आयातित पहिरन र तडकभडक के का लागि जसले हाम्रो मौलिक पहिरनलाइ नै विस्तापित गर्दैछ ? पञ्चेबाजा घर समाजबाटै लोप हुने अवस्थामा छ भने ब्याण्ड बाजाको प्रयोग बढ्दो छ । जनैपूर्णिमामा जनै फेर्ने र क्वाँटी खाने चलन हराउँदै गएर राखी बाँध्ने र मिठाई खाने चलन बढेर गएको छ । उभौली–उधौली, ल्होसार र सामाचखेवा भन्दा क्रिस्ट्मस भब्यसँग मनाउँछौं । प्रश्न यो होइन कि हामी किन अरुको चाडहरु मनाउँछौं ? हाँसो, खुशी र उत्सवको लागि अरुहरुको चाड मनाउँदा ठूलो कुरा भएन तर यक्ष प्रश्न यही हो कि हामी किन आफ्ना चाडहरुप्रति उदास हुन थाल्यौं र उपेक्षा गर्न थाल्यौं ? के यस्तो सांस्कृतिक अतिक्रमण राष्ट्रियतामाथि खतरा हुँदैन र ? किन यस्ताखाले मुद्दा राष्ट्रवादको रडारभित्र पर्दैन ? हरेक जातजाति र सम्प्रदायको मौलिकता र रहनसहनको चमक हराउँदै गइरहेको छ। यदि हरेक जातजाति राष्ट्रका गहना हुन् भने त्यो गहनामा हराउँदै गएको चमकको चिन्ता राष्ट्रवादीहरुलाई किन हुँदैन ?

हरेक सैलुन र ब्युटी पार्लरमा भारतीय नायक–नायिकाहरुको तस्वीर मुस्कुराइरहेका हुन्छन् । मानौँ नेपालमा नायक–नायिकाहरु नै छैनन् वा भए पनि सुन्दर छैनन् । विज्ञापनका ठूल्ठूला होर्डिंग बोर्डहरुमा भारतीय कलाकारहरुले नै प्रचार–प्रसार गर्छन् । कुनै भारतीय अतिथि नेपाल आउन लाग्दा महिना दिन अघिदेखि खबरहरु छापिन्छन् । उनीहरु नेपाल ओर्लेको दिन एयरपोर्टमा सानोतिनो मेला नै लाग्छ । तर हाम्रो हैसियत उनीहरुको लागि एउटा दरबानभन्दा कहिल्यै माथि उठ्न सकेन ।

हामीलाई योग सिकाउने भारतीय, आत्मज्ञान दिने भारतीय, भजन गाएर सुनाउने भारतीय, टेलिभिजनमा मनोरञ्जन दिने भारतीय, सिनेमा दिने भारतीय, गीत संगीत दिने भारतीय अनि गास, बास र कपासको लागि समेत भर पर्नुपर्ने भारतीयमाथि । हामी त रित्ता भाँडाहरूजस्तो महसुस हुन्छ जो धेरै हल्लिन्छ । हामीलाई बी.पी र पुष्पलाल भन्दा गान्धी र नेहरुबारे धेरै थाहा हुन्छ । हामी हाम्रा प्रधानमन्त्रीभन्दा भारतीय प्रधानमन्त्रीलाई चाख दिएर सुन्छौं, खुशीले थपडी मार्छौं । हामीलाई हाम्रा कुराहरुदेखि घीन लाग्छ, बितृष्णा हुन्छ । हामी हाम्रै हीनतावोधले थिचेर निसास्सिएका मानिसहरु हौँ जसको हातमा राष्ट्रियताको नाउँमा “गो ब्याक इंडिया“ लेखेको प्लेकार्ड सिबाय केही छैन । हाम्रा आडम्बर र देखावटीपनले हामीलाई नै लखेटिरहेको छ । हाम्रो राष्ट्रवादले हामीलाई नै गिज्याइरहेको छ ।

त्यसैले यो भूगोलमाथिको अतिक्रमण त रोकौंला, लुटिएको जमीन पनि खोसौंला, तर हाम्रो मानसिकता र जीवनशैलीमाथिको अतिक्रमण कसरी रोक्ने हो ? कसरी छेक्ने हो ? राष्ट्र भनेको दुई सीमाबीचको भूगोल मात्रै होइन, त्यसभित्र हुर्कने संस्कार, संस्कृति, सभ्यता, आपसी प्रेम, स्नेह र एकताको भावना पनि हो । एउटा सफल राष्ट्रमा त्यहाँका जनता आफ्नो राष्ट्रियताप्रति गर्वले पुलकित भएको हुनुपर्दछ र त्यही आत्मगौरव नै सही मानेमा राष्ट्रवाद हो । असली राष्ट्रवादमा सामूहिक आत्मविश्वास र राष्ट्र उन्नयनको संकल्प हुनेगर्दछ । एउटा यस्तो साझा सपना हुनुपर्दछ जसले प्रतिकूलता र बिषमतामा पनि राष्ट्रलाई ढाडस दिन सकोस् । के अबको राष्ट्रवादको सुई यतातिर पनि घुम्न आवश्यक छैन र ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय